एक अर्बको खनिज कोष बन्ने, एक खर्ब विदेशी लगानी भित्र्याउने योजना
काठमाडौं । सरकारले एक अर्ब रुपैंयाँको खनिज कोष स्थापना गर्ने भएको छ । उद्योग मन्त्रालयले राष्ट्रिय खनिज नीति मार्फत एक अर्बको खनिज कोष स्थापना गर्ने प्रस्ताव अघि सारेको हो । ‘भौगर्भिक तथा खनिज अध्ययन, अनुसन्धान तथा वातावरण संरक्षण तथा विकासको लागि रुपैयाँ एक अर्बको राष्ट्रिय खनिज कोषको स्थापना गरिनेछ ।’ खानी विभागले तयार पारेको खानी नीतिको मस्यौदामा भनिएको छ । । मस्यौदामा आगामी आर्थिक बर्षको बजेटमा सो रकमको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । खानी नीतिले आगामी १० बर्षभित्र नेपालको खानी क्षेत्रमा एक खर्बको वैदेशिक लगानी भित्र्याउने लक्ष्य पनि निर्धारण गरेको छ । त्यस्तै आगामी १० बर्षाभित्रै ५० हजार नेपाली युवालाई खानी क्षेत्रमा रोजगारी दिने योजना पनि खानी नीतिले अघि सारेको छ । खनिज कार्यमा प्रयोग हुने यन्त्र तथा उपकरणहरुको आयातमा लाग्ने भन्सार महसुलमा विशेष छुट सुबिधा दिने, खनिज कार्यबाट प्राप्त भएको राजश्वको निश्चित अंश प्रभावित क्षेत्रको विकासमा खर्च गर्र्नेे पनि नीतिमा उल्लेख गरिएको छ । त्यस्तै, नेपालमा उत्पादित खनिजको प्रवद्र्धन, गुणात्मक पहिचान र मान्यताका लागि प्रत्येक खनिज सम्पदाको प्रोफाइल तयार पार्जे, खनिज क्षेत्रमा गरिएको लगानी राष्ट्रियकरण नगर्ने पनि उल्लेख गरिएको छ । ‘खनिजको उत्खननका लागि नयाँ प्रबिधी र लगानी बढाउन खोजिएको हो । उपकरणमा भन्सार छुट, एक अर्बको लगानी कोष पनि स्थापना, विदेशी लगानीका लागि सहजीकरण गरेर खानीहरुबाट अधिकतम लाभ लिने योजना सहित खनिज नीति अघि सारेका हौं’, खानी विभागका एक अधिकारीले विकासन्युजसँग भने । आइतबार मात्रै उद्योग मन्त्री नविन्द्रराज जोशीले सरोकारवाला निकायहरुसँग खानी नीतिबारे छलफल गरेका थिए ।फागुन महिना भित्रै खानी नीति ल्याउने तयारी अनुसार काम भैरहेको विभागका ती अधिकारीले जानकारी दिए ।
माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण सुरु, २०७६ मङ्सिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
तेह्रथुम । साढे सात मेगावाट क्षमताको खोरुङ्गाखोला जलविद्युत् आयोजनाको निर्माण सुरु गरिएको छ । मोराहाङ–४ मा निर्माण हुने उक्त आयोजनाको आज सांसद भवानीप्रसाद खापुङले शिलान्यास गरेका छन् । आयोजनाको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले आगामी २०७६ मङ्सिरभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको कुल लागत रु एक अर्ब ३७ करोड छ । कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीका अनुसार आयोजनामा माच्छापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले रु एक अर्ब लगानी गरेका छन् भने रु ३७ करोड प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय र प्रवद्र्धक कम्पनीले लगानी गर्नेछन् । आयोजना निर्माणपछि जिल्लाका सबै गाविसमा बिजुली पुग्ने कम्पनी अध्यक्ष भूपतिलाल श्रेष्ठले बताए । नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच गत मङ्सिर १ गते विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) भइसकेको छ । उक्त आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा किन्ने सम्झौता भएकोे छ । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनको तेह्रथुम वितरण केन्द्रस्थित ट्रान्समिटरमा जडान गरिनेछ । जिल्लाका सम्दु, खाम्लालुङ, सङ्क्रान्ति बजार, थोक्लुङ, चुहानडाँडा, छातेढुङ्गा, इवा र ह्वाकु गाविसमा अझै पनि केन्द्रीय प्रसारणको विद्युत् सुविधा पुगेको छैन । सो अवसरमा सांसद खापुङले आयोजना निर्माणले जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउनाका साथै आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस
देउराली जनता फर्मास्यूटिकल्स २७ वर्षमा, निर्माण बन्द गर्न नगरपालिकाको निर्देशन
काठमाडौं, १६ माघ । नेपालको अग्रणी औषधि उद्योग देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन शुरु गरेको २६ वर्ष पुरा गरेर २७ वर्षमा प्रवेश गरेको छ । २०४७ देखि उत्पादन शुरु गरेको यो कम्पनीले हाल झोल, ट्यावलेट, क्यापसुल, ड्राईपाउडर, मल्हम गरी ३०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ । कम्पनीले मुटु रोग, नशा सम्बन्धि रोग, मधुमेह, चर्म रोग लगायत धेरै रोगको उपाचार गर्ने उच्च गुणस्तरको औषधि उत्पादन गर्दै आएको छ । कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्माका अनुसार हालसम्म कम्पनीमा १ अर्ब २० करोड भन्दा बढी लगानी भएको छ भने ४१५ जनाले रोजगारी पाएका छन् । २६ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै कार्यकारी निर्देशक शर्माले २५ वर्ष पूरा गरेका देउराली जनता फर्मास्यूटिकल्स जस्तो उद्योग २५ वटा कम्पनी पनि नभएको उल्लेख गर्दै हरेक गाविसमा एउटा यस्तो उद्याग हुने हो भने नेपालीहरुले विदेशी भूमिमा फोहोर, गनाउने र सबैभन्दा कठिन काम गर्नु नपर्ने बताए । सरकारको नीति नेपाली उद्योगमैत्री नभएको उनले बताए । सरकारले, औषधि व्यवस्था विभागले विदेशी औषधिको गुणस्तर र बजारलाई छाडा छोडेको तर नेपाली औषधि उद्योगको घाँटी थिच्ने काम गरेको बताए । ‘नेपाली कम्पनीलाई जे नियम लाग्छ, त्यो विदेशीलाई पनि लगाईयोस्’ शर्माले भने-‘हामी विदेशी औषधिसँग प्रतिस्प्रर्धा गर्न सक्छौं ।’ ‘राज्यले स्थापना गर्न नसकेको ल्याबमा नेपाली उद्योगीलाई राख भन्नु र उक्त ल्याबमा टेष्ट गर भन्ने नेपाली उद्योगीको घाँटी थिच्नु हो’ शर्माले भने-‘विदेशी औषधिको ल्याव टेष्ट गर्नु नपर्ने, नेपाली औषधिले मात्र त्यस्तो टेष्ट गर्नुपर्ने ? अमोरिका, बेलायत र भारतमा बिक्री हुने औषधि नेपालीले बनाएकै कारण नेपालमा बिक्री गर्न नपाइने ?’ उनले यो प्रश्न गरिरहदा औषधि व्यवस्था विभागका प्रमुख नारायण प्रसाद ढकाल मञ्चमा अथितिको रुपमा बसेर सुनिरहेका थिए । विदेशमा बनेको औषधिलाई नेपालीमा लेख्नु नपर्ने, नेपालीले औषधिले भने नेपाली भाषामा नै लेख्न वाध्य पारिएको विषयमा पनि शर्माले असन्तुष्टि जनाए । ‘हामीले उद्योग विस्तार गर्दैछौं । नगरपालिकाले दुई पटक पत्र लेख्यो, निर्माण काम रोक्न भनेर’ शर्माले भने-‘मैले यो कुरा एक अमेरिकी साथीलाई सुनाए । ती विदेशीले २० हजार अमेरिकी डलरमा ८ एकड (१००० आना) जग्गा दिन्छु भने । अरु देशमा लगानीकर्तालाई स्वागत गरिन्छ, नेपालमा किन लखेटिन्छ ?’ ३ फिटको बाटोको लागि १० फुटे बाटो छोडेर राखेर उद्योग बनाउन लाग्दा नगरपालिकाले दुई पटक पत्र काटेर निर्माण रोक्न भनेको उनले बताए । २०० मोलिक्यलको औषधिहरु विदेशबाट आयातमा प्रतिबन्ध लगाउने हो भने औषधिको क्षेत्र नयाँ लगानी थपिने र औषधिमा आत्मनिर्भर निर्भरतर्फ बढ्ने उनले बताए । औषधि व्यवस्था विभागका प्रमुख नारायण प्रसाद ढकालका अनुसार नेपालमा करिव ५२ वटा उद्योगले आधुनिक औषधि बनाउँछन् र नेपालको कुल औषधि बजारको ४५ प्रतिशत हिस्सा लिन्छ । ओषधि उद्योगको लागि नेपाल ठूलो बजार भएको शर्माले बताए । ‘नेपालबाट तीन घण्टाको दुरीमा ३ करोड भन्दा बढी मासिन बस्ने १० सहरहरु छन् । नयाँ दिल्ली, संघाई, जकर्ता, बैंकक, मुम्वाई, सेङजेङ, कलकत्ता, ग्वान्जाओ जस्ता देशमा औषधि जस्ता हलुका बस्तु नेपालबाट सजिलै निर्यात गर्न सकिन्छ’ उनले भने । स्वाधिनताको नाममा आडम्बरको राजनीति नर्गन उनले राजनीतिक नेतृत्वलाई सुझाव दिए । ‘अमेरिकामा १७७६ मा हो । नेपाल १७६८ सालमा एकिकरण भएको, विश्वका शक्तिशाली सेनालाई परास्त गरेको देश हो’ शर्माले भने-‘नेपालभन्दा ८ वर्ष कान्छो देश हो अमेरिका । भारत स्वतन्त्र भएको जम्मा ६८ वर्ष मात्र भयो । भारतभन्दा नेपाल धेरै जेठो देश हो । नेपालीको स्वाधिनता कसैले खोस्न सक्दैन, कसैले खोस्न खोज्ज भने त्यो सम्भव छैन ।’ कार्यक्रमका प्रमुख अथिति पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा जातियता र क्षेत्रीयताको पर्खाल लगाउने काम भईरहेको भन्दै त्यसलाई रोक्न आफू सक्रिय भएको बताए ।