मारुती सिमेन्ट कारखानाको स्काभेटरमा बम विस्फोट
सिन्धुली । मारुती सिमेन्ट कारखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिएको जानकारीअनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको छ । अरु एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको छ । मारुती सिमन्टले सिन्धुलीको दुधौली नगरपालिका– १४ ककुरठाकुरबाट कच्चा पदार्थ लैजानका लागि सडक निर्माणका क्रममा उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुर खोलामा राति रोकी राखेको स्काभेक्टरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । स्काभेक्टरमा बम विस्फोट भएको भए पनि अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन । यसैबीच हिजो दुधौली नगरपालिका– १३ अरुणठाकुरमा पनि निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको एक स्काभेटरमा आगजनी भएको थियो । निर्माण व्यवसायी बम्जनले केही दिनअघि विप्लव माओवादीका कार्यकर्ता भन्दै रु एक करोड ५० लाख चन्दा मागेको जानकारी दिएका छन् । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुधौली नगरपालिका तथा निर्माण व्यवसायीलाई रातको समयमा सवारी साधन असुरक्षित हुने महसुस भएमा नजिकको प्रहरी चौकीमा राख्न आग्रह गरिएको छ । रासस
चितवनमा राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी हुँदै, १० करोड बढीको कारोबार हुने लक्ष्य
चितवन । चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ । यही मङ्सिर ६ देखि ९ गतेसम्म चितवन उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो । प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्र तथा सेवाका बारेमा कृषकलाई जानकारी गराउने उद्देश्यका साथ यो प्रदर्शनी गर्न लागिएको हो । कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्दन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा हुन लागेको सो प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहनेछन् । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका महासचिव कृष्ण शर्माका अनुसार २० भन्दा बढी देशका दुई हजारभन्दा बढी कृषियन्त्र, औजार, उपकरण तथा प्रविधिलाई प्रदर्शनीमा राखिने छ । प्रदर्शनीको ७० जिल्लाका ३५ हजारभन्दा बढी कृषकले अवलोकन गर्ने अपेक्षा लिइएको छ । रु १० करोडभन्दा बढीको कारोवार हुने अनुमान गरिएको प्रदर्शनीमा कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैरसरकारी संस्था, कृषक समूह, कृषि सहकारी संस्था, वैज्ञानिक, शिक्षक, विद्यार्थीले अवलोकन गर्ने आयोजकले जनाएको छ । प्रदर्शनीमा कृषि औजार, उपकरण उत्पादक उद्यमी व्यवसायी, आयातकर्ता, वितरक, डिलरले प्रदर्शनी गर्नेछन् । नेपालमा परम्परागत रुपमा गरिने खेतीलाई विकास गरी कृषि क्षेत्रमा युवापुस्ताको आकर्षण बढाउनका लागि यो प्रदर्शनी गर्न लागिएको सङ्घका सल्लाहाकार मधुसुधनसिंह बस्नेतले जानकारी दिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका जगन्नाथ तिवारीले आयआर्जनका क्रममा युवालाई सहभागी गराउनका लागि हरेक दुई÷दुई वर्षमा यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् । विसं २०७० मा नारायणी नदी किनारबाट शुरु गरिएको प्रदर्शनी दोस्रोपटक २०७२ मा बाँके र तेस्रो प्रदर्शनी २०७४ मा धरानमा गरिएको थियो । रासस
सेजकाे कार्यकारी निर्देशक नियुक्तिमा झेल, ६ गुणा आवेदन पर्दा पनि पुनः दरखास्त माग
उद्याेग सचिव यमकुमारी खतिवडा काठमाडाैं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को कार्यकारी निर्देशककाे नियुक्ती प्रकियामा झेल भएकाे छ । १ जना कार्यकारी निर्देशक पदका लागि ६ जनाकाे दरखास्त परे पनि उक्त संख्या कम भएकाे जनाउदै पुनः दरखास्त माग भएकाे छ । खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ती गरिने भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज ३० सार्वजनिक सूचना निकालेकाे थियाे । त्यसमा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डा चण्डिका प्रसाद भट्ट, रामदेव यादव, दुई जना पूर्व सह-सचिव सहित ६ जनाले दरखास्त दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको प्रशासन महाशाखाकाका प्रमुख रामचन्द्र ढकालले पहिलो पटक प्रकाशित गरेको सूचना गर्दा ६ जनाले मात्र दरखास्त दिएको जानकारी दिदै अझै बढी नागरिकहरुबाट आवेदनकाे अपेक्षासहित दाेस्राे पटक दरखास्त आव्हान गरेको जानकारी दिए । ‘६ जनालाई सर्ट लिस्टकमा राख्ने कार्यविधि छ । त्यसमध्ये तीन जनालाई नेपाल सरकार समक्ष नियुक्तिका लागि सिफारिस गरिनेछ । दरखास्त आएको संख्या अलि कम भएकोले र बढीले जानकारी पाउन् भनेर पुनः सूचना आव्हान गरिएको हो’ उनले भने । पहिलो पटकको दरखास्तमार्फत ३० दिनको लागि सूचना निकालिएको थियो । दोस्रो पटकको सूचनामा १५ दिन म्याद ताेकिएकाे छ । हालसम्म प्राधिकरणको मासिक तलब ७५ हजार रहेको छ । अब आउने कार्यकारी निर्देशकको तलब क्याबिनेटले तोक्नेछ । कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानुनमा स्नातकोत्तर हासिल गरी आर्थिक क्षेत्रमा अधिकृत स्तर वा सो भन्दा माथिको पदमा दश वर्षको अनुभव भएको हुनु पर्नेछ । दरखास्तका साथ कुनै पनि राजनैतिक दलको सदस्य नभएको हुनु पर्नेछ । पूर्व कार्यकारी निर्देशक चण्डिका भट्टको कार्यवधि असोज ६ गते सकिएको थियो । हाल सहसचिव रामचन्द्र ढकालले कार्यबाहक कार्यकारी निर्देशकको काम गर्दै आएका छन् । प्राधिकरणकाे अध्यक्षता उद्याेग सचिव यमकुमारी खतिवडाले गर्दै अाएकी छिन् । २० वर्षअघि स्थापना भएकाे सेजले अहिलेसम्म प्रभावकारी काम गर्न सकेकाे छैन । सेजकाे काम सरकारले ताेकेकाे ठाउँमा विशेष आर्थिक क्षेत्र बनाउने र सञ्चालन गर्ने हाे । अहिलेसम्म भैरहवा सेजकाे केही काम भएकाे छ भने अन्य क्षेत्रमा उल्लेख्य काम भएकाे छैन ।