विकसित राष्ट्रहरूले अन्तर्राष्ट्रिय व्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन्: चौधरी

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्व ब्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको बताएका छन् । अमेरिकाको लस एन्जलसमा मिल्केन इन्टिटयुटद्धारा आयोजित विश्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, ‘विकसित राष्ट्रहरूले आज अन्तर्राष्ट्रिय व्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन् र आफ्नो बजार र रोजगारीलाई सुरक्षित गर्न लागिपरेका छन् । यसको मतलब के अब हामीले विश्व ब्यापीकरणको मान्यतालाई अन्त्य गर्न चाहिरहेका छौँ?’ पछिल्लो समय अमेरिकी ट्रम्प प्रशासनले चिनियाँ उत्पादनलाई अमेरिकी बजार प्रवेशमा अवरोधका नीति लिए सँगै यो बिषय विश्व ब्यापी वहशमा आएको छ । अमेरिकी सरकारले लिएको नीतिको प्रतिक्रिया स्वरूप चीन सरकारले पनि अमेरिकी उत्पादन माथि आफ्नो बजारमा कडाइको नीति अवलम्वन गर्ने सम्भावना बढेर गएको छ । विश्व ब्यापीकरण विरूद्ध चालिएका यि कदमले विश्व बजारलाई नकारात्मक प्रभाव पार्ने देखिएको छ । ‘विश्व ब्यापीकरणलाई प्रवर्धन गर्न विगतमा चालिएका कदमहरू गलत थिए भनेर निश्कर्षमा पुग्ने समय आएको हो ?’ अध्यक्ष चौधरीले भने, ‘विश्वब्यापी रूपमा गम्भिर समिक्षा विना आफ्नो बजार र रोजगारी सुरक्षाका नाममा चालिएका यी कदमहरू संभवतः राजनीतिक लोकप्रियताका लागि हुन सक्छ । तर, त्यसले विश्वमा अर्कै वातावरण तयार गरिदिनेछ । अध्यक्ष चौधरीले लगानीकर्ताका लागि विकासशिल राष्ट्रहरू (इमर्जिङ इकोनोमी)मा मात्रै बढि जोखिम हुने विश्लेषण सत्य नरहेको र विकसित राष्ट्रहरूले पनि सोही चरित्र अवलम्बन गरिरहेको भन्दै आलोचना गरेका छन् । ‘अमेरिका लगायतका पश्चिमा विकसित राष्ट्रहरूले पनिकुन बेला कुन नीति लिनेछन् भनेर लगानीकर्ताहरू ढुक्क हुन सक्ने अवस्था छैन ।’ विकासशिल राष्ट्रहरूको प्रमुख एजेण्डा अहिले आर्थिक विकास र सामाजिक रूपान्तरण भइरहेको बताउँदै अध्यक्ष चौधरीले ति देशहरूमा राजनीतिक तहबाटै लगानी–मैत्री वातावरण तयार गर्ने तर्फ ध्यान पुर्याइएको महसुस आफुले गरेको अनुभव सुनाए । विकासशिल देशहरूमा उदाउँदै गरेको ‘मिडिल क्लास’उपभोक्तातर्फ पनि लगानीकर्ताले ध्यानदिन जरूरी रहेको उनले बताए । ‘विकसित मुलुकमा सफल भएका व्यवसायिक अवधारणाहरू विकासशिल मुलुकहरूमा हस्तारन्तरण गरिनुपर्छ’ अध्यक्ष चौधरीले भने ‘यसले ति देशको आर्थिक विकास अभियानलाई अगाडि बढाउन सहयोग पुग्छ ।’ विश्व सम्मेलनमा अध्यक्ष चौधरीले नेपालका बारेमा जानकारी दिँदै नेपाल आर्थिक विकासको सकारात्मक बाटोमा अगाडि बढिरहेको छ र यो प्रयासमा साथ दिन आग्रह गरेका छन् ।

वियर पिउनेहरु वाइनमा डाइभर्ट भए, धेरैले भन्छन् ‘भविष्यको राजा तैँ हो’- गणेश चापागाई

लोडसेडिङको अन्त्य, स्थीर सरकारको संकेत, लगानीमैत्री वातावरण निर्माणसँगै उत्पादन मुलक उद्योगलाई प्रोत्साहित गर्नुपर्ने माग सबैतिरबाट आएको छ । अर्थतन्त्रको सबैभन्दा ठूलो समस्याको रुपमा विकसित भएको बैदेशिक व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्नुपर्नेमा सबैको मत मिलेको छ । आलोचना हुँदै गर्दा पनि नेपाली समाजमा मदिरा सेवनको अभ्यास मौलाएकै छ । मदिराको उत्पादन र व्यापार पनि फस्टाएकै छ । सरकारी राजश्वको लागि मदिरा उद्योग बलियो आधार पनि बनेको छ । तर, यस उद्योगप्रति सरकारको दृष्टिकोण सकारात्मक बन्न सकेको छैन । यसै सन्दर्भमा उद्योगीहरु के सोचिरहेको छन्, के चाहिरहेको छन् ? वाइन उत्पादन गर्दै आएको रोयल काठमाडौं हिमालयन बेभरेज प्रा.लि.का प्रबन्ध निर्देशक गणेश चापागाईसँग गरिएको विकास वहस यस पटक । गणेश चापागाई, प्रबन्ध निर्देशक-रोयल काठमाडौं हिमालयन बेभरेज प्रा.लि. नेपाली वाइनको बजार कस्तो छ ? पछिल्लो समय नेपालमा स्वदेशी वाइनको बजार ह्वात्तै बढेको छ । विगतमा वाइन निश्चित होटल, रेस्टोराहरुमा मात्रै पाइन्थ्यो । अहिले कुनै पनि मदिरा पसलबाट स्वदेशी वाइन सहजै खरिद गर्न सकिन्छ । सर्वसाधारण तहमा वाइनप्रति आकर्षण बढेको छ । आकर्षण बढेसँगै बजार र वाइन उद्योगहरु समेत बढेको छ । मदिरालाई समाजको नकारात्मक पेय पदार्थको रुपमा लिइन्छ । तपाईले वाइन उद्योग चलाउनुको उदेश्य के हो ? वाइन मदिराजन्य पेय पदार्थ हो । वाइनप्रति सामाजिक दृष्टिकोण, सरकारी नीति सकारात्मक छैन । तर यस उद्योगले समाजलाई, राज्यलाई ठूलो योगदान गरेको छ । अल्कोहोलीक प्रोडक्ट भएपनि यो फलफूलमा आधारित उद्योग हो । किसान, कर्मचारी, उपभोक्ता, सरकार सबैलाई यस उद्योगले सहयोग नै गरेको छ । उद्योगमा करिव ४५ जना नियमित कर्मचारी छन्, त्यत्तिकै संख्यामा अन्य कामदारले काम पाएका छन् । यसको व्यापारबाट देशभरमा मदिरा बिक्रेतालाई लाभ पुगको छ । वाइनका उपभोक्ताले नेपालमै बनेको गुणस्तरीय वाइन उपभोग गर्न पाएका छन् । सरकारले राजश्व आम्दानी गरेको छ । किसानहरुलाई प्रोत्साहन गर्दै फलफूलबाट वाइन उत्पादन गर्न थालेको छौं । स्वदेशी फलफूललाई प्रोत्साहन गर्ने हाम्रो लक्ष्य हो । तपाईले कुन कुन फलफूल प्रयोग गरि वाईन उत्पादन गर्नुहुन्छ ? सबै फलबाट वाइन बन्छ । तर बढी मात्रामा अंगुरको वाइन खापत हुने गरेको छ । विश्वमा जति वाइन बिक्री हुन्छ, त्यसको ८५ प्रतिशत हिस्सा अंगुरकै छ । त्यसैले हामीले पनि अंगुरको वाइन उत्पादनलाई प्राथमिकतामा राखेका छौं । वाइनको परिभाषा मै वाइन अंगुरबाट बनेको मदिराजन्य पेय पदार्थ भनिएको हुन्छ । नेपालमा अंगुर व्यवसायिक रुपमा फलाइएको छैन । यसप्रति मैले अध्ययन गरिरहेको छु । अंगुर उत्पादन गर्ने मेरो लक्ष्य छ । वाइन स्याउ, भुइँ स्याउबाट पनि बन्ने गरेको छ । हामीले भुइँ स्याउबाट पनि ३ वर्षदेखि वाइन बनाइ रहेका छौं । यद्यपि बिक्री भने गरेका छैनाैँ । म्याचोर गरेर राखेका छौं । यसलाई निर्यात गर्ने लक्ष्य छ । वाइन उत्पादन गर्न आवश्यक अंगुर कहाँबाट ल्याउनु हुन्छ ? स्वदेशमा पर्याप्त अंगुर उत्पादन नहुने भएकाले भारतको नासिक एरियाको अंगुरहरु आयात गर्ने गरेका छौं । त्यहाँबाट एक सिजनमा २०औं टनका २५ औं गाडी अंगुर ल्याउनु परेको छ । जनवरीतिर दुई/अढाइ महिनामा त्यतिका परिमाणमा अंगुर नेपालमा भित्रिन्छ । यस वर्षपनि हामीले ल्याएर पनि क्रसिङ गरिसक्यौं । यसलाई प्रशोधन र भण्डारणमा करिव २ वर्ष राखिन्छ । त्यसपछि मात्रै वाइन बिक्रीको लागि बजार लैजान्छौं । नेपालमा अंगुर उत्पादन हुन सक्दैन ? भारतदेखि आयात गर्ने अंगुर नेपालमै फलाउन पाए बाहिरने रकम नेपालमै रहन्थ्यो । त्यसैले नेपालमा अंगुर उत्पादन गर्ने सम्बन्धमा मैले अध्ययन गरिरहेको छु । सम्बन्धित विज्ञहरुसँग छलफल भइरहेको छ । उनीहरुले अंगुर उत्पादनको लागि भारतको नासीक र अष्ट्रेलियाभन्दा नेपालमा राम्रो माटो र हावापानी राम्रो भएको बताएका छन् । माटो परिक्षण गरेर हामीले जग्गाको लागि काभ्रेलाई छनौट गरेका छौं । जहाँ गर्मी हुन्छ । पारिलो घाम लाग्छ त्यस्तो जग्गा छ । ५०/१०० रोपनीमा खेती गर्नु हाम्रो लागि चुनौतीपूर्ण छ । ५० रोपनीमा लटरम्म फले काट्ने, चोर्ने सम्भावना हुन्छ । अधिकतम् किसानलाई उत्पादनको लागि प्रोत्साहन गर्नुछ । सबैले अंगुर खेती गर्न किसानहरु उत्साहित गर्न सके र सबैले लगाए सहज रुपमा अंगुर पाउन सकिन्छ । भारतको नासीकमा झै नेपालमा पनि अंगुरै अंगुुरको खेती गर्नु आवश्यक छ । नासिकमा ४/५ सय किलोमिटरमा अंगुर खेती गरेका छन् । अंगुर विभिन्न भेराइटीको हुन्छ । त्यसअनुसार अंगुरको स्वाद पनि फरक-फरक हुन्छ । भारतमा भारु २० देखि १५० प्रतिकिलोसम्म अंगुर पाइन्छ । नेपाली वाइन उद्योगहरुको अवस्था कस्तो छ ? अहिले २/३ करोड रुपैयाँ लगानी वाइन उद्योगहरु सञ्चालनमा छन् । तर सानो लगानीले यो हुँदैन रहेछ । हरेक कुराहरुको विकास गर्दै जाँदा मेसिनरी सामान, भवन लगायत जुटाउन १०० करोडको प्रोजेक्ट आवश्यक छ । नेपालको बजार सानो छ र व्यवस्थित छैन । प्रतिस्पर्धी प्रशस्तै छन् । वाइन उद्योगहरुको संख्या १ बाट २, २ बाट ४, ४ बाट ८ हुँदै गुणात्मक रुपमा वृद्धि भईरहेको छ । अहिले वाइनको उद्योग ५० ओटा भइसकेको छ तर बजारमा प्रतिस्पर्धा गर्ने उद्योगहरु थोरै मात्र छन् । तर बजारमा वाइन उद्योग खुलेअनुसार वाइन खपत बढेको छैन । त्यसैले, प्रतिस्पर्धा बढ्दा उत्पादनको मूल्य घटिरहेको छ । कम्पनीहरुले विभिन्न अफरहरु ल्याइएका छन् । केहि वर्षअघि चाउचाउको अवस्था जस्तो थियो अहिल वाइन उद्योगको अवस्था त्यस्तै छ, सबै संघर्ष गरिरहेका छन् । जो संघर्षमा टिक्न सक्छ, ८/१० वर्षपछि भविष्य उसैको राम्रो हुन्छ । वाइन उपभोक्ताको ट्रेन कस्तो छ ? ४ वर्षअघिसम्म नेपालमा वाइन धेरै चिनिएको पनि थिएन । लेडिजहरुले पिउने मदिराको रुपमा चिनिन्थ्यो । विगतमा मदिरा पसलहरुमा वाइन देखिँदैन थियो भने अहिले हरेक पसलमा वाइन अनिवार्य हुन्छ । ब्राण्डको बारेमा पनि थाहा भइसकेको छ । बजार बढ्दो क्रममा छ । हरेक पसलले वाइनलाई कभरेज गरेको छ । सबैले वाइन चिन्न थालिसकेका छन् । मदिराको बजारमा वाइनको हिस्सा कति छ ? १५ प्रतिशतभन्दा कमै होला । सबैभन्दा बढी खपत हुने भनेको वियर हो । वियर पिउनेहरु अहिले वाइनमा डाइभर्ट भइरहेका छन् । ह्वीस्की, रम, जीनको आफ्नै बजार छ । मदिरा पिउने वर्ल्डवाइज कल्चर बनेको छ । सफ्ट ड्रिङ्कस्लाई हार्ड ड्रिङ्कस्भन्दा राम्रो मानिन्छ । फलफूलको रस हो । त्यसमा निश्चित मात्रामा अल्कोहल मिसाएको मात्रै हो । यो पिउनुलाई नराम्रो मानिन्दैन । रेड वाइन गर्भवती भएको महिलाले पिउदा राम्रो हुन्छ भन्ने छ । विशेषगरी नेपाली संस्कृति विभिन्न जाती-जनजाती भएकोले पिउने पिलाउने ट्रेन कै रुपमा विकास भइरहेको छ । नेपालमा व्यापारको तुलनामा उद्योगमा आकर्षक देखिन्छ । आयातीत वस्तुहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो छ । तपाईहरुले यसलाई कसरी लिनु भएको छ ? नेपाली वाइनले बजार राम्रो लिएको छ । हाम्रो विग मास्टरले राम्रो बजार लिएको छ । अरु ब्राण्डहरु पनि बजारमा छ्यापछ्याप्ति अएको छ । यसले एक किसिमको फिल्ड तयार हुँदै गइरहेको छ । सकारात्मक ट्रेन छ । अहिलेको अवस्था संघर्षपूर्ण र जटिल अवस्था हो । गर्दै गए नहुने छैन भन्ने किसिमले हामी आशावादी छौं । म सुरक्षित छु भनेर भन्दिन । कतिले विग मास्टर स्टब्लिस्ट भयो, सुरक्षित छ भनेर भन्छन् । ‘फ्यूचरको किङ तैँ हो’ भन्छन् धेरैले । हामीले विश्वमा वाइनको बजार बुझ्न धेरैभन्दा धेरै मिहेनत गरेका छौं । राम्रो गुणस्तरीय अंगुर ल्याउने, फलफूल ल्याउने, राम्रो म्याचुरेसन दिनेमा होसियार छौं । कतिपयले फलफूल ल्याएर एकै महिनामा फम्र्युटेशन गरेर डेढ/दुई महिनामै वाइन बनाइन्छ । त्यसलाई क्रसिङ गर्ने, बोटलिङ गरेर योङ वाइनको रुपमा बजारमा ल्याइन्छ । त्यसको न फ्लेबर हुन्छ । न विभिन्न प्रकारको विशेषता नै हुन्छ । त्यस्तो वाइन सजिलै वाइन पारखीहरुले बुझ्छन् । व्यवसायीहरु त्यसरी बिक्री गर्न बाध्य पनि छन् । किनभने उनीहरुसँग स्टोर गर्ने तथा म्याच्योर गर्ने स्रोत साधन हुँदैन । अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नको लागि हामीले क्वालीटी दिनुपर्छ । त्यसको लागि हरसम्भव प्रयत्न गरिरहेका छौं । अहिले हाम्रो उद्योगका सबै उत्पादन राम्रो बन्दै गइरहेको छ । अर्को राम्रो पक्ष के हो भने पहिले ७० प्रतिशत वाइन आयात गरिन्थ्यो । ३० प्रतिशतमात्र स्वदेशी प्रोडक्ट हुन्थ्यो । अहिले त्यसमा फेरवदल आएको छ । अहिले करिब ६० प्रतिशत वाइनको बजार स्वदेशी उत्पादनको छ भने बाँकी ४० प्रतिशत मात्रै विदेशी छन् । नेपाली प्रोडक्टले बजार वृद्धि गरिरहेको छ । बजारमा आफ्नो शेयर बढाइरहेका छन् । यसरी नै अघि बढे चाडै वाइन इन्डस्ट्रीज मुलुकमा स्थापित हुन्छ । गुणस्तरीय वाइन उत्पादन गर्न मुख्य गरी के कुरामा ध्यान दिनु पर्छ ? वाइन अंगुरबाट बन्नु पर्ने भन्ने मान्यता विश्वभरी छ । विश्व बजारले त्यस्ता वाइनलाई रुचाउँछन् । अंगुरमा पनि कस्तो भेराइटिज प्रयोग गरेको छ भन्ने हुन्छ । जति राम्रो क्वालीटीको अंगुर प्रयोग गर्यो वाइन त्यतिनै राम्रो हुन्छ । अर्को कति अबधिको म्याचुरेसन भन्ने हुन्छ । क्रसिङ गरेर मेच्युर गर्नुपर्ने हुन्छ । महिनादिन गर्ने हो कि वर्षदिन गर्ने हो । त्यस्तै स्टोरेजको भूमिका पनि महत्वपूर्ण रहन्छ । प्लास्टीकको ट्याङ्क, स्टीलनेश लगायतका ट्यांकहरूमा गरिन्छ । ट्यांकको क्वालीटी कस्तो छ ? सामान्य हो कि एड्भान्स प्रविधिको हो ? कुन ठाँउमा स्टोरेज गर्ने ? पहाड, तराई कहाँ स्टोर गरिएको छ भन्ने हुन्छ । सामान्यतय १८ डीग्री भन्दा कम तापक्रममा गरिएको स्टोरेजलाई उत्तम मानिन्छ । यसरी सबै कुरामा ध्यान पुर्याउन सके वाइन गुणस्तरीय हुन्छ । बोटललाई स्याहार गर्यो, ध्यान पुर्यायो भने वाइनको क्वालीटी पनि राम्रो हुन्छ । पहिले वाइनको बोटल कर्ब सिस्टमको हुन्थ्यो । अहिले सहजताको लागि बिर्कोमा आइसकेको छ । बिर्को भए जहाँ जता पनि सजिलै खोल्न सकिन्छ । विश्वभर नै यो ट्रेन शुरु भइसकेको छ । तपाईको साथीहरुले भने झै विग मास्टर ब्रान्डलाई भविश्यमा वाइन क्षेत्रको किङ बनाउन सक्नुहुन्छ ? त्यसो त अरुले भने भन्दैमा उताउलो हुने अवस्था छैन । अहिले पनि केही वाइन बजारमा हाम्रोभन्दा बढी बिक्री भइरहेको छ । कसैले हाम्रो कम्पनीले कुनै एङ्गलले हेरे होला र हाम्रो ब्राण्ड भविश्यमा राम्रो प्रगति गर्ला भनेका होलान् । यसलाई हामीले स्वागत गरेका छौं । यसलाई उत्प्रेरणाको रुपमा लिनुपर्छ । तर हामी नै किङ भनेर मात्तिएका छैनौं । कमिकमजोरीहरुलाई सुधार्दै गए पक्कै पनि भोलिको दिनमा राम्रो प्रतिफल मिल्न सक्छ । एउटा वाइन पारखीले कुन वाइन योङ, कुन म्याचोर, कुनमा अक्सिजन पसेको छ वा बिग्रेको छ कसरी थाहा पाउने ? जसरी नेपालीहरुले दहिको भेराइटीज चाखेर थाहा पाउछन् त्यसरी नै वाइनलाई पनि टेस्ट गरिसके पछि राम्रो/नराम्रो थाहा पाउन सकिन्छ । वाइन पारखीहरुले वाइनलाई मुखमा लगाउन साथै थाहा पाउछन् राम्रो हो कि नराम्रो ! कस्तो छ । अक्सीटेशन भएको छ वा योङ हो, कस्तो फ्लेबर छ ? चिन्छन् । हामीले हरेक बोतलमा वाइन बनेको समय, कुन लटको र प्रयोग गरिने समयावधि राखेका हुन्छौं । तर योङ वा म्याच्योर हो भनेर लेख्ने गरिन्दैन । चाखेर मात्र थाहा पाउन सकिन्छ । नयाँ उपभोक्ता वाइन पिउन चाहन्छ भने उसले होटल, रेस्टोरा अथवा पसलमा गएर कसरी वाइनको छनौट गर्न सक्छ ? सामान्यतया बजारमा रेड र ह्वाईट दुई प्रकारका वाइनहरु उपलब्ध छन् । ती दुवै भेराइटीजमा स्वीट, सेमी स्वीट र ड्राई वाइन हुन्छन् । स्वीट वाइनमा सुगर राखिएको हुन्छ, ड्राईमा हुँदैन । बजारमा बढी मात्रामा स्वीट वाइनको माग छ । १० हजार काटुन स्वीट वाइन बिक्री हुँदा १/२ सय काटुन मात्रै ड्राई वाइन बिक्री भइरहेको हुन्छ । रेड वाइन कालो अंगुरबाट मात्रै बन्छ भने ह्वाइट वाइन अन्य अंगुर, स्याउ, फलफुलहरुबाट बन्छ । योङ वाइन र म्याचोर वाइन भनेको के हो ? समान्यतया एक सिजनमा वाइन बनायो अर्को वर्षभित्रमा बोटलीङ तथा बिक्री गर्ने गरिन्छ । त्यसलाई योङ वाइन भनिन्छ । जो संसारमा सबैभन्दा सस्तो वाइनमा पर्छ । तर करिब ४ वर्ष स्टोर गरेर बजारमा पठाएको वाइनलाई राम्रो मानिन्छ । स्टोरेज राम्रोसँग गरिएको छ भने मदिराजन्य वस्तुहरु जति पुरानो भयो, त्यति नै राम्रो हुन्छ । विग मास्टरको बजार कस्तो छ ? विग मास्टर उत्पादन थालेको ६ वर्ष भयो । यो वाइन मुलुकभर उपलब्ध छ । यसको बजार तीब्र रुपमा अघि बढेको छ । गएको वर्ष ६० हजार काटुन बिक्री गरेका थियौं । यो वर्ष २०/२५ प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेका छौं । अार्थिक वर्ष २०७२/७३ को तुलनामा २०७३/७४मा ३९.८ प्रतिशत व्यापार वृद्धि भएको थियो । त्योभन्दा अघिल्लो वर्षमा पनि २५ प्रतिशतभन्दा बढी बजार बृद्धि भएको थियो । त्यस्तै, आगामी अार्थिक वर्ष २०७५/७६ मा व्यापार ५० प्रतिशतभन्दा बढी व्यापार विस्तार गर्ने लक्ष्य राखेका छौं । अहिलेसम्ममा यस उद्योगमा ३० करोडभन्दा बढी लगानी भएको छ । वाइन उद्योगप्रति सरकारी नीति कस्तो छ ? सरकारले आफ्नो बजेट निकासीको सहजताको लागि ४५ दिन अघि बजेट घोषणा गर्छ । यो अपरिपक्व निर्णय जस्तो लाग्छ । त्यसो गर्ने हो भने आर्थिक वर्षको अन्त्य नै जेठ पन्ध्रमा गर्दा के हुन्छ ? बजेट चाँही जेठ १५ मा घोषणा हुने, आर्थिक वर्ष चाहीँ असार मसान्तसम्म रहने । अनि ४५ दिन अघि नै अन्तशुल्क, भन्सार लगायतका करका दर वृद्धि गर्ने कार्यले उद्योगी व्यापारीलाई ठूलो असर परेको छ । तीन वर्षअघिदेखि आएको यो समस्याले मदिरा व्यवसायमा अरबौंको क्षति भएको छ । बजेट आएको ४५ दिनसम्म पुरानो रेटमा मदिरा बिक्री गर्नुपर्ने बाध्यता छ । जेठ १२ देखिपछि बजारमा आएको प्रोडक्टको अन्तशुल्क बेग्लै हुन्छ । बजारमा भने असार मसान्तलाई नै आर्थिक वर्षको अन्त्यको रुपमा लिइन्छ । जसबाट मदिरा उद्योगले ठूलो नोक्सान बेहोर्दै आएका छन् । गएको दुई वर्षदेखि त्यो समस्या उद्योगहरुले भोग्नु परेको छ । बेला-बेला सरकारका उच्च पदाधिकारीहरुले मदिरा उद्योग बन्द गर्नु पर्ने कुरा बाहिर ल्याउँछन् । मदिरा व्यवसायी अपमानित ढंगले हेरिन्छ । त्यसैले पनि यस्तो समस्या ठूला उद्योगीहरुले बाहिर नल्याएको हुनसक्छ । ठिकै छ, सरकारले बन्द नै गर्ने घोषणा गरे अरु जुस लगायतका उद्योग खोलौँला, विकल्प धेरै छन् । कृषि उत्पादन गरौंला । निर्यात बढाउँला अथवा व्यापार गरौंला । मलाई फार्मिङमा रुची बढेको छ । अहिले ५०/५२ रोपनी जमिनमा भुइ स्याउ रोपेको छु । यसलाई बढाएर सय, दुई सय रोपनी जमिनमा लगाउने इच्छा छ । किसानहरुसँग समूह बनाएर काम गर्ने इच्छा छ । सम्बन्धित नगरपालिकासँग छलफल भइरहेको छ । अब किसानसँग मिलेर हजारौं टनमा उत्पादन गरेर त्यसबाट वाइन बनाउन परे वाइन बनाउने नभए स्लाईस लगायत तयारी खानेकुरा उत्पादन गर्ने योजना छ ।

१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न, १५ करोडको कारोबार

काठमाडौं । राजधानीमा आयोजित १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । उक्त व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७५ मा प्रत्यक्ष अप्रत्यक्ष १४ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । मेलामा एक लाख ९० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा चलेको मेलाको समापन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताए । अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकाय मार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । नेपाल जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको भन्दै उनले परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरण हुन मुख्य प्राथमिकतामा पर्नुपर्नेमा जोड दिएका छन् । यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले धेरै अगाडि देखि नै नियमित रुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ र यसरी १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना भइसकेका छन् । गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको हो । तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिएको प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि-आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहेको मेला संयोजक मोहन कटवालले बताए । मुलुकको तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई पनि समावेश गरिएको महासंघले जनाएको छ । नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजित मेलाको सह-आयोजकको रुपमा नेपाल सरकार, उद्योग मन्त्रालय-लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तराष्ट्रिय श्रम संगठन आइएलओ रहेका थिए । त्यसैगरी, अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहेका थिए ।