२२ करोड डलरमा कारखाना स्थापना, साढे तीन हजारले रोजगार पाउने

इथियोपिया । चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ । कम्पनीले अफ्रिका समेतका अन्य मुलुकमा कपडा निर्यात गर्ने मुख्य उद्देश्यका साथ उक्त कारखाना स्थापना गरेकाे हाे । इथियोपियाको पूर्वी डायर डावा शहरमा स्थापना गरिएको उक्त नवनिर्मित कारखानाको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ । कम्पनीले यहाँबाट उत्पादित सम्पूर्ण लत्ताकपडा र टेक्स्टाइल शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने जनाएको छ । यहाँबाट उत्पादित सामग्री खासगरी युरोप, उत्तर अमेरिका र एसिया समेतका मुलुकमा निर्यात गर्ने कम्पनीको तयारी छ । उक्सी टेक्स्टाइलका महाप्रबन्धक झाङ शेङमिङले कारखानाले तीन हजार ५०० लाई रोजगारी उपलब्ध गराउन सक्ने बताएका छन् । रासस

२१ बोरा मारुती सिमेन्ट किन्दा १० ग्राम चाँदीकाे सिक्का सित्तैमा

काठमाडाैं । मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक ‘चाँदीको झिलिमिली’ योजना ल्याएको छ । यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्ने कम्पनीले जनाएकाे छ । यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागू हुने कम्पनीकाे भनाइ छ । मारुती सिमेन्टले नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रोटरी टेक्नोलोजीको ग्रिनफिल्ड प्लान्टद्वारा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएकाे छ । मारूती सिमेन्टले आइएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त गरेकाे छ ।

सुन्दर पर्यटकीय स्थल इलामको कन्यामः प्रदुषण हटाउँदा अझै बन्नेछ आकर्षण

काठमाडौं । रमणीय र प्राकृतिक सौन्दर्यताको भरिपूर्ण उपहारको रुपमा कन्यामलाई लिने गरिएको छ । इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्ने कन्याम मेची राजमार्गको पहुँचमा भएकोले पनि सहजै पुग्न सकिन्छ । झापाको चारआलीबाट मोडिएर उत्तरतर्फ लागेपछि करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ कन्याम । इलामको उकालो सुरु हुन साथ प्राकृतिक सुन्दरताको हराभराले मन आनन्दित बनाउन सुरु गर्छ, जब जो कोही कन्याम पुग्छ, त्यहाँको दृश्यसँग मान्छे आफै‌ँ हराउँछन् । यातायातको सहज पहुँचमा रहेकाले सजिलै कन्याममा आवतजावत गर्न सकिन्छ । पहिले हुस्सु र चिसो हावापानीका कारण कमै मात्र मानिसहरुको आवतजावत हुने कन्याममा अहिले वर्ष भरिनै पर्यटकहरुले खचाखच हुने गरेको छ । बिदा मनाउन, माया प्रेम साट्न, बनभोज खान तथा शैक्षिक भ्रमणका लागि आन्तरिक र वाह्य पर्यटकहरु कन्याम पुग्ने गरेका छन् । ताप्लेजुङ जिल्लाको पाथिभरा देवीको मन्दिर दर्शन गर्न जाँदा र फर्किदा बाटैमा पर्ने कन्याम सबैको रोजाइमा पर्ने गरेको छ । अरुदिनमा भन्दा बिदाको दिनहरुमा पर्यटकहरुको भीड हुने गरेको छ । वर्ष भरिनै चिसोे हावापानी, डाँडै ढाक्ने चिया बगान, देउराली डाँडा, विभिन्न जातीको परम्परागत सांस्कृतिक आकर्षणहरु हुन् । कन्याममा घोडाले पनि पर्यटकहरुलाई आकर्षित गरेको छ । कन्याममो चिया बगानमा फोटो नखिच्ने र घोडा नचढ्ने पर्यटकहरु सायदै होलान् । पर्यटकले त्यहाँको कोसेली स्वरुप चिया, छुर्पी, ललिपप र अकवरे खुर्सानी जस्ता वस्तु खरिद गरेर ल्याउने गरेका छन् । कन्याममा चिया र छुर्पी व्यापार गरिरहेकी ४० वर्षीय मुना श्रेष्ठले पर्यटकको रोजाइमा इलामको कोशेली परेकोले ब्यापार वृद्धि हुदै गएको बताइन् । कन्यामको सुन्दरतामा भुल्नेहरु धेरै छन्, तर त्यहाँ समस्या र चुनौतीहरु भने नभएको हैन । पर्यटकीय गन्तव्य भएपनि भौतिक पूर्वाधारहरुको अभाव छ । मौसम बदलि भैरहने पर्यटकीय कन्याममा घुम्दाघुम्दै पानी पर्यो भने कतै टाउको लुकाउने ठाँउ छैन । सार्वजनिक शौचालयको अभावमा पर्यटकहरुलाई समस्या हुने गरेको छ । मानिसहरुको आवतजावत बढेसँगै फोहोरमैलाको मात्रा समेत बढेको छ । यसले कन्यामको सुन्दरतामा प्रत्यक्ष प्रभाव पारेको छ र सम्बन्धित निकायले ध्यान नदिएको देख्न सकिन्छ । सुन्दर कन्यामको चिया बगानको बीचबीचमा रक्सी, पानी र चिप्सको पाकेट लगाएतका फोहरले कन्यामलाई गिज्याइ रहेको देखिन्छ । पार्किङको सुविधा नहुनु कन्यामको अर्को समस्या हो । यस्ता समस्याहरु माथि नगरपालिका, वडा कार्यालय र सम्बन्धित निकायको ध्यान दिन सकेको छैन । कन्यामको अस्तव्यस्तताका बारेमा सूर्योदय नगरपालिका मेयर रणबहादुर राईले कन्याम क्षेत्रमा फोहोर नभएको र शनिवार सरसफाइ नहुने र आइतवार मात्रै हुने भएकाले पनि आइतबार केही फोहर जस्तो देखिएको हुनसक्ने बताए । उनले भने-‘हामीले २५ जना कर्मचारीलाई सरसफाइमा खटाएका छौँ । हामीले सकेसम्म सफा राख्ने प्रयास गरेका छौँ ।’ सूर्योदय नगरपानिकाको वडानम्वर ७ का अध्यक्ष लेखनाथ खड्काले कन्यामलाई सुधार गर्दै आएको र सरसफाइलाई पनि सुधार्ने प्रयास भइरहेको बताए । उनले भने-‘हामीले हाम्रो पर्यटकीय क्षेत्रको संरक्षण गर्नै पर्छ, हामी त्यसमा लागिरहेका छौँ । बिस्तारै कन्याम अझै आकर्षण बनाउँदै जान्छौँ ।’