दुई वर्षदेखि बन्द उद्योगमा २४७ कर्मचारी नियमित हाजिरमा, राज्यलाई २८ करोड रुपैयाँ भार

काठमाडौ । नेपालको गुणस्तरीय टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योग दुई वर्षदेखि बन्द भएपनि कर्मचारीले हालसम्म हाजिर गरिरहेका छन् । सो उद्योगमा २४७ कर्मचारी स्थायी छन् । उनीहरुको तलब भत्तामा मात्र मासिक रु एक करोड लाग्छ । पचपन्न कर्मचारी बिनाउपदान घर फर्किएका छन् । दुई वर्षदेखि रोकिएको तलब र भत्ता कर्मचारीलाई दिन मात्र रु २८ करोड चाहिन्छ । सो उद्योगका महाप्रबन्धक दिनेशकुमार बर्तौलाका अनुसार उद्योग बन्द भएको दुई वर्ष भयो तर कर्मचारीले अहिले पनि हाजिर गरेर घर फर्किन्छन् । धेरै कर्मचारी त हाजिर गरेर अरु ठाउँमा काम गर्छन् । उद्योगमा ८० प्रतिशत कर्मचारी स्थानीयवासी नै छन् । “उद्योग अहिले पनि रु डेढ अर्ब घाटामा छ,” उनले भने । चीन सरकारको सहयोगमा निर्माण भएको सो उद्योग तत्काल सञ्चालनका लागि रु ८२ करोड लाग्छ । तर लगानी गरेर सञ्चालन गर्नतर्फ सरकारको ध्यान गएको देखिँदैन । उद्योगका महाप्रबन्धक बर्तौलाका अनुसार उद्योगमा रहेका मेसिन निकै पुराना छन् । ती मेसिनले गुणस्तरीय उत्पादन दिन नसक्ने अवस्था छ । नयाँ प्रविधिका मेसिन किन्नका लागि रु एक अर्ब ६० करोड आवश्यक पर्छ । “सरकारले लगानी गरेर चलाउने विषयमा अर्थमन्त्रालयले पैसा नहाल्ने भएको छ, कुनै लगानी गर्ने कम्पनीको खोजीमा छ तर भरपर्दो कम्पनी भेटिएको छैन”, उनले भने । बन्द हुनुअघि सो उद्योग महिनामा पाँच/छ दिनमात्र सञ्चालनमा आउँथ्यो । आवश्यक सामग्रीको ढुवानी महँगो भएका कारण उद्योग सञ्चालनमा कठिनाइ थियो । सो उद्योगको ५६६ रोपनी जग्गा छ । त्यसको पनि सदुपयोग हुन सकेको छैन । एउटा टायरको तौल ६२ किलो हुन्छ । निर्माणका लागि ७० थरिका कच्चा पदार्थ चाहिन्छ । त्यसमा प्रयोग हुने खोटोबाहेक सबै कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्छ । व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उपसमितिको आजको बैठकमा उद्योग बन्द हुनुको कारणबारे सांसदले उद्योगका महप्रबन्धक बर्तौलालाई प्रश्न गरेका थिए । सांसदले बर्तौलालाई सरकारको लगानीमा सञ्चालन भएको उद्योग दुई वर्षदेखि बन्द हुनु र सञ्चालनमा आउन नसक्नुको कारण सोधेका थिए । नेपालको नाम चलेको गुणस्तरीय टायर उद्योग बन्द हुँदा धेरै नागरिक बेरोजगार भएको र समग्रमा मुलुकलाई घाटा लागेको सांसद राज्यलक्ष्मी श्रेष्ठको ठहर छ । सांसदहरु अनारकली मिया, आदित्यनारायण कसौधनको प्रश्न छ, “दुईवर्षदेखि उद्योग बन्द छ, किन कर्मचारीलाई बिदा नगरेको ?” राज्यबाट सञ्चालन भएका उद्योग किन धरासयी भएर बन्द भएको, यसको खोजी हुनुपर्छ ।” सरकारले सञ्चालन गरेको उद्योग टाट पल्टने तर निजी क्षेत्रले लगानी गरेको उद्योग नाफामा जाने अवस्था मुलुकका लागि दुःखदायी भएको उहाँहरुको ठहर छ । कर्मचारीलाई बिदा गर्नुपर्ने, सरकारले लगानी गरेर वा कुनै लगानीकर्ता खोजेर उद्योग सञ्चालन गर्नुपर्ने विषयमा पनि सांसदहरुले ध्यानाकर्षण गराएका छन् । उपसमितिका संयोजक नारायणबहादुर कार्कीले भने, “उद्योग चल्दैन भने किन कर्मचारी राखिरहेको, सञ्चालन गर्ने विषयमा किन सरकारले नसोचेको यो गम्भीर विषय हो ।” उहाँले कर्मचारीलाई बिदा गरेर व्यवस्थितरुपमा उद्योग सञ्चालनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने बताए ।

तीन सय ५६ नयाँ उद्यमी थप

तेह्रथुम । गत आर्थिक वर्षमा तेह्रथुममा ३५६ जना नयाँ लघु उद्यमी थपिएका छन् । म्याङलुङ्ग नगरपालिकासहित छथर र आठराई गाउँपालिकामा ढाका, मुढा, वनस्पति कोइला निर्माण, दुग्ध परिकार उत्पादन, ऊनी झोला, हौजियारी, सिलाइकटाइलगायत विभिन्न विषयका २५१ महिलासहित ३५६ जना लघु उद्यमी थपिएका हुन् । जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिमार्फत सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत म्याङलुङ नगरपालिकाका सबै वडा, आठराई गाउँपालिकाका–२ खाम्लालुङ, वडा नं ६ चुहानडाँडा र वडा नं ७ थोक्लुङ तथा छथर गाउँपालिका–२ हमरजुङमा विभिन्न विषयका रोजगारमूलक तालीम सञ्चालन गरिएको थियो । ती तालीममा सहभागी भएर रोजगारीमूलक सीप सिकेका गृहिणी महिला तथा युवाहरु नै अहिले उद्यमीका रुपमा स्थापित भएको जिल्ला घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख दीपक पौडेलले बताए । तालीममा सहभागी भएर सीप सिकेकाले व्यावसायिक योजना नै बनाएर व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरुलाई व्यावसायिक योजना निर्माण र सञ्चालनका सम्बन्धमा समेत तालीम दिइएको साझेदार संस्था दलित सचेतना समाज नेपालका निर्देशक कुमार विशंखेले जानकारी िदए। उनकाअनुसार सीप सिकेका गृहिणी महिला तथा युवाले साना व्यवसाय थालेका छन् । ढाका कपडा बुनाई सिकेका महिला उद्योग खोलेर बसेका छन् भने सिलाइकटाइ सिकेका महिलाले पनि व्यवसाय थालेका छन् । मुढा बुनेर गाउँका उद्यमीले घर खर्च चलाइरहेका छन् । रासस

औद्योगिक क्षेत्रको लोडसेडिङ छिट्टै हटाइने छ – ऊर्जामन्त्री

हेटौँडा । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले औद्योगिक क्षेत्रमा हुँदै आएको विद्युत् भार कटौती अन्त्यका लागि सरकारले उद्योग व्यवसायीको समेत साथ खोजेको बताएका छन् । उद्योग संघ मकवानपुरले आज हेटौँडा औद्योगिक क्षेत्रमा उहाँको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा मन्त्री शाहीले उक्त कुरा बताएका हुन् । औद्योगिक क्षेत्रमा हाल दैनिक तीन घण्टा विद्युत् कटौती हुँदै आएको छ । मन्त्री शाहीले विकासको महत्वपूर्ण आधारको रुपमा सडक र ऊर्जा नै भएको हुँदा त्यसका लागि सरकारले विभिन्न उपाय अपनाएर काम गरिरहेको उल्लेख गरे । उहाँले भने– ऊर्जाको क्षेत्रमा के कस्तो काम गर्नुपर्छ सरकार तयार छ, तर काम गर्न नदिने प्रवृत्तिलाई रोक्न सबैले सहयोग गर्नुपर्छ । आधार भूतरुपमा विद्युत् भार कटौती अन्त्य भइसकेको छ, औद्योगिक क्षेत्रको विद्युत् भार कटौती पनि अब छिट्टै हटाइने छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि सम्पूर्ण औद्योगिक क्षेत्रको विद्युत् भार कटौती अन्त्य हुुने जानकारी िदए । रक्सौल–परवानीपुर १३२ केभी चार्ज गर्न प्रयासमा छौँ, त्यसले पनि हुँदै आएको विद्युतभार कटौतीमा सुधार ल्याउन सकिन्छ, प्राविधिक रुपमा हुने कटौतीलाई विद्युत् भार कटौतीका रुपमा नबुझ्न उहाँले आग्रह गरे । नेपाल उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले उद्योगी व्यवसायीका विभिन्न माग समेटिएको ज्ञापनपत्र मन्त्री शाहीलाई बुझाएका िथए । रासस