दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र स्थापना हुदै, सरकारले थाल्यो अध्ययन
घोराही । प्रत्येक प्रदेशमा कम्तीमा १ हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने केन्द्रीय सरकारी नीतिअनुरुप प्रदेश नं ५ को दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि प्रस्ताव गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं ५ साविकको लक्ष्मीपुर र धर्ना गाविस मा औद्योगिक क्षेत्र स्थापनाको तयारी गरिएको हो । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीको संयोजकत्वमा, गठित कार्यदलले सो क्षेत्रको पहिलो चरणको अध्ययन÷अनुगमन गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतसहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो । घोराहीको लक्ष्मीपुरमा रहेको करीब ५४९ हेक्टर क्षेत्रफलमा नयाँ औद्योगिक क्षेत्र घोषणा गर्ने तयारी अनुरुप मन्त्रालयको टोलीले सो क्षेत्रको अध्ययन शुरु गरेको संयोजक मरासिनीले जानकारी दिए । उनले भने, “औद्योगिक क्षेत्रको लागि उक्त ठाउँ निकै उपयुक्त भएको हामीले पायौँ ।” अनुगमनबाट फर्किएपछि दाङ उद्योग वाणिज्य सङ्घ र पत्रकारको टोलीसँग मरासिनीले सो क्षेत्र समथर भूभाग भएको र वनको क्षेत्र पर्ने हुँदा अधिकांश जग्गाको मुआब्जासमेत तिर्न नपर्ने हुँदा कम खर्चिलो हुने बताए । उहाँले जिल्लाका उद्योगी व्यवसायीलाई औद्योगिक क्षेत्रमा के–कस्ता उद्योग व्यवसायको स्थापना गर्ने र बजार कुन क्षेत्र हुने भन्ने बारेमा थप अध्ययन गर्न आग्रह गरे। शुरुको चरणमा प्रतिहेक्टर २ करोड रुपैयाँको लगानी लाग्न सक्ने अनुमानसमेत गरे । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेका अध्यक्ष बस्नेतले ५४९ हेक्टरमध्ये १५ हेक्टर जग्गाको मात्र सरकारले मुआब्जा दिनुपर्ने देखिएको हुदाँ लगानी कम पर्ने बताए । दाङ भारतसँग सिमाना जोडिएको र प्रशस्त पहाडी बजार भएको हुदाँ दाङको घोराही नजिक औद्योगिक क्षेत्र स्थापनाको उपयुक्त स्थान भएको उनको भनाइ थियो । दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र घोषणाका लागि मन्त्रिपरिषद्को गत साउन १८ गते बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय संयोजक रहने गरी शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपछी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र गृह मन्त्रालय रहने कार्यदल गठन गरेको थियो ।कार्यदलबाट प्रस्तावित औद्योगिक क्षेत्रका बारेमा स्थलगत रूपमै विस्तृत अध्ययन एवं थप गृहकार्य गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको थियो । रासस
आठ करोड रुपैयाँ लगानीमा दमौलीमा रिसोर्ट
काठमाडौं। तनहँको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स्थापना गरेका हुन्। स्वीमिङ पुलसहित सञ्चालन गरिएको रिसोर्ट २२ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ । पहिलो चरणमा रिसोर्टमा १० कोठा निर्माण गरिएको र यसलाई विस्तार गर्दै ४० सम्म पु¥याइने उनले जानकारी दिए। दोस्रो चरणमा अर्को वर्ष १० कोठा र बाँकी तेस्रो चरणमा निर्माण गरिने र सो अवधिसम्म संरचना निर्माण सकिँदा रु नौ करोडसम्म लगानी पुग्ने अनुमान गरिएको व्यवसायी भट्टराईले बताए। “पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुले गुणस्तरीय खानासमेत रिसोर्टमा पाउनेछन्”, उनले भन्नुभयो, “तारे होटलमा पाइने खानाको गुणस्तर यहाँ पनि पाइन्छ ।” रिसोर्टमा स्वीमिङ पुलको व्यवस्था समेत छ । ‘गर्मीयाममा पौडी खेल्नका लागि पोखरा जानुपर्ने बाध्यता थियो”, व्यवसायी भटृराईले भने, “अब दमौली, डुम्रे र आँबुखैरेनीका सर्वसाधारणले नजिकै स्वीमिङ पुलको मज्जासमेत लिन पाउनेछन् ।” तनहुँ उद्योग वाणिज्य सङ्घका सदस्यसमेत रहनुभएका उनले यस क्षेत्रमा सम्मेलन गर्ने भवनको अभाव देखेर रिसोर्टमै २०० जना क्षमताको सभाकक्ष र ३० जना क्षमताको बैठक कक्ष निर्माण गरेका छन्। रिसोर्टमा स्थानीय २० र काठमाडौँका दुई गरी २२ जनाले रोजगारी पाएका छन् । रिसोर्टमा बालबालिकालाई खेल्नका लागि बाल उद्यानसमेत बनाइएको छ । रिसोर्टका व्यवस्थापक अमर न्यौपानेले राजमार्गमा यात्रा गर्ने पर्यटक तनहुँ नबसी सिधैँ पोखरा या काठमाडौँ जाने गरेकाले उनीहरूलाई तनहुँमै आकर्षण गर्ने व्यवस्था रिसोर्टले गर्ने बताए। रासस
दशैंमा नयाँ जुत्ताः नेपाली जुत्ता घर जानुस् ५० प्रतिशतसम्म छुट पाउनुस्
काठमाडौं । के तपाई दशैंमा नयाँ जुत्ता किन्ने सोचमा हुनुहुन्छ ? त्यसो भए नेपाली जुत्ता घर जानुस् जहाँ पाउनु हुनेछ ५० प्रतिशतसम्म छुट । स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित नेपाली जुत्ताहरुमा ६ महिनाको वारेन्टीसहित २० देखि ५० प्रतिशतसम्म छुट पनि उपलब्ध छ । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । ‘सबै नेपालीका खुट्टामा नेपाली जुत्ता होस भन्ने हाम्रो कामना हो, दशैंमा नयाँ जुत्ता किन्नेहरुले नेपाली जुत्ता लगाएर स्वदेशी उत्पादनलाई माया गरुन भनेर ५० प्रतिशतसम्म छुट दिएका छौं’, जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले भने । नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ६ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, बागबजारमा अद्धैत मार्गस्थितमा(विश्वभाषा क्याम्पस पछाडी), कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् । ‘नेपाली जुत्ता पारखीहरुका लागि सबै कम्पनीका जुत्ताहरु एकै ठाउँमा किन्ने अवसरका लागि हामीले जुत्ता घर खोलेका थियौं, दशैंमा सुबिधा पनि दिनुपर्छ भनेर छुट अफर पनि ल्याएका छौं’, उपाध्यायले भने । बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् ।