सरकारका हरेक काम कारवाहीलाई पूर्ण रुपमा डिजिटलाईज गर्दै जानुपर्छ- अध्यक्ष राणा
काठमाडौं । महासंघका अध्यक्ष भवानी राणाले सरकारका काम कारवाहीलाई पूर्णत डिजिटलाईज गर्दै जानुपर्नेमा जोड दिएकी छिन् । साथै, उनले यसमा सम्बन्धमा आवश्यक नीति कानुन ल्याउनु पर्ने बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघद्धारा सोमबार(आज) महासंघ सचिवालयमा “पेपरलेस सोसाइटी एण्ड इम्प्लोइमेन्ट जेनरेशन इन आईसीटी सेक्टर” विषयक अन्तरक्रिया कार्यक्रममा राणाले सो कुरा बताएकी हुन् । अध्यक्ष राणाले विश्वव्यापी रुपमै उद्यमशीलताको प्रवद्र्धन तथा रोजगारी सृजनामा सूचना तथा संचार प्रविधि एउटा सफल पक्षको रुपमा प्रमाणित भैसकेको बताएकी छिन् कार्यक्रममा महासंघकी अध्यक्ष राणाले देश संघीय संरचना अनुसार अगाडी बढी सकेकाले संघीयतालाई दीगो बनाई संघीयताबाट आम नेपाली जनतालाई लाभान्वीत गराउन शुसासन र जवाफदेहीतामा आधारित अर्थतन्त्रको विकास हुनु पर्नेमा जोड दिएकी छिन् । उनले कृषि, पर्यटन र पूर्वाधार जस्ता महत्वपूर्ण क्षेत्रनै परिवर्तनका आधार हुन सक्ने भन्दै आर्थिक विकास र मुलुकभित्र सुशासनको प्रत्याभुति दिलाउन सूचना तथा संचार प्रविधि महत्वपूर्ण पाटो भएको बताएकी छिन् । उद्यमशीलता तथा रोजगारीका अवसर र चुनौतीहरुको विश्लेषण र उद्यमशीलताको विकास र रोजगारी सृजनामा सूचना तथा संचार प्रविधिको भूमिका विषयलाई गहन रुपमा अध्ययन गरी सोही अनुसार रणनीति तय गर्नुपर्नेमा उनले बताइन् । साथै, सूचना प्रविधि मार्फत मुलुकभित्र उद्यमशीलता विकास र रोजगारी सृजनामा सरकारस“ग सहकार्य गर्न निजी क्षेत्र आतुर रहेको पनि अध्यक्ष राणाले बताइन् । संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई मुलुक रूपान्तरणको प्र्रमुख आधार बनाएर जान सरकार क्रियाशिल रहेको बताउँदै अर्थतन्त्रको विकासमा अग्रस्थानमा रहेर कार्य गरीरहेको निजी क्षेत्रलाई उद्यमशीलता विकास र रोजगारी सृजनासँग सूचना प्रविधिलाई जोडेर लैजाने कार्यमा सहयोग गर्न सरकार तयार रहेको जानकारी दिएका छन् । राष्ट्रिय उत्पादकत्व प्रवद्र्धनमा कसरी सूचना प्रविधिलाई जोडन सकिन्छ यसमा महासंघ जस्ता व्यवसायिक संस्थाको सहयोग सरकारले खोजेको उनले बताए । सूचना प्रविधिका क्षेत्रमा बाह्य मुलुकले अवलम्वन गरेको मोडल यहाँ लागू गर्नुभन्दा पनि सरकारले मुलुककै माटो सुहाउँदो मोडल कार्यान्वयनमा ल्याउन जोड दिएका छन् । साथै, उनले अहिलेको नयाँ पुस्तासम्म सूचना प्रविधि पहु“चलाई सहज बनाउने तर्फ सरकार क्रियाशिल रहेको र यसलाई विद्यालय तहदेखिनै जोड्ने योजना सरकारको रहेको जानकारी गराए । कार्यक्रममा स्टाफ कलेजका निर्देशक सुवर्ण कुमार सिंहले राष्टिय विकासमा सूचना तथा संचार प्रविधिको भूमिकालाई परिभाषित गरिनु पर्ने, राष्ट्रिय भिजन तयार गर्नुपर्ने, यस सम्बन्धमा अन्तर छलफल र अन्तरक्रियालाई नियमित रुपमा अगाढी बढाउनु पर्ने, सूचना तथा संचार प्रविधिको अभ्यासलाई व्यक्ति, व्यवसायिक र व्यापारिक रुपमा समेत बढाउनु पर्नेमा जोड दिएका छन् । त्यसैगरी, योङ इनोभेन्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विभुषण विष्ट विष्टले मूलत सरकारले दीगो विकास लक्ष्य हासिल गर्न, स्वच्छ पिउने पानीको सुनिश्चिता गराउन, सार्वजनिक शिक्षामा पहुँच बढाउन, रोजगारी सृजना र पर्यटन विकासलाई आफ्नो मुख्य प्राथमिकतामा राखेकाले यी क्षेत्रहरूबाट अपेक्षित लाभ हासिल गर्न सूचना तथा संचार प्रविधिलाई यी क्षेत्रस“ग जोडेर जानु पर्ने र सोही अनुसार नीति निर्माण र वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।
हेटौँडामा १३ नयाँ उद्योग सञ्चालनमा
हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बोलपत्रद्वारा थप १५ उद्योग निर्माणका लागि सम्झौता गरेको थियो । पन्धवटै उद्योगका लागि संरचना तयार भएपनि सिइ हाइड्रो मेकानिकल बक्र्स प्रालि, थ्रि स्टार गुप प्रालि भने अझै सञ्चालन हुन सकेको छैन । सिइ हाइड्रो मेकानिकल बक्र्स प्रालि, न्यू मकवानपुर खाद्य उद्योग प्रालि, फार्मर एग्रो सेन्टर प्रालि, नेशनल स्ट्रक्सन इञ्जिनियरिङ प्रालिले उद्योग सञ्चालन गर्न २०७३ जेठ अघि नै सम्झौता गरेका थिए । भवन निर्माण भए पनि विद्युत् अभावका कारण उद्योग सञ्चालनमा आउने अवस्था नरहेको उद्योग संघका जिल्ला अध्यक्ष नवराज अर्यालले बताए । उक्त क्षेत्रमा हाल खपत भइरहेको विद्युत्मा थप १० केभीए विस्तार गरिएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्राविधिक कारणले केही महिना ढिला भए पनि उद्योग भने लक्ष्यअनुसार सञ्चालन भइसकेको छ । उक्त क्षेत्रमा १५ वटा नयाँ उद्योगमध्ये सञ्चालन हुन बाँकी दुई उद्योग पनि छिटो सञ्चालन हुने अध्यक्ष अर्यालले जानकारी दिए । सो क्षेत्रभित्र ९४ वटा उद्योग सञ्चालनमा छन् भने २९ उद्योग निर्माणाधीन अवस्थामा छन् । एक दर्जन धेरै पुराना उद्योग बन्द अवस्थामा छन् । रासस
तनहुँमा ७८८ नयाँ उद्योग दर्ता
तनहुँ । आर्थिक वर्ष २०७४/७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उद्योग दर्ता भएका छन् । उक्त कार्यालयले दिएको जानकारी अनुसार ५९३ साना उद्योग, १४६ लघु उद्योग र ४९ घरेलु उद्योग दर्ता भएका हुन् । आव २०७३/७४ मा लघु उद्योग दर्ता करमा छुट भएका कारण बढी उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । आव २०७३/७४ मा ८६२ उद्योग दर्ता भएका थिए । आव २०७३/७४ मा उक्त कार्यालयले रु ५६ लाख चार हजार तथा आव २०७४/७५ मा रु ५३ लाख ४५ हजार राजश्व संकलन गरेको थियो । उद्योग नवीकरण, नामसारी, ठाउँसारी, पूँजीवृद्धि, खारेजीलगायत शीर्षकमा राजश्व संकलन गरिएको हो । एक लाख रुपैयाँको उद्योग दर्ताका लागि रु एक हजार, रु एक लाखदेखि रु तीन लाखसम्मको उद्योग दर्ताका लागि रु तीन हजार, रु तीन लाखदेखि रु पाँच लाखसम्मको उद्योग दर्ताका लागि रु ६ हजार, रु पाँच लाखदेखि रु २० लाखसम्मको उद्योग दर्ताका लागि रु १२ हजार, रु २० लाखदेखि रु एक करोडसम्मको उद्योग दर्ताका लागि रु २० हजार, रु एक करोडदेखि रु पाँच करोडसम्मको उद्योग दर्ताका लागि रु ३० हजार तथा रु पाँच करोडभन्दा बढी लगानी भएको उद्योग दर्ताका लागि रु ५० हजार शुल्क लाग्ने कार्यालयकी खरिदार मेनका जमरकट्टेलले जानकारी दिए । रासस