औद्योगिक र व्यापारिक क्षेत्र निर्माणका लागि गुरुयोजना बनाइने

भद्रपुर । स्थानीय तह दोस्रो चरणको निर्वाचनबाट झापाको भद्रपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले औद्योगिक र व्यापारिक क्षेत्र निर्माणका लागि गुरुयोजना बनाइने प्रतिबद्धता जाहेर गरेका छन् । संवाद समूह झापाद्वारा आज आयोजित ‘विजयी प्रतिनिधिसँगको जिम्मेवारी, जनअपेक्षा, प्राथमिकता चुनौती, समस्या र समाधान’ विषयको एकदिने छलफल कार्यक्रममा नगर प्रमुख जीवनकुमार श्रेष्ठले समग्र नगरको स्तरोन्नतिका लागि सडक विस्तारलाई बढी प्राथमिकतामा राखिएको बताए । उहाँले चन्द्रगढी विमानस्थल र मेची अञ्चल अस्पतालको स्तरोन्नति, प्राङ्गारिक कृषि उत्पादन, बालमैत्री वडा कार्यालय र भन्सार कार्यलयको व्यवस्थापनलगायत विषयलाई आफूले जति सक्दो छिटो अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे । नगर उपप्रमुख चन्द्राकुमारी श्रेष्ठले समाजमा रहेको हिंसा न्यूनीकरण गर्न आफ्नो प्राथमिकता रहेको जानकारी दिए । रासस

दोश्रो जिम्मेवार व्यवसाय सम्मेलन साउन १९ गतेदेखि हुने

काठमाडौं । नेपालमा व्यवसायिक सामाजिक उत्तरदायित्व र असल व्यवसायिक अभ्यासको प्रवद्र्धन गर्नका लागि यही साउन १९ र २० गते दोश्रो जिम्मेवार सम्मेलनको आयोजना हुने भएको छ । राष्ट्रिय व्यवसायिक पहलले त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा यस सम्मेलनको आयोजना गर्दैछ । नेपाली व्यवसायिक जगतमा व्यवसायिक सामाजिक उत्तरदायित्व एक आधुनिक अवधारणा हो जसलाई प्रचार प्रसार गर्न राष्ट्रिय व्यवसायिक पहलले विगत एक दशकदेखि विभिन्न प्रयासहरु गर्दै आइहरको छ । आयोजक संस्था राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष पद्यज्योतिले सम्मेलनको घोषणा गर्दै भने “दुई दिने यस सम्मेलनमा १६ विभिन्न सत्रहरुमा ठूलादेखि साना उद्योगी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाहरु, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरु लगायत अन्य सरोकारवालाहरुले नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतिहरुको विषयमा बृहत् छलफल गर्नेछन् । यस सम्मेलनले व्यवसायिक सामाजिक उत्तरदायित्व सम्बन्धि नयाँ कानूनको कार्यान्वयन गर्न पनि सहयोग पुग्ने हामीेले विश्वास लिएका छौं ।” नेपाल सरकारले नयाँ औद्योगिक व्यवासाय ऐन २०७३ र नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीति अन्तर्गत तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने उद्योग व्यवसाय र वित्तिय संस्थाहरुमा व्यवसायिक सामाजिक उत्तरदायित्वलाई बाध्यकारी बनाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मेलनको उद्घाटन हुने तय भएको छ । सम्मेलनमा समेटिएका ट्रयाक र तिनका उद्देश्यहरु निम्न बमोजिम रहेका छन् : क) व्यवसाय सञ्चालनलाई संस्थागत एवं पद्धतिबद्ध गर्न “आन्तरिक व्यवसायिक अभ्यास” ख) व्यवसायका निकटतम सरोकारवालाहरुको आवश्यकताको व्यवस्थापन गर्न “सरोकारावाला परिचालन” ग) व्यवसायिक वातावरण सुधार गर्न “सबल साझेदारी” घ) भविष्यका लागि जिम्मेवार व्यवसाय प्रवद्र्धनको खाका तयार गर्न “प्राध्यापन तथा नियमन” प्रत्येक सत्रमा एक प्रखर अन्तर्राष्ट्रिय वक्ता र एक नेपाली कम्पनीको अनुभव सहित दुई नेपाली वक्ताहरु रहनेछन् । साथै प्रत्येक सत्रलाई नेपालका प्रतिष्ष्ठित उद्योगी व्यवसायी वा सत्रसंग सम्बन्धित प्रख्यात व्यक्तिहरुले अध्यक्षता गरी सञ्चालन गर्नेछन् । सम्मेलनमा सहभागि हुने अन्तर्राष्ट्रिय वक्ताहरुमा भुटान उर्जा कर्पाेरेशन लिमिटेडका व्यवस्थापकिय निर्देशक जिम छिरिंग, संयुक्त राष्ट संघ अन्तर्गत ग्लोबल कम्प्याक्ट एशिया प्रमुख मेंग लुई, भारतीय कर्पाेरेट मामिला संस्थानको संस्थागत साझेदारी एवं सञ्चार प्रमुख अतुल देव शर्मा, सोल एनालाइटिक्सका संस्थापक एवं नोकिया कर्पाेरेशनका मध्य पूर्व क्षेत्रका पूर्व बजार प्रबन्धक सुधिर नायर, सिंगापुर राष्ट्रिय विश्वविद्यालयका उपाध्यक्ष डा सिराम रामाकृष्ण र विश्व विश्वविद्यालय संघका पूर्वअध्यक्ष प्रा डा ड्जुल लगायत रहेका छन् । राष्ट्रिय वक्ताहरुमा विभिन्न नविनतम साना तथा मझौला उद्योग व्यवसाय सहित औद्योगिक व्यवसायिक समूहहरुमा ज्योति समूह, वैद्य समूह, पञ्चकन्या समूह, गोल्छा समूह, नेपाल उद्योग वाणिज्य महासंघ आदि छन् । त्यसैगरी सरकारी निकायतर्फबाट उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विद्युत प्राधिकरण रहेका छन् भने नागरिक समाज तर्फ श्रम संगठन, वातावरण अधिकारकर्मी, युवा अधिकारकर्मी, सुशासन अधिकारकर्मी लगायत रहेका छन् ।

आर्थिक विकासका लागि नेपाल–भारत बीचको सहकार्य आवश्यक

काठमाडौं। नेपाल र भारतको आर्थिक विकासका लागि दुबै देश बीचको सम्बन्धलाई झन् बलियो बनाउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीसँग सोमबार गरेको भेटमा चेम्बरका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले सो कुरामा जोड दिएका हुन् । उनले उद्योग, पर्यटन, जलविद्युतलगायत नेपालका ठूल्ठूला आयोजनामा लगानीका लागि भारत सरकारसँंग आग्रह गर्दै दुवै देशको आर्थिक विकासका लागि दुई देशबीचको सडक, रेल्वे सञ्जाललाई मुख्य शहरसम्म पुग्ने गरी परियोजना बनाउनुपर्नेमा विशेष जोड दिनुपर्ने आवश्यकता औल्याए। सो अवसरमा राजदूत पुरीले नेपाल अवसर नै अवसर भएको मुलुक हो भन्दै नेपाल र भारतको आर्थिक समृद्धिका लागि दुबै देश बीचको सहकार्य आवश्यक रहेको बताए । नेपालमा जलविद्युत्, पर्यटनलगायत विकासका लागि पूर्वाधार विकासको ठूलो भूमिका रहने बताउँदै उनले नेपाल र भारतबीचको सदियौँदेखिको मित्रतालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । भेटमा चेम्बरका पदाधिकारी तथा कार्य समितिका सदस्यको सहभागिता थियो । रासस