नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण बन्यो, अर्थतन्त्रमा सुधार हुने- चन्द्रप्रसाद ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रम सम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन् । श्रमिकहरुको वर्तमान आर्थिक अवस्था विषयमा एओटीएसद्धारा जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ढकालले श्रम र श्रमिकहरुको सामाजिक सुरक्षा सम्बन्धी कानुनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदको अध्यक्षका रुपमा उक्त सम्मेलनलाई सम्बोधन गर्दै ढकालले देशमा उद्योग धन्दाको स्थापना र विकासका साथै वैदेशिक लगानीका लागि पनि यी कानुनले नयाँ वातावरण सिर्जना गर्ने बताएका छन् । साथै, श्रमसँग जोडिएका विविध समस्या हल गर्न सहयोग पुग्ने नेपालको आर्थिक क्षेत्रले अपेक्षा गरेको उनले बताए । यी नयाँ कानुनी व्यवस्थाले श्रमिकसँग जोडिएका विभिन्न खाले समस्या सम्बोधनका लागि समन्वय गर्न महासंघलाई पनि सहयोग पुगेको ढकालले बताए । नेपाल सरकार, रोजगारदाता, श्रमिकहरु आवद्ध ट्रेड युनियन प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघबीचको छलफल र परामर्शपछि यी कानुन आएका र नयाँ व्यवस्था बमोजिम श्रमिकलाई दिने सेवा र सुविधाका लागि रोजगारदाताहरु पनि सहमत भएकोले नेपालको श्रम क्षेत्रमा र यसका कारण सिंगो अर्थतन्त्रकै क्षेत्रमा यी कानुनले सकारात्मक प्रभाव पार्ने उनले बताए । श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरुको आफ्नै र रोजगारदाताका तर्फबाट गरिने योगदानले सामाजिक सुरक्षा कानुनतः नै निर्माण भएको र न्युनतम ज्यालाको नयाँ व्यवस्थाले श्रमका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए । योगदानमा आधारित यस सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाताका तर्फबाट कामदारको शुरु तलबको २० र श्रमिक आफैको ११ प्रतिशतका दरले काटेर सामाजिक सुरक्षा कोषमा जम्मा गरी श्रमिकलाई दिने प्रावधान रहेको छ । उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थीर सरकार बनेको भन्दै नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई पनि आग्रह गरेका छन् । श्रमिकका समस्याका विषयलाई पनि सम्बोधन गर्ने गरी श्रमसम्बन्धी कानुन निर्माण भएका र देशमा राजनीतिक स्थिरता पनि आएकोले नेपालका कैयौँ सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न अब विदेशी लगानीकर्ताका लागि राम्रो र सकारात्मक वातावरण बनेको उनले बताए । सो सम्मेलनमा विश्वका १४ देशका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उदयपुर सिमेन्ट उद्योगबाट उत्पादनमा वृद्धि, यस वर्षमा मात्र ३५ करोड नाफा

काठमाडौं । उदयपुरको जलजलेमा अवस्थित सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन शुरु गरेको छ । २०४४ सालमा सुरु भएको उक्त उद्योग नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको छ । दैनिक ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरे पनि शुरुका वर्षमा ७०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गरेको थियो । विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६०० देखि ६५० मेट्रिक टनसम्म मात्र सिमेन्ट उत्पादन हुने गरेको थियो । गत वर्षदेखि सिमेन्टको गियर मेशिन नयाँ परिवर्तन गरेपछि दैनिक ७०० देखि ७५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन क्षमता बढाएको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलको भनाई रहेको छ । यसपटक २५ दिन उद्योग मर्मत गरेर विभिन्न मेशिन फेरिएको र अहिले विद्युत्समेत पूर्ण आपूर्र्ति भएपछि उद्योगबाट बढी उत्पादन हुने गरेको छ । दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगको ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरी स्थापनाकालदेखि अहिलेसम्मको सबैभन्दा बढी सिमेन्ट उत्पादनको तथ्याङ्क राखेको महाप्रबन्धक पौडेलले जानकारी दिएका छन् । अब उद्योगले सिमेन्ट उत्पादनकार्यलाई पूर्ण उत्पादन क्षमता ८०० मेट्रिकटन पुर्याउने भएको छ । दुई वर्षअघिसम्म वार्षिक १० करोडभन्दा माथि घाटामा रहेको उद्योगको भौतिक र प्राविधिक व्यवस्थापन गरेपछि गत वर्ष मात्र १५ करोड आम्दानी गरेको थियो । यो वर्ष ३५ करोडभन्दा बढी नाफा गरिसकेको महाप्रबन्धक पौडेलले बताएका छन् । रासस

उद्योग वाणिज्य सङ्घकाे अध्यक्षमा श्रेष्ठ

भोजपुर । भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा धुव्रलाल श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा श्रेष्ठले ३१० मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी रामचन्द्र श्रेष्ठलाई ४३ मतले पराजित गरेका हुन् । प्रथम उपाध्यक्षमा कर्णबहादुर मोक्क्तान, द्वितीय उपाध्यक्षमा नीरकुमार विश्वकर्मा, महासचिवमा नवीन प्रधान, सचिवमा विन्द्रकुमार राई, कोषाध्यक्षमा प्रवीनकुमार सुवाल तथा सदस्यमा रमेश कार्की, कमल प्रधान, राजन राई, देवराज प्रधान, बुद्धिकुमार श्रेष्ठ, लालबहादुर श्रेष्ठ, अनिल बस्नेत, ऋषिधन राई, ईश्वर श्रेष्ठ, विमल रणपहेलीलगायत विजयी भएका छन् । निर्वाचनमा ५८५ व्यवसायीले मतदान गरेका थिए । रासस