कम्पनीले समयमै कागजात नबुझाए २० हजारसम्म जरिवाना तिर्नु पर्ने
काठमाडौं । ऐनअनुसार दर्ता पश्चात कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गर्नुपर्ने विभिन्न विवरण लगयातका कागजातहरु निश्चित अबधिमा पेश नगरे अब २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने भएकाे छ । १ करोड रुपैयाँ भन्दामाथि पुँजीको सीमा भएको कम्पनीले तोकिएको समयमा आवश्यक विवरण तथा कागजातहरु नबुझाए मासिक रुपमा जरिवाना बढ्दै जाने र एक वर्षको अबधिमा २० हजार रुपैयाँ पुग्ने रजिस्ट्रारको कार्यालयका सूचना अधिकारी गंगाधर पौडेलले बताए । उनका अनुसार उक्त १ करोड भन्दामाथि पुँजीको सीमा भएको सार्वजनिक तथा निजी कम्पनीहरुको हकमा म्याद भुक्तान भएको पहिलो तीन महिनामा ५ हजार जरिवाना लाग्नेछ । थप तीन महिनामा पनि नबुझाए ७ हजार, थप ६ महिनामा १० हजार र तत्पश्चात २० हजार रुपैयाँ जरिवाना लाग्ने छ । त्यस्तै पुँजीको सीमा २५ लाख रुपैयाँसम्म भएको कम्पनीको जरिवाना म्याद भुक्तान भएको पहिलो ३ महिनको अबधिमा १ हजार रुपैयाँ रहेको छ । थप ३ महिनमा जरिवाना बढेर १ हजार ५ सय, थप छ महिनामा २ हजार र तत्पश्चात ५ हजार पुग्ने रजिस्ट्रारको कार्यालयको भनाइ छ । २५ लाखभन्दामाथि १ करोडसम्म पुँजी सीमा भएको कम्पनीको हकमा म्याद भुक्तान भएको पहिलो तीन महिनमा २ हजार रुपैयाँ दस्तुर लाग्नेछ । समयावधि बढ्दै गए क्रमशः थप तीन महिनाको अबधिमा ३ हजार, ६ महिनामा ५ हजार र त्यसपश्चात पनि आवश्यक विवरण तथा कागजात नबुझाए १० हजार रुपैयाँ जरिवाना लाग्ने रजिस्ट्रारको कार्यालयले बताएको छ । सूचना अधिकारी पौडेलको अनुसार दफा ८१ बमोजिम लाग्ने जरिवानाको बिवरण विभिन्न बुँदाहरुको हकमा चुक्ता पुँजीको आधारमा राखिएको छ । उनले नाफा वितरण नगर्ने कम्पनीको हकमा १ करोड रूपैयाँ चुक्ता पुँजी भएको पब्लिक कम्पनीको सरह जरिवाना लाग्ने बताए ।
खाद्य उद्योगको नाफा ६२ लाख, फेरी प्लान्ट थप्ने तयारी
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्वामित्वमा सञ्चालन रहेको खाद्य उद्योग लिमिटेडले गएको आर्थिक वर्ष २०७३/७४ मा ६२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अनावश्यक कर्मचरीको संख्या, लागत खर्च कटाएको तथा साल्ट ट्रेडिङको विभिन्न शाखाहरुमार्फत उद्योगबाट हुने उत्पादन बिक्री गर्ने गरेकोले नाफा भएको हो । गएको वर्ष कम्पनीले वार्षिक ३० करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । कम्पनीका महाप्रबन्धक मुकुन्दप्रसाद जोशीले २०६३ सालमा केही समय बन्द भइ सञ्चालनमा आएको सोे कम्पनीले हालसम्म घाटा बेहोर्न नपरेको बताए । ‘११ वर्षको अबधिमा कहिल्यै कम्पनी घाटा भएन,’ उनले भने ‘सो अबधिमा अधिकतम २ करोड २० लाखदेखि न्यूनतम ४० लाख रुपैयाँसम्म वार्षिक नाफा हुदै आएको छ ।’ अनावश्यक कर्मचरीको संख्या, लागत खर्च लगायत कम्पनीले घटाएको छ । साथै पछिल्लो सयम बजारमा बिलिङ प्रणाली राम्रो भएको कम्पनीको खोजी हुन थालेकोले पनि उद्योग नाफामा गएको उनको बुझाइ छ । उनको अनुसार आर्थिक वर्ष २०५८/५९ अघि पनि कम्पनी नाफानै सञ्चालन भएको थियो । त्यसपछि मैदामा लागेको भ्याट, बजारमा देखिएको न्यूनविजिकरण, अस्वभाविक प्रतिस्पर्धा लगायतको कारणले २०६३ सालताका कम्पनी करिब १६ महिना बन्द हुन पुगेको थियो । त्यसलाई पुनः संरचना गरेर फेरी कम्पनीलाई सञ्चालनमा ल्याइएको हो । फागुन तेस्रो साता कम्पनीको ४५ औं वार्षिक साधारणसभा हुनैछ । मुलुक संघिय संरचनामा गइसकेकाेले सोही अनुसार कम्पनीलाई अघि बढाउने कम्पनीकाे याेजना छ । महाप्रबन्धक जोशीले आगामी सरकारले खाद्य सम्बन्धि अबलम्बन गर्ने नीतिको आधारमा कम्पनीले आवश्यक प्लान्टहरु राख्ने तयारी गरिरहेको बताए । मेशिनहरु जर्मन र चेक गणतन्त्रबाट खरिद गर्ने उनको भनाइ छ । कम्पनीले मैदा, पिठो, सुजीको साथै बाई प्रोडक्टको रुपमा चोकर उत्पादन गर्दै आइरहेको छ । स्वदेशकै कच्चा पदार्थ गहुँको उपयोग गरी कम्पनीले आफ्नो उत्पादनहरु विभिन्न साल्ट ट्रेडिङको आफ्नो शाखाहरुबाट बिक्री गर्दै आइरहेको छ । २०२७ सालमा दर्ता भएर २०२९ सालदेखि सञ्चालनमा आएको उक्त सर्बजनिक कम्पनीमा ८० प्रतिशत स्वामित्व साल्ट ट्रेडिङ कर्पोरेशनको छ भने, बाँकी शेयर सर्बसाधारणको छ ।
मुलुकमा स्थाई सरकार आउँछ, लगानीको वातावरण बन्छ- चन्द्रप्रसाद ढकाल
लमजुङ्ग । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आई पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् । जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै उपाध्यक्ष ढकालले व्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उद्योगी-व्यवसायीहरुलाई सहयोग पुर्याउने कार्यमा नेपाल उद्योग वाणिज्य महासंघ दत्तचित्त भएर लागेको बताएका छन् । लमजुङ्ग जिल्ला जलश्रोतले सम्पन्न भएको र त्यस्तो जलश्रोतलाई उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै पर्यटन र जलविद्युत नेपालको दिगो आर्थिक विकासकालागि महत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख गरेका छन् ।