सिमेन्ट र रड उद्योगीले अटेर गर्दा विभागले काट्यो २४ घन्टे पुर्जी
काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा सिमेन्ट र रडको भाउ बढेपछि चारैतिरबाट सरकारको आलोचना भएको थियो । त्यसलाई मध्यनजर गर्दै आपूर्ति मन्त्रालयको निर्देशनमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले धादिङको धार्केमा पुस २४ गते सिमेन्ट तथा रड बोकेको २४ ओटा ट्रकलाई नियन्त्रणमा लिई कागजात जफत गरेको थियो । जगदम्बा स्टिल उद्योग, अम्बे स्टिल उद्योग, मारुती सिमेन्ट उद्योग, शिवम् सिमेन्ट, नारायणी, अग्नि लगातका विभिन्न सिमेन्ट तथा रड उद्योगका ती ट्रकहरुबाट विभागले अनुसन्धानको लागि कर भर्पाइ, बिलबिजक चलानी लगायतका आवश्यक कागजात नियन्त्रणमा लिइसकेको छ । कागजात नियन्त्रणमा लिएसँगै अनुसन्धानको लागि सम्बन्धित उद्योगका आधिकारिक प्रतिनिधिलाई विभागमा तत्काल उपस्थित हुन निर्देशन दिइएको थियो । निर्देशनलाई अटेर गरेपछि मंलबार ती सम्पूर्ण २४ ओटै ट्रक सम्बन्धि उद्योगहरुको नाममा २४ घन्टे पुर्जी काटिसकेको शाखा अधिकृत राजेशकाजि श्रेष्ठले बताए । पुर्जी पत्र प्राप्त गरेको २४ घन्टाभित्र अनुसन्धानको लागि ती उद्योगहरुको प्रतिनिधिहरु विभागमा उपस्थित हुनु पर्ने भनिएको छ । यदि उपस्थित नभएको अवस्थामा कार्बाही प्रक्रियाअघि बढाउने जनाइएको छ । कम्तिमा पनि माघ महिनाभित्र सम्बन्धित उद्योगीहरु अनुसन्धानको दायरामा आउने र अनुसन्धान अघि बढ्नेमा उनी विस्वस्त छन् । ‘छानविनपछि कसरी अघि बढ्ने निक्र्यौल हुन्छ,’ उनले भने ‘पूर्जी काटेयता केही उद्योगहरु विभागमा उपस्थिति हुन थालेका छन् ।’ उनको अनुसन्धानको क्रममा ठगी अथवा कालोबजारी गरेको भेटएमा सोही अनुसार कार्वाहीको प्रक्रिया अघि बढ्नेछ । विभागको अनुसार पछिल्लो समय प्रतिबोरा सिमेन्टमा २ सय र रडमा किलोको १० रुपैयासम्म बढेको उजुरी आएको छ । सिमेन्ट उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमा सिमेन्टको कच्चा पदार्थको मूल्य बढेकोले मूल्य बढाउन बाध्य भएको बताएका छन् भने, निर्माण व्यवसायीहरुले पुनर्निर्माणको मौका छोपि उद्योगीहरुले सिमेन्ट र रडको भाउ बढाइ कालोबजारी गरेको आरोप लगाएको छ ।
असारमा मूल्य घट्नु र पुसमा मूल्य बढ्नु सिमेन्ट बजारको नियम नै हो : ध्रुब थापा
ध्रुब थापा, अध्यक्ष-नेपाल सिमेन्ट उत्पादक संघ सिमेन्टको मूल्य निकै बढेको छ, किन ? हरेक वर्ष हिउँदामा सिमेन्टको मूल्य केही बढ्छ । वर्षात्को समयमा फेरि मूल्य घट्छ । विगत १०/१५ वर्षदेखि कै ट्रेन हो यो । यस वर्ष अलि बढि मूल्य बढेको छ । क्लिङ्कर आयातमा देखिएको समस्या, कोइला, डिजेलमा भएको मूल्यवृद्धि, लोडसेडिङ, ढुवानीमा भएको भाडा वृद्धि लगायत धेरै कारणहरु एकै पटक जोडिन आउँदा यस पटक मूल्यवृद्धि अलि बढी भएको देखिन्छ । २/३ वर्षअघि दैनिक १५/१८ घण्टा लोडसेडिङ भयो, उद्योगीहरुले मूल्य पनि ह्वात्तै बढाए । त्यतिबेला लोडसेडिङले गर्दा जेनेरेटर राख्नु पर्यो, डिजेलमा खर्च गर्नु पर्यो, लागत दोब्बर भयो भन्ने तर्क गर्नुहुन्थ्यो । अहिले त लोडसेडिङ हटेको छ, लागत पनि पक्कै आधा घटेको होला । अब त भाउ घट्नु पर्ने होइन ? अहिले पनि उद्योगमा दैनिक ६ घण्टा लोडसेडिङ हुन्छ । विद्युतको गुणस्तर छैन । बिजुली आएको बेलामा पनि पावर घटबढ भईरन्छ । दिनमा ४/५ पटक बत्ती जान्छ । यसले गर्दा उद्योगले धेरै नोक्सान बेहोर्नु परेको छ । जब नियमित बिजुली आउँछ, सिमेन्ट उद्योगले गुणस्तरीय बिजुली पाउन थाल्छन्, तब मूल्य पनि घट्छ । तीन वर्षअघिको डिजेल मूल्य भन्दा अहिले डिजेको मूल्य कम छ । तर तपाईहरु डिजेलको मूल्य बढ्यो भनेर विज्ञप्ती निकालेर भ्रम फैलाईरहनु भएको छ । नाफा कमाउनैको लागि तपाईहरु किन सार्वजनिक रुपमा यस्तो गलत तर्क गर्नुहुन्छ ? डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढ्दा ढुवानी व्यवसायीले प्रतिबोरा सिमेन्टको भाउ ४० रुपैयाँ बढाएका छन् । तपाईहरुले यातायात व्यवसायीलाई यो प्रश्न किन गर्नुहुन्न ? सरकारले ढुवानी भाडामा भएको अस्वभाविक वृद्धिलाई किन नियन्त्रण गर्दैन ? पत्रकारहरुले पनि बुझ्नु पर्यो कि उद्योगमा लगानी गर्नेले नाफा खोज्छ । नाफा भएन भने उद्योग चल्दैन । सरकारले पनि सिमेन्ट उद्योग चलाएको छ । पछिल्लो समय निजी क्षेत्रका उद्योगले भन्दा सरकारी उद्योगले मूल्य बढी बढाएका छन् । लागत मूल्य बढेकाले नै सरकारी उद्योगले पनि मूल्य बढाएको हुनुपर्छ । सरकारी उद्योगले अधिक नाफा खान मूल्य बढाएको होइन होला । अर्को महत्वपूर्ण कुरा, तपाई ३/४ वर्षअघि बजारमा रहेको अन्य बस्तुको मूल्य र अहिले ती बस्नुको मूल्य पनि तुलना गर्नुहोस् । अरु बस्तुको तुलनामा सिमेन्टको मूल्य वृद्धि कम भएको छ, बढी छैन । २०७२ साल असारमा पीपीसी सिमेन्ट बोराको ५९० रुपैयाँ पथ्र्यो, ओपीसी ६४५ रुपैयाँमा किन्न पाइन्थ्यो । अहिले पीपीसी सिमेन्टको मूल्य ९०० भन्दा माथि छ, ओपीसीको मूल्य १०२५ रुपैयाँ भन्दा बढी छ । दुई वर्षमा मूल्य वृद्धि २० प्रतिशत कम छ, सिमेन्टको मूल्य वृद्धि ६०/७० प्रतिशतले बढ्यो । भूकम्प पीडितले धमाधम घर बनाउन लागेको बेलामा यसरी मूल्य बढाउनु तपाईहरुको गल्ती होइन ? गत साउनसम्ममा हेनुभयो भने उद्योगहरुले दुई वर्षको बीचमा १०/२० रुपैयाँ मात्र मूल्य बढाएका थिए । अहिले पनि उद्योगहरुको कारखाना मूल्य ७५० देखि ८५० सम्म छ भन्ने मैले सुनेको छ । बजारमा पुग्दा ढुवानी भाडा र बिक्रेताको खर्च जोडिन्छ । उसलाई पनि ५/१० रुपैयाँ नाफा चाहिन्छ । पछिल्लो समय कोइला, डिजेल, ढुवानीको भाडा वृद्धि, दैनिक ६ घण्टाको लोडसेडिङ, क्लिङकर आयातमा भएको अवरोध लगायत धेरै समस्या एकै पटक आउँदा उत्पादन लागत बढेकोले पहिला भन्दा यसपाली मूल्य अलि बढी नै भएको हो । केही मूल्य बढेको कुरा हामीले पनि स्वीकार गरेको छौं । मूल्य वृद्धिले जनता मारमा परेका छन् । सँगसँगै व्यवसायी पनि मारमा परेका छन् । उद्योग चलाउन नसकेर व्यवसायीहरु रोइकराई गरिरहेका छन् । व्यवसायीका कुरा पनि सरकारले सुन्नुपर्यो । व्यवसायीहरु दोहोरो तेहरो करको मारमा परेका छन् । सिमेन्ट उद्योगको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्छ । सिमेन्ट उत्पादक संघको तर्फबाट हामीले पटक पटक लिखित रुपमा सुझाव पनि दिएका छौं । सरकारले समयमा नै समस्याको समाधान गर्न पहल गरेन जनताले पनि दुःख पाउँछन्, धेरै उद्योगहरु पनि बन्द हुन्छन् । अहिलेसम्म घाटामा गएर कुनै पनि सिमेन्ट उद्योग बन्द भएका त छैनन नि ? अब बन्द हुँदैछन् । अबको २/४ वर्षको बीचमा धेरै सिमेन्ट उद्योग बन्द हुदैछन् । अहिले त्यसतर्फ कसैको पनि ध्यान गएको छैन । विगतका हिउँदमा कति मूल्य बढ्थ्यो, यस पटक कति बढ्यो ? विगतमा हिउँदमा प्रतिबोरा करिव ४०/४५ रुपैयाँले वृद्धि हुन्थ्यो, वर्षामा प्रतिबोरा ३०/३५ रुपैयाँले घट्थ्यो । यस पटक कम्पनीहरुले प्रतिबोरा ६० देखि ८० रुपैयाँसम्म बढाएका छन् । यसैबेलामा ढुवानी भाडा पनि बढेको छ । त्यसले उपभोक्ताको नजरमा एकै पटक ठूलो मूल्यवृद्धि देखिएको हो । उद्योगले व्यापारीलाई बेच्ने मूल्य र व्यापारीले उपभोक्तालाई बेच्ने मूल्यमा कति फरक पर्छ ? उद्योग नजिकको बजारमा बिक्रेतालाई बेच्ने मूल्य र उपभोक्ताले किन्ने मूल्यमा प्रतिबोरा १०/१५ रुपैयाँ मात्र फरक पर्छ । जस्तै सिमरा बजारमा उद्योगले बिक्रेतालाई बिक्री गर्ने मूल्य र त्यस क्षेत्रको बजार मूल्यमा मा १० रुपैयाँ मात्र फरक पर्छ । त्यहि सिमेन्ट काठमाडौंमा प्रतिबोरा ५० रुपैयाँ महँगो पर्छ । त्यहि सिमेन्ट मुगुमा गएर किन्नुभयो भने २०० रुपैयाँ मूल्य बढी पर्छ । किनकी सिमेन्टको ढुवानी मूल्य बढी नै हुन्छ । सिमेन्ट सस्तो कहिले हुन्छ ? सामान्यतय असारदेखि मंसिरसम्ममा मूल्य घटेको हुन्छ । गत भदौं देखि कात्तिकसम्म २० बोरा सिमेन्ट किन्दा १ बोरा सित्तैमा देखि सिमेन्ट किन्दा बाइक, कार उपहार पाउने स्कीम आयो । त्यतिबेला कम्पनीहरुले मूल्य घटाएको पनि थिए । वर्षाको कारण घर बनाउनै नसक्ने बेलामा, दशै/ तिहार जस्ता महत्वपूर्ण चाडबाढ बनाउने बेलामा, मानिसहरुले घर बनाउनै नसक्ने बेलामा सस्तो बनाउनुहुदो रहेछ, किन यस्तो ? यसमा माग र आपूर्तिको कुरा आउँछ । असारदेखि सिमेन्टको माग घट्छ, मूल्य पनि घट्छ । त्यतिबेला सर्वसाधारणको घर निर्माण पनि कम हुन्छ । विकास निर्माणको काम पनि कम हुन्छ । पुस/माघदेखि निर्माण क्षेत्रमा धेरै काम हुन्छ । सिमेन्टको माग बढ्छ, मूल्य पनि बढ्छ । जतिबेला उद्योगले उत्पादन गरेर भ्याएको हुन्दैन, बजारमा मागको चाप हुन्छ, त्यतिबेला मूल्य बढ्ने हो । जतिबेला बजारमा माग नै हुँदैन, उद्योगको उत्पादन क्षमताको २५ प्रतिशत पनि उपयोग भएको हुँदैन, त्यतिबेला उद्योगहरुले घाटा खाएर पनि सिमेन्ट बेच्नु परेको हुन्छ । फेरी वर्षाको समयमा लोडसेडिङ हुन्दैन । डिजेल खर्चेर जेनेरेटर चलाउनु पनि पर्दैन । त्यसबेलामा लागत पनि कम हुन्छ ।
माघ पहिलो हप्ता महिला उद्यमी सम्मेलन, १५० महिला उद्यमीहरुको सहभागीता हुने
काठमाडौं । माघ ६ गते चौथो महिला उद्यमी सम्मेलन–२०१८ हुने भएको छ । युवा महिला उद्योगीहरुको विसका तथा प्रबद्र्धन गर्ने उद्देश्यले सम्मेलन नेपाल युवा उद्यमी मञ्चले गर्ने लागेकोे हो । लक्ष्मी बैंकले प्रायोजन गर्ने सम्मेलन काठमाडौंको र्याडिसन होटल लाजिम्पाटमा हुने भएको छ । सम्मेलनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले गर्ने भएकी छिन् । केही वर्षअघिदेखि सुरु गरिएको युवा महिला उद्यमीहरुको उक्त सम्मेलन चौथो संस्करण हो । ‘कनेक्ट, कोलाबोरेट, क्रियट’ भन्ने नाराका सञ्चालन हुने सम्मेलनमा १५० भन्दाबढीको युवा महिला उद्यमीहरुको सहभागीता हुने युवा महिला उद्यमीहरुको सम्मेलनको अध्यक्ष जुना माथेमाले जानकारी दिइन् । सम्मेलनमा प्रेरणादायी अभिव्यक्ति, उद्यमशील यात्राका कथा, प्यानल डिस्कसन लगायत विषय समेटिने आयोजकको भनाइ छ । सम्मेलनबाट उद्योमीहको आफ्नो व्यक्तिगत र पेशागत क्षमता अभिबृद्धिमा लाभ हुने विश्वास गरिएको छ ।‘सम्मेलनलाई महिलाका लागि अभिप्रेरणा लिने एउटा प्लेटफर्मको रुपम लिएका छौं,’ सम्मेलनको अध्यक्ष माथेमाले भनिन् । उनका अनुसार सम्मेलनमा विद्यार्थी, उद्यमी महिला लगायत उद्यमशीलताप्रति चाहना भएका जो कोही सहभागी हुन सक्ने छन् । मञ्च युवा उद्यमशीलताको प्रवद्र्धनका लागि सन् २००३ मा स्थापना गरिएको संस्था हो । मञ्चको काठमाडौ च्याप्टरमा मात्र २० जना उद्यमी महिला रहेका छन् ।