सिमेन्ट र फलामको रडमा मूल्यवृद्धि, मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी

इटहरी । सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हार्डवेयर व्यवसायी एवं व्यापारीले सोमबार इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै विगत १३ दिनको अवधिमा सिमेन्ट र फलामको रड उत्पादक उद्योगीले दैनिकजसो सिमेन्ट र फलामे रडको अप्राकृतिक रुपमा मूल्य बढाएर आम उपभोक्तामाथि चरम अन्याय गर्दै आएकाले अब इटहरीमात्र होइन देशभर नै त्यसविरुद्ध आन्दोलन चर्काउने चेतावनीसमेत दिइएको छ । पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ, इटहरीका प्रथम उपाध्यक्ष शैलेश विष्टले सर्वसाधारण नेपाली उपभोक्ताको हित विपरीत यो १३ दिनको अवधिमा कम्तीमा रु १५० देखि २०० सम्म मूल्य बढाएर अचाक्ली ढाड सेक्ने कार्य भई रहेकाले यो विषयमा तत्काल सरकार वा उद्योगीले मूल्य नघटाएको खण्डमा अधिराज्यभर आन्दोलन थालिने पनि व्यवसायी एवं व्यापारीले चेतावनी दिएका छन् । सिमेन्ट र फलामे रडको मूल्य अस्वभाविक रुपमा उठाउने गरिएको र मूल्य बढाउनु पर्ने कुनै कारण नै नरहेको अवस्थामा नेपाली उपभोक्तालाई उठ्नै नसक्ने गरी मूल्य बढाउने कार्य भई रहँदा पनि राज्यको निकायले चासो नराख्नु आपत्तिको विषय भएको पनि व्यवसायी एवं व्यापारीले पत्रकार सम्मेलनमा गुनासो सुनाएका छन् । पत्रकार सम्मेलनमा हार्डवेयर व्यवसायी नेता भोला निरौलाले नेपालमा राज्य विहीनताको अवस्था सिर्जना गरिएको र भारतमा उत्पादन भएका सिमेन्ट र रडको मूल्य अहिले नेपाली बजारमा भारतको बजारको तुलनामा झण्डै शतप्रतिशत मूल्य बढाएर बिक्री वितरण गर्नुपर्ने अवस्था आएको र नेपाली बजार शुन्यको अवस्थामा पुगेको जानकारी दिए । रासस

फर्निचर महासंघको अध्यक्षमा गिरी

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको अध्यक्षमा भुपेन्द्र गिरी निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्य समिति चयन गरेको हो । त्यस्तै महासंघको प्रथम उपाध्यक्षमा सूर्य सुवेदी, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, तृतीय उपाध्यक्षमा सुजिल श्रेष्ठ सर्वसम्मतले निर्वाचित भएका छन् । महासचिवमा कविन्द्र जोशी, कोषाध्यक्षमा ओम दाहाल, सचिवमा गोकुल श्रेष्ठ, सहसचिवमा खगेन्द्र केसी समेत सर्वसम्मतले निर्वाचित भएको महासंघले जनाएको छ ।

उद्योगी भन्छन : कच्चापदार्थ, इन्धन भाउ र ढुवानी भाडा बढ्दा सिमेन्ट महंगियो

काठमाडौं । कच्चा पदार्थ, बिजुली, इन्धन र ढुवानी भाडा बढेपछि उत्पादन लागत थप हुदा  सिमेन्टको भाउ बढेको उद्योगीले बताएका छन् । एक महिना अघिदेखि नै भारतबाट आयात हुदै आएको कच्चा पदार्थ क्लिंकर, फलाइ एस र जिप्सनको मूल्यमा भारी वृद्धि भएपछि नेपालमा सिमेन्टको भाउ बढेको पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघले जनाएको छ । महिना दिनभित्र डिजेल प्रतिलिटर ५, बिजुली प्रतियुनिट ५ रुपैयाँ २० पैसाबाट बढाएर ८ रुपैयाँ ४० पैसा, भारतबाट कच्चा पदार्थ ढुवानी गर्दा ३ दिन लाग्दा डिटेन्सन चार्ज २ हजारबाट बढेर ५ हजार भारु पुगेको संघले दावी गरेको छ । यस्तै भारतमै कच्चा पदार्थ क्लिंकरको मूल्य २ हजार ३ सयबाट ३ हजार २ सय भारु, सिमेन्ट बनाउन आवश्यक पर्ने फलाइ एस प्रति टन १ हजार ६ सयबाट बढेर २ हजार ३ सय भारु पुगेको संघको भनाई छ । जिप्समा प्रतिटन १ हजार ५ सय भारु, ढुवानी भाडा १ हजार ८ सयबाट २ हजार ५ सय भारु, भारतका ठुला कारखानामा पेट्रो कोकमा वातावरण प्रदुषणका कारण रोक लगाइएकाले मिनरल कोइला प्रयोग गर्दा क्लिंकरको उत्पादन लागत बढेको संघको भनाई छ । यस्तै नेपालमा ढुवानी भाडा बढ्दा यसको असर उत्पादन लागतमा परेको संघले जानकारी दिएको छ । सिमेन्टको भाउ बढ्नाले भुकम्प पीडितलाई भवन पुनर्निर्माण गर्ने कार्यमा झनै पीडा थपेको छ । केही महिनाअघिदेखि सिमेन्टमा बोराको २० देखि ३० रुपैयाँ गर्दै भाउ निरन्तर बढीरहेको छ । जगदम्बा सिमेन्टका सिनियर सेल्स म्यानेजर रोशन पाठकले भारतमै सिमेन्टको कच्चापदार्थ (क्लिंकर) बढेकोले कम्पनीले सिमेन्टको भाउ बढाउन परेको बताउछन् । मंसिरबाट निरन्तर सिमेन्टको मूल्य २० देखि ३० रुपैयाँको दरले बढीरहेको उनको भनाई छ । अहिले ओपीसी सिमेन्टको कारखाना मूल्य प्रतिबोरा ८५० र पीपीसीको मूल्य ७३० रुपैयाँ रहेको छ । अहिले भारतबाट आउने कच्चापदार्थको मूल्य ५० प्रतिशतसम्म बढेदा यसको असर उद्योगमा परेको पाठकको भनाई छ । युनाइटेड सिमेन्टका प्रमुख ब्राण्ड म्यानेजर सुभाष खतिवडाले माग बढेकोले मूल्य पनि बढ्न गएको बताए । ‘पुसयता सिमेन्टको माग करिब २५ प्रतिशतले बढेको छ,’ उनले भने ‘जसकारण मूल्यमा समेत प्रतिबोरा ३० रुपैयाँ बढेको हो ।’ उनका अनुसार युनाइटेड सिमेन्टको उद्योग मूल्य ८९० रुपैयाँ पुगेको छ । शिवम् सिमेन्टका सेल्स एण्ड मार्के्टिङ प्रमुख केशब अर्यालले पनि पछिल्लो समय सिमेन्ट(ओपीसी) को मूल्य बढेर ९१० रुपैयाँ पुगेको बताए ।