बन्द हेटौँडा सिमेण्ट उद्योगकाे पुनः उत्पादन शुरु

हटौंडा । करिब दुई महिनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग शुक्रबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि क्लिङकर उत्पादन गर्ने मुख्य मेसिन र मोटर जलेका कारण उत्पादन ठप्प भएको थियो । उद्योगका महाप्रबन्धक हेमशङ्कर सिंहका अनुसार करिब रु ३० लाखको लागतमा उद्योगको मेसिन मर्मत एवं निर्माण गरेपछि उद्योग सञ्चालनमा आएको हो । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगको मुख्य मेसिन बिग्रेपछि उत्पादन ठप्प भएको थियो । उद्योग प्रशासनका अनुसार उद्योगको मोटर आफैँ प्राविधिक कर्मचारी तथा रोयटर पार्टस् ब्याण्डिङको काम वीरगञ्जबाट गराइएको छ भने भारतबाट एक जना विषेशज्ञ बोलाएर मेसिनको जाँच तथा निरीक्षण गराएपछि उत्पादन शुरु भएको जनाइएको छ । दुई महिनादेखि उद्योग सिमेण्ट उत्पादनको काम बन्द भएको कारण बजारमा हेटौँडा सिमेण्टको अभाव भएको थियो । शुक्रबारदेखि उद्योग पूर्ण क्षमतासहित सञ्चालनमा आएपछि अबको एक हप्तापछि बजारमा सिमेण्ट बिक्री वितरण गरिने उद्योगका महाप्रबन्धक सिंहले जानकारी दिएका छन् । वार्षिक ३१ लाख बोरा सिमेण्ट उत्पादन गर्ने लक्ष्य रहेको उद्योगले यसवर्ष लक्ष्य भने प्राप्त नगर्ने जनाइएको छ । यस वर्ष उद्योगले २० लाख बोरा मात्र सिमेण्ट उत्पादन गरेको महाप्रबन्धक सिंहको भनाइ छ । क्लिङकर उत्पादन बन्द भएपछि सिमेण्ट उत्पादनमा पनि ह्रास आएको बताइएको छ । उद्योगले यस आर्थिक वर्षमा ३० लाख बोरा सिमेण्ट उत्पादनको लक्ष्य राखेकामा मेसिन बिग्रेका कारण लक्ष्यमा पुग्न कठिन हुने महाप्रबन्धक सिंहको भनाइ छ । उद्योगको उत्पादनमा कमी आएपछि उपभोक्ता र आधिकारिक बिक्रेता चिन्तित भएका थिए । सर्वाधिक रुचाइएको हेटौँडा सिमेण्टको अभावले कतिपय उपभोक्ताले घर निर्माणमा समेत ढिलाइ गरेका थिए । निजी क्षेत्रका सिमेण्ट उद्योग आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक प्रतिस्पर्धामा गइरहेको वर्तमान परिस्थितिमा नेपाल सरकारको स्वामित्वमा सञ्चालित यस उद्योगमा पनि आधुनिक प्रविधि प्रयोग गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । हाल यस उद्योगमा मजदूर तथा कर्मचारी र प्राविधिक गरी करिब ४०० जना कार्यरत रहेका छन् । हालैमात्र नाप तथा गुणस्तर कार्यालय वीरगञ्जले पनि सिमेण्ट उद्योगको गुणस्तर जाँच गरेको छ । रासस

महिला उद्यमीको प्रतिनिधिमण्डल कोरिया प्रस्थान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको नेतृत्वमा १७ सदस्यीय उद्यमी प्रतिनिधिमण्डल मंगलबार दक्षिण कोरिया प्रस्थान गरेको छ । कोरियन वुमन इन्टरपेनर एशोसिएशनको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेको उक्त प्रतिनिधिमण्डलले सियोलस्थित उद्यमीसँग बुधबार र बिहीबार लगानी, व्यापार प्रबर्धन, साना तथा मझौला उद्योगका सम्भावनालगायत विषयमा छलफल गर्ने महासङ्घले जनाएको छ । प्रतिनिधिमण्डलले त्यहाँस्थित नेपाली दूतावासमा छलफल तथा अन्य औद्योगिक संस्थासँग अन्तरक्रिया गर्नेछ । भ्रमण दलका सदस्य एवं समितिका उपाध्यक्ष रम्भादेवी श्रेष्ठले कोरियाको विकास र समृद्धिका लागि त्यहाँको सरकार र निजी क्षेत्रको सहकार्यमा भइरहेका विभिन्न आयोजनाको अध्ययनबाट स्वदेशमा थप उद्योग स्थापनाका लागि वातावरण मिल्ने बताएका छन् । उक्त प्रतिनिधिमण्डल यही २३ गते स्वदेश फिर्ता हुनेछ । रासस

सस्तो मूल्यमा चिया बेच्नु पर्दा पश्चिम बंगालको चिया उद्योग संकटमा

सिलिगुडी । भारतको उत्तरी बंगाल क्षेत्रमा चिया खेतीमा आर्थिक संकट देखा परेको छ । भारतमै चियाको मूल्यमा गिरावट आएपछि चिया बगानमा संकट देखिएको हो । भारतमा कूल उत्पादित चियामध्ये उत्तरी बंगाल क्षेत्रले करिब ३५ प्रतिशत हिस्सा ओगटेको छ । अहिले उत्पादन लागतभन्दा सस्तो मूल्यमा चिया बेच्नु परेको यहाँका उद्योगहरुले जनाएका छन् । चिया बगानमा कार्यरत एक जना व्यवस्थापक प्रेमकुमार शर्माले चियाको मूल्य प्रतिकेजी भारु २० मा आइपुगेको छ र यसको प्रमुख कारण नै माग र आपूर्तिको असन्तुलन हो भन्दै हाल मागभन्दा आपूर्ति बढी रहेको बताए । उनले सरकारले तत्कालै चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताए । भारतीय टी एसोसिएसनका सचिव सुमित घोषले पनि यस्तै धारणा राखे । उनले भने– चियाको उत्पादन लागत बिक्री मूल्यभन्दा बढी भइसकेको छ । उत्तरी बंगाल क्षेत्रमा करिब पाँच लाख मजदूर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चियामा आश्रित छन् । भारतीय चिया बोर्डले यस समस्याको समाधानका लागि तत्कालै चियाको न्यूनतम मूल्य तोक्नु पर्दछ । सन् २००३ मा भारतमा करिब ८७ करोड ८० लाख केजी चिया उत्पादन भएको थियो । तर सन् २०१८ मा चिया उत्पादनमा व्यापक वृद्धि भई एक अर्ब ३३ करोड ८० लाख केजी पुगिसकेको छ । करिब ५२ प्रतिशतले चिया उत्पादन बढेकै कारण बजारमा चियाको मूल्य घट्न थालेको घोषले बताए । रासस/एएनआई