भोटेकोशी हेली रिसोर्टले ऋण नतिरेपछि नेपाल बैंकले अघि बढायो लिलामी प्रक्रिया

काठमाडौं । नेपाल बैंकले भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडलाई लिलामीमा राखेको छ । बैंकको काठमाडौं बैंकिङ अफिसबाट कर्जा लिएको भोटेकोशी हेली रिसोर्टले साँवा, ब्याज नियमित नगरेपछि लिलामी प्रक्रिया अघि बढाएको हो ।  कर्जा चुक्ता गर्न पटक-पटक ताकेता गरेपनि बेवास्ता गरेपछि बैंकले ३५ दिन भित्रमा कर्जा तथा सुविधा बापतको रकम भुक्तान गर्न ताकेता गरेको हो । उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा कम्पनी, साझेदार तथा सञ्चालक र सेयरधनीहरुलाई समेत कालोसूचीमा नाम समावेश गर्न आजैबाट प्रारम्भ भएको बैंकले जनाएको छ । साथै कम्पनीले ३५ दिनभित्र कर्जा तथा सुविधा बापतको रकम भुक्तान नगरेमा सो पश्चात् व्यक्तिगत तथा संस्थागत जमानीकर्तालाई ९० दिनभित्र जमानत बापतको रकम भुक्तान गर्न पनि बैंकले ताकेता गरेको छ ।  साथै कानूनले बैंकलाई दिएको अधिकार प्रयोग गरी ऋणीको घरघराना तथा अन्य जायजेथा खोजी असुल गर्ने, सम्बन्धित सबैलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्न लेखी पठाउने तथा अन्य कानूनी प्रक्रिया अपनाई सम्पूर्ण लेना असुल गर्नेतर्फ आवश्यक कारबाही अगाडि बढाइने बैंकले चेतावनी दिएको छ । बैंकका अनुसार भोटेकोशी हेली रिसोर्ट एण्ड स्पाका अध्यक्ष चिन बहादुर रानाभाट हुन् भने छिरिङ शेर्पा, सुबास प्रधान र समिर कुमार नेपाल सञ्चालक रहेका छन् । कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी नदी छेउस्थित भोटेकोशी हेली रिसोर्ट एजिएस हस्पिटालिटीको व्यवस्थापनमा विसं २०७८ बाट सञ्चालनमा आएको हो । करिब ९५ रोपनी जग्गामा सञ्चालित रिसोर्ट चीनको सीमाबाट १४ किलोमिटरको दुरीमा रहेको छ ।  सुन्दर प्राकृतिक वातावरण रहेको भोटेकोशी हेली रिसोर्टमा काठमाडौंबाट २० मिनेटको हेलिकप्टर उडान, तीन घण्टाको सडक सवारीबाट पुग्न सकिन्छ भने चीनको खासास्थित मितेरी पुलबाट करिब ४५ मिनटको सडक सवारीबाट पुग्न सकिन्छ । रिसोर्टमा जान तथा फर्कनका कम्पनीले विभिन्न हेली कम्पनीसँग सम्झौता समेत गरेको छ ।  रिसोर्ट एण्ड स्पाको स्तरोन्नतिका साथै रणनीतिक योजना कार्यान्वयन र ‘फोर स्टार’सम्म विस्तार गर्न रिसोर्टले गत वर्ष २०८१ जेठमा नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सम्झौता गरेको थियो । 

लुम्बिनी केबलकार चढ्न पुगे साढे ३ लाख पर्यटक, वसन्तपुरमा पर्यटकीय पूर्वाधारले बढायो आकर्षण

काठमाडौं । दशकौं सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेशन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्वी र भारतीय पर्यटकको आकर्षण बढेको छ । लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको गरेको हो ।  २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो । बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले बुटवल र वसन्तपुरलाई जोडेको छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाख बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०–८१ मा ८ प्रतिशत भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । दुई वर्षमा झन्डै ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशत भन्दा कम छ । दशकौंसम्म सुनसान पाल्पाको वसन्तपुर केबलकार सञ्चालनमा आएपछि गुल्जार भएको छ । समुन्द्री सतहबाट करिव एक हजार मिटर उचाईमा रहेको डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेशनसहित प्रख्यात शक्तिपीठ  कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, रेष्टुंरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै सुनसान डाँडो आकर्षक पर्यटकीय गन्तव्य बनेको हो ।  वसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयाँ बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्वीका लागि विशिष्ट आकर्षण बनेका छन् । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् ।  केबलकारले जन्मदिनमा निःशुल्क यात्रा हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर  लगायत विभिन्न संघ,संस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवद्र्धन गरिरहेको अपरेसन म्यानेजर सैंजूले बताए । वसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको कम्पनीका अपरेशन म्यानेजर सैंजूले बताए ।  धार्मिक र पर्यटकीय पूर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम, बजारको कोलाहल र प्रदुषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण वसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको उनले जानकारी दिए ।  केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं ३ का बासिन्दालाई  टिकटमा ५० प्रतिशत छुट तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर बापत दिएको छ ।  यसबाट स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ । अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ । 

भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

भोजपुर । यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो । रामप्रसादराई–८ का वडाध्यक्ष बाचकुमार राईका अनु्सार यस क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले रु सात लाख लागतमा करिब आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो । यहाँ वडा र नेपाल जलवायु अनुकूलन कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणको थालनी गरिएको छ । यो स्थानलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको छ । यो क्षेत्र प्राकृतिक हिसाब निकै सुन्दर भएकाले यो क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ । यो पदमार्गलाई विस्तार गरेर आमचोक गाउँपालिकामा रहेको ग्रेट मुन्दुम पदमार्गसम्म पुरयाउने लक्ष्य रहेको अध्यक्ष राईले बताए । पदमार्ग निर्माणको काम दुई खण्डमा भइरहेको छ । दोस्रो खण्डअन्तर्गत भञ्याङ शङ्खेश्वरीमा पनि पदमार्ग निर्माण गरिएको छ । शङ्खेश्वरीमा निर्माण भइरहेको पदमार्गलाई पनि भावी दिनमा यो पदमार्गसँग जोड्ने सोच रहेको उनको भनाइ छ । यहाँ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढ्ने स्थानीयवासी दिककुमार जोगीले बताए । यो क्षेत्रमा गुराँस राम्रो फुल्ने भएकाले आन्तरिक पर्यटक आउने उनको भनाइ छ । यो पदमार्गको आसपासमा धेरै नै गुराँस पाइने उनले बताए । 'यो धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण हुनसकेको थिएन, अहिले पदमार्ग निर्माणको थालनीपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसले यहाँको विकासमा टेवा पुग्ने आशा लिएका छौँ', उनले भने । वडाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि थालेको काम राम्रो रहेको स्थानीयवासी महेन्द्र राईले बताए । यस क्षेत्रमा रहेको गुराँस संरक्षणको काम गरिरहेको उनको भनाइ छ । 'यो पदमार्गको मुख्य आकर्षण गुराँस हो, हामीले यहाँको गुराँस संरक्षण गरिरहेका छौँ । यहाँबाट विभिन्न हिमशृङ्खलाको एकसाथ अवलोकन गर्न सकिन्छ', उनले भने । रासस