रोटरी क्लब अफ बानेश्वरले सम्पन्न गर्यो वृक्षारोपण कार्यक्रम
टोखा । रोटरी क्लब अफ बानेश्वरले इन्द्रायणी भुतखेल सामुदायिक वनसँगको सहकार्यमा 'रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण कार्यक्रम' गरेको छ । कार्यक्रमअन्तर्गत कुल ४५० बिरुवाहरू रोपिएको छ । ५० वटा सिप्रसका बिरुवा र ४०० फलफूल तथा जडीबुटीका बिरुवा नर्सरी स्थापना गर्न वृक्षरोपण गरिएको हो । धुपी, तेजपत्ता, सुन्तला, मुन्तला, कागती, रोजमेरी, तुलसी लगायतका बहुपयोगी बिरुवा रोप्ने योजना अन्तर्गत यस कार्यक्रमले जैविक विविधता संरक्षणमा टेवा पुर्याएको छ। सामुदायिक वनको अनुरोधअनुसार सिप्रस बिरुवा वनको विशेष भागमा रोपिएको हो। वृक्षारोपणपश्चात सहभागी टोलीले नवस्थापित नर्सरीको अवलोकन गर्दै औपचारिक रूपमा ४०० बिरुवाहरू इन्द्रायणी भुतखेल सामुदायिक वनका प्रतिनिधिहरू श्री सुर्य मान डंगोल र श्री हरि नारायणलाई हस्तान्तरण गरियो । यी बिरुवाहरूलाई आवश्यक हेरचाह गरी स्थायीत्व प्राप्त भएपछि मात्र वन क्षेत्र वा अन्य उपयुक्त ठाउँमा रोप्ने योजना छ। कार्यक्रमले विगतको अनुभवलाई ध्यानमा राख्दै सिजनमा सिधा रोपाइँका साटो पहिला नर्सरीमा हुर्काउने विधि अपनाएको छ। वर्षायाममा रोपिएका ५०–६० बिरुवा अत्यधिक पानीका कारण नष्ट हुने गरेको तथ्यका आधारमा यस वर्ष नयाँ तरिका अपनाइएको हो, जसले दीर्घकालीन सफलता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। नर्सरीको एक विशेष पहलका रूपमा कम्पोस्ट मल उत्पादन केन्द्र स्थापना गरिएको छ, जसमा वन क्षेत्रमा झरेका पात र घाँसलाई प्रयोग गरी जैविक मल उत्पादन गरिन्छ । प्रतिकिलो २५ मा विक्री हुने यो मलले वन र नर्सरी व्यवस्थापनमा आर्थिक सहयोग पुर्याइरहेको छ । कार्यक्रममा ९ जना रोटेरियन, ४ जना सामुदायिक वनका स्वयंसेवक र २ जना रोटरी स्वयंसेवक गरी कुल १५ जनाको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूको सहकार्य र प्रतिबद्धताले हरित र दिगो भविष्यप्रतिको साझा दृष्टिकोणलाई स्पष्ट रुपमा झल्काउँछ । यो परियोजना वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, र स्रोतको आत्मनिर्भर उपयोगमा केन्द्रित दिगो विकासको उत्कृष्ट उदाहरणका रूपमा स्थापित भएको छ । इन्द्रायणी भुतखेल सामुदायिक वन, टोखामा वृक्षरोपण गरिएको हो ।
नेपाल पर्वतारोहण संघको आगामी नेतृत्वका लागि कुल गुरुङले गरे उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल पर्वतारोहण संघ २०२५ को आगामी नेतृत्वका लागि कुल गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार राजधानीमा एक भेलामार्फत नेपाल लोकतान्त्रि पर्यटन व्यवसायी संघको तर्फबाट गुरुङले उम्मेदवारी घोषणा गरेका हुन् । पर्वतारोहण संघको निर्वाचन आगामी भाद्र ७ गते संघको नेतृत्वका लागि प्रज्ञा प्रतिष्ठानमा निर्वाचन हुँदैछ । उम्मेदवारी घोषणा गर्दै गुरुङ आफूले पूर्वाग्रह नराखी नेतृत्व गर्ने संकल्प गरे । अध्यक्षका प्रत्यासी गुरुङले भने, ‘चुनाव एउटा प्रक्रिया हो । नेतृत्वमा पुगेपछि म धेरै बोल्ने छैन, एक्शनमा जानेछु । यो कुरालाई म विशेष ध्यान पुर्याउनेछु । आगामी तीन वर्ष सबैलाई उत्साहित पार्नेगरी काम गर्नेछु । पूर्वाग्रह राख्दिनँ । राजनीतिले हामीलाई पनि इरिटेड पारेको छ । निष्पक्ष भएर काम गर्नेछु ।’ संघले गुरुङलाई निर्विरोध बनाउनका लागि अन्य संघ संस्थाहरुसँग छलफल गर्न ५ सदस्यीय वार्ता समिति पनि बनाएको छ । रमेश धमालाको संयोजगत्वमा डा. रामशरण थपलिया, कर्म शेर्पा, खुम सुवेदी, निलहरी बाँस्तोला सदस्य रहेका छन् । उनीहरुले गुरुङको नेतृत्वलाई सर्वसम्मत बनाउन वार्ता गर्नेछन् ।
विदेशमा रहेका नेपालीले आजसम्म बन्दीपुर केवलकारमा लगानी गर्न सक्ने
काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमको आईपीओमा आवेदन दिने आज साउन ९ गते अन्तिम दिन रहेको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कमपनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको १८.७० प्रतिशत अर्थात् ५२ करोड ९४ लाख रुपैयाँको ५२ करोड ९४ हजार कित्ता सेयरमध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता सेयर छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।