पर्यटन बोर्डले अमेरिकामा सेल्स मिसन, अमेरिकी पर्यटकको आगमनमा वद्दि हुने विश्वास

काडमाडौं२७ असार। नेपालमा अमेरिकी पर्यटकको आकर्षणको केन्द्र बनाउनका लागि नेपाल टुरिजम बोर्डले अमेरीकामा सेल्स मिसन सञ्चालन गरेको छ। भारतीय र चिनियाँ पर्यटकपछि नेपालमा अमेरीकी पर्यटकहरु धेरै आउने गरेका छन्। अमेरिकी पर्यटकहरुलाई नेपालमा मुख्य आकर्षक गन्तव्य बनाउनका लागि नेपाल टुरिजम बोर्ड र पर्यटन विभागले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिनका लागि सेल्स मिसन सञ्चालन गरेको हो। पर्यटन बोर्डको तथ्यांक अनुसार वार्षिक ५० हजारको सख्ंयामा अमेरिकी पर्यटक नेपालमा आउछन् भने उनीहरुले खर्च गर्ने रकम र बसाई अवधि पनि लामो हुने गर्दछ। अमेरिकी पर्यटक कम्तीमा पनि दुई हप्ता नेपाल बस्ने गर्दछन् भने उनीहरुको सरदर दैनिक ४२ देखि ५० अमेरिक डलर सम्म खर्च गर्ने गरेको अध्ययनले देखाएको छ। विनासकारी भहाभूकम्प र भारतीय नाकावन्दीले तहसनहस बनाएको नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रवाह दिनका लागि पर्यटन क्षेत्रमा यस्तो प्रचार प्रचार गरेको बोर्डले जनाएको छ। नेपाल आएर धेरै पैसा खर्च गर्ने र लामो समय अवधि बस्ने अमेरिका, क्यानडा, अष्ट्रेलिया र बेलायका ‘क्लालिटी टुरिस्ट’ को संख्यामा कमी आइरहेको अबस्थामा नेपाल पर्यटन बोर्डले अहिले अमेरिकाबाट सेल्स मिसनको सुरुवात गरेको हो। बोर्डले अमेरिकाको पाँच राज्यमा ‘नेपाल सेल्स समिट यूएस २०१६’ आयोजना गरेको हो। अमेरिकाको डेनभर, फोनिक्स, लस एन्जल्स, स्याटल र फ्लोरिडामा गरिएको कार्यक्रम नेपालको पर्यटन प्रबद्र्धनको लागि कोशेढुङ्गा साबित भएको सहभागित नेपालका पर्यटन ब्यबसायीले जनाएका छन्। जुन १९ तारिख देखि अमेरिकामा भइरहेको सेल्स समिटमा अमेरिकी ट्राभल एजेन्टको उत्साहप्रद सहभागिता रहेको प्यासिफिक एसिया ट्राभल एसोसियसन ९पाटा० नेपाल च्याप्टरका अध्यक्ष एवं एक्सप्लोर हिमालयका संचालक सुमन पाण्डेले जानकारी दिए। नेपाल पर्यटन बोर्डका बरिष्ट पर्यटन अधिकृत सुधन सुबेदीले अमेरिकी पर्यटकलाई नेपाल भित्राउन यो कार्यक्रमले ठूलो भूमिका निर्वाह गर्ने विश्वास गरे। नेपालमा आउने अमेरिकी पर्यटकहरुको संख्या नघटोस भनेर यो मिसनको सुरुवात गरेको उनले बताए। संसारकै उत्कृष्ठ गन्तव्य नेपाल भएकाले सामान्य अवस्थामा नेपाल चिनाउन पनि यो मिसनले धेरै महत्वपुर्ण योगदान हुने उनले बताए।

उच्च हिमाली जोखिम र नेतृत्वसम्बन्धि अभिमुखिकरण तालिम सुरु

काठमाडौ, २६ असार । पर्यटन क्षेत्रका मजदुर संगठनहरुको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रायोजनमा उच्च हिमाली जोखिम र नेतृत्व सम्बन्धि अभिमुखिकरण तालिम काठमाडौंमा सुरु भएको छ । २५ गते देखि २८ गते सम्म संचालन हुन लागेको उक्त तालिममा ट्रेकिङ गाईड, सरदार, कुक, सहयोगी मजदुर गरि १ सय ५० जनाको सहभागिता रहेको छ । शनिबार पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले तालिमको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत जोशीले उच्च हिमाली क्षेत्रमा काम गर्ने पर्यटन श्रमिकहरुले धेरै जोखिम मोलेर बिदेशी पर्यटकलाई सत्कार सँगै सेवा पुर्याएकोमा त्यसको प्रशंसा गर्दै धन्यवाद दिए । तालिमले उच्च हिमाली क्षेत्रमा हुनसक्ने जोखिम न्यूनिकरणमा ठूलो योगदान उनको विश्वास थियो । उनले घुमफिर वर्ष २०७३ र पर्यटन वर्ष सन् २०१८ लाई भव्यताका साथ सफल पार्न पर्यटन श्रमिकको मुख्य भूमिका रहेको भन्दै त्यहि अनुरुप सहयोग गरिदिन अनुरोध गरेका छन् । त्यस्तै पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले पर्यटन श्रमिकको राम्रो सेवा, सत्कारबाट नै बढि भन्दा बढि विदेशी पर्यटक भित्र्याउन मद्धत पुग्ने भएकाले उनीहरु पर्यटन क्षेत्र विकासको मेरुदण्ड नै भएको बताए । देशको आर्थिक विकासको प्रमुख आधार मध्येको एक पर्यटन क्षेत्रको विकासमा दिनरात नभनी खट्ने श्रमिकको सामाजिक सुरक्षा र उचित ज्यालाको व्यवस्था, बीमाको व्यवस्था गर्न आफुहरु लागिपर्ने बताए । कार्यक्रममा नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपील पाण्डेले पर्यटन श्रमिकको भूमिकाका बारेमा प्रकाश पारेका थिए । नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन (यूनिट्राभ) का महासचिव सुमन पराजुलीले पर्यटन क्षेत्रको विकासमा लाग्नु श्रमिकको पनि दायित्व भएको भन्दै नेपाल घुम्न आएका पर्यटकलाई सकेसम्म राम्रो सुबिधा प्रदान गर्न मातहतका श्रमिकहरुलाई अनुरोध गरेका छन् । त्यस्तै श्रम ऐनमा रहेर श्रमिकका मागपत्र सम्बन्धित निकायमा राख्नुपर्ने उनको भनाई थियो । अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर युनियनका अध्यक्ष राम बस्नेतको सभापतित्वका उद्घाटन कार्यक्रम सम्पन्न भएको हो फुर्बा नाम्गेल शेर्पाले तालिमको संयोजन गरेका छन् ।

असार २७ गतेदेखि हिमालय एअरलाइन्सले काठमाडौं–दोहा दैनिक उडान शुरु गर्ने

काठमाडौं, २३ असार । हिमालय एअरलाइन्सले आगामी असार २७ गतेदेखि दोहा, कतारमा दैनिक उडान सेवा सञ्चालन गर्ने भएको छ । उक्त गन्तव्यमा जाने यात्रुहरुको मागलाई सम्बोधन गर्न एअरलाइन्सले दैनिक उडान सेवा सञ्चालन गर्न लागेको हो । एअरलाइन्सले उडानको लागि साबिककै समयतालिका कायम गर्ने छ, तद्अनुसार विमान काठमाडौंबाट २३ः०० बजे (स्थानीय समय) उडेर ०१ः३० बजे (स्थानीय समय) दोहा अवतरण गर्ने छ । त्यसै गरी विमान भोलिपल्ट दोहा बाट ०२ः ३० बजे (स्थानीय समय) उडेर १०ः १५ बजे (स्थानीय समयमा) काठमाडौं अवतरण गर्ने छ । एअरलाइन्सले आफनो तोकिएको समय तालिका अनुसार उडान गर्न तमाम प्रयत्न गर्नेछ । एअरलाइन्सले हाल हप्ताको ३ दिन मंगलबार, बिहिबार र शनिबार उडान सञ्चालन गरिरहेको छ । हिमालय एअरलाइन्स्ले जेठ १८, २०७३ देखि दोहा, कतारलाई आाफ्नो पहिलो गन्तव्य बनाउँदै पहिलो नियमित उडान शुरु गरेको थियो । एअरबस ३२०–२१४ विमानमा ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सिट क्षमताको रहेको छ । दैनिक उडानबारे टिप्पणी गर्दै विजय श्रेष्ठ, भाइस प्रेसिडेन्ट भन्छन्,“दोहा गन्तव्यलाई हामीले उच्च प्राथमिकतामा राखेर दैनिक उडान सेवा सञ्चालन गर्न लागेका हौँ । हिमालय एयरलाइन्सको दैनिक उडान सेवाले विशेष गरी कतारमा बस्दै र काम गर्दै आएका यात्रुहरुको लागि उत्कृष्ट सेवा प्रदान गर्ने छ ।” एअरलाइन्सले आफ्ना यात्रुहरुलाई आन्नददायी, उच्चस्तरीय आरामदायी, सुरक्षित, विश्वसनीय र तोकिएको समयमै सेवा प्रदान गर्ने कुरामा कम्पनी विश्वस्त छ ।