अर्थमन्त्री खनालले गरे हायात होटल व्यवस्थापनसँग भेट, सेवा सुचारु गर्न आग्रह

काठमाडौं । हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेश निषेध गरिएको सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार हायात रिजेन्सी व्यवस्थापनसँग कुराकानी गरी विषयमा जानकारी लिएका छन् । वार्ताको क्रममा अर्थमन्त्री खनालले सरकार होटलको सुरक्षाको पूर्ण प्रत्याभूति दिन तयार रहेको बताउँदै सेवा अबिलम्ब सुचारु गर्न आग्रह गरेका हुन् । उनले भने, 'तपाईंहरू आत्तिनु पर्दैन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौं। सुरक्षाको व्यवस्था हामी मिलाउँछौं । कत्ति पनि विचलित नभई आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।' अर्थमन्त्री खनालका अनुसार सरकारले आइतबार होटल व्यवस्थापनसँग थप छलफल गरी आवश्यक पहल गर्ने तयारी गरेको छ ।

बलबहादुरले सुरु गरे प्यारामिड होटल, सिलाङ र स्विजरल्याण्डका घरको डिजाइन

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन । भारतीय सेनाबाट सेवा निवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् । ३ जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन् ।  पोखराको राम बजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँतमा फर्किएका छन् । तिलिजाले पोखराको घर आफन्तको जिम्मा लगाएर श्रीमती ज्यानमाया, जेठा छेरा नारायण र बुहारी कृष्णालाई लिएर २४ वर्षपछि जन्मथलो फर्किएका हुन् । ‘छोरा, छोरी, बुहारी सबै विदेशमा भएका स्वाँतमै बस्ने एक जना आफन्तले वृद्ध अवस्थामा स्याहार, सुसारको अभावमा दुःख पाएको देखेर पैसाले मात्र केही हुने रहेनछ भन्ने सोच पलायो,’ बलबहादुरले भने, ‘बजारमा एउटै घरको ओल्लोपल्लो कोठामा बस्नेको चिनजान र वास्ता हुँदैन । गाउँमा स्वच्छ हावापानी, खानपान मात्र छैन सहयोगी भावना पनि जिवितै छ । छोरा बुहारीलाई विदेश जान रोकेर गाउँ ल्याएर होटल व्यवसायमा लगाएको छु ।’ बलबहादुरले स्वाँतमा प्यारामिड होटल सुरु गरेका छन् । उनले होटल सञ्चालन गर्नुको प्रमुख उद्देश्य छोराबुहारीलाई गाउँमै भुलाउनु हो । दुई रोपनी पाखो सम्याएर होटलका संरचना तयार पार्न १ करोड ८० लाख रुपैयाँ खर्चेको बलबहादुरले बताए ।  ‘छोराबुहारीलाई गाउँमा ल्याएर त्यतिकै राख्न भएन । होटलले उनीहरूलाई यहाँ बस्ने आधार र बाध्यता दुवै भयो,’ उनले भने ।  गत हप्तादेखि सञ्चालन भएको प्यारामिड होटलको संरचना म्याग्दीका अन्य होटलहरूको भन्दा भिन्न छ । पाहुना सुत्ने प्यारामिड शैलीका १३ वटा भवन छन् । एट्याच बाथरुम भएको एक तले भवनका दुई वटा बाहेक कोठामा दुई वटा बेड छन् । चिसो हुने र हिउँदमा पर्ने हिउँ जस्तापाताको छानोमा नथुप्रियोस् भनेर प्यारामिड शैलीको भवन बनाएको सञ्चालक तिलिजाको भनाई छ । होटलको डिजाइन भारतको सिलाङ र स्विजरल्याण्डका घरहरूको जस्तो छ । चुच्चो चुच्चो घरको कोठालाई हिउँदमा न्यानो र बर्खामा सितल बनाउन भित्र फर्म राखिएको छ । काठको प्रयोग गरेर बनाइएको होटलका कोठाहरूलाई जस्तापाटाले छाइएको छ । तिलिजा परिवारका चार जना बाहेक थप एक जनालाई होटलमा रोजगारी दिएका छन् । पाहुनाको स्वागत सत्कार, सरसफाई, व्यवस्थापन देखि भान्छाकोठाको काममा परिवारकै सदस्य खटिन्छन् । सिस्नोको मुना, रातो च्याउ, दौडे, लोकल कुखुरा र खसीबोकाको मासु, कोदो, मकैको ढिडो होटलका परिकार हुन् । अन्नपूर्ण चक्रीय पदमार्गको तातोपानी-घोडेपानी अन्तर्गत शिख देखि एक घण्टाको पैदलयात्रामा पुगिने स्वाँतको पृष्ठभूमिमा धौलागिरि हिमाल देखिन्छ । स्वाँतदेखि २० मिनेट पैदलयात्रा गरेपछि पुगिने छहरे झरना मनमोहक र आकर्षक छ । खोपारा, घोडेपानी, शिख, मोहरेडाडा, घान्द्रुक र बयलीको बाटो भएर समुन्द्रि सतह देखि दुई हजार तीन सय मिटर उचाइमा रहेको स्वाँतमा पुगिन्छ । होटलमा इन्टरनेट र चिसो याममा तातोपानीले स्नान गर्ने सुविधा छ । स्वाँतका करिब आधा घरपरिवारको बसोबास पोखरा, काठमाडौ, चितवन, बुटवल र बेलायतमा छ । ७० घर भए पनि हाल करिब २५ देखि ३० परिवार मात्र गाउँमा नियमित बस्ने गरेको स्वाँतको शिखर आधारभूत विद्यालयका प्रअ रामचन्द्र पाइजा पुनले बताए ।  स्थानीयबासी मनबहादुर पुनका अनुसार कच्चि सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट, मोवाइल सुविधा पुगेको छ । व्यवसायिक आलु खेती गर्न सकिने प्रशस्त उर्वर जमिन छ । रायो सागको विउ उत्पादनको स्रोत केन्द्र पनि हो स्वाँत ।  ‘रित्तिँदै गएको गाउँमा सम्भावना देखाउन बजारको सुविधा छाडेर फर्किएको हो । अरूलाई गाउँ फर्कने सन्देश दिनु पनि मेरो उद्देश्य हो,’ बलबहादुरले भने । 

कोशीका होटलहरूमा दैनिक ३ हजार पर्यटक बस्न सक्ने क्षमता, भारतीयको रोजाइमा पूर्वी पहाड

काठमाडौं । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको ६ महिना पूरा गरिसकेको छ ।  भारतको बिहार घर भएका कमलेश शर्मा आफ्ना ४  जनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहेका छन् । ‘यसअघि पनि साथीहरूसँग घुम्न नेपाल आएको थिएँ, तर परिवारसँग पहिलोपटक नेपाल आएको छु,’ इलामको कन्याममा भेटिएका उनले भने ।  उनका अनुसार अघिल्लो समयमा भन्दा यस वर्ष भ्रमण निकै सहज र रमाइलो भएको छ। आफूजस्तै अरु पनि थुप्रै भारतीय नागरिक नेपाल घुम्न रुचाउने शर्मा बताउँछन् । सस्तो मूल्यमै स्तरीय होटलमा बस्न पाइएको उनले बताए । सुरुवाती ३ महिना वैशाख, जेठ र असारमा प्रदेश सरकारले पर्यटन वर्षको कार्यक्रम देखिए तापनि पछिल्ला ३ महिना पर्यटन प्रचारप्रसारसम्बन्धी कार्यक्रम न्यून देखिए । ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराको साथ कोशी प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रमलाई सरकार सँगसँगै निजी क्षेत्रको पनि उत्तिकै सहभागितामा पर्यटन वर्ष सफल बनाउन लागिरहेको कोशी पर्यटन वर्ष २०८२ का सह-संयोजक भविष श्रेष्ठ बताउँछन् । उनले धार्मिक, प्राकृतिक, संस्कृतिसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक पनि आउने जानकारी दिए । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ कार्यक्रम ल्याएको छ । पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा कम गर्न सकिने उल्लेख गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऊर्जा, जलविद्युत्, पर्यटन, जडीबुटीका क्षेत्रमा काम गर्ने बताए । प्रदेशमा पर्यटकस्तर करिब ५ सय होटल र वानस्टार स्तरदेखि फाइभस्टार स्तरसम्मका डेढ सय होटल रहेको पर्यटन व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ का सह-संयोजक श्रेष्ठको भनाइ छ । यी होटलहरूमा दैनिक ३ हजार पर्यटक बस्न सक्ने क्षमता रहेको उनले दाबी गरे ।  गत महिना पूर्वी पहाडी जिल्लामा आएको बाढी पहिरोले पर्यटन क्षेत्रलाई पनि प्रत्यक्ष असर गरेको श्रेष्ठ बताउँछन् । छठ पर्व पछाडि पर्यटन वर्ष २०८२ को थप प्रचारप्रसार गरिने उनले बताए ।  कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले रमणीय मानिन्छ । यहाँ विभिन्न प्रसिद्ध धार्मिक स्थलसहित ८ हजार ८४८ मिटर अल्गो विश्वको सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतहबाट ७० मिटर उचाइमा रहेको नेपालकै होचो भू-भाग कचनकवल पनि छ । सूर्योदय हेर्न इलामको श्रीअन्तु डाँडामा दैनिक हजारौं स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ । कोशी टप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ । कोशी प्रदेश सरकारले यो प्रदेशमा पर्यावरणीय गन्तव्यको सूचीमा १३ र ट्रेकिङ ट्रेलका रूपमा १० स्थान समावेश गरेको छ । सर्वोच्च शिखर सगरमाथा अवलोकन गर्न ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक हरेक वर्ष यो प्रदेशमा आउने गरेको सरकारी तथ्याङ्क छ । धनकुटाको छिन्ताङ, ताप्लेजुङका पाथिभरा मन्दिर, खोटाङको हलेसी, सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण क्षेत्र हुन् । इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्केमयुङ डाँडा, पाँचथरको साधुटार लगायत पर्यटकीय आकर्षक गन्तव्य मानिन्छन् । सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से र चोयुलगायत हिमशृङखलाले विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ । सगरमाथा, मकालु र कञ्चनजङ्घा बेस क्याम्पसम्मको ट्रेक साहसी र रोचक मानिन्छ । त्यससँगै फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल, सभापोखरी ट्रेक पर्यावरणीय पर्यटनको आधार मानिन्छ ।