३० प्रतिशत लाभांश दिने कैलाश हेलिकप्टरले आईपीओको हिस्सा दोब्बर बनाउँदै

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा रहेको कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले सेयरधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३१ करोड ५० लाख रुपैयाँको १० प्रतिशतका दरले ३ करोड १५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि २० प्रतिशतका दरले ६ करोड ३० लाख रुपैयाँ नगद गरी कुल ३० प्रतिशत अर्थात् ९ करोड ४५ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।  उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते दिउँसो साढे ३ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले लाभांशसँगै आईपीओ र हकप्रद सेयर निष्कासनको प्रस्ताव पनि पारित गर्ने कम्पनी सचिव रञ्जनकुमार घिमिरे जानकारी दिए ।  यस्तै, सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, संचालक समितिले गत वर्ष गरेका निर्णय र चालु आव २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ ।  २० प्रतिशत आईपीओ जारी गर्ने कैलाश हेलिकप्टरले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ । आईपीओ निष्काशन सम्बन्धी कार्य अगाडि बढाउन कैलाशले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।  साथै कम्पनीले जारी पुँजी ३५ करोड रुपैयाँको १० प्रतिशतका दरले ३ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता ३२७ रुपैयाँमा आईपीओ जारी गर्ने तयारी अघि बढाएको थियो ।  तर, तेस्रो वार्षिक साधारण सभामा भने कम्पनीले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, संस्थापक सेयर र सर्वसाधारण सेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव राखेको छ । जसअनुसार अब कम्पनीले जारी पुँजीको २० प्रतिशतका दरले १० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्नेछ । यससँगै सर्वसाधारणको सेयर स्वामित्व १० प्रतिशतबाट बढेर २० प्रतिशत पुग्नेछ । यस्तो छ कम्पनीको वित्तीय अवस्था  कैलाश हेलिकप्टरले प्रत्येक वर्ष आम्दानी बढाउँदै लगेको देखिन्छ । आम्दानी बढेसँगै कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २० प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।  कम्पनीका अनुसार सन् २०२५ को ९ महिनामा ५३ करोड ५० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । यस्तै, अघिल्लो वर्ष सन् २०२४ मा ७९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  यस्तै, सन् २०२२ मा ४० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ३२ करोड १० लाख रुपैयाँ बराबर आम्दानी गरेको थियो ।  सन् २०१७ मा स्थापित कैलाश हेलिकप्टर सन् २०१८ मार्च २३ बाट सञ्चालनमा आएको हो । साथै, जुलाई २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । यस कम्पनीमा विभिन्न ७ जना लगानीकर्ता रहेका छन् । कम्पनीको अध्यक्ष क्याप्टेन आशीष शेरचन छन् भने प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेय रहेका छन् । कम्पनीको सञ्चालकमा सुनिल श्रेष्ठ, रमेश पण्डित, श्रीराम केसी र ईश्वरी पौडेल रहेका छन् ।  कम्पनीले हाल ३ वटा एयरबस हेलिकप्टरमार्फत चार्टर्ड उडान, उद्धार कार्य, स्लिङ अपरेशन, साहसिक भ्रमण (एभरेस्ट बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प) जस्ता सेवा दिँदै आएको छ । सन् २०२७ सम्ममा थप २ वटा हेलिकप्टर खरिद गरेर ५ वटा पुर्‍याउने योजना रहेको कम्पनीले जनाएको छ । 

ट्रेकिङमै केन्द्रित साहसिक पर्यटन, पर्वतारोहणमा बढ्दै सम्भावना

काठमाडौं । नेपालको साहसिक पर्यटन ट्रेकिङमै केन्द्रित हुँदै आएको छ । पर्वतारोहण, र्‍याफ्टिङ, बन्जी जम्प, प्याराग्लाइडिङ, क्यान्योनिङ, माउन्टेन बाइकिङजस्ता अन्य साहसिक गतिविधिहरूको सम्भावना हुँदाहुँदै पनि ट्रेकिङको तुलनामा ती गतिविधिहरू ओझेलमा परेका छन् । यद्यपि पछिल्लो समय पर्वतारोहण गतिविधि भने बढ्दै गएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वार्षिक १० देखि १२ लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइपुग्छन् । तीमध्ये ८० प्रतिशत पर्यटक धार्मिक र ट्रेकिङकै लागि आउने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार धेरैजसो पर्यटक ट्रेकिङका लागि अस्ट्रेलिया र अमेरिकाबाट आउने गरेका छन् भने धार्मिक पर्यटक भारतबाट आउने गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे विगतको तुलनामा नेपालमा साहसिक पर्यटनमा पर्यटकको आकर्षण बढ्दै गएको बताउँछन् । पर्यटकको आकषर्ण बढ्दै गएपनि पर्यटकको लागि आवश्यक नीति र कानुनहरूमा सुधार हुन नसक्दा यो क्षेत्रले जुन लय लिनुपर्ने त्यो भने हुन नसकेकको उनको भनाइ छ । अध्यक्ष पाण्डेले भने, ‘पछिल्लो समय ट्रेकिङ रुटहरू खुल्दै गएका कारण पर्यटकहरू बढेको छ, तर नियमन पक्षबाट यो क्षेत्रको लागि जति सकारात्मक भएर लाग्नुपर्ने हो, त्यो हुन सकेको छैन ।’  उनले नेपालमा सडक पूर्वाधार, महँगो एयरलाइन्सले गर्दा पनि यो क्षेत्रमा सोंचेजति पर्यटक भित्र्याउन नसकेको बताए । त्यस्तै, टानकै उपाध्यक्ष कर्मा शेर्पा नेपाललाई विश्वमा चिनाउने माध्यम नै साहसिक पर्यटन भएको बताउँछन् । उनका अनुसार पछिल्लो समय र्‍याफ्टिङलगायतका  साहसिक गतिविधि बढेपनि विदेशी पर्यटक घुम्न आउने भनेकै यही ट्रेकिङकै लागि हो । उनले विदेशी पर्यटकको लागि कल्चर टुर र अन्य गतिविधि साइड ट्रिप मात्रै भएको बताए । अमेरिका, युरोपबाट आउने पर्यटकहरू २४ घण्टाभन्दा बढी लामो फ्लाइटबाट आउने हुँदा भोलिपल्टै ट्रेकिङको लागि जान सम्भव हुँदैन । एक देशबाट अर्को देशमा आउँदा शरीरको तापक्रम र हावापनीको लेभल पनि ठीक ठाउँमा ल्याउनुपर्ने हुन्छ । त्यसैले विदेशीहरूलाई नेपाल आएपछि एक /दुई दिन काठमाडौं घुम्छन् ।  ‘नेपाल आउनेवित्तिकै भोलिपल्ट लुक्ला, पोखरा या घान्द्रुक पुर्‍याउँदा विदेशीलाई गार्‍हो हुन सक्छ, यसैले हामीले २ दिनजति काठमाडौ घुमाइसकेपछि मात्रै चितवन, पोखरा र ट्रेकिङको कार्यक्रम डिजाइन गर्छौ,’ शेर्पाले भने ।  नेपालमा आउने पर्यटकको फोकस ट्रेकिङ भएपनि अन्य गतिविधिहरूमा समय बिताउने हुँदा ट्रेकिङ व्यवसायको कारण अन्य क्षेत्रलाई पनि फाइदा पुग्ने उनको भनाइ छ । नेपाल एशोसिएन अफ राप्टिङ एजेन्सिज (नारा) का अध्यक्ष कमलबहादुर ठकुरी भूकम्पपछि पर्यटक आगमन बढेपनि व्यवसायिक हिसाबले साहसिक पर्यटनमा पर्यटकको संख्या भने बढ्न नसकेको बताए । त्यसमा पनि विशेषगरी र्‍याफ्टिङ व्यवसाय झन् घट्न पुगेको उनले सुनाए । ‘एडभेन्चर टुरिजम व्यावसायिक हिसाबले कमी आएको देखिन्छ, यद्यपि ७२ सालको भूकम्पपछिको अवस्थासँग तुलना गर्दा पर्यटक आगमनको क्रम राम्रै रहेको छ,’ उनले भने । साहसिक पर्यटन युवा पुस्ताले गर्ने भएपनि सरकारले युवा पर्यटकलाई लक्षित गर्न नसकेको उनको भनाइ छ । ‘र्‍याफ्टिङ गतिविधि बढाउन सकेका छैनौँ, साहसिक गतिविधि युवाहरूले गर्ने भएपनि उनीहरुलाई फोकस गरेर कार्यक्तमहरु ल्याउन सकेको छैन,’ ठकुरीले भने, ‘यस क्षेत्रमा आउने विदेशी पर्यटकहरूको संख्या घटेको अवस्था छ, यद्यपि नेपालीहरू भने पहिलाको तुलनामा अलिअलि बढेको देखिन्छ ।’ र्‍याफ्टिङमा पर्यटक बढ्न नसक्नुमा नदीहरूमा प्रदूषित हुनु, सडक सञ्जाल राम्रो नहुनेलगायत कारण औल्याउँछन् ठकुरी । त्यस्तै, उनले नेपालमा ट्रेकिङबाहेक पनि अन्य साहसिक गतिविधि हुन्छन् भनेर प्रचारप्रसार पर्याप्त हुन नसक्दा वृद्धि हुन नसकेको उनले बताए । त्यस्तै, होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य नेपालले जहिल्यै पनि मन्दिर–मन्दिर मात्रै भनेर प्रचार गर्दा अन्य साहसिक गतिविधि ओझेलमा परेको बताउँछन् ।  यसलाई फरक ढंगबाट मार्केटिङ गर्न जरुरी रहेको उनको भनाइ छ । ‘नेपालमा धार्मिक पर्यटको लागि पशुपतिदेखि लिएर विभिन्न मठमन्दिरहरू प्रख्यात छन्, यो मात्रै होइन,’ शाक्यले भने, ‘एडभेञ्जर टुरिजमको लागि चितवन नेशनल र्पाक, बर्दियालगात पनि नेपालमै छन् ।’  नेपालले हिमाल र धार्मिक स्थलबाहेक अरु पर्यटकीय गतिविधिलाई नसमेटिएकै कारण सम्भावना हुँदाहुँदै उपलब्धि हासिल गर्न नसकेको उनको विचार छ । एडभेञ्चर टुरिजमको प्रचार–प्रसार भएको भनिए पनि यसको शैली अझै परम्परागत नै छ । डिजिटल प्रमोसन प्रभावकारी रूपमा गर्न नसक्दा यस क्षेत्रले अपेक्षित गति लिन सकेको छैन ।  शाक्यले भने, ‘प्रचार–प्रसार प्रायः पोखरा, चितवन र एभरेस्ट क्षेत्रमा मात्र सीमित हुँदा अन्य सम्भावनायुक्त गन्तव्यप्रति पर्यटकको चासो बढ्न सकेको छैन ।’ हिमाल चढ्ने पर्यटकको संख्या बढ्दै एडभेञ्जर टुरिजमको लागि नेपाल विश्वमा परिचित छ । किनभने प्रकृतिले निःशुल्क रूपमा विश्वकै अग्लो सगरमाथादेखि थुप्रै हिमाल नेपालमै छन् । नेपाललाई विश्वमा चिनाउने माध्यम नै हिमाल हो । पर्यटन विभागको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा हिमाल चढ्ने आरोहीहरूको संख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको छ । विगतमा सगरमाथा चढ्ने आरोहीको संख्या २÷३ सयको हाराहारीमा हुने गरेकोमा पछिल्ला वर्षहरूमा ५ सय को हाराहारीले हिमाल चढ्ने गरेका छन् । त्यस्तै, कोभिडअघि ५०–६० को संख्याले मनास्लु हिमाल चढ्ने गरेकोमा अहिले ४ सयको हाराहारीले चढ्ने गरेका छन् । हिमालमा पर्यटकको संख्या वृद्धि भएपनि अझै पनि धेरै चुनौतीहरू रहेको नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्रबहादुर लामाले बताए । उनले अस्थिर राजनीति, कमजोर पूर्वाधारले शिखरसम्म पुग्न पर्यटकलाई कठिन रहेको सुनाए । ‘एडभेञ्जर टुरिजम सोचेअनुसार विस्तार हुन नसक्नुमा अस्थिर राजनीति, पूर्वाधार नै हो,’ उनले भने ‘ हाम्रोमा पूर्वाधार कमजोर छ । सडक, एयरपोर्ट, दक्ष जनशक्तिको पनि अभाव छ । सेवा र गुणस्तरको पनि समस्या छ ।’  त्यस्तै, हिमाल वरिपरि वातावरणीय प्रदूषण बढ्दै जानुका साथै पोलिसी पनि पर्यंटनमैत्री नभएको उनले औंल्याए। नीतिगत एवं कानुनी मार्गदर्शनको अभाव अरू मुलुकमा ठूलो खर्च गरी निर्माण गर्नपर्ने पूर्वाधारहरू नेपालमा प्रकृतिले निःशुल्क दिएको छ । हिमाल, सुन्दर पहाड, खोंच नदीहरू तालतलैया, भीरपाखा, जंगल लगायतले साहसिक पर्यटनको सम्भावना बढाएको छ । पर्यटन ऐन, २०३५ को दफा ४५ ‘क’ मा अन्य पर्यटन व्यवसायसम्बन्धी व्यवस्था रहेको छ । र्‍याफ्टिङ, ग्लाइडिङ, जङ्गल सफारी, क्याम्पिङ हाइकिङ, बर्डवाचिड, स्काइड तथा अन्य व्यवसायहरूको दर्ता, इजाजत, नवीकरण, निलम्बन तथा खारेजी सम्बन्धी व्यवस्था पर्यटन ऐनले तोकेपनि हालसम्म पर्यटन सम्बन्धी नियमावली बन्न नसक्दा स्पष्ट नीतिगत एवम् कानुनी मार्गदर्शनको अभावमा साहसिक पर्यटन गतिविधि अपेक्षित रूपमा वृद्धि हुन नसकेको व्यवसायीहरू औंल्याउँछन् । पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० ले स्किइङ, जंगल सफारी, क्यानोनिङ, स्काई डाइभिङ, जिप फ्लाइङ, प्याराग्लाईडिङ, वेलुनिङ, एम्यूज्मेन्ट पार्कलगायतका अन्य साहसिक तथा मनोरञ्जनात्मक खेल तथा क्रियाकलापहरूलाई साहसिक तथा मनोर पर्यटन व्यवसायको रूपमा परिभाषित गरी दर्ता र नवीकरण सम्बन्धी व्यवस्था गरेको छ ।  अल्ट्रालाइट र प्याराग्लाइडिङ आकासीय उडानसँग सम्बन्धित भएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणाने सञ्चालनको अनुमति दिएको छ । हालसम्म विभागमा दर्ता भएका साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसायको संख्या ५६ पुगेको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर ठुलो संख्यामा पर्यटकहरू ट्रेकिङकै लागि आउने भएपनि बोर्डले अन्य गतिविधिलाई पनि प्राथमिकताका साथ राख्दै आएको बताए ।  ‘अहिले पनि विश्वलाई नेपालले देखाउने भनेको ट्रेकिङ र पर्वतारोहण नै हो, तर टाग्रेट गू्रप पनि छन्, जो साहसिक गतिविधिमा हामीले प्रचार नगरेपनि आउँछन्,’ उनले भने । हिमालमा पनि धेरै पर्यटकको रोजाइ सगरमाथा नै हुने गरेको छ । त्यसले गर्दा अन्य हिमालहरु ओझेलमा पर्न गएका छन् । वरिष्ठ निर्देशक ऐरले भने, ‘अब हामीले सगमाथा मात्र होइन, कञ्चनजंगा। अपि सैपालजस्ता हिमालमा पनि पर्यटकको संख्या बढाउनु आवश्यक छ भनेर फोकस गरिरहेका छौं ।’  त्यहीअनुसार पर्यटन बोर्डले पनि आधारभूत कुराहरू विकास गरिरहेको उनले बताए । त्योसँगै मनास्लुको बेस क्याम्पमा पर्यटकको संख्या वृद्धि गर्नको लागि बोर्डले गतिविधि अगाडि बढाइरहेको छ ।  ‘एभरेष्ट एरियामा मान्छे नबोलाए पनि आइहाल्छ, तर हामीले मनास्लु, जुगल हिमाललगायत अन्य हिमालमा पर्यटक बढाउने काम गरिरहेका छौं,’ उनले भने । साहसिक पर्यटनमा छुट्याउनै नहुने ट्रेकिङ र पर्वतारोहण भएपनि अन्य गतिविधिलाई विविधीकरण आवश्यक रहेको उनले बताए ।  ‘हाम्रो पहिचान नै ट्रेकिङ र पर्वतारोहण हो, त्यसलाई छुट्याउनै भएन, त्यससँगै अन्य गतिविधिहरु जस्तै राप्टिङ, प्याराग्लाइडिङ, अल्ट्रा लाइटलगायत एक्टिभिजिटलाई पनि मार्केटिङ गर्नुपर्छ, त्यसमा हामीले सोचेका छौं,’ उनी भन्छन् ।  पर्यटनसम्बद्ध सूचना प्रचारप्रसार गर्ने, पर्यटकीय ठाउँमा पर्यटकलाई जोड्ने काम भइरहेको उनको भनाइ छ । एडभेञ्जर टुरिजममा बीमा अनिवार्य एभेञ्जर टुरिजमलाई रमाइलो र जोखिम दुवैको मिश्रण भएको क्षेत्रका रूपमा लिइन्छ । यो क्षेत्र प्रत्यक्ष रूपमा मानिसको जीवनसँग जोडिएको हुँदा जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकता दिने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार एडभेञ्जर गतिविधि सञ्चालन गर्ने कम्पनीहरूले पर्यटकको अनिवार्य बीमा गरेका हुन्छन् । आवश्यक इन्स्योरेन्स व्यवस्था नभएसम्म त्यस्ता कम्पनीहरूको नविकरणसमेत हुँदैन । विदेशी पर्यटकहरूको हकमा उनीहरुले नेपाल आउनुअघि नै आफ्नै देशबाट बिमा गरेर आउने गर्छन् । यस क्षेत्रमा लामो समयदेखि काम गरेका व्यवसायीहरूका अनुसार एडभेञ्जर टुरिजममा अन्य क्षेत्रको तुलनामा सुरक्षाको व्यवस्था सबैभन्दा कडाइका साथ लागू गरिएको हुन्छ । 

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रङ्गीचङ्गी पुतली जस्तै देखिने भएकाले यसलाई स्थानीयहरु पुतली जहाज पनि भन्छन्। कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई अल्ट्रालाइट अर्थात ‘पुतली जहाज’ ले लोभ्याइरहेको थियो । खुला आकाशमा हावाको वेगसँगै कावा खाँदै ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यवलोकन गर्न पाइने यो साहसिक गतिविधिमा रुची राख्नेहरुको रोजाइमा पर्ने यो जहाजमा अहिले पर्यटकको कमी हुन थालेको छ । शुल्क महँगो भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यो गतिविधिबाट टाढिन थालेको एभिया क्लबकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठको बुझाइ छ। 'पहिले धेरै राम्रो थियो तर अहिले शुल्क महँगो भयो, नागरिक उड्डयन प्राधिकरणले ‘टेक अफ’ र ‘ल्याण्डिङ’ को शुल्क बढाएपछि उडान शुल्क महँगो हुन गर्यो, यसले व्यवसायमा ठूलो मार परेको छ ।' केही वर्षअघिसम्म आठ हजार पाँच सयमा पर्यटकले आकाशमा उडेर आनन्द लिन पाउँथे भने अहिले यो शुल्क बढेर  १७ हजार ५०० पुगेको छ। शुल्क दोब्बर हुँदा अल्ट्रालाइट गर्ने पर्यटक सङ्ख्या घटेको उनको भनाइ छ । ‘एड्भेञ्चरको माता’ को उपनाम पाएकी श्रेष्ठ नेपालमा साहसिक हवाई पर्यटनको परिकल्पनाकार मानिन्छिन् । ‘एभिया क्लब नेपाल’ ले विसं २०५३ मा प्रबन्ध निर्देशक नताशा श्रेष्ठ र उनका रुसी साझेदारहरुले यसलाई नेपाल भित्र्याएकी थिइन् । पोखराको भूगोल अल्ट्रालाइटका अनुकूल मानिन्छ । पोखरामा अल्ट्रालाइट दक्षिण एसियामै पहिलो पटक सञ्चालनमा आएको हो । श्रेष्ठले नेपालमा यसको सम्भावना राम्रो रहेको उल्लेख गर्दै यसमार्फत विश्व बजारमा नेपाल चिनाउन र पर्यटन भित्र्याउन सकिने धारणा राखिन् । दक्ष जनशक्ति र राज्यको पर्यटनमैत्री नीतिको अभावले निजी क्षेत्रका व्यवसाय धरासायी हुँदै जानु र नयाँ लगानीमा सम्भावना कम हुँदै जाँदा पर्यटन क्षेत्रलाई असर गरेको उनको भनाइ छ । 'सुरुमा पोखरामा यस्तो साहसिक खेल भित्र्याउँदा धेरैलाई अनौठो लागेको थियो, तर आज यो पोखराको पहिचान बनेको छ', श्रेष्ठ भनिन्, 'हामीले पोखराको पर्यटनलाई केवल ताल र गुफामा सीमित नराखी आकाशको उचाइसम्म पु¥याउन सफल भएका छौँ यसको प्रवर्द्धन विस्तार जरुरी छ ।' उनका अनुसार सुरुवाती दिनहरूमा अल्ट्रालाइट उडाउन पूर्णरूपमा रुसी पाइलटहरूमा भर पर्नुपर्ने अवस्था थियो । एभिया क्लबले नै अनुभवी रुसी पाइलट ल्याएर यसको उडान सुरु गरेको हो । तर, अहिले नेपाली युवा पाइलटले नै उडान गर्न थालेका छन् । हाल पोखरा एभिया क्लब र पोखरा अल्ट्रालाइट प्रालिले मात्र यो सेवा प्रदान गरेको पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुनै समय दिनको ४० उडान गर्दै आएका कम्पनिले अहिले दिनको चार वटा उडानमा सीमित हुनुपर्ने अवस्था आएको छ । पर्यटकलाई आकर्षित गर्ने गतिविधिमा राज्यले पर्यटनमैत्री नीति बनाएर सहजको वातावरण गराउन सके नीति क्षेत्रलाई राहत मिल्ने र पर्यटन प्रवर्द्धन हुने उनको भनाइ छ । कुनै समय साहासिक गतिविधिमा रुची राख्ने पर्यटकले रुचाएको अल्ट्रालाइट अहिले पर्यटकको अभाव र चर्को शुल्कले सुस्ताउनु दुर्भाग्य भएको उनको बुझाइ छ । केही वर्षअघि विदेशी साथिसँगै अल्ट्रालाइटको उडान भरेका पोखराका रामबजारका विकास गुरुगंले अहिले शुल्क बढी भएको गुनासो गरे । 'अहिले शुल्क महँगो भयो, शुल्क घटाउने हो भने आन्तरिक पर्यटक आकर्षित गर्न सकिन्छ', उनले भने । उनले साहसिक खेलमा प्याराग्लाइडिङ अल्टालाइट आआफ्नै विशेषता रहेको सुनाए । गुरुङले भने 'विदेशी पर्यटकहरू त झन् पोखराको यो उडानलाई विश्वकै उत्कृष्टमध्ये एक मान्छन्, धेरै देशमा उडान भरेका मेरा एक जर्मनी साथिले पोखराको आकाश उडेपछि यहाँको सुन्दरताको निकै तारिफ गरेका थिए ।' रासस