पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’, ५० जना यात्री, २० जना गाइड

काठमाडौं । ‘दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियान’ भन्ने नारासहित साइकलमा जिल्ला घुम्ने कार्यक्रम तय भएको छ । जिल्लालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, पूर्वी नेपालमा दिगो तथा शून्य फोहर पर्यटन प्रवर्द्धन गर्ने, साइकलमार्फत स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्ने लगायत उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार साइक्लिङ क्लबले आयोजना गरेको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम यही  फागुन ३० गतेदेखि आगामी चैत २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको मुख्य प्रवर्द्धकका रूपमा पर्यटन कार्यालय काँकडभिट्टा रहेको छ ।  उनका अनुसार पहिलो पटक साइकलमा जिल्ला घुम्ने कार्यक्रम अन्तर्गत १२ पालिकाको यात्रा तय गरिनेछ । पहिलो दिन ६० किलोमिटरको यात्रा हुने उहाँले जानकारी दिए । मेचीनगर, बुद्ध शान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकबल, भद्रपुर, हल्दीबारी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइने क्लबका अध्यक्ष श्रेष्ठले बताए ।  पर्यटन कार्यालय, काँकडभिट्टाबाट सुरु भएको यात्रा बाहुनडाँगी-४९, धारा-मदन भण्डारी राजमार्ग-बर्ने चिया बगान-अर्जुनधारा जलेश्वरधाम-अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुन खाडी सिमसार भएर दोमुखामा टुङ्गिने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए । दोस्रो दिन ८० किलोमिटरको यात्रा हुनेछ । दोमुखाबाट सुरु भएको यात्रा माइधार-चिल्लागढधाम-शिवगञ्ज बजार-चौरी-हुलाकीमार्ग-झापा बजार-राजगढ-जलथल जङ्गल बनियानी हुँदै नेपालको होचो स्थान कचनकवल पुगेर बनियानी बजारमा यात्रा टुङ्गिने उनको भनाइ छ । तेस्रो तथा अन्तिम दिन ५० किलोमिटरको यात्रा हुनेछ । बनियानीबाट किच्चकबध-भद्रपुर-हल्दीबारी हुँदै विराटपोखरी भएर विर्तामोडमा ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको अन्त्य हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यात्रामा ५० जना साइकल यात्री तथा २० जना गाइड, मेकानिक र स्वयंसेवक रहनेछन् । कार्यक्रममा कम्तीमा २० प्रतिशत महिला र कम्तीमा २० प्रतिशत झापा बाहिरका सहभागी हुनेछन् । आन्तरिक तथा बाह्य पर्यटन, स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्याउन, सीमा क्षेत्र, धार्मिक स्थल, सिमसार क्षेत्र तथा ग्रामीण भू-भागलाई जोड्दै झापालाई एक साइकल मैत्री गन्तव्यका रूपमा चिनाउन यो कार्यक्रमले सहयोग पुग्ने पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले बताए । 

नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने

काठमाडौं । नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ लाई संशोधन गर्ने तयारी गरेको हो ।  उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा मन्त्रालयले तयार गरेको छ । ऐनको दफा ६ लाई संशोधन गरेर बोर्डको काम कर्तव्य अधिकारलाई विस्तार गर्न खोजिएको छ ।  संशोधित विधेयधकको मस्यौदामा बोर्डले नेपालका पर्यटकीय वस्तु (टुरिजम प्रोडक्ट) र क्रियाकलापको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नको लागि नेपाल सरकारको प्रतिनिधिको रुपमा काम गर्ने, नेपालका पर्यटकीय क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नका लागि आवश्यक नीति निर्माण गर्न मन्त्रालयलाई सुझाव दिने, नेपालमा रहेका पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरूको पहिचान गरी प्रवर्द्धन गर्ने, पर्यटन व्यवसायको विविधीकरण, विकास र प्रवर्द्धन गर्नका लागि सार्वजनिक क्षेत्र, निजी क्षेत्र तथा गैर सरकारी क्षेत्रका सरोकारवाला निकायहरूसँग समन्वय गर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा पर्यटन प्रवर्द्धन गर्न आवश्यक नीति तथा कार्यक्रममा अन्तर तह सहजीकरण गर्नेजस्ता विषयहरु विधेयकको मस्यौदामा समेटिएको छ । पर्यटन बोर्डले पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि निजी क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्ने, पर्यटन प्रवर्द्धन तथा प्रचार प्रसारका लागि अन्तर्राष्ट्रिय सभा सम्मेलन, मेला, महोत्सव, प्रतियोगिता तथा तोकिए बमोजिमका अन्य कार्यक्रम आफै वा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सञ्चालन गर्ने, पारस्परिक लाभ वा योगदानमा आधारित अन्तरदेशीय पर्यटन सम्बन्धी गतिविधि सञ्चालन गर्न सम्बन्धित विदेशी सङ्घ संस्थासँग समन्वय गर्ने, पर्यटन प्रवर्द्धन गर्नको लागि नेपाल सरकारको पूर्व स्वीकृति लिई अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग सम्झौता गर्ने अधिकार बोर्डलाई दिन खोजिएको छ । विगतमा राजनीतिक पहुँच र दलका कार्यकर्ता भर्तिकेन्द्र बनाइएको बोर्डमा सदस्य, प्रमुख कार्यकारी नियुक्तीमा कडाइ गर्न खोजिएको छ । प्रस्तावित विधेयकको मस्यौदामा बोर्डको सदस्य हुन नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, पर्यटन व्यवसायको कुनै क्षेत्रमा दश प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको, मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह वा सो भन्दा माथिल्लो शैक्षिक योग्यता भएको व्यक्तिको हकमा पर्यटन व्यवसायको क्षेत्रमा कम्तीमा पाँच वर्ष निरन्तर अनुभव भएको योग्यता मस्यौदामा तोकिएको छ ।  प्रमुख कार्यकारीको हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, पर्यटनसम्बन्धी प्रचलित कानुनबमोजिम स्थापित कम्पनी वा सङ्गठित संस्थाको प्रमुख वा सोभन्दा एक तह मुनिको पदमा रही कम्तीमा पाँच वर्ष काम गरेको र पर्यटनसम्बन्धी क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ । साथै विदेशी मुलुकको आवासीय अनुमति नलिएको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, नियुक्ति हुँदाको बखत प्रचलित कानुनबमोजिम कालोसूचीमा नपरेको, कुनै राजनीतिक दलको सदस्य नरहेको र कुनै लाभको पद धारण नगरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।  

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । नेपाल वायु निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मंगलबार र शनिबार गरी सातामा तीन पटकमात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए। नेपाल वायुसेवा निगमका हाल तीन मात्र ट्वीनअटर जहाज रहेको र उक्त जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यसअघिको नियमित तालिकामा परिवर्तन गरेको उनले बताए । वर्षात्को समय, खराब मौसम र बाक्लो हुस्सुका कारणबाहेक पछिल्लो तीन महिना रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई उडान हुँदै आइरहेको छ । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौँदेखि बिहान ६:३० बजे र रेसुङ्गा विमानस्थलदेखि बिहान ७:३० बजे उडान गर्दै आइरहेको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौंका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गर्दछ । जिल्लामा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । अठार घण्टा लामो यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका नागरिकले आकाशमार्गबाट ४५ मिनेटमै सहज रूपमा गुल्मीबाट राजधानी आवतजावत गर्न सहज बनेको छ । जिल्लामा हवाई सेवा लिने नागरिकको चाप पछिल्लो समयमा बढ्दै गएको छ । तर यात्रुहरूको चाप बढे पनि उडान सङ्ख्या थोरै हुने र उडान तालिकामा परिवर्तन भइरहने भएका कारण यस क्षेत्रका नागरिक समस्यामा परेका छन् । जिल्लामा नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई उडान सेवा सुरुआत गरेको थियो । रासस