बागलुङको ‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा, दैनिक १०० पर्यटक आउने

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–३, ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्‍यो । हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरूले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । यस वर्ष हिउँ परेन । तर सूर्योदय र दृश्याअवलोन गर्नेहरूको कमी भने भएन । बेलढुङ्गा बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा पर्यटक सहजरूपमा यहाँ पुग्ने गरेका हुन् । यातायात र पदमार्गमार्फत पुग्न सकिने हुँदा दैनिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको स्थानीयवासीको भनाइ छ । पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको संख्या अझ बढ्दो छ । बेलढुङ्गा नजिकै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ । यहाँबाट अनगिन्ती हिमशृङ्खलासँगै, बागलुङ र म्याग्दीका अधिकांश भू–भागसँगै पर्वत, कास्की, गुल्मीलगायतका ठाउँ सहजरूपमा देख्न सकिन्छ । अब ढकमक्क गुराँस फुलेर वनै ढाक्ने सिजन सुरु भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको बेलढुङ्गा सामुदायिक होमस्टेका सचिव गोपाल श्रीसले बताए । यस वर्ष एक दिन पनि बेलढुङ्गा रित्तो नभएको श्रीस बताउँछन् । बर्खाको समयमा पनि पदमार्गबाट यहाँ पर्यटक घुम्न आएको भन्दै पछिल्लो समय दैनिक एक सय हाराहारीमा पर्यटक आउने गरेको उनको भनाइ छ । पूर्वाधार निर्माण र प्रचार–प्रसारपछि बेलढुङ्गामा बाह्रै महिना पर्यटक आउन थालेको उनले बताए । रासस

आइएफआर प्रणाली लागू गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातापछि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू हुने भएको छ । फागुन ११ गते बिहीबारदेखि पोखराको नयाँ विमानस्थलमा आएफआर प्रणाली सञ्चालनका लागि तयारी पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । पोखरामा आइएफआर कार्यान्वयनमा आउने भएपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरूले चासो दिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतको चासो देखाएको छ । आइएफआर प्रणाली पूर्ण यान्त्रिक सञ्चालन प्रणाली भएको र भिजुअल फ्लाइट रुल्स (भीएफआर)को तुलनामा आइएफआर उडानमा केही समय लाग्ने भए पनि तुलनात्मक रुपमा सुरक्षित र सहज रहेको प्राधिकरणले जनाएको छ । पोखराको नयाँ विमानस्थल साना जहाजका लागि मात्रै उडान–अवतरणमा उपयुक्त रहेको मानिएको छ । कोरियन र बिज एयरसँग १९० सीट क्षमताको ए३२१ निओ जहाज रहेको बताइएको छ । हिमालयले न्यारोबडी जहाज एयरबस ३२० बाट पोखराको परीक्षण उडान गरिसकेको छ । इच्छुक कम्पनीका जहाज, यात्रु क्षमता र उडान गर्न चाहेका गन्तव्यलगायत प्राविधिक पक्षबारे प्रष्ट छलफल हुने बाँकी रहेको प्राधिकरणले जनाएको छ । गत जनवरी–१ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, गुणलगायत वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।

लमजुङको लिपेलेक प्रवर्द्धन गर्दै पर्यटन व्यवसायी र दोर्दी गाउँपालिका

काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पर्यटकीय गन्तव्य लिपेलेकलाई प्रवर्द्धन गर्न राउन्ड ट्रेक कार्यक्रम शुरू गरेको छ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेश समितिसँगको सहकार्यमा गाउँपालिकाले शुक्रबारदेखि राउन्ड ट्रेक शुरू गरेको हो । नौथरशेरा, इलम पोखरी, लिपेलेक, दाम्राङ हुँदै फेरि नौथरशेरा पुग्नेगरि राउन्ड ट्रेक शुरू गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । पर्यटन व्यवसायी, गाउँपालिकाका प्रतिनिधि, पत्रकार एवम् अन्य सरकारी प्रतिनिधि सहित २५ जनाको सहभागीता रहेको सो राउन्ड ट्रेक त्यहाँको पर्यटकीय सम्भावनाबारे समेत अवलोकन तथा अध्ययन अनुसन्धान गर्नेछ । टान गण्डकी अध्यक्ष धर्मराज पन्थी नेपाल माउन्टेरियन एसोसिएसन, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा दोर्दी पालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विक्षबहादुर घले लगायत अन्य पर्यटन व्यवसायी, पत्रकार लगायतको सहभागीता छ । कार्यक्रमको संयोजन टान गण्डकी प्रदेशका उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले गरेका छन् । राउन्ड ट्रेकको पहिलो दिन शुक्रबार इलम पोखरीमा क्याम्पिङ गरेका थिए । आज प्रसिद्ध पर्यटकीय गन्तव्य लिपे लेकमा क्याम्पिङ गरि भोलि दाम्राङ पुग्ने सो टिमको योजना रहेको छ । नयाँ रुटलाई एक्स्प्लोर गर्ने टान गण्डकीको उद्देश्य रहेको छ भने गाउँपालिकाले पनि आफ्नो ठाउँमा भएका पर्यटकीय कुराहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । लिपे लेक हिमालहरूको मनमोहक दृश्य अवलोकनका लागि प्रसिद्ध छ । माछापुच्छ्रे, हिमचुली हिमाल, मनास्लु, गणेश हिमालको अद्भुत दृष्यहरू लिपे लेकबाट देख्न सकिन्छ । साथै काठमाडौंको शिवपुरीसमेत यहाँबाट देख्न सकिन्छ ।