सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल

कैलाली । विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए । विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि यथास्थितिमा विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थिति देखिएको छ । विकासको मुद्दामा बहस हुँदा कतै पनि छुट्दैन टीकापुर विमानस्थल । त्यतिमात्र होइन, राजनीतिक दलका नेतालाई नागरिकका अगाडि विमानस्थल मुद्दा बनेको छ । विशेषगरी निर्वाचनका समयमा विमानस्थललाई मुद्दा बनाउने गरिएको स्थानीय लक्ष्मण विक बताउँछन् । गत आर्थिक वर्षमा विमानस्थलका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको भने पनि अहिले त्यो यथार्थ नभएको तथ्य खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले अहिलेकै अवस्थामा विमानस्थल सञ्चालन हुन नसक्ने बताएको छ । प्राधिकरणका इञ्जिनियर सत्यराम दुवालले टीकापुर विमानस्थलका नाममा अहिलेसम्म कुनै बजेट विनियोजन नभएको बताए । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा एकाएक डोजर विमानस्थलमा देखिएपछि त्यसको विरोधसमेत भएको थियो । ‘टीकापुर विमानस्थलका लागि भनेर कुनै बजेट थिएन, देशभरका विमानस्थलको मर्मत सम्भारका लागि बजेट थियो, त्यसमध्ये केही बजेट विमानस्थलमा खर्च भएको थियो’, इञ्जिनियर दुवाल भन्छन्, ‘कसैले विमानस्थलका सञ्चालनका लागि शीर्षकमै बजेट विनियोजन गरेको भन्ने भ्रम सिर्जना गरेको भए त्यो गलत थियो ।’ उनले विमानस्थलको ग्राभेलको काम र भवन रङ्गरोगनका लागि एक लाख रुपैयाँ खर्च भएको बताए । उनका अनुसार चालू आवमा पनि विमानस्थलका लागि कुनै बजेट छैन । ‘एकमुष्ट विमानस्थलको मर्मतसम्भारका लागि बजेट छ, त्यसमा टीकापुर विमानस्थल पनि परेको होला, नभए विमानस्थलका लागि छुट्टै बजेट छैन’, उनले भने, ‘बाहिर आउने कुराको विषयमा हामीलाई कुनै कुरा थाहा भएन ।’ अतिक्रमणमा परेको विमानस्थल खाली भएपछि त्यसको मर्मतसम्भार गरेर नागरिक उड्डयन प्राधिकरणका पुर्व वरिष्ठ अधिकृत योगेन्द्रराज शर्माले सानो जहाज परीक्षण गराएको थियो । त्यो नै टीकापुर विमानस्थलका लागि अन्तिम जहाज अवतरण भयो । अब यो क्षेत्रमा विमान अवतरण हुने सम्भावना निकै कम भएको वरिष्ठ अधिकृत शर्मा बताउँछिन् । ‘उसो त टीकापुरमै विमानस्थल सञ्चालन हुनेमा निकै कम सम्भावना छ, त्यसमा पनि अहिलेको स्थानमा विमानस्थल सञ्चालन हुने सम्भावना नै छैन’, शर्माले भने, ‘जुन खड्ग स्मृति रङ्गशालाको जग्गालाई विमानस्थल बनाउने कुरा छ, त्यहाँ सम्भावना छ ।’ उनले विमानस्थल सञ्चालनका लागि टीकापुरको स्थानीय सरकार, राजनीतिक दल, नागरिक अगुवाले साझा धारणाका साथ प्रस्तुत हुनुपर्ने बताए । ‘एउटा आउँछ, विमानस्थल यस्तो चाहियो भन्छ, अर्को आउँछ उसले पुरानो ठाउँमा विमानस्थल सार्नुपर्ने भन्छ, आपसमै कुरा मिल्दैन भने कसरी विमानस्थल बन्छ’, उनी भन्छन्, ‘सबैको समान धारणा बनाएर प्रस्तावित ठाउँमा विमानस्थल सञ्चालनका लागि दबाब दिन सकेपछि मात्रै सम्भावना देखिन्छ ।’ विसं २०७४ को स्थानीय तहको निर्वाचनपछि विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारले पनि धेरैपटक सङ्घ सरकारसँग आग्रह गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु बताउँछन् । ‘विमानस्थल सञ्चालन हुनुपर्छ भनेर पटकपटक सङ्घीय सरकारसँग माग गर्दै आएका छौँ, सरकारले पनि सकारात्मक प्रतिक्रिया दिएको हुन्छ’, नगर प्रमुख थारुले भने ‘हामीलाई भन्दा एक कार्यान्वयन गर्दा अर्को गरेको हो भने त्यो गम्भीर समीक्षाको विषय बन्न सक्छ, नभए विमानस्थल सञ्चालनमा आउँछ र आउनुपर्छ ।’ उनले पुरानो विमानस्थल सञ्चालन हुने स्थिति नभए नयाँ ठाउँमा काम अगाडि बढाउनुपर्ने बताए । विसं २०७६ मा टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको टीकापुर महोत्सवमा पनि तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईसँग टीकापुर विमानस्थल सञ्चालनको एक सुत्रीय माग राखेको थियो । त्यसपछि विमानस्थलको स्थलगत निरीक्षण तथा अध्ययन समितिले तीन पटक विमानस्थलको अध्ययन गरेको थियो । त्यो अध्ययनको प्रतिवेदन भने अझै सार्वजनिक हुन सकेको छैन । रासस

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

काभ्रेपलाञ्चोकमा । काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो । दिनहुँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गत फागुनमा सात सय २८ जनाले नागरिकता लिएका थिए भने दुई हजार दुई सय ८९ जनाले राहदानी लिएका थिए । यसैगरी राष्ट्रिय परिचयपत्रका लागि करिब दुई हजार चार सय जनाले फोटो खिचाएका छन् । यस्तै गत माघमा राहदानी लिनेको सङ्ख्या एक हजार चार सय ७९ जना रहेकामा नागरिकता बनाउने एक हजार ९० जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी प्रतिलिपि नागरिकता छ सय १३ जनाले र राष्ट्रिय परिचयपत्र दुई सय हजार ८१ जनाले लिएका छन् । गत पुसमा सात सय ६० जनाले नागरिकता बनाएकामा राहदानी लिने एक हजार तीन सय ७१ जना छन् । राष्ट्रिय परिचय पत्रका लागि दुई हजार १६ जनाले फोटो खिचाएका छन । जिल्ला प्रशासनले टाइम कार्ड र टोकनको सुरुआत गरेसँगै सेवा प्राप्तिमा सहज भएको सेवाग्राहीले बताएका छन् । बिदाका दिनसमेत कार्यालयभित्र अनलाइन फारम भरेर राहदानी वितरण गरिरहेको प्रजिअ पौडलले बताए । रासस

पोखराको होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

गण्डकी । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो । होटलको सेवाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले  १० करोडको लगानीमा पोखरामा होटल व्यवसाय सञ्चालनमा ल्याइएको बताए। आतिथ्य सेवामा प्रालिले हालसम्म झण्डै ६० करोड लगानी गरिसकेको जनाइएको छ। होटलका देशभरका शाखामा गरी तीन सय बढीले रोजगारी पाएको होटलका प्रबन्ध निर्देशक ज्ञवालीले उल्लेख गरे। ‘काठमाडौँ र नेपालगञ्जमा पनि सेवा विस्तारको तयारीमा छौँ”, उनले भने। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी पोखरामा सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आउँदो दशकभित्र होटलका एक सय शाखा विस्तार गर्ने लक्ष्य लिएको छ। ‘जहाँबाट आतिथ्यको सुरुआत हुन्छ’ आदर्श वाक्यसहित होटल पौवा आतिथ्य सेवा क्षेत्रमा प्रवेश गरेको थियो । पौवा प्रालिमा डेढ सय बढी लगानीकर्ता जोडिएका छन् । ‘होटलमा लगानी गर्नु चुनौतीपूर्ण छ, तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्न होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौँ’ प्रबन्ध निर्देशक ज्ञवालीले भने, ‘हामीले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता नेपालीपनको हुने प्रतिबद्धता व्यक्त गर्दछौँ।’ आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पोखरालाई रोजिएको होटल व्यवस्थापनले जनाएको छ। पौवामा आउने जोकोही पाहुनाले नेपाली संस्कृति, संस्कार र रैथाने स्वादको अनुभूति गर्न पाउने होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । पोखरामा खुलेको पौवाको ११औँ शाखाको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबाट औपचारिक शुभारम्भ हुने जनाइएको छ । सो अवसरमा नेपाली आतिथ्यता प्रवद्र्धन, फुड टेस्टलगायतका कार्यक्रम आयोजना गरिने भएको छ । रासस