साहसिक पर्यटनको गन्तव्य क्लिफले शुरू गर्‍यो ‘क्रेन स्वीङ’

काठमाडौं । साहसिक पर्यटनको लोकप्रिय गन्तव्य द क्लिफले नयाँ साहसिक खेल ‘क्रेन स्वीङ’ सञ्चालनमा ल्याउने भएको छ । क्लिफले अबको एक साता भित्रमा क्रेन स्वीङ सुरू गर्ने तयारी गरिरहेको क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए । उनका अनुसार, अहिले स्वीङका लागि आवश्यक पूर्वाधार तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । ‘अबको ५र६ दिनमा यो खेल सञ्चालनमा ल्याउने सोच छ,’ सञ्चालक कार्कीले भने । उनका अनुसार, स्वीङ जमिनको सतहबाट करिब २५० मिटर माथि स्वीङ सञ्चालन हुनेछ । तर यसको डोरी भने १० मिटरको मात्रै हुने सञ्चालक कार्की बताउँछन् । ‘क्लिफमा आएका पाहुनाहरूले फोटो खिच्ने तथा नयाँ अनुभव लिनका लागि यो उचित हुन्छ भन्ने हिसाबले सञ्चालनमा ल्याउन लागेका हौँ,’ उनले भने । उनका अनुसार, एसियामा तथा नेपालमा यस्तो किसिमको स्वीङ पहिलो पटक सञ्चालनमा आएको हो । बालबालिका, महिलाहरूलाई पनि स्वीङ उपयुक्त हुने उनको भनाए छ । स्वीङ खेल्नका लागि २५० रुपैयाँ शुल्क कायम गरिएको छ । द क्लिफ राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा स्काई ग्लाइडिङ, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ ।

उडानका क्रममा भिडियो खिच्ने तीन क्याबिन क्रु निलम्बनमा

काठमाडौं । उडानका क्रममा फोटो तथा भिडियो खिचेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तीन जना क्याबिन क्रु लाई निलम्बन गरेको छ । हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले हिमालय एयरलाइन्सका चालक दल (क्याबिन क्रु) लाई बिहीबारदेखि लागु हुने गरी निलम्बन गरेको हो । बिहीबार निर्णय गर्दै अर्काे सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरिएको जनाएको छ । उड्डयन मापदण्ड अनुसार उडिरहेको जहाजमा क्याबिन क्रुहरुले फोटो तथा भिडियो खिच्न पाइँदैन। पछिल्लो समय हवाई उडान मापदण्ड अल्लंघन गरेको भन्दे क्यानले विभिन्न वायुसेवा कम्पनीका चालक दलका सदस्यलाई धमाधम कारवाही गर्दै आएको छ ।

हिमालयन ट्राभल मार्ट जेठमा हुने

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो अवसरमा हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मार्ट कोसेढुङ्गा बन्नेमा विश्वास व्यक्त गरेकाे पाटा नेपालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले देशमा आर्थिक वृद्धि र अनेकन रोजगारीको अवसरहरु सिर्जना गर्न प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताए । नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रुपमाविकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पाटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त लक्ष्य हासिल गर्नका लागिपूर्वाधार सुधार, सडक विमानस्थल र अन्ययातायात सुविधाको विकास र स्तरोन्नति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढिकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहनका लागि सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ । मार्टका आवश्यक पूर्वतयारी, अन्तर्राष्ट्रिय स्रोत बजारमा प्रचारप्रसार तथा व्यवस्थापन गरिरहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुतिचन्द ठाकुरले बताउनुभयो । उहाँका अनुसार हालसम्म ३० देशका ५० भन्दा बढी क्रेताहरु र २० वटा बिक्रेताहरूले सहभागिताका लागि दर्ता गरिसकेका छन् । रासस