बन्दीपुर केबलकार २५ वैशाखदेखि सञ्चालन, २५ लाख ८० हजार कित्ता आईपीओ बिक्री गर्ने
काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो । कम्पनीकाका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिए । उनका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी रहेको उनले बताए । ‘अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र ६ वटा रेष्ट्रो क्याविन आउन बाँकी छ, केबलकारका टावर, तार सबै जोडिसकिएको छ, डिब्बा जडानको काम अब दु्रतगतिमा अगाडि बढ्छ,’ उनले भने । केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरिएको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन हुनेछ । ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ,’ अध्यक्ष शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ । वि.सं. २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । वि.सं. २०८० मङ्सिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बन्दीपुर गाउँपालिका-४ बरालथोकमा पाँचतारे होटलको निर्माण पनि तीव्रगतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर २ अर्ब ६० करोड पुगेको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघन्टा ३ सय रहेकामा त्यसलाई बढाएर ५ सय पुर्याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ । १० तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको छ । यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी, बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताए । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले १ किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ । केबलकारको साधारण सेयरको सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्न सम्झौता भइसकेको छ । कम्पनीको प्रतिसेयर अङ्कित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ । ३ अर्ब ४९ करोड रुपैयाँ कुल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको अध्यक्ष शर्माले जानकारी दिए । त्यसमध्ये चुक्ता पुँजीको २ प्रतिशत अर्थात् ४ करोड ३० लाख रुपैयाँ परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ । चुक्ता पुँजीको १० प्रतिशत २१ करोड ५० लाख रुपैयाँ सर्वसाधारणलाई छुट्याइने शर्माले बताउनुभयो । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ १ हजार १ सयभन्दा बढी लगानीकर्ता छन् । रासस
धादिङमा उद्यान निर्माणका नाममा सामुदायिक वन अतिक्रमण
मलेखु । धादिङको नीलकण्ठ नगरपालिकाले उद्यान पार्क निर्माणको बहानामा वन क्षेत्र अतिक्रमण गरेको छ । नीलकण्ठ नगरपालिका–८ को कमेरे सामुदायिक वन क्षेत्रमा पार्क निर्माणका लागि भन्दै अन्धाधुन्ध वन क्षेत्रको दोहन गरेको हो । जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब एक किलोमिटर पर तीनतले भिरको नामले चिनिने स्थानमा केही दिनदेखि डोजर चलिरहेको छ । त्यहाँका रुख, बिरुवा त मासिएकै छ, त्यहाँबाट रातारात ढुङ्गा तस्करी भएको स्थानीयले बताएका छन् । वन क्षेत्रमा पार्क निर्माण गर्ने विषयमा वन उपभोक्ता समिति र उपभोक्ता पनि अनभिज्ञ छन् । एक्कासी डोजर चल्न थालेपछि मात्रै पार्क निर्माणको लागि काम थालेको खबर पाएको कमेरे सामुदायिक उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बानियाँले बताए । ‘वन क्षेत्रमा पार्क बनाउने, मन्दिर निर्माण गर्ने भन्ने योजना नगरपालिकाले बनाएको रे तर हामीसँग कुनै पनि कुरामा समन्वय भएको छैन’, वन समितिका सचिव होमनाथ कोइराला भन्छन्, ‘यो बजेट कहाँबाट आयो, कति रुपैयाँको बजेट हो, कसले आएर काम गरिरहेको छ हामीलाई कसैले केही जानकारी दिएको छैन ।’ डोजरले खोतल्न थालेपछि मात्रै के गरेछ भनेर हेर्न र सोधीखोजी गर्दै जाँदा पार्क बनाउन लागेको कुरा थाहा हुन आएको उनको भनाइ छ । ढुङ्गा उत्खनन गरी अन्यत्र लगेको देखेपछि रोक्न जाँदा उल्टै धम्की दिने गरेको पनि उनको भनाइ छ । कमेरे सामुदायिक वनभित्र पर्ने तीनतले भिरको मुनि अर्थात् कमेरेडाँडामाथि बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाको ८० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत तीनतले पार्क निर्माण गर्ने जग्गा सम्याउने काम गरिरहेको छ । नीलकण्ठ नगरपालिकाले पनि यो वर्ष नै त्यही ठाउँमा नीलकण्ठेस्वर मन्दिर निर्माण र सिँढी निर्माणका लागि भन्दै ९० लाख रुपैयाँको बोलपत्रमार्फत काम सुरु गरेको छ । तर प्रारम्भिक वातावरणीय परीक्षण आइइइ समेत नगरी काम भइरहेकोबारे सरोकारवाला कसैलाई पनि थाहा दिइएको छैन । धमाधम डोजर लगाएर ढुङ्गा उत्खनन र संरचना निर्माणको काम कसले र कति बजेटले भइरहेको छ स्थानीय उपभोक्तालाई थाहा हुने कुरै भएन । चासो राख्नेहरूले त पत्तो पाएका छैनन् सामान्य उपभोक्ताले त्यसबारे जानकारी लिनै सकेका छैनन् । पार्क बनाउन भन्दै धमाधम डोजर लगाएर ढुङ्गा उत्खनन र निकासी भइरहेको देखेर विरोधमा उत्रिएका स्थानीयले पार्कको नाममा अवैध काम भएको आरोप लगाएका छन् । उपभोक्ता समितिले गर्ने काम र ठेक्कामार्फत हुने दुवै कामका बारेमा आफूहरू अनभिज्ञ रहेको स्थानीयसमेत रहेका नेकपा एमाले धादिङका नेता भरत ढुङ्गानाले बताए । उत्खनन भइरहेको नजिकैका उपभोक्तासमेत रहेका अनिल कोइराला भन्छन्, ‘यहाँ कस्तो संरचना बन्ने हो, कति बजेटको हो, उपभोक्ता समिति कहिले, कसरी बन्यो, को कहाँका व्यक्तिहरू छन् आधिकारिकरूपमा कुनै जानकारी छैन ।’ सामान्यतया सामुदायिक वनभित्र स्थायी संरचना निर्माण गर्न पाइँदैन । बनाउन परे डिभिजन वन कार्यालयसँग समन्वय गरी कार्ययोजना स्वीकृत गराएर अस्थायी प्रकृतिका संरचना निर्माण गर्न सकिने छ । तर त्यस्ता काम गर्दा ठूला मेसिनको प्रयोग गर्न पाइँदैन । वन ऐनअनुसार वन क्षेत्रबाट चट्टान, ढुङ्गा, कोइलाखानी, माटो, बालुवा आदि निकाल्न वा ओसारपसार गर्न पाइँदैन । विसं २०७२ को वातावरण दिवसका अवसरमा तत्कालीन जिल्ला वन कार्यालय धादिङ नै वृक्षरोपण गरेको स्थानमा पार्क र मन्दिर निर्माणका नाममा भइरहेको दोहन र अतिक्रमणबारे डिभिजन वन कार्यालयसमेत जानकार छैन । सामुदायिक वनमा मनाही गरिएका काम गरेको पाइएमा वन ऐन, २०७६ को दफा ४९ हेरी दफा ५० अनुसार सजाय तोकिएको भए पनि यसको नियमन गर्नुपर्ने डिभिजन वन कार्यालय यो विषयमा बेखबरजस्तै छ । डिभिजनल वन कार्यालय धादिङका प्रमुख अजयविक्रम मानन्धर भन्छन्, ‘औपचारिकरूपमा कसैले जानकारी गराएको छैन । हामीलाई वन अतिक्रमण भएको र त्यहाँबाट दोहन गरी ढुङ्गा निकासी भएकोबारे जानकारी छैन । यदि त्यसरी काम भएको छ भने बुझेर रोक्छौँ ।’ उपभोक्ता समितिका पदाधिकारीले भने सबै प्रक्रिया पूरा गरेरै काम थालेका बताइरहेका छन् । वडा नं ८ कार्यालयले उपभोक्ता समितिका अध्यक्ष केशवराज थपलियाको नाममा रकम सम्झौता गरिदिन पर्यटन विकास आयोजनाको कार्यालय हेटौँडालाई सिफारिस पनि पठाएको पाइएको छ । पार्क निर्माणस्थल सार्वजनिक जग्गामा पर्ने र सो स्थानमा पार्क निर्माणका लागि उपलब्ध गराउन सकिने व्यहोरा खुलाइएको सिफारिससमेत वडा कार्यालयले पर्यटन विकास आयोजनालाई दिएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भने, ‘योजना हाल्ने कुरामा नगरपालिकासँग कुनै समन्वय भएको छैन । योजना बनाउने कुरामा हामीलाई थाहा नै छैन । सिँढी नगरपालिकाले बनाएको हो । त्यो वन क्षेत्रमा पर्दैन । ढुङ्गा उत्खनन भइरहेको खबर पाएपछि नगर प्रहरीले त्यो काम रोकिसकेको छ ।’ स्थानीय तहले सार्वजनिक क्षेत्र भनी योजना माग गरेपछि रकम विनियोजन गरेको पर्यटन विकास आयोजनाले बताइरहँदा नगरपालीकाकाले दिएको प्रतिक्रियाले राज्यका निकायका बीचमा समन्वयको अभाव मात्र देखाउँदैन, आयोजानाको कानुनी प्रक्रियामा समेत प्रश्नचिह्न खडा गरेको छ । कमेरे सामुदायिक वन ४२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब दुई सय घरधुरीले यो वनको संरक्षण गर्दै आएको छ । तर वन संरक्षणमा लागेका उपभोक्तालाई नै थाहा नदिई नियम र कानुन हातमा लिएर प्राकृतिक स्रोत र सम्पदाको अनधिकृत प्रयोग रोक्न स्थानीय उपभोक्ताले सम्बन्धित निकायलाई अनुरोध गरिरहेका छन् । रासस
पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग
ढोरपाटन । सिग्दी गाउँको शिरमा छ कौडे लेक । प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो । बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाइमा छ । बागलुङको बरेङ गाउँपालिका–२ मा पर्ने कौडे लेक बरेङ बजारबाट सिग्दी गाउँ हुँदै वनजङ्गल र भिरपहरा छिचोल्दै यहाँ पुग्न सकिन्छ । यस लेकमा दैनिकजसो सिग्दी गाउँका स्थानीय घाँस–दाउरा गर्न पुग्ने गर्छन् । पछिल्लो समय पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटकसमेत सो लेकमा पुग्न थालेका छन् । गाउँपालिकाले सिग्दी गाउँबाट करिब तीन किलोमिटर पदमार्ग निर्माण गरेको छ । पदमार्गले पर्यटक आकर्षित गर्नुका साथै स्थानीयलाई समेत सहज बनाइदिएको छ । सूर्योदय र अनेकौँ दृश्यावलोक गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् । बागलुङ र गुल्मी जिल्लाको सङ्गमस्थलसमेत रहेको कौडेलाई प्रवद्र्धनका लागि बरेङ गाउँपालिकाले प्राथमिकता दिएको छ । गाउँपालिकाले पदमार्गको छेउछाउमा पर्यटक विश्रामका लागि चौपारीसमेत निर्माण गरेको छ भने वन्यजन्तुलाई खानेपानीका लागि पोखरीसमेत बनाइदिएको छ । बाइसे–चौबिसे राज्यका बेला यहाँ भुरेटाकुरे राजाले राज गरेको इतिहास छ । अहिले पनि यहाँ दरबारका भग्नावशेष भेटिने गरेको स्थानीयको भनाइ छ । जिल्लाकै अग्लो पहाडमध्येमा पर्ने कौडे लेकलाई पर्यटकीय गन्तव्य बनाउनका लागि सुरुका वर्षदेखि बजेट विनियोजन गरेर पूर्वाधार निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । उनले अघिल्लो कार्यकालदेखि सुरु गरेको पदमार्ग निर्माणका काम सकिएको र यसको प्रचार–प्रसारलाई जोड दिने जानकारी दिए । बरेङ बजारबाट साढे दुई घन्टाको पैदलयात्रामा यहाँ पुग्न सकिन्छ । अध्यक्ष शर्मा भन्छन्, ‘कौडे लेक ऐतिहासिक ठाउँ हो, यो क्षेत्रकै सबैभन्दा अग्लो पहाड भएको र पर्यटकीय हिसाबले निकै उत्कृष्ट भएको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर यसको विकासमा लागिरहेका छौँ, अहिलेसम्म पदमार्ग, पाखरी, बगैँचा र चौपारीलगायतका संरचना बनाएका छौँ, अझै पूर्वाधार बनाउनुपर्ने छ, रहेक वर्ष बजेट विनियोजन गरेर काम भएको छ, यस वर्ष पनि केही काम भएका छन् भने पदमार्गले गर्दा केही पर्यटक पनि आउने गरेको पाइएको छ ।’ उनले अहिलेसम्म पदमार्गलगायतका संरचना निर्माण गर्दा ८० लाख रुपैयाँभन्दा बढी खर्च भएको जनाउँदै थप संरचना क्रमागतरूपमा बन्ने बताए । पर्यटक भित्र्याउन प्रचार–प्रसारसँगै सिग्दीमा पुनः घरबास होमस्टे सञ्चालनका लागि स्थानीयसँग सहकार्य गर्ने अध्यक्ष शर्माको भनाइ छ । सिग्दीबाट करिब तीन किलोमिटरको दूरीमा सो लेक रहेको छ । बरेङ गाउँपालिका–२ का स्थानीय हीरा पुनमगरले पदमार्गले पर्यटकलाई आकर्षण गरेको बताइन् । पहिले कौडे लेक स्थानीयको घाँस–दाउरा गर्ने थलो भए पनि अहिले पर्यटक घुम्न आउने गरेको उनको भनाइ छ । पदमार्ग नहुँदा यस लेकमा बाहिरी मान्छे नपुग्ने गरेको भन्दै अहिले आन्तरिक पर्यटकको आगमन हुन थालेको उनी बताउँछिन् । ‘पदमार्गले कौडे लेकको प्रवद्र्धन हुँदै गएको छ, पहिले स्थानीयलाई मात्रै थाहा थियो कौडे लेकको विशेषता, अहिले घुम्न आउने सबैले थाहा पाउन थाले, अग्लो पहाड यति धेरै सुन्दरताले भरिएको छ, यसले गर्दा यहाँ एकपटक घुम्न आएकाहरू पुनः अर्कोपटक आउने गरेका छन्’, उनले भने, ‘सिग्दी गाउँ हुँदै कौडे पुग्ने हुँदा यहाँको आयआर्जनमा पनि केही परिवर्तन आउँछ कि भन्ने अपेक्षा गरेका छौँ, अहिले बिदाको समयमा पर्यटक बढी आउने गरेका छन्, सम्बन्धित निकायले पर्यटक बढाउने खालका कार्यक्रम ल्यायो भने दैनिक यहाँ आउने बढ्नेछन् ।’ कौडे लेकबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत पूर्वदेखि पश्चिमसम्मका अनगिन्ती हिमशृङ्खलासँगै बागलुङको अधिकांश भू–भाग तथा गुल्मी, पर्वत, पाल्पालगायतका ठाउँ र भञ्ज्याङ सहजरूपमा अवलोकन गर्न सकिन्छन् । सूर्योदय र सूर्यास्तसमेत यहाँबाट देख्न सकिन्छ । रासस