लुम्बिनी केबलकारले अर्थतन्त्र तंग्रिन खोजेको सन्देश दिएको छ : चन्द्रप्रसाद ढकाल
आज लुम्बिनी केवलकारको समुद्घाटनको यस क्षणमा सात वर्ष अघि, २०७३ मंसिरमा काठमाडौँको चन्द्रागिरिमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको चन्द्रागिरि केबलकारको उद्घाटन मेरो स्मरणमा आइरहेको छ । त्यसबेला देशले महाभूकम्पको त्रासदी व्यहोर्नुपरेको थियो । त्यो कठिन परिस्थितिमा देशमा अरबौँको लागतमा कुनै संरचना निर्माण होला भन्ने कल्पना पनि थिएन । तर हामीले समयमै निर्माण सम्पन्न गरेका थियौँ । भूकम्पले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन त्यो आयोजनाको निर्माणले सबैलाई हौसला प्रदान गरेको थियो । चन्द्रागिरिबाट सुरु भएको हाम्रो त्यो यात्रा गत महिना मौलाकाली हुँदै आज लुम्बिनीसम्म आइपुगेको छ । सात वर्षअघि भूकम्पले जस्तै अहिले पनि देशको अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रिरहेको छ । तर महामारीको त्रासदीकै बीचमा विक्रम सम्वत् २०७७ फागुनमा तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको लुम्बिनी केवलकारको आज उद्घाटन भएको छ । जसरी भूकम्पले थला पारेको अर्थतन्त्रलाई त्यतिबेला चन्द्रागिरि केबलकारको निर्माणले आशाको प्राण भरेको थियो, ठिक त्यसैगरी संकटग्रस्त अहिलेको अवस्थामा पनि लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्र धुलो टकटकाउँदै उठेर तंग्रिन खोजेको सन्देश दिएको छ भन्ने मलाई लाग्दछ । अझै अर्को खुसीको कुरा त यो छ कि हामीले लगभग महिना दिनकै अवधिमा मौलाकाली केबलकार पनि सञ्चालनमा ल्याएका छौँ । यो हाम्रो व्यक्तिगत सफलताका रुपमा मात्र होइन, यो सफलता तोकिएको समयमा, तोकिएको बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न निजी क्षेत्र सक्षम छ भन्ने सन्देश र उदाहरण बन्न सकोस् भन्ने मेरो आसय हो । हामी सबैलाई थाहै छ कि शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वका एक तिहाइभन्दा बढी मानिसको आस्थाको धरोहर हो । यतिखेर हामी भारतको बोर्डरबाट ३० मिनेट मात्रको ड्राइभमा छौँ । अर्कातर्फ लुम्बिनी क्षेत्र उत्तरी छिमेकी चीनका नागरिकको सबैभन्दा बढी इच्छाइएको गन्तव्य पनि हो । यी दुई देशको जनसंख्या झण्डै पौने तीन अर्ब पुग्न आउँछ । यो तथ्यलाई मनन् गरेर पर्यटन नीति बनायौँ भने हामी पर्यटक खोज्न धेरै तिर भौँतारिनै पर्दैन । अनि हाम्रा लागि समृद्धि धेरै टाढा पनि हुनेछैन । त्यसैले मलाई लाग्छ प्रकृतिबाट समेत सुशोभित यस पुण्यभूमिमा आध्यात्मिक, सांस्कृतिक तथा पर्यटकीय संरचनाहरु जति धेरै बने पनि थोरै नै हुन्छ । यस सुन्दर भूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय साझेदारीको माध्यमबाट यहाँका नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत् देशको समृद्धि हासिल गर्ने काममा हामी लाग्ने छौं, यो हाम्रो प्रतिबद्धता हो । मलाई लाग्छ, यस्ता संरचनाहरु राष्ट्रका एवं स्थानीय नागरिकका आफ्नै साझा सम्पत्ति हुन् । छोटै समयमा आज चन्द्रागिरि केबलकार काठमाडौँबासीको मात्र नभएर नेपाल भ्रमणमा आउने विदेशी विशिष्ट व्यक्तित्वहरुको पनि एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न पुगेको कुरा यहाँहरु सबैलाई अवगत नै छ । वर्षमा मुस्किलले दुई चार सय जना पुग्ने चन्द्रागिरि डाँडामा अहिले दिनमै हजारौँ मानिस पुगिरहेका छन् । त्यसैले लुम्बिनी केबलकार र यहाँ बन्ने हरेक पर्यटकीय संरचनाहरु स्थानीय नागरिकका पनि साझा सम्पत्ति भएकाले यसलाई संरक्षण गर्न, हुर्काउन बढाउन र यसबाट लाभ लिन हामी सबै लाग्नुपर्छ भन्ने मेरो आग्रह हो । आज उद्घाटन भएको लुम्बिनी केबलकार नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारहरु सहित यहाँका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरुको सामुहिक प्रयासबाट प्राप्त माया, सद्भाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएका हौँ । यो संरचनाबाट लाभान्वित हुने पनि तपाइँ हामीहरु नै भएकाले यसलाई संरक्षण र सम्बद्र्धन गरी एक प्रसिद्ध गन्तव्यस्थल बनाउन हामी सबै लाग्ने छौँ भन्ने मेरो अपेक्षा छ । रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पु¥याउने छ भन्ने हाम्रो विश्वास छ । अझ भन्ने हो भने रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आम जनताको चाहनालाई पुरा गर्न यो परियोजना कोशेढुङ्गा सावित हुनेछ भन्ने हामीले आशा लिएका छौँ । यहाँ निर्माण गरिएका पाँचतारे होटेल, मन्दिरलगायत पूर्वाधारले भारतका सीमावर्ती शहरका पर्यटकहरुलाई आकर्षित गर्नेछ र यसले विदेशी मुद्रा आर्जन गर्नुका साथसाथै सीमादेखि नै विभिन्न प्रकारका रोजगारी सिर्जना मद्दत पुग्ने छ । भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको शास्त्रीय पूजा एवं अनुष्ठानका साथ यहाँ निर्मित मन्दिरमा कामाख्या भगवती मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ । आदरणीय सबै महानुभावहरुमा म यही अवसरमा के कुरा जानकारी गराउन चाहन्छु भने कामाख्या मन्दिरको सञ्चालन र यसको भेटीघाटीको व्यवस्थानलाई पारदर्शी बनाइएको छ । कामाख्या फाउण्डेसन स्थापना गरी यसैमार्फत् खाता सञ्चालनको व्यवस्था गरिएको छ र यो मन्दिरको आम्दानीलाई यो आयोजनासँग नराखी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च हुने व्यवस्था गरिएको छ । यस वसन्तपुरमा निर्माण भएका यी संरचना एवं मन्दिर नेपालको मात्र नभएर भारतका उत्तर प्रदेश र बिहार राज्यको झण्डै ३५ करोड नागरिकको पनि आकर्षक गन्तव्य बन्नेछन् भन्ने हामीलाई विश्वास छ । गर्मी याममा अहिले पनि भारतमा ‘गर्मीसे बेहाल चलो नेपाल’ अभियान चलाउने गरेको पाइन्छ । भोलिका दिनमा यो अभियानको उत्कृष्ट गन्तव्य वसन्तपुर डाँडा बन्छ भन्ने पनि हामीलाई विश्वास छ । मैले नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतले पनि म केही कुरा राख्न चाहन्छु । हामीसँग प्राप्त प्रकृतिले नै दिएका अथाह सम्भावनाहरुमा लगानीका लागि सरकारले लगानीकर्ताहरुलाई आग्रह गर्ने गर्दछ । तर हामी लगानीकर्ताहरुसँग भने कतिपय तीता अनुभवहरु पनि छन् । निजी क्षेत्रसँग सहकार्य गर्ने तथा लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहे पनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन सकेको छैन । हामीलाई कागजी प्रक्रिया र कुनै कारण नभएपनि सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले अहिले पनि सताइ नै रहेको छ । जस्तो कि पछिल्लो एउटा मात्र उदाहरण लिनुपर्दा हामीले मौलाकाली केबलकारको कागजी प्रक्रिया मिलाउन बर्षौं लाग्यो तर अनुमति पाएपछि भने हामीले १३ महिनामै केबलकार निर्माण सम्पन्न गरेर सञ्चालनमै ल्यायौँ । कतिपय यस्तो अवस्था पनि भोगेका छौँ कि सानासाना कुरा पनि क्याबिनेट मै लैजानुपर्ने र क्याबिनेटले गरेका कतिपय निर्णय समेत कार्यान्वयन तहमा ल्याउन कठिन हुने गर्छ । लगानीकर्ताहरु यसरी चुनौतीका चाङ पन्छाउँदै अघि बढ्नु पर्ने अवस्था अहिले पनि छ । यस्तो भएपछि लगानीकर्ता एवं उद्यमी व्यवसायीहरुमा निराशा उत्पन्न हुदै जान्छ । यो कुनै निश्चित आयोजनाको नभएर समग्र निजी क्षेत्रको समस्या भएकाले सम्माननीय प्रधानमन्त्रीज्यू, मुख्यमन्त्रीज्यू, माननीयज्यूहरु सहित सबै राजनीतिक नेतृत्वले लगानीमैत्री वातावरणका लागि पहल गरिदिनु प¥यो भन्ने मेरो आग्रह हो । करिब डेढ दशक पहिलेदेखि यस क्षेत्रका स्थानीय व्यवसायी साथीहरुले यो आयोजनाका लागि पहल थाल्नुभएको थियो । हामीलाई पनि उहाँहरुले यसका लागि आग्रह गर्नुभएको हो । यसमध्येका एकजना प्रमोटर तथा पूर्व वडाध्यक्ष स्वर्गीय लाल प्रसाद बस्यालज्यूलाई म विशेष स्मरण गर्न चाहन्छु । छिटै निर्माण सम्पन्न गरी यही केबलकार चढेर बसन्तपुर जाने उहाँको तीब्र इच्छा थियो तर विधिको बिडम्बना आज उहाँ हामीबीच हुनुहुन्न । यस आयोजनामा आइएमई ग्रुपलाई संलग्न गराउन उहाँको योगदानको म सम्मान गर्दछु । अवसर र उचित वातावरण पाउने हो भने नेपाली निजी क्षेत्रले यस्ता र योभन्दा पनि अझ ठूलो पुँजी र लगानी जुटाउन सक्छ, नविनतम प्रविधिको प्रयोग गर्न सक्छ भन्ने उदाहरण यो लुम्बिनी केबलकार पनि एक हो भन्ने मलाई लाग्दछ । आइएमई ग्रुपको अगुवाइमा हामीले मुलुकका सबै प्रदेशमा कम्तीमा एउटा केबलकार सहितका यस्तै गन्तब्य निर्माणको आवश्यकता महसुश गरेका छौं । र, त्यसका लागि आवश्यक तयारी पनि अगाडि बढाइरहेका छौं । मुलुकले लिएको विकासको लक्ष्यमा होस्टेमा हैंसे गर्ने गरी हामी अघि बढ्ने प्रण पनि लिएका छौँ । यसै प्रसंगमा आजका दिनमा म एउटा नयाँ अभियान घोषणा गर्न चाहन्छु कि हामीले नै अगुवाई गरेर केवलकार धार्मिक पर्यटन सर्किट निर्माण गर्न सक्छौँ । जस्तो कि यस सर्किट भएर हामी बुटवलको लुम्बिनी केवलकारबाट धार्मिक यात्रा शुरु ग¥यौँ भने यहि बाटो हुँदै मौलाकाली, मुक्तिनाथ, मनकामना, चन्द्रागिरि, कालिञ्चोकहुँदै पाथिभरासम्म पुग्न सक्छौँ । भोलिका दिनमा यो सर्किटको विस्तार अन्य धार्मिक पर्यटकीय स्थलसम्म पुग्नसक्छ । नेपालमा पर्यटकको बसाई अवधि बढाउनुपर्ने आवश्यकता महशुस भइरहेका बेला यो सर्किटले विदेशी पर्यटकको बसाई लम्बाउन योगदान दिन सक्छ । हामीले यहाँ पनि वार्षिक लाखौं मानिस मनोरञ्जनका लागि आउने गरी गन्तव्यको विकास गर्ने लक्ष्य लिएका छौँ । केवलकार, मन्दिर, सुविधा सम्पन्न फाइभ स्टार होटल, रेष्टुरन्ट, बालउद्यान, जिपलाइन, स्काइवाक, अम्युजमेन्ट पार्कलगायत सुविधाका साथै अन्य आकर्षणहरु सहितको यो ठाउँ धार्मिक तथा मनोरञ्जन दुवै किसिमका पर्यटकका लागि एउटा पूर्ण पर्यटकीय गन्तव्य बन्ने हाम्रो अपेक्षा छ । सरकारले आगामी वर्षको बजेटमा सन् २०२३ देखि २०३३ सम्मलाई पर्यटन दशकका रुपमा मनउने घोषणा गरेको छ । हाल नेपालमा विदेशी पर्यटक औसातमा १२ दिनमात्र बस्ने भएकाले यो बसाइ अवधि बढाउनुपर्नेछ । त्यस्तै पर्यटकको दैनिक खर्च ४४ डलर मात्र रहेकाले यसलाई कम्तीमा १०० डलर पु¥याउन पनि प्रयास थाल्नुपर्नेछ । त्यसैले सरकार र निजी क्षेत्र साथसाथ लाग्नुपर्ने यस्ता कार्यक्रमको सफलताका लागि लुम्बिनी केबलकार र यस्तै पूर्वाधारहरुले सहयोग पुग्ने हाम्रो अपेक्षा छ । ( केबकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार उद्घाटनका क्रममा राखेकाे मन्तव्य )
प्रधानमन्त्रीद्वारा ५ अर्ब लगानीको लुम्बिनी केबलकार उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । उनले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गरेका हुन् । बुटवल उपमहानगरपालिका– ३, गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म करिब तीन किलोमिटर दूरीको सो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपीपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा उत्कृष्ट पर्यटकीय गन्तब्य बनेको छ । यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना सुरु गरिएको थियो । सप्ताहव्यापी पूजा आराधनामा भारत गुहावटी र नेपालका ११ पण्डितले धार्मिक प्रवचन दिएका थिए । वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रही आएको छ । यस अगाडि केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । सम्झौता अनुसार लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको दुई प्रतिशत रकम ती दुई पालिकाका लागि छुट्याउने छ । आइएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र हालै नवलपुरको गँैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ । लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको जानकारी दिएका छन् । उनले भने ,’लुम्बिनी केबलकार संघीय सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारसहित स्थानीय दाजुभाइ तथा दिदीबहिनीको सामूहिक प्रयासबाट प्राप्त माया, सद्भाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको छौँ ।’ रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पु¥याउने विश्वास गरिइएको छ । अध्यक्ष ढकालले रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आमजनताको चाहनालाई पूरा गर्न यो परियोजना कोशेढुङ्गा सावित हुने आशा लिएको बताए । उनले केबलकार धार्मिक पर्यटन ‘सर्किट’ निर्माणको नयाँ अभियानको पनि घोषणा गरेका छन् । यस सर्किटअन्तर्गत बुटवलको लुम्बिनी केबलकारबाट धार्मिक यात्रा सुरु गयौँ भने यही बाटो हुँदै मौलाकाली, मुक्तिनाथ, मनकामना, चन्द्रागिरि, कालिञ्चोक हुँदै पाथिभरासम्म पुग्न सकिने अवस्था सिर्जना गर्न सकिने जानकारी दिए । लुम्बिनी केबलकार र रिसोर्टसहितको आयोजनाको कूल लागत करिब पाँच अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब रुपैयाँ लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि ‘रेष्टुरेन्ट’ बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीपलाइन निर्माणका क्रममा छन् । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ गोन्डोला रहेको केबलकारले दैनिक छ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ । बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको जनाइएको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले जानकारी दिए । केबलकार सञ्चालनमा आएसँगै ‘टप स्टेशन’मा रु साढे तीन अर्ब लागतमा पाँचतारे होटललगायत संरचना निर्माण हुनेछन् । रासस
लुम्बिनी केबलकारको औपचारिक उद्घाटन बिहीबार प्रधानमन्त्रीले गर्ने
बुटवल । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन जेठ २५ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकिय गन्तव्य बनेको छ । बसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए । केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समुहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ । लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताएका छन् । भारतको गोरखपुर, लखनउ लगायत विभिन्न शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको बताए । केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ । बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए । केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए ।