‘सूचना प्रविधि क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिन सक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारमा दु्रततर रूपमा विकास भइरहेको सूचना प्रविधिबाट उनीहरूले यथेष्ट लाभ लिइरहेका दृष्टान्त पेस गर्दै नेपालले पनि सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘विश्वका अरु देशमा जस्तै नेपालमा पनि पछिल्ला वर्ष सूचना प्रविधिका क्षेत्रमा द्रुत विकास भइरहेको छ र यसमा नेपालको युवा वर्ग अहिले पनि निकै नै ठूलो सङ्ख्यामा यस क्षेत्रमा लागिरहेकाले देशमा सूचना प्रविधि उद्योगको विकास र विस्तार गरी यसको सेवा निर्यातबाट हामीले लाभ लिन सक्नुपर्दछ।’ युवा जनसङ्ख्या धेरै भएको देश नेपालमा अहिले ठूलो सङ्ख्याका युवाहरू सूचना प्रविधि विषयको पठनपाठन तथा उद्यमशीलताको विकासमा लागिरहेकाले नेपालमा सूचना प्रविधि उद्योगको विकास गरी यसबाट सेवा निर्यातको अधिक सम्भावना रहेको उनको तर्क थियो । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा घोषणा गरी हरेक प्रदेशमा सूचना प्रविधि पार्क निर्माण गर्ने, १५ लाख रोजगारी सिर्जना गर्ने र हरेक वर्ष नेपालबाट कम्तीमा पनि रु तीन खर्ब बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य लिएको प्रसंग उल्लेख गर्दै यसका लागि यसैबमोजिमको लगानीको वातावरण राज्यले निर्माण गनुपर्नेमा जोड दिए । सूचना प्रविधि अहिलेको समाजको जीवत पद्धति नै भइसकेकाले संसारले पनि यसैबमोजिम अङ्गीकार गरिरहेका र नेपाल पनि यसबाट अछुतो नरहेको प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले भने, ‘नेपालमा पनि मेडिकल, इन्जिनियरिङ तथा वित्तीय क्षेत्र हुँदै धेरै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ । आगामी दिनमा यसको विकास र विस्तार गरी सूचना प्रविधिमा आधारित समाज र औद्योगिक विकासको नीतिबाट राज्य अघि बढ्नुपर्छ ।’ उनले नेपालमा रहेको यस क्षेत्रको सम्भावनाअनुसारको लगानीको वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै यस सम्भावनायुक्त क्षेत्रमा लगानी गरी मुनाफा आर्जन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालमा अहिले पनि करिब पाँच सय सूचना प्रविधिसम्बन्धी कम्पनी रहेका जानकारी दिँदै राज्यले उचित नीति अख्तियार गर्यो र लगानीको सहज वातावरणको सुनिश्चितता गर्यो भने योभन्दा कैयौँ गुणा बढी कम्पनीहरू केही समयमै स्थापना भई सञ्चालनमा आउने पनि बताए ।

सीजेएनद्वारा पत्रकारलाई साइबर सुरक्षा तालिम

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले पत्रकारहरूलाई साइबर सुरक्षा सम्बन्धी तालिम दिएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै जोखिम पनि बढ्दै गएकोले पत्रकारहरूलाई यस्ता जोखिमबाट सुरक्षित रहन सिजेएनले तालिम दिएको हो । राष्ट्रिय सहकारी बैंकका सूचना तथा प्रविधि शाखा प्रमुख नवीनकुमार कार्कीले ‘अण्डरस्ट्याण्डिङ्ग साइबर रिस्कः टेक्निक्स फर जर्नलिष्ट’ विषयमा प्रशिक्षण दिएका थिए । प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने भन्दै उनले सामाजिक सञ्जाल र प्रविधिद्वारा आएको सूचनालाई सहजै विश्वास गर्न नहुने बताए । पछिल्लो समय साइबर सुरक्षाको जोखिम बढ्दै गएकाले पत्रकारहरु यसतर्फ सावधान रहेर आफ्ना गतिविधिलाई अगाडि बढानुपर्नेमा उनको जोड छ । कार्कीले फेसबुक, ह्वाट्सएप, भाइबर, वेबसाईट तथा इमेलबाट ह्याकरहरूले प्रहार गर्नेहुँदा यसतर्फ सबै सचेत हुनुपर्ने बताए । आफ्ना व्यक्तिगत विवरण जथाभावी प्रयोग गर्दा थप जोखिम आउन सक्ने उनको भनाई थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना पत्रकार सहभागी थिए । उनीहले तालिमले व्यक्तिगत जीवन र कार्यक्षेत्रमा उपयोगी हुने धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिए ।

एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना, डेटा सकिए पनि पैसा नकाटिने

काठमाडौं । एनसेलले नेपाली व्यवसायीहरूलाई लक्षित गरी ‘बिज सधैं अन’ योजना ल्याएको छ । बिहीबार एनसेलले पोस्टपेड सिम प्रयोगकर्ताका लागि याे नयाँ प्याकेज याेजना ल्याएको हो । कम्पनीले दुई महिनाअघि प्रिपेडका लागि ‘सधैँ अन’ योजना ल्याएको थियाे । कम्पनीका अनुसार उद्योग, संघ, सस्था, ठूला, साना तथा मझौला व्यवसायहरूलाई लक्षित गरिएको नयाँ प्याकेजमा भ्वाइस, डाटा र एसएमएस प्याकेज सुविधा लिन सकिनेछ ।   एनसेलका प्रमुख कार्यकारी तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले मे १५ मा कम्पनीले ल्याएको ‘सधैं अन’ प्रोडक्ट सफल भएसँगै नयाँ प्रोडक्ट ल्याएको बताए । उनले दुई महिनाअघि सार्वजनिक गरेको प्रोडक्टमा १० लाख प्रयोगकर्ताले सधैं अन सेवा सुरु गरेको जानकारी दिए । योसँगै एनसेलले डाटा सकियो भने पनि मेन ब्यालेन्सबाट पैसा नकाट्ने भएको छ । बिज सधैं अनका ५ प्याकेज रहेका छन् । यसमा ३० दिनका लागि न्यूनतम ४९९ रुपैयाँ लाग्नेछ । यसमा १७ जीबी डेटा, ६०० मिनेट फोन र ६०० एसएमएस छन् । उक्त डेटाबाट लाइनगेट प्लेबाट डिजिटल कन्टेन्टहरू जस्तै फिल्म, भिडिओ निःशुल्क हेर्न सकिन्छ । त्यस्तै, स्पेसल सीयूजी सर्भिस समेत पाइनेछ । ६४९ रुपैयाँमा ३० जीबी डाटा, अनलिमिटेड कल र ६५० एसएमएस गर्न पाउन सकिन्छ । ९९९ रुपैयाँको प्याकअन्तर्गत ग्रहाकले ६० जीबी डेटा, अनलिमिटेड कल, १ हजार लोकल एसएमएस पठाउन सकिन्छ । १५ सय ९९ रुपैयाँको प्याकेज लिने ग्राहकले ८५ जीबी र १९ सय ४९को प्याकेज लिनेले ११० जीबी डाटा, अनलिमिटेड फोन र एसएमएस प्रयोग गर्न पाउँछन् । प्रयोगकर्ताले लिएको प्लानअन्तर्गतको सेवाहरु सकिएमा ५ पैसा प्रतिएमबीमा वा १ जीबी डेटाको मात्रै ५० रुपैयाँमा बुस्टर प्याक खरिद गर्न सक्नेछन् । बुस्टर प्याकअन्तर्गत नै ग्राहकले ३० रुपैयाँमा १ जीबी डेटा वा ३० मिनेट फोन सुविधा पाउनेछन् । नेपालमा एनसेलका ५ लाख बढी व्यावसायिक ग्राहक छन् । ‘बिज सधैं अन’ प्लान एनसेलले उद्यमी व्यवसायीहरूका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत ४९९ देखि १,९४९ रुपैयाँसम्मका ५ वटा प्लानहरू ल्याएको छ । यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा नोक्सान ट्र्याक गर्दछ । ४९९ रुपैयाँको प्लानअन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन् । त्यस्तै, ६४९ रुपैयाँको प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन् । ९९९ रुपैयाँको प्याकअन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम १,००० रुपैयाँ वटा लोकल एसएमएस पठाउन पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरुले १,५९९ र १,९४९ रुपैयाँको मासिक प्लान लिन सक्छन् । यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरू सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा १ जीबी डेटाको मात्र ५० रुपैयाँ (बजार शुल्क भन्दा २० गुणा कम शुल्क) मा बुस्टर प्याक खरिद गर्न सक्छन् । बुस्टर प्याकअन्तर्गत नै ग्राहकले ३० रुपैयाँमा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै, ५० रुपैयाँमा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् । यसका साथै ‘बिज सधैं अन’ प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ र ९८०९००७००० मा कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्दछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १२३ह्यास डायल गरी ‘बिज सधैं अन’ प्लानमा सजिलै अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ । नेपाली व्यवसायीको डेडिकेटेड बिजनेस पाटर्नस्को रूपमा एनसेलले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर को लोकेसन, हाई स्पिड बिज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवाहरू प्रदान गर्दै आएको छ । यी सेवा तथा सुविधाहरू नेपाली इन्टरप्राईज सेगमेन्टका विविध आवश्यकतालाई पूरा गर्न डिजाइन गरिएका छन् र यसले अहिलेको परिस्कृत तथा गतिशिल बजारमा भरपर्दो प्रविधि र पुर्वाधारका साथ बिजनेसलाई सशक्त बनाउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।