नेपालका आईटी कार्यबललाई सक्षम बनाउन नास आईटीले सुरु गर्यो नयाँ पाठ्यक्रम

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले गत शुक्रबार नेपालका आईटी कार्यबलहरूको सीप बढाउने उद्देश्यले दुई नयाँ पाठ्यक्रमहरू सुरु गरेको छ । यी पाठ्यक्रमहरू, डेभओप्स फन्डामेन्टल्स र मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट यूएसएआइडीको सहायतामा विकसित गरिएको जानकारी दिइएको छ। नास आईटीले यी पाठ्यक्रमहरू कार्यान्वयन गर्न टेक आक्सिस र प्रेसिडेन्सियल ग्राजुएट स्कूलसँग साझेदारी गरेको छ । टेक आक्सिसले मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट कार्यक्रम सञ्चालन गर्नेछ भने प्रेसिडेन्सियल ग्राजुएट स्कूलले डेभओप्स फन्डामेन्टल्स पाठ्यक्रममा ध्यान केन्द्रित गर्नेछ । दुवै संस्थाहरूले सम्भावित सहभागीहरूलाई यी पाठ्यक्रमहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। डेभओप्स फन्डामेन्टल्स पाठ्यक्रम अन्तिम वर्षका विद्यार्थीहरूका लागि तयार गरिएको हो जसले तिनीहरूलाई व्यावहारिक डेभओप्स सिप प्रदान गर्दछ । डेभओप्सका सिद्धान्तहरू र कार्यप्रणालीहरू बुझेर विद्यार्थीहरू आधुनिक सफ्टवेयर विकासमा योगदान दिन तयार हुनेछन् । मास्टरिङ वेब एप्लिकेसन डेभलपमेन्ट पाठ्यक्रम आईटी व्यवसायी र कर्मचारीहरूलाई वेब एप्लिकेशन विकासमा उच्चस्तरको सीप प्रदान गर्न डिजाइन गरिएको हो । सहभागीहरूले उन्नत प्रविधिहरू, उत्कृष्ट अभ्यासहरू र उद्योगका प्रवृत्तिहरू सिक्नेछन् जसले उदाहरणीय वेब एप्लिकेशनहरू बनाउन सक्षम बनाउनेछ । ‘नास आईटी जनशक्ति विकास र शैक्षिक क्षेत्र र उद्योग बीचको सहकार्यलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ,’ नास आईटीका कैलाश राज विजयनन्दले भने, ‘यी पाठ्यक्रमहरूले आईटी जनशक्तिलाई आजको प्रविधि(चालित संसारमा फस्टाउन आवश्यक सीपहरू प्रदान गर्ने छ । हामी विश्वास गर्छौं कि यी कार्यक्रमहरूले नेपालको आईटी उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछन् ।’

गुगलद्वारा ‘एआई इमेज जेनेरेशन मोडल’ अपडेट गरेको घोषणा

वासिङ्टन । गुगलले एक महिना लामो अन्तरालपछि आफ्नो ‘जेमिनी एप’ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेशन मोडल अपडेट भएको घोषणा गरेको छ । गुगल जेमिनी एप एआई सहायक प्रविधि हो । यसले रचनात्मकता र उत्पादकतालाई सुपरचार्ज गर्न मद्दत गर्ने सक्नेछ । यो आधिकारिक अनुप्रयोग निःशुल्क छ । गुगलले यस वर्षको सुरुमा उक्त सुविधा रोकेको थियो । यो एआई ‘टेक्स्ट–टू–इमेज जेनेरेटर इमेजेन–३’ उन्नत मोडेलमा सर्ने गुगलले पुष्टि गरेको छ । यो गत मेमा विकासकर्ता सम्मेलनमा पहिलो पटक घोषणा गरिएको थियो । अपडेट गरिएको उक्त संस्करणमा ‘फोटोरियलिस्टिक ल्यान्डस्केप’ र टेक्स्ट कमाण्डहरू मार्फत चित्रहरू सिर्जना गर्ने क्षमता पनि समावेश छ । फोटोरियलिस्टिक ल्यान्डस्केप एक प्रक्रिया हो, जसमा–३ डी मोडेलहरूबाट छविहरू विकास गर्न सकिन्छ । एजेन्सी

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’ को आयोजना गर्ने

रियाद । साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ । सम्मेलनमा एक सय देशका ३०० बढी विशेषज्ञ र निर्णयकर्ताहरूको सहभागिता रहने छ । शिखर सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीको क्षेत्रमा विश्वव्यापी अनुभवहरूको समीक्षा गर्नेछ । उक्त सम्मेलनमा द्रुत रूपमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीहरू र यसको प्रभावलाई कसरी रणनीति रूपमा सञ्चालन, उत्पादन र मापनका विषयमा केन्द्रित रहने छ ।