एनसेलमा नयाँ सुविधा थप : भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न पाइने

काठमाडौंं । एनसेलका ग्राहकका लागि नयाँ सुविधा थपेको छ । आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकताअनुसार साटेर सेवाको फाइदा लिन सकिने एनसेलले जनाएकाे छ । सधैं अनमा ग्राहकहरूले प्याकअनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन् । सेवा प्रयोग गर्दा डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्छन् । त्यसैगरी, बाँकी डेटालाई पनि भ्वाइसमा रूपान्तरण गर्न सकिन्छ । यो सुविधा सधैं अनका रु ३९९, रु ४९९ र रु ५९९ का प्याकहरूमा मान्य रहेको छ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन् । उदाहरणका लागि ग्राहकले ५० मिनेटको भ्वाइस सेवालाई १ हजार २५० एमबी डेटासँग साट्न सक्छन् । त्यसैगरी, उदाहरणका ग्राहकले लागि १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रूपान्तरण गर्न सक्छन् । आफूसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशत सम्मको सेवा आफूलाई आवश्यक सेवाअनुसार साट्न सकिने सुविधा रहेको छ । एनसेल एप एनसेल डेटामा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन । एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जीबी डेटा पनि निःशुल्क प्राप्त गर्दछन् ।

नमस्ते पेमार्फत नेपाल टेलिकम र एनसेल सेवाहरूमा १५० रुपैयाँसम्मको क्यासब्याक

काठमाडौं । नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । कम्पनीकाअनुसार यो अफर ४ मंसिरदेखि ३० माघसम्म मान्य हुनेछ । यस अफरअन्तर्गत, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच र एटीएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, फ्राइडे फ्ल्यास अफरअन्तर्गत, प्रत्येक शुक्रबार निश्चित समय अवधि का लागि प्रयोगकर्ताहरूले नेपाल टेलिकम र एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशत (अधिकतम २० रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्न सक्छन् । साथै, नेपाल टेलिकमका एफटीटीएच र ल्यान्डलाइन सेवा भुक्तानी गर्दा ४ प्रतिशत (अधिकतम रु १५० सम्म)को क्यासब्याक प्राप्त गर्न सकिन्छ । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन ।

एनपिएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ ।  यही मङ्सिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले सहयोग गर्ने विषयमा एक कार्यक्रमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान भयो । नेपाल टेलिकम, केन्द्रीय कार्यालयमा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरका रुपमा नेपाल टेलिकम रहनेछ । उक्त समझदारीपत्रमा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता अर्यालले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्समार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताइन् । उनले एनपिएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्वपूर्ण कोसेढुङ्गाका रुपमा स्थापित हुने बताउँदै सुदूरपश्चिमाञ्चल रोयल्स टिमलाई सहकार्यका लागि हार्दिक आभारका साथै प्रतियोगितामा सफलताका लागि शुभकामना पनि व्यक्त गरिन् । सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन् । सुदूरपश्चिम रोयल्सको टोलीमा ऐरीसहित, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, ब्रान्डन मक्मलेन, सेफ अली जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा, भोजराज भट्ट, नरेन साउद  र अमित श्रेष्ठ छन् ।