चीनले तीन हजार छ सय वेबसाइट बन्द गर्यो, अस्लिलता फैलाएको अारोप
बेइजिङ ५ भदौ । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६ सय १२ वेबसाइटलाई बन्द गराएको छ । यीमध्ये ८ सय ११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ । बितेका छ महिनामा यौन उत्तेजना गराउने करिब पाँच लाख २९ हजार र अहितकर सूचना फैलाउन आठ लाख ६९ हजार फोटो भिडियोलगायतका दृश्यलाई हटाइएको पनि चीनको अश्लिल तथा गैरकानुनी प्रकाशनको विरुद्धमा काम गर्ने राष्ट्रिय कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै बताएको छ । उक्त कार्यालयले चलाएको अभियानअन्तर्गत प्रत्यक्ष प्रसारण एवम् गलत आचरण अभ्यासमा संलग्न व्यक्तिहरुले वेब सेवा प्रदान गरेबापत पैसा लिने गरी र कतिपय सन्दर्भमा खुलारुपमा नै यस्ता गतिविधि सञ्चालन गरेको पाइएको चिनियाँ प्रशासनले जनाएको छ । ‘विच्याट’ लगायतका सामाजिक सञ्जालमार्फत पनि अश्लिल सन्दर्भहरु राखी पठाउने गरेका करिब ३० वटा विषयलाई अधिकारीले खुला वर्णन गर्दै यस्ता गतिविधि सञ्चालन गर्ने प्रायः नाबाल रहेको जनाइएको छ । एजेन्सी
मोवाइलका कारण इन्टरनेट चलाउनेको संख्या सवा करोड भन्दा बढी
काठमाडौं, ३ भदौ । मोवाइलबाट प्रयोगकर्ताको संख्या बढ्दै गएका कारण नेपालमा इन्टनरेको प्रयोग गर्ने पनि बढ्दै गएका छन् । पछिल्लो समय मोवाइ सेवा प्रदायकले दिएको सुविधाको प्रयोग गर्दे मोवाइलबाटै इन्टरनेट चलाउँनेको संख्या एक करोड ३५ लाख ३९ हजार पुगेको नेपाल दूरसंचार प्राधिकरणले जारी गरेको तथ्यांकमा उल्लेख छ । प्राधिकरणले आफ्नो वेवसाइटमा राखेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) प्रतिवेदनका अनुसार गएको बैशाख महिनासम्ममा विभिन्न माध्यमबाट इन्टरनेट प्रयोगकर्ताको संख्या देखिएको हो । प्राधिकरणले विभिन्न ६ वटा सेवाप्रदायकबाट दिइएको यस्तो सेवा नेपालीको जनसंख्याकै अनुपातमा हेर्ने हो भने पनि ५० प्रतिशतसम्म पुगेको प्रधिकरणले जानकारी दिएको छ । प्राधिकरणले २०७३ बैशाखसम्मको तथ्यांक राखेर सार्वजनिक गरेको यस्तो प्रतिवदेन अनुसार सरकारी स्वामित्वका नेपाल टेलिकमका ७४ लाख २९ हजार इटनरनेट अर्थात डाटा प्रयोगकर्ता छन् । एनसेको ५७ लाख ९० हजार, इन्टरनेट सेवा प्रदायक (आईएसपी)को एक लाख ५३ हजार, स्मार्ट टेलिकमको एक लाख र यूटीएलका ६३ हजार डाटा प्रयोगकर्ता रहेको तथ्यांकले देखाएको छ । टेलिकमको बजार हिस्सा ५४ प्रतिशत नेपालमा अहिले दुरसंचार सेवामा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच तीब्र प्रतिस्पर्धा चलेको छ । यो प्रतिस्पर्धामा अहिलेसम्म नेपाल टेलिकम नै अग्रणी स्थानमा रहेको छ । टेलिकमको अहिलेको बजार हिस्सा ५४ दशमलव ८७ प्रतिशत रहेको छ भने एनसेलको ४२ दशमलव ४७ प्रतिशत रहेको छ । यसबाहेक आईएसपीको एक दशमलव १३, यूटीएलको ० दशमलव ४७, स्मार्ट ० दशमलव ७६ प्रतिशतको मात्रै इन्टरेनटको बजार हिस्सा रहेको छ । पछिल्लो सयम शहरी क्षेत्रका प्रयोगकर्ताले एउटै मोवाइलको सेटमा दुईतीनवटा सम्म सीमकार्ड राखेर डाटा चलाउने गरेका छन् । यसरी दोहोरो सिमकार्डको प्रयोग गर्नेका कारण नियामक निकायले वास्तविक तथ्यांक भने अझै सार्वजनिक गर्न सकेको छैन । ग्रामिण क्षेत्रमा पहुँच विस्तार हुन नसक्नु र सहरी क्षेत्रमा भने बढ्दै जानुले पनि मोवाइलबाट इन्टरनेट चलाउनेको संख्या ह्वात्तै बढेको देखिएको पनि प्राधिकरणको बुझाई छ । नेपालमा डेटा सेवाको पहुँच उल्लेख्य मात्रामा भएको छ तर तथ्यांक भेरिफाइ तथा ग्रामीण भेगसम्म सेवा विस्तारमा जोड दिनुपर्ने प्राधिकरणका सूचना तथा प्राविधिक विज्ञ मनोहर भट्टर्राइ बताउँछन । उनका अनुसार सहरी क्षेत्रमा अधिकांशले दोहोरो मोबाइल प्रयोग गर्ने प्रवृत्ति बढेकाले ग्राहक बढे पनि दुर्गम ग्रामीण क्षेत्रमा मोबाइल सेवा पुग्न अझै बाँकी छ । प्राधिकरणका अनुसार अन्तरनेटवर्क कल गर्दा आफ्नै नेवटर्कभन्दा बढी शुल्क लाग्नु तथा गुणस्तरको समस्याले ग्राहक दोहोरो मोबाइल प्रयोग गर्न बाध्य भएका हुन । सेवाप्रदाकयले जवसम्म गुणस्तरीय सेवा प्रदान गर्न सक्दैनन्, तवसम्म प्रयोगकर्ता दोहोरो संख्यामा आउने भइरहन्छ । प्राधिकरणले पनि सेवा प्रदायकले पठाएको तथ्यांकलाई आधार मान्ने भएकाले समय समयमा अनुगमन गरी वास्तविक ग्राहकको अवस्थाबारे नियमन निकायले जानकारी लिने संयन्त्र बनाउनुपर्ने हुन्छ ।
हिलियमबाट चल्ने विश्वकै ठूलो जहाजलाई बेलायतले पहिलो उडान भरायो
लण्डनः विश्वकै सबैभन्दा ठूलो मानिएको हिलियमबाट चल्ने एयरल्यान्डर१० जहाजले अन्ततः आफ्नो पहिलो उडान भर्न सफल भएको छ । ४ दिन अघि प्राविधिक खराबीका कारण यो जहाजको पहिलो उडान रद्ध गरिएको थियो । यो जहाजले मध्य बेलायतको कार्डिङ्गटन विमानस्थलबाट पहिलो उडान भरेको हो । ८६ वर्षअघि यस्तै एक एयरसिपले उडान भर्न सफल भएको थियो । तर त्यो जहाज फ्रान्समा दुर्घटना हुँदा त्यसमा सवार ४८ जनाको ज्यान पनि गएको थियो । यो जहाज अमेरिकन सैनिकका लागि ठूला ठूला गाडी र अन्य युद्धक सामाग्री ढुवानीका लागि निर्माण गरिएको हो । यो जहाजलाई एयरल्यान्डरलाई अमेरिकन सेनाका लागि हाइब्रिड एयर व्हीकल्स (एचएभी) ले बनाएको हो । ९२ मिटर लामो यस एयरक्राफ्टलाई कार्गो जहाजसरह प्रयोग गर्न सकिन्छ । एचएभीले एयरल्यान्डरलाई अहिलेका हवाईजहाजहरुमध्ये सबैभन्दा ठूलो भएको बताएको छ । ब्रिटिश सरकारले यस प्रोजेक्टलाई सफल बनाउन ३७ लाख डलर मद्धत गरेको थियो। यसभन्दाअघि कार्डिङ्गट विमानस्थलबाटै ‘आर१०१’ एयरसिपले अक्टोबर १९३० मा उडान भरेको थियो । तर फ्रान्समा यो जहाज दुर्घटनामा परेको थियो । यो जहाज दुर्घटनामा पर्दा ४८ जना मासिनको ज्यान पनि गएको थियो । यो दुर्घटनापछि एयरसिपको निर्माणकार्यलाई रोकिएको थियो । एचएवीका अनुसार एयरल्यान्डर १४८ किलोमिटर प्रतिघन्टाको गतिमा ४८८० मिटर (६ हजार फिट) को उचाईसम्म उड्न सक्नेछ । यसमा हिलियम भरिएको छ । यो रिमोट कन्ट्रोलबाट २ हप्तासम्म र बिना रिमोट कन्ट्रोल ५ दिनसम्म हावामा रहन सक्ने कम्पनीले जनाएको छ। एचएवीका सीईओ स्टेफन म्याक्ग्लेनका अनुसार यो जहाज हेलिकोप्टर प्रविधिको तुलनामा धेरै सस्तो र वातावरणमैत्री पनि रहेको छ । यसलाई बेलायतको ठूलो आविष्कार पनि भन्न सकिन्छ । यो एक किसिमले जहाजहरुको एउटै सम्मिश्रण पनि हो ।