लुम्बिनीले जित्यो नेपाल टी २० लिगको उपाधि, पायो ५५ लाख

काठमाडौं । पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । यस उपाधिसहित लुम्बिनीले ५५ लाख प्राप्त गरेको छ । यसैगरी उपविजेतामा चित्त बुझाएको विराटनगरले ३० लाख पायो । लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । विरानगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए भने पृथु बास्कोटाले २३ रन जोडे । त्यस्तै हुसेन तालतले १३ रन बनाए । विराटनगरले १०९ रन समेट्ने क्रममा लुम्बिनीका सागर ढकाल र हरमित सिंहले समान दुई–दुई विकेट लिए भने किशोर महतो र विपुल शर्माले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको लुम्बिनीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियोे । लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन जोडे भने हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २० तथा इशान पाण्डेले १६ रन बनाए । विरानगरका नन्दन यादव र राज नाननले समान दुई–दुई विकेट लिए भने सूर्य तामाङ, कप्तान रोहितकुमार पौडेल, हुसेन तालत र किओन जोसेफले समान एक–एक विकेट लिए । प्रतियोगितामा जनकपुर रोयल्स तेस्रो भयो । उसले रु १० लाख पायो । त्यस्तै काठमाडौँ नाइट्स चौथो भयो । काठमाडौँले रु पाँच लाख पायो । यही पुस ९ देखि सुरु भएको प्रतियोगितामा काठमाडौँ नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरी ६ टोली सहभागिता रहेको थियो ।

हुम्लामा गोल्डकप हुने, विजेतालाई एक लाख ५० हजार नगद र ट्रफी

हुम्ला । हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने भएको छ । हुम्ला फुटबल एकेडेमीले आगामी २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएको हो । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा सातवटै गाउँपालिकाका टिम र जिल्लामा दर्ता भएर क्रियाशील रहेका क्लबले उक्त कपमा भाग लिन पाउने भएको एकेडेमीका अध्यक्ष विष्णु रावतले बताए । गोल्डकप विजेताले एक लाख ५० हजार रुपैयाँ नगद र ट्रफी पाउनेछन् भने द्वितीय हुनेले एक लाख रुपैयाँ नगद पाउनेछन् । त्यस्तै तृतीय हुने टिमले ७५ हजार रुपैयाँ पाउने छन् । लिग चरण खेलाइने प्रतियोगितामा प्रत्येक खेलमा एक जना म्यान अफ द म्याच पनि घोषित गरिने भएको अध्यक्ष रावतले बताए । हुम्ला गोल्डकप अब प्रत्येक वर्ष सञ्चालन हुने भएको छ । गोल्ड कपका लागि एकेडेमीले फुटबल ग्राउण्डलाई व्यवस्थित गर्ने कार्य माघ महिनामा गर्ने जनाएको छ । रासस

नेपाल टि ट्वान्टी लिगमा जनकपुरले पोखरालाई हरायो

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । नौ खेलमध्ये छ मा जित तथा तीन खेलमा हार बेहोरेको जनकपुरले १२ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो । प्रतियोगितमा लुम्बिनी अल स्टार पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ । समान नौ खेल नै खेलको लुम्बिनीले आठ खेलमा जित र एक खेलमा हार बेहोरे पनि १६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । आजको खेलमा पोखराले जनकपुरलाई जितका लागि ६९ रनको चुनौती दिएको छ । जवाफमा जनकपुरले नौ ओभरमा चार विकेट गुमाउँदै ७० रन बनायो । जनकपुरको जितमा सराफुदिन असरर्फले सर्वाधिक ३७ रनको योगदान दिए भने ट्रभोन ग्रिफीथले १७ रन जोडे । त्यस्तै पवन सरार्फले चार रन जोडे भने राजेश पुलामी र असन प्रियरञ्जनले समान एक÷एक रन जोडे । बलिङतर्फ पोखराका कुशल मल्लले तीन विकेट लिए भने असिथा फर्नान्डोले एक विकेट लिए । त्यसअघि टस हारेर पहिलो व्याटिङको निम्तो पाएको पोखराले १२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । पोखराका लागि सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए भने आशिफ शेख र कुशल मल्लले समान १६÷१६ रन जोडे । त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पोखरालाई कम योगफलमा समेट्नेक्रममा जनकपुरका सोमपाल कामी एक्लैले तीन विकेट लिए भने ललित राजबंशी र शराफुदिन असरर्फले समान दुई÷दुई विकेट लिए । त्यस्तै पवन शर्राफ ट्रभोन ग्रिफिथ र जितेन्द्र मुखियाले समान एक÷एक विकेट झारे । यससँगै नौ खेल खेलेको पोखराले तीनमा जित तथा छ खेलमा हार बेहो¥यो । छ अङ्क बटुलेको पोखरा अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।