नेपाल एपीएफ स्कुलको सेमिफाईनल यात्रा सुनिश्चित

काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाईनल खेलमा आयोजक नेपाल एपीएफ स्कुलले सैनिक आवासीय महाविद्यालयलाई १-० गोलले पराजित गरी आफ्नो सेमिफाईनलको यात्रा सुनिश्चित गरेको छ । आज भएको खेलमा नेपाल एपीएफ स्कुलको तर्फबाट डम्बर वि.क.ले १ गोल गरेका थिए । त्यसैगरी आज सम्पन्न दोस्रो क्वाटर फाईनल खेलमा लिटल एन्जल्स स्कुल, लतितपुरले ब्लुम नेपाल स्कुललाई ३-२ को गोल अन्तरले पराजित गर्यो । लिटल एन्जल्स स्कुलको तर्फबाट आयुष माझी, सुमन वि.क. र प्रज्जवल गुरुङ्गले १-१ गोल गरेका थिए भने ब्लुम नेपाल स्कुलको तर्फबाट राजकुमार रावलले २ गोल गरेका थिए । भाेली ९ गते हुने क्वाटर फाईनल चरणका खेलहरुमा ल्याब्रेटोरी माध्यमिक विद्यालय विरुद्ब राराहिल मेमोरियल स्कुल, कीर्तिपुर र नेपाल पुलिस स्कुल, साँगा विरुद्ब ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थ खेल्ने अायाेजकले जनाएकाे छ ।

स्पट फिक्सिङमा ५ जनाविरुद्ध मुद्धा दर्ता

काठमाडौं । नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा संलग्न ५ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गरेको अनुसन्धानको आधारमा उनीहरु विरुद्ध मुद्धा दायर भएको हो ।  

आइसिसी क्रिकेट लिग–२ : नेपालसामु जितका लागि २७५ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले नेपालसामु जितका लागि दुई सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ७४ रन बनायो । नामिबियाका लागि जान ग्रिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६३ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, नामिबियाका अर्का खेलाडी पिकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए । यसअघि यही फागुन २ गते भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।