ओलम्पिक छनोटको खेल नेपालमा हुने

काठमाडौं ।  फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो । उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ । एशियाली राष्ट्रलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ । नेपालमा आयोजना हुने पहिलो चरणको खेल यही चैत २२ र २५ गते दशरथ रङ्शालामा हुनेछ । खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ रु तीन सय र भिआइपी प्यारापिटतर्फ रु एक हजार कायम गरिएको एन्फाले जनाएको छ । उक्त प्रतियोगिताका लागि करिब रु ४३ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । रासस

ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा खुसी व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकिय सचिव धीरेन्द्र शाहीले जानकारी दिए । यस्तै प्रदेश सरकारले नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई रु एक लाख तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाली टोलीको अन्तिम १८ मा पर्न सफल सुदूरपश्चिमका कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही रु ५० हजार पुरस्कार दिने निर्णय भएको शाहीले बताए । एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गरेका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ । प्रदेश सरकारको पुरस्कार घोषणाप्रति खुसी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य भीम सार्कीले प्रोत्साहनले आगामी दिनमा क्रिकेट खेल्न हौसला मिलेको बताए । सुदूरपश्चिम प्रदेश सरकारको घोषणा निकै प्रसंसनीय रहेको उल्लेख गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री शाहलाई धन्यवाद दिए । ‘अन्य प्रदेश सरकारबाट पनि खेलाडीलाई प्रोत्साहन मिल्ने हामीले आशा गरेका छौँ’, उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तह सबैबाट खेलाडीको भविष्य सुनिश्चितका लागि सक्दो सहयोगको आवश्यकता छ ।’ सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउन सफल भएका सुदुरपश्चिमका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको थियो । नेपाली यू–१९ टोली हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपाल सन् २०२४ मा हुने आइसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका सुदूरपश्चिमका पाँच खेलाडीलाई जनही रु एक लाख तथा प्रशिक्षक र व्यवस्थापकसहित चार जनालाई जनही रु ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमबाट दीपक बोहरा, दीपक बोहरा ९बी०, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द सहभागी थिए । यस्तै टोलीमा मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक धीरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए ।

शुक्रलाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि, सदभावलाई करिअरको पहिलो ट्रफी

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले जितेका छन्। अन्तिम दिन २-अन्डर ७० स्कोर गर्दै समग्रमा २३-अन्डर २ सय ६५ मा उपाधि जितेका हुन्। यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२-होलको स्कोरको रेकर्ड समेत बराबरी गरे। सन २००८ को सुर्य नेपाल मास्टर्समा भारतीय समिम खानको २३-अन्डरको रेकर्ड बराबरी गरेका हुन्। यही प्रतियोगिताको दोस्रो दिन भने उनले ११-अन्डर ६१ खेल्दै नयाँ कोर्स रेकर्ड बनाएका थिए। भुवन नगरकोटीलाई ४ स्ट्रोकले हराउँदै करिअरको ११औं उपाधि जित्दा शुक्रले १ लाख ४० हजार प्राप्त गरे। ४-अन्डर ६८ अंक जोड्दै समग्रमा १९-अन्डर २ सय ६९ सहित दोस्रो भएका भुवनले ९० हजार हात पारे। ४-अन्डर ६८ सहित समग्रमा १५-अन्डर २ सय ७३ मा सदभाव आचार्य तेस्रो भए। समग्रमा तेस्रो भएका १६ वर्षिय युवा गल्फर सदभावले पहिलो पटक एमेच्योरतर्फको उपाधि जितेका हुन्। उनले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङलाई एक स्ट्रोकले हराउँदै उपाधि जितेका हुन्। सुबासले शुक्रबार ७-अन्डर ६५ को स्कोर कार्ड बनाए। समग्रमा १४-अन्डर २ सय ७४ सहित चौंथो स्थान प्राप्त गरे। एमेच्योरतर्फ उनी दोस्रो भए। प्रोफेसनलतर्फ समग्रमा २-ओभर २ सय ९० सहित निरज तामाङ तेस्रो भए। उनले आज २-ओभर ७४ मा खेल सकाए। निरजले ६७ हजार प्राप्त गरे। ९(ओभर ८१ को खराब प्रदर्शन गरेका जयराम श्रेष्ठले समग्रमा ५-ओभर २ सय ९३ सहित चौंथो स्थानमा‌ प्रतियोगिता सकाए। उनले ५५ हजार नगद जिते। यसैगरी ४-ओभर ७६ सहित समग्रमा २ सय ९४ सहित टंक बहादुर कार्की पाँचौ भए। १-ओभर ७३ खेल्दै ६-ओभर २ सय ९४ सहित रामे मगर छैटौं भए। यस्तै ९-ओभर ८१ स्कोर गर्दै ८-ओभर २ सय ९६ सहित शिवराम पौडेल सातौं भए। पाँचौ, छैटौ र सातौ भएका खेलाडीहरुले क्रमश ४७ हजार, ४० हजार ५ सय र ३७ हजार प्राप्त गरे।‌ समग्रमा १०-ओभर २ सय ९८ सहित सञ्जय लामा, बलभद्र राई र रबि खड्काले आठौं स्थान बाँडे। उनीहरूले जनही ३२ हजार प्राप्त गरे। सञ्जयले १०-ओभर ८२, बलभद्रले ५-ओभर ७७ र रबिले १-अन्डर ७१ मा अन्तिम‌ दिनको खेल सकाए। शुक्रले १-ओभर ३७ मा फ्रन्ट नाइनको खेल सकाए। पहिलो होलमा नै बोगी खेपेपनि दोस्रो, तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे। छैटौ होलमा एक सट खेर फाल्दा ३(पारको आठौं होलमा ट्रीपल बोगी खेपे। नवौं होलमा भने एक सट बचाए। यसपछि ११औं, १२औं र १५औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे। भुवनले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गर्ने क्रममा आठौं होलको बोगीका विरूद्ध तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १५औं र १६औ होलमा एक(एक सट बचाउँदै ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे। राष्ट्रिय टिमका सदस्य सदभावले करियरकै उत्कृष्ट नतिजा निकाल्ने क्रममा अन्तिम दिन फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र छैटौ होलमा बर्डी प्रहार गर्दा पाँचौ र नवौं होलमा बोगी खेपे भने उनले ५-पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे। यसपछि सदभावले ११औं, १२औं र १५औं होलमा एक(एक सट बचाए भने १७औं होलमा बोगी प्रहार गर्दै ब्याक नाइन पनि २-अन्डर ३४ मा पुरा गरे। सुबासले ७-अन्डर ६५ को सानदार नतिजामा फ्रन्ट नाइनको खेल सकाए। उनले पहिलो, तेस्रो, चौंथो, छैटौं, सातौं र आठौं होलमा कुल ६ बर्डी प्रहार गरे। पाँचौ होलमा भने बोगी खेपे। उनले ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे। ११औ र १४औ होलमा एक-एक सट बचाए भने ५-पारको १२औं होलमा इगलको सफलता प्राप्त गरे। तर सुबासले १५औं र १८औं होलमा बोगीको सामना गरे। प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा सम्पन्न प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए। कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ उत्कृष्ट २१ मा पर्ने प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे। विजयी खेलाडीहरुलाई सुर्य नेपालका मार्केटिङ भाइस-प्रेसिडेन्ट दीप्रा लहीरी तथा पीजीए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।