दीपेन्द्रसिंह ऐरीलाई अर्को लाभ, बन्ने भए ओमोडाको ब्रान्ड एम्बेस्डर
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर बन्ने भएका छन् । ऐरीलाई ओमोडाको ब्रान्ड एम्बेस्डर बनाउन लागिएको शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले जनाएको छ । एसपीजी अटोमोबाइल्स ओमोडा एन्ड जेइको ब्रान्डका लागि नेपालकाे आधिकारिक बिक्रेता रहेको छ । सोही दिन नै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण गरिने पनि कार्यक्रम रहेको छ । साथै उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । उनको नेतृत्वमै सुदूरपश्चिम फाइनल पुगेको थियो । दीपेन्द्रले एनपीएलको नेपाली खेलाडीतर्फ ‘प्लेयर अफ दी सिरिज’ बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । प्रतियोगिताभरि ऐरीले ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नेपाल भलिबल लिगको मुख्य प्रायोजक केडिया ग्रुप
काठमाडौं । नेपाल भलिबल संघ (एनभीएल)ले आगामी फागुनमा आयोजना गर्ने नेपाल भलिबल लिग २०२४ को मुख्य प्रायोजकको रूपमा केडिया ग्रुप आवद्ध भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको आयोजना गरी केडिया ग्रुपले नेपाल भलिबल लिगको मुख्य प्रायोजकका लागि एनभीएलसँग सहकार्य गरेको हो । खेलमा ७ टिम रहनेछन् । प्रत्येक टिममा नेपाली खेलाडी ९/९ जना र ३/३ जना विदेशी खेलाडी रहनेछ्न् । कुल १५ लिग खेल र एउटा फाइनल गरी १६ वटा खेल खेलाइने आयोजकले जनाएको छ । खेल ९ दिनसम्म चल्नेछ । यसैगरी, कार्यक्रममा १५ जना भलिबल खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल भलिबल लिग २०२४ को लोगो अनावरण गरे । यस्तै, मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा ‘उचाइको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे । यो स्लोगनको अर्थ नेपालको सबै ठाउँमा खेलिने खेल भलिबललाई झन् व्यवस्थित तथा व्यावसायिक बनाइ नयाँ स्थान स्थापित गर्नु हो। केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ उचाइको उडान स्लोगन राखिएको बताए । कार्यक्रममा केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमारले आउने दिनमा कभर्डहल निर्माणका लागि सबै मिलेर सरकारलाई पहल गर्नुपर्ने बताए । पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच गत जेठमा ७ वर्षको लागि सम्झौता भइसकेको छ ।सम्झौताअनुसार केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ प्रदान गर्नेछ । बिमल केडिया । लिग सम्पन्न गर्न लाग्ने सम्पूर्ण खर्च केडिया ग्रुपले बेहोर्ने जनाइएको छ । प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा हुनेछ भने अन्य संस्करणहरू होम एन्ड अवेका आधारमा अन्य सहरहरूमा खेलाइने संघको योजना छ । कार्यक्रममा नेपाल खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंक घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दलगायत पनि सहभागी थिए ।
सूर्य नेपाल इस्टर्न ओपन पुस १० बाट सुरु, विजेताले १ लाख ५० हजार पाउने
काठमाडौं । सूर्य नेपाल इस्टर्न ओपन बुधबारबाट सुरु हुने भएको छ । सूर्य नेपाल गल्फ टूर २०२४-२०२५ अन्तर्गतको तेस्रो प्रतियोगिताको रूपमा सूर्य नेपाल इस्टर्न ओपन सुरु हुन लागेको हो । धरान गल्फ क्लबमा आयोजना हुन लागेको यो प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिता ५४ होलमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ५० हजार, द्वितीयले १ लाख र तृतीयले ७५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै शीर्ष २१ मा पर्ने खेलाडीहरूले पनि पुरस्कार रकम पाउनेछन् । प्रतियोगिता शनिबार प्रो-एम प्रतियोगिताको साथमा समाप्त हुनेछ । यसमा शौकिया गल्फरहरूले व्यवसायिक खेलाडीहरूसँग टिम बनाएर खेल्ने अवसर पाउने जनाइएको छ । कुल २९ व्यावसायिक गल्फरहरू र २६ शौकिया (५ वा कम ह्यान्डिक्याप भएका) खेलाडीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष खेलाडीहरूमा भुवन नगरकोटी, दिनेश प्रजापति, जयराम श्रेष्ठ, निरज तामाङ, सञ्जय लामा, र धन थापा रहेका छन्। ३६ होलको खेलपछि कट लागू गरिनेछ र शीर्ष २१ व्यावसायिक खेलाडीहरू र शौकिया खेलाडीहरूले अन्तिम १८ होलको चरणमा प्रतिस्पर्धा गर्नेछन् ।