टुँडिखेल, तीनकुने र हाँडीगाउँमा विश्वकपको प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडीगाउँबाट प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ । नेपाली समयअनुसार आज साँझ ९ः१५ बजेदेखि नेपाल र नेदरल्याण्ड्सको खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रिन राखिनेछन् । महानगरेल ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नवीन भण्डारीले जानकारी दिए । यी स्थानमा खेल हेर्न कुनै शुल्क तिर्नु नपर्ने पनि महानगरले जनाएको छ । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति हुनेछ ।
विश्व कपमा नेपाल : चौका र छक्कामा ‘पैसाको वर्षा’
काठमाडौं । नवौँ संस्करण आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । अमेरिका र वेष्टइण्डिजमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेर सुखद सुरुवात गरेको छ । यस पटकको विश्वकमा नेपाल पनि सहभागी भएको छ । नेपाल दोस्रो पटक टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्डससँग खेल्दैछ । नेपाल समूह ‘डी’ मा छ । नेपालले विश्वकपमा आफ्नो दमदार प्रदर्शन गर्ने अपेक्षामा क्रिकेट प्रसंशकहरू छन् । खेलाडीको मनोवल बढाउनका लागि व्यावसायिक प्रतिष्ठानहरूले पनि विभिन्न आकर्षक पुरस्कारको घोषणा गरेका छन् । यसअघि पनि पुरस्कार प्रदान गरिसकेको अर्ना बियरले यस पटक पनि नगद पुरस्कार घोषणा गरेको छ । अर्ना बियरले हरेक रनमा एक हजार रुपैयाँ, हरेक चौकामा १० हजार रुपैयाँ, हरेक छक्कामा २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । यस्तै, बलिङतर्फ हरेक डट बलमा १ हजार पाँच सय, हरेक मेडेन ओभरमा २० हजार रुपैयाँ र हरेक विकेटमा २० हजार रुपैयाँको पुरस्कार घोषणा गरेको छ । अर्ना वियरले खेलाडीहरूको प्रोत्साहन गर्न यो पुरस्कार घोषणा गरेको छ । यस्तै, टिम नेपालले हरेक म्याचमा जित्ने कुल रकम खेलाडीहरुबीच बाँडिनेर सोही रकम बराबरको अर्को रकम टीम नेपालको तर्फबाट अर्नाले क्रिकेटेको पूर्वाधार विकासका लागि उपलब्ध गराउने पनि जानकारी गरेको छ । यसअघि नेपाल र यूएईबीच भएको विश्वकप छनोट खलेमा पनि अर्ना वियरले १८ लाख ७७ हजार रुपैयाँ पुरस्कार नेपाली खेलाडीलाई प्रदान गरेको थियो । यस्तै, वाइ वाइ चाउचाउले पनि जारी आईसीसी टी-२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ । विश्वकपको सुपर-८मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइ चाउचाउले नगद ३० लाख रुपैयाँ पुरस्कार दिने सीजी फुड्स नेपालले जानकारी दिएको छ । वाइवाइले प्रत्येक रन बनाएबापत १ हजार, प्रत्येक चौका बापत ८ हजार रुपैयाँ, प्रत्येक छक्का वापत १२ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । यस्तै, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार रुपैयाँ र प्रत्येक शतकबापत १ लाख रुपैयाँ पुरस्कार दिने कम्पनीले जानकारी दिएको छ । यस्तै, नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने कम्पनीको भनाइ छ । नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ । यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टि-२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ, हाम्रा खेलाडीहरू त्यसका लागि योग्य छन् । तर, पनि उनीहरूको हौसलालाई अझै माथि उठाउनु हाम्रो कर्तव्य हो’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘वाइ वाइ विगत २० बर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ । र, नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइ वाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो ।’
सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा सचेतक शाहीको आपत्ति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोमा अमेरिकाप्रति आपत्ति जनाएका छन् । टि २० विश्वकप क्रिकेट खेल्नका लागि लामिछानेलाई नदिने गरी अमेरिकाले भिसामा प्रतिवन्ध लगाएको भन्दै आपत्ति जनाएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले विश्वकप खेल खेल्नका लागि सन्दीप लामिछानेलाई भिसा नदिएपनि त्यसबारे बोल्न नसकेको भन्दै परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालयप्रति पनि आक्रोश व्यक्त गरे । खेलाडीहरुलाई खेल खेल्न समेत जान नदिने गरी अमेरिकाले लामिछानेलाई भिसा नदिँदा पनि खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नदिएकाले यस्ता मन्त्रालय आवश्यक नभएको उनको जिकिर थियो । प्रमुख सचेतक शाहीले भने, ‘यो देशको पहिचान मेटाउन खोजिँदैछ । नेपालको अस्तित्व खतरामा पर्दैछ । आज यस विषयमा सबै सांसदहरुले बोल्नु हुन्छ होला भनेको त सबै मौन । त्यसो भएर यो खेलकुद मन्त्रालय किन राख्ने सभामुख महोदय । जव विश्वकप क्रिकेट खेल्न हाम्रा सन्दीप लामिछानेजस्तो खेलाडीले पाउँदैनन् भने खेलकुद मन्त्रालय राख्नुपर्ने, परराष्ट्र मन्त्रालय राख्नुपर्ने म त आवश्यकता देख्दिन ।’ प्रमुख सचेतक शाहीले वाह्य शक्तिले नेपाल राष्ट्रको पहिचान मेटाउने काम गरिरहेको दाबी समेत गरे ।