टिममा सन्दीप जोडिएपछि रोहितको प्रतिक्रिया : विकेटटेकर बलर एड हुनुभएको छ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् । आईसिसि टि २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए । श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताए । १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने जानकारी दिए । ‘वेस्टइण्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ । विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाईको टि २० मा । अब राम्रो हुनेछ । १४० बनाउनसक्यो भने जित्ने सम्भावना हुन्छ । शुरुवाती ब्याट्सम्यानले राम्रो गर्नसके सबैमा आत्मविश्वास आउँछ । हामी बलियो टिम र भोलिको गेमलाई लिएर उत्साहित छौँ । यो टुर्नामेण्ट अप डाउन भइरहेको छ । प्रेसरलाई सहेर खेल्ने टिमले नै जित्छ’, उनले भने । कप्तान पौडेलले श्रीलंकासँगको खेललाई लिएर टिम उत्साहित रहेको बताए ।

सीजी फुड्सले क्रिकेट संघलाई ६० लाख सहयोग गर्ने

काठमाडौं । सीजी फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँको सहयोग गर्ने भएको छ । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिइएको हो । नेपालले २०२७ को आइसिसि यु १९ विश्वकप क्रिकेट बंगलादेशसँग मिलेर आयोजना गर्दैछ । सोही विश्वकपलाई मध्यनजर गरी सीजी फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेटको उत्थानका लागि सहयोग गर्न लागेको लिमिटेडले जनाएको छ । पुरुष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषण गरेको छ । पत्रकार सम्मेलनका क्रममा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सिजी फुड्सका सिइओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे । साथै लिमिटेडले वाइवाइ चाउचाउले नेपाल दोस्रो पटक आइ.सि.सि. पुरुष टि–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य र नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेज’ ल्याएको पनि आयोजकले जनाएको छ । वाइ वाइको यस विशेष प्याकेजले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन मिल्ने बताएको छ ।

सन्दीपले टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने

काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा सोमबार जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ । सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुँदै उक्त प्रतियोगिता खेल्न लागेका हुन् । क्यानले यसअघि यही जेठ २ गतेदेखि सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्वनबाट फुकुवा गरेको थियो । उच्च अदालत पाटनको फैसलाबमोजिम बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले पनि सोही दिनदेखि क्रिकेट गतिविधिबाट निलम्वन फुकुवा गरेको थियो । युवा बलर प्रतिश जिसीलाई ‘ट्राभलिङ रिजर्र्भ’ राख्दै सन्दीपलाई नेपाली टोलीमा समावेश गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । सङ्घले पूर्वघोषित टिमबाट युवा बलर जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेस गरेको क्यानको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘यही जेठ ३ गतेदेखि नै सन्दीप नेपालको अफिसियल टिममा रहेका तर अमेरिकी राहदानी प्राप्त नभए तापनि आइसिसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बङ्गलादेशविरुद्ध नेपालका दुई खेलमा सन्दीपको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ ।’ विश्वकप क्रिकेट २०२४ का खेल अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । अमेरिकामा भएको नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा पराजित भएको नेपालले आफ्नो दोस्रो खेल यही जेठ ३० गते अमेरिकामै श्रीलङ्कासँग खेल्नेछ । उक्त खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा पुग्नेछ । त्यहाँ नेपालले दक्षिण अफ्रिका र बङ्गलादेशसँग खेल्नेछ ।