जन्मिएलगत्तै शिशुका नाममा बैंक खाता खोलिने

खलङ्गा । जुम्लाको पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले रु तीन हजार र अभिभावकले रु तीन हजार गरी एकैपटक रु छ हजार जम्मा गरिदिने गरेको छ । सम्पूर्ण गाउँपालिकावासीलाई बैंकको पहुँचमा पुर्याउने र वित्तीय साक्षरता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको शुरुआत गरिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । स्वास्थ्य संस्थामा जन्मिएका बच्चाको नाममा बैंक खाता खोलिदिने कार्यक्रम गत वर्षबाट गाउँपालिकाले सञ्चालनमा ल्याएको हो । महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको प्रमाण पेश गरेमा गाउँपालिकाले रु तीन हजार बच्चाको नाममा जम्मा गरिदिने गरेको छ । बच्चाको नाममा रकम जम्मा गर्ने गाउँपालिकाको कार्यक्रमले सबै महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेका छन् । भविष्यमा बालबालिकालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने गाउँपालिका अध्यक्ष बोहोराले बताएका छन् । बालबालिकाको उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस् भनेर बालबालिकाको नाममा बैंक खाता खोलिदिने नीति तथा कार्यक्रमको शुरुआत गरिएको बोहोराले बताए । स्वास्थ्य संस्थामा बच्चा जन्मिएको प्रमाणसहित जन्मदर्ता गराएकै दिन बैंक खाता खोलेर रकम जम्मा गरिदिने गरेको अध्यक्ष बोहोराले बताए । स्वास्थ्य संस्थामा सुत्केरी भएमा आमा र बच्चाको जीवन सुरक्षा हुने भन्दै अध्यक्ष बोहोराले स्वास्थ्य संस्थामा जे जन्मिए पनि बच्चाको नाममा बैंक खाता खोलिदिने गरेको बताएका हुन् । गत वर्षसम्म रु दुई हजार ५०० जम्मा गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि रु ५०० थपेर रु तीन हजार पुर्याएको र उच्च शिक्षा हासिल गर्न एकैपटक धेरै रकम आवश्यक पर्ने हुँदा जन्मेदेखि बचत गरेमा सहज हुने हेतुले यो कार्यक्रम गाउँपालिकाले लागू गरेको अध्यक्ष बोहोराले बताए । “अहिले विभिन्न उत्सवका नाममा खर्च गर्ने होडबाजी छ”, अध्यक्ष बोहोराले भने, “कम्तीमा बालबालिकाकै खाता भयो भने बचत गरिदिऊँ भन्ने अभिभावकको मनमा पक्कै पर्छ, यसले आर्थिक अवस्था मजबुत गर्छ भन्ने हाम्रो विश्वास हो ।” घरमै सुडेनीका भरमा हुने गरेका असुरक्षित प्रसूति कार्यलाई शून्य बनाउन यस कार्यक्रमले मद्दत गर्ने अध्यक्ष बोहोराले बताए । रासस

महालक्ष्मी विकास बैंकद्वारा दृष्टिबिहीनलाई सय थान सेतो छडी हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको थापाथली शाखाले दृष्टिबिहीनहरुका लागि सय थान सेतो छडी हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार सो मात्रामा सेतो छडी वितरण गरेको हो । बैंकले दृष्टिबिहीन बालबालिका तथा युवाहरुलाई दैनिक  क्रियाकलापका साथै हिडडुल गर्न सहज होस भन्ने हेतुले सेतो छडी प्रदान गरी कार्यक्रम सम्पन्न गरेको थियो । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

तेह्रौँ सागमा रजत र कास्य जितेका खेलाडीका लागि पुरस्कार घोषणा गर्न माग

काठमाडौं। राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले सङ्घले उक्त माग गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर २५ गते सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गरेका थिए । व्यक्तिगत स्पर्धातर्फ स्वर्ण विजेता खेलाडीलाई रु ९ लाख, रजत विजेतालाई रु ६ लाख र कास्य जितेकालाई रु ३ लाख दिने घोषणा गरिएको थियो । सरकारले टिम इभेन्ट्सतर्फ स्वर्ण जित्नेलाई रु ५ लाख दिने घोषणा गरे पनि रजत र कास्य पदक जित्नेका हकमा भने पुरस्कारको घोषणा गरेको छैन । तेह्रौँ साग सकिएको दुई सातासम्म पनि सोबारे सरकारले निर्णय गरेको छैन । “टिम इभेन्ट्सका पदक विजेताका लागि पुरस्कार तत्काल घोषणा गरी खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्छौं”, सङ्घका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली खेलकूदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतीक्षा गर्नुपरेको स्मरण गराउँदै उहाँले यसपटक घोषित रकम तत्काल उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । नेपालले १३औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कूल २०६ पदक जितेको थियो