निर्वाचन अवधिमा मदिराको बिक्री वितरण निषेध

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले आसन्न निर्वाचनलाई लक्षित गरी यही वैशाख २७ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराको बिक्री वितरण तथा सेवन गर्न पूर्ण रूपमा निषेध गरेको छ । सो कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभरि मदिरको बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको हाे । कसैबाट मदिराको बिक्री/वितरण वा सेवन गरे गराइएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी गर्दै सार्वजनिक भवन, उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको चुनाव चिह्न राख्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स प्रिन्ट र ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउने, श्रव्य दृश्य सामग्री प्रदर्शन गर्ने, बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्ने जस्ता निर्वाचन आचारसंहिता विपरीतका कार्य नगराउन अनुरोध गरेको छ । प्रशासनले माइक वा लाउडस्पिकर प्रयोग गरी सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी राजनीतिक दल वा उम्मेदवारका गीत वा नारा बजाउनेजस्ता कार्यमा प्रतिबन्ध गरिएकाले त्यस्ता क्रियाकलापमा नगर्न/नगराउनसमेत आग्रह गर्दै आचारसंहिता विपरीतका काम गतिविधि भए/गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने जनाइएको छ । चुनावी प्रचारप्रसारका क्रममा विगतका चुनावका बेला व्यापक रुपमा हुने भित्ते लेखन, पम्पप्लेटिङ, माइकिङ जस्ता प्रचारका शैलीहरू यो निर्वाचनमा कम देखिएका छन् । केही दिन यता विभिन्न टोलमा दल वा उम्मेदवारका समर्थकबाट जुलुस प्रदर्शन गर्ने प्रतिस्पर्धा चलेको छ । माइकिङ गर्ने सार्वजनिक स्थलमा झन्डा वा पर्चा टाँस गर्ने, भित्तेलेखनजस्ता कार्य त्यति नदेखिए पनि उम्मेदवारहरूका समर्थकले सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटरबाट मतदातालाई रिझाउने आसयका सामग्रीहरूको प्रयोग भने बढाइरहेका छन् । निर्वाचन हुने दिन नजिकिन लाग्दा विभिन्न पदका प्रत्याशीहरू मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । घरमा आउने एक पक्षको उम्मेदवारले मत माग्न नभ्याउँदै अर्को पक्षको उम्मेदवार घरको आँगनमा पुगेर मतका लागि अनुनय विनय गर्ने रोचक प्रतिस्पर्धा देखिन थालेको स्थानीय मतदाता नेत्र पनेरुले बताए ।

व्यासवासीको माग अर्कै, नेताका एजेण्डा पुरानै

दार्चुला । पाँच वर्षअघि व्यास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दिलीपसिंह बुढाथोकीले जित हासिल गरेका थिए । उनले छाङ्गरु र तिङ्करवासीलाई भेट्दै पाँच वर्षमा निर्माणाधीन दार्चुला–तिङ्कर सडक निर्माणमा तीव्रता र छाङ्गरु तथा तिङ्करसम्मको गोरेटो बाटो पुनःनिर्माण गरेर नेपालकै बाटो भएर आवतजावतको व्यवस्था गर्ने प्रतिबद्धता गरेका थिए । पाँच वर्षको अवधिमा छाङ्गरु तिङ्करवासीका लागि न गोरेटोबाटो सञ्चालनमा आयो, न सडकले नै तीव्रता पायो । पञ्चायतकालमा नेपालकै बाटो भएर स्थानीय बसाइँसराइ कुञ्चा सर्ने गर्थे । आवतजावत नेपालकै बाटो भएर हुन्थ्यो । गणतन्त्र आएपछि यो बाटो पूर्णरुपमा बन्द भयो । “स्थानीय सरकार आएपछि करोडौँ बजेट आयो, तर छाङ्गरु तिङ्करका नागरिकको लागि बाटोसमेत बनाउन सकेनन्”, व्यास–१ का दानसिंह तिङ्करीले भने । यहाँसम्म पुग्ने बाटो र सडकका बारेमा हरेक मन्त्री, प्रशासक, सांसद र मुख्यमन्त्रीसम्मलाई भनेकै छन् । अहिलेसम्म यहाँका समस्याबारे कुनै निकायबाट सम्बोधन हुन नसकेको तिङ्करीको गुनासो छ । सरकारले भारतले अतिक्रमण गरेको भूगोल समेटर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि यो क्षेत्रमा उच्च पदस्थको दर्जनौँ पटक भ्रमण भयो । हरेक पटकका भ्रमणमा व्यासवासीले छाङ्गरु र तिङ्कर पुग्न सहज बाटो तथा चीनसँगको व्यापार सहज गर्न तिङ्करलाई व्यापारिक नाका र अध्यागमन कार्यालय राख्नुपर्ने माग अघि सारिरहे । उनीहरुको मागमाथि तीन तहकै सरकारले सुनुवाइ गर्न नसकेको स्थानीय बताउँछन् । “सबैभन्दा नजिकको स्थानीय सरकारले पनि साधारण बाटोसमेत बनाउन सकेन”, तिङ्करी भन्छन् । अहिले पनि व्यास गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट दिलीपसिंह नै अध्यक्षको उम्मेदवार छन्। “अहिले पनि सोही बाटो र सडकको विषयलाई लिएर मतदातासामु भोट माग्न आएका छन्”, स्थानीय बसन्ती बुढाथोकीले भने, “तर माग पूरा गर्नेमा विश्वास छैन ।” व्यासमा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मङ्गलसिंह धामीले पनि दार्चुला–तिङ्कर सडक निर्माण प्राथमिकता र गोरेटो बाटो सञ्चालन गर्ने नारा अघि सारेका छन् । व्यासका नागरिकले भने आफूहरुले विगत तीन वर्षदेखि भारतीय बाटोको प्रयोग गर्नुपरेको दुखेसो सुनाएका छन् । स्थानीयका अनुसार अरु विकास हैन, बाटोघाटो र सडक चाहिएको छ । सबैभन्दा मुख्य माग तिङ्करलाई व्यापारिक ‘ट्रान्जिट प्वाइन्ट’ बनाउनुपर्ने माग उनीहरुको छ । व्यासका पूर्वक्षेत्रपालसमेत रहनुभएका दानसिंह तिङ्करी भन्छन्, “हामीहरुको माग तिङ्कर नाकालाई व्यापारिक नाकाका रुपमा अघि बढाउनुपर्छ भन्ने हो तर दुवै पार्टी र अध्यक्षहरुको एजेण्डा तिङ्कर नाकालाई व्यापारिक नाका बनाउँछु भनेर भनिएको छैन ।” कोरोनाको लहर आएसँगै उक्त नाका बन्द भएको छ । नाका सञ्चालन गर्नेदेखि व्यासमा अध्यागमन कार्यालय राख्ने, तिङ्कर नाकालाई व्यापारिक नाकाका रुपमा विकास गर्ने दलहरुको प्रतिबद्धता छैन । वर्षौंदेखि दलका नेताहरु उही सडक र बाटोका एजेण्डा लिएर भोट माग्न आउने गरेको स्थानीयको गुनासो छ । रासस

शुक्रबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध

डाेटी । शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । बुडर इलाका प्रहरी कार्यालयका अनुसरा शुक्रबार दिउँसो आएको हावाहुरी तथा वर्षात्का कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत् खम्बा ढलेका कारण बुडर, गैरा, गोगनपानी, खडिना, रुपसकाडा, गोल्डेललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा स्यालेबाट विद्युत्का कर्मचारी आज बिहानैदेखि खटिए पनि सेवा सञ्चालन गर्न नसकिएको बुडरस्थित विद्युत् सवस्टेसनले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा बुडरमा रहेको रेडियो घण्टेश्वर एफएम बन्द भएको र ती क्षेत्रमा सञ्चार सम्पर्क पनि बन्द भएको स्थानीयवासी भक्तबहादुर लामाले बताए ।यसैगरी शुक्रबारको हावाहुरीका कारण जिल्लाका दजनौँ घरका छाना उडाएको मौखिक खबर आएको प्रहरीले जनाएको छ ।