यूएईका कप्तान भन्छन् : भोलि नेपालसँग जितिन्छ
काठमाडौं । यूएईका कप्तान मोहम्मद वसिमले भोलिको खेलमा नेपालसँग जित्ने बताएका छन् । आज (बुधबार) पिएनजीसँग विजय भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भोलि नेपालसँग हुने खेलमा पनि राम्रो प्रदर्शन गरेर खेल आफ्नो पक्षमा पार्ने बताएका हुन् । ‘आज हामीले राम्रो खेल खेल्यौं, यसलाई हाम्रो कम ब्याकका रुपमा पनि बुझ्दा हुन्छ, हामी हाम्रा लागि विशेष दिन छ, भोलि नेपालसँगको खेल पनि जितेर सुखद अन्त्य गर्न चाहन्छौं,’ उनले भने । लगातार चार पराजयपछि आज यूएईले एउटा जित हात पारेको हो । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत बुधबार पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध ६ विकेटको जित निकालेसँगै यूएईले राम्रो कमब्याक गरेको हो । पिएनजीले दिएको २ सय ३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । कप्तान ७६ बलमा १२ छक्का र ६ चौकासहित ११९ रन बनाए । ओडिआईमा वसिमको यो करियरमा उत्कृष्ट पारी हो ।
उपत्यकामा पैदलयात्रीका लागि सचेतना अभियान किन आवश्यक ?
काठमाडौं । काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी साधनको ठक्करबाट ५८ पैदलयात्रीको मृत्यु भएकामा चालु आवको फागुन मसान्तसम्म आइपुग्दा ४० पैदलयात्रीले अनाहकमा ज्यान गुमाउनुपरेको छ । विगतमा जेब्राक्रसिङ्मै सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको घटना पटक–पटक दोहोरिएको थियो । ती तथ्यले उपत्यकामा हिँड्ने पैदलयात्री सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ । एक त सवारी साधनको लापरबाही, त्यसमाथि पैदलयात्रीको बेपरबाहले उनीहरु थप जोखिममा देखिन्छन् । ठाउँठाउँमा सडक खनिएकाले पनि यात्रुको आवागमनमा अवरोध हुँदा मूल सडकबाटै हिँड्नुपर्ने बाध्यताले पनि बटुवामा जोखिम बढ्छ । जेब्राक्रसिङमा गाडी नरोक्ने, यात्रुहरु बाटो काट्टा–काट्दै हतारमा सवारी साधन अगाडि बढ्ने, छिटो जाने बहानामा लापरबाहीपूर्वक सवारीसाधन हाँक्ने प्रवृति चालकहरुमा पनि देखिएको छ । अझ मदिरा पिएर (मापसे गरेर) र लागुपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाउने चालकबाट त झन् बढी जोखिम छ । त्यसका अलावा पैदल या साइकल यात्रुहरुले पनि विशेष ख्याल नगर्दा दुर्घटनाको जोखिम बढाइरहेको पाइन्छ । यात्रुले सवारी साधन आए÷नआएको नहेरी बाटो काट्न खोज्ने, मोबाइलमा कुरा गर्दागर्दै बाटो काट्ने, बाटो काट्दा सवारी साधनको वास्ता नगर्ने प्रवृत्ति पनि बढ्दो छ । चालकको लापरबाहीसँगै बटुवाले गाडीको गतिको ख्याल नगर्ने अवस्था पनि रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजाल बताउँछन् । पैदल यात्रुको आफ्नै कारण र सवारी चालकको लापरबाहीबाट पैदल हिँड्नेहरु जोखिममा परेका पाइएको ट्राफिक प्रहरीको निष्कर्ष छ । त्यसैले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पैदल यात्री र साइकलयात्री सचेता अभियान सञ्चालन गर्दै आएको छ । पैदलयात्रीमा ट्राफिक सचेतता अभिवृद्धि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरी दुर्घटना कम गराउन सेचतना अभियान जरुरी रहेको उक्त कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट जानकारी दिन्छन् । उक्त अभियान विगतमा पनि सुरु गरिएर रोकिएकामा जोखिम पनि बढिरहेकाले पुनः थालिएको उनको भनाइ छ । विसं २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौँ भन्ने जनचेतनामूलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरेको थियो । त्यसबेला विभिन्न स्कुलका विद्यार्थी तथा सामाजिक संस्थाका प्रतिनिधिलाई सहभागी गराएर पैदलयात्रु सचेतना अभियान चलाइएको थियो । त्यसले सकारात्मक रूप लिएको थियो । बीचमा अभियान रोकिँदा फेरि अवस्था उस्तै बन्दै गएकाले पुनः अभियानलाई निरन्तरता दिइएको प्रवक्त भटृ बताउछन् । आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङ्बाट मात्रै सडक वारपार गर्नुपर्छ तर पैदलयात्रुको जेब्राक्रस नभएको स्थानबाट समेत बाटो काट्ने गलत अभ्यास काठमाडौंमा कायमै छ । त्यसले पनि जोखिम बढाएको प्रहरीको जिकिर छ । यात्रुले भने आवश्यक स्थानमा जेब्राक्रसिङ नहुँदा दुःख पाउने गरेको गुनासो गर्दै आएका छन् । पैदल यात्रुमा बढ्नसक्ने जोखिमलाई ध्यान दिएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘पैदलयात्री सचेतता अभियान’ सुरुवात गरिएको जनाएको छ । जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौँ भन्ने ‘प्ले कार्ड’ नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक–चोकमा बसेर उक्त अभियानको सुरुवात गरेको प्रवक्ता भट्ट बताउनुहुन्छ । यो क्रम आज पनि जारी छ । उक्त अभियानअन्तर्गत सोमबार छ सय ३७ पैदलयात्रीलाई ट्राफिक प्रहरीले सचेत गराएको थियो । अभियानका क्रममा काठमाडौंको न्युरोड, बालकुमारी, जडीबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदल यात्रुलाई सडक वारपार गर्न लगाइएको थियो । यस्तै ट्राफिक प्रहरीले रेडलाइट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साइकल चलाउनेलगायत विविध ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ९३ साइकलका चालकलाई पनि सचेत गराएर पठाएको थियो । काठमाडौंको कमलपोखरी, थापाथली, बल्खु, बूढानीलकण्ठ, नयाँ बसपार्क, नागढुङ्गा, बौद्ध र भक्तपुरमा साइकलयात्रीलाई सचेतना शिक्षा दिइएको छ । ट्राफिक नियम पालना गर्दै सवारी साधन चलाउन सबै सडक प्रयोगकर्तामा प्रवक्ता भट्ट अनुरोध गर्छन् । रासस
तिमी ! विदेश नजाने ?
काठमाडौं । तपाईंलाई विदेश जानेकी नजाने भन्ने विषयले कतिको सताउँछ ? मलाई यही विषयले केही दिनदेखि सोचमग्न बनाएको छ । हुनत धेरैले विदेशलाई सपना साकार बनाउने थलोको रुपमा लिन्छन् । आफ्ना सपनाहरु पुरा गर्न मान्छेहरु समुन्द्र पारीका देशहरुमा जान विवश हुन्छन् । त्यही इच्छा पुरा गर्नुअघि धेरै युवाहरु कन्सल्टेन्सी धाउँछन् । आज, भोलि, पर्सी, सधैं कन्सल्टेन्सीको बाटो हुन्छ । पहिले–पहिले बुढापाकाहरुले भन्ने गर्थे, ‘केटी खोज्न जाँदा कत्ति जोर जुत्ता फाटे कति ।’ हो, अहिले विदेश जानैका लागि धेरै युवाहरुले कन्सल्टेन्सी धाएर जुत्ता फटाउँछन् । कक्षा १२ को पढाइ सकिने वित्तिकै धेरैको रोजाइ विदेश हुन्छ । अहिले प्रत्येक घरको एक जना त विदेश गएकै हुन्छन् । तपाईंको होस् । या मेरो । अहिले कसरी पढ्ने ? कत्ति अंक ल्याउने ? कुन तहसम्म पढ्ने भन्दा पनि कुन देश जाने, कुन देश राम्रो कमाइ हुन्छ, कुन कन्सल्टेन्सी जाँदा विदेशको भिसा छिटो लाग्छ ? लगायतका जिज्ञासा मेटाउनमै युवाहरु व्यस्त हुन्छन् । तपार्ईंका साथीहरु पनि प्लस टु पढ्दै विदेशी भाषा सिक्ने धेरै होलान् । मेरा साथीहरु पनि धेरै छन् । मैले २०७७ मा कक्षा १२ सम्मको अध्ययन पुरा गरेँ । यो बिचमा धेरै साथीहरू सरकारी जागिरे भए । धेरै विदेश हानिए । अधिकांश विदेशको तयारी गरिरहेका छन् । कक्षा १२ को पढाइ सकियो । मैले भने पढ्दै सोचौंला भनेर स्नातकको पढाइ सुरु गरेँ । स्नातकसँगै एक निजी कम्पनीमा काम गरेँ । विदेश होइन, स्वदेशमै केही गर्नु पर्छ भन्ने किसिमले काम गरियो । विदेश जाने कुनै सुरुसार गरिएन । बिचमा कोरोना सुरु भयो । कोरोनाले पढाइसँगै काममा पनि बाधा पुर्यायो । काठमाडौंको महँगी । यहाँ ५० हजारकै जागिर भएर पनि के गर्नु ? तलब आएको २०/२२ दिन नबित्दै साथीसँग नमागेको महिना हुँदैन । तपाईंले कत्तिको माग्नु हुन्छ सापटी ? आफै मनन् गर्नुस् । अब त विदेश नगएर भएन भन्ने मलाई पनि लाग्यो । सँगै पढेर विदेश हानिएको साथी, यता जग्गा किनेँ, उता जग्गा किनेँ भनेर गफ लगाउने । धेरैले घर बनाए । बिहे गरे । राम्रो पैसा कमाए । तर, आफ्नो विवशता भने उस्तै । यस्तै सम्झेर २/४ वटा कन्सल्टेन्सीमा समेत धाएँ । तर, विदेश जान पनि पैसा लाग्ने रहेछ । त्यती धेरै पैसा घरबाट दिन नसक्ने । त्यही समयबाट मेरो लागि विदेश रहेनछ भन्ने पनि सोचेँ । पैसा नभपछि विदेश जानु बेकार हो भन्ने लाग्यो । काम गर्दै गइयो । सामान्य जागिर । एक्लो ज्यानलाई खान बस्न समस्या भएन । यो सिलसिला निरन्तर चलिरहेकै थियो । एकदिन १२ कक्षासँगै पढेको साथीसँग बसमा भेट भयो । हाल खबर सोधियो । साथीले सोधिन्, ‘सँगै पढेका साथी त सबै विदेश गए, तिमि नजाने ?’ म अलमलमा परेँ । समय आएपछि जानुपर्छ भन्ने जवाफ फर्काएँ । उनले फेरि भनिन्, ‘समयमै विदेश जानु पर्छ है, नत्र पछि दुःख पाइन्छ ।’ सधैं दुःख पाइरहेको मान्छेलाई अझैं दुःख पाउनु केनै ठूलो कुरा भयो र मैले हाँस्दै जवाफ दिएँ । अनि तिमी नजाने ? मैले पनि प्रश्न गरेँ । उनले खुसी हुँदै भनिन्, ‘म पनि जाने तयारी गरेकी छु, जापानको भिसा लागेको छ ।’ विदेशको आस मारेर बसको मान्छेलाई साहस जगाइ दियो ती साथीको कुराले । हामी छुट्टियौं । म फेरि सोच्न थालेँ । सँगै पढ्ने साथीहरु, गाउँघरमा सँगै खेलेका दाजुभाईहरु विदेश गए, कतिले विदेशको तयारी गर्दैछन् । म जस्ता दैनिक हजारौं नेपाली युवाहरु विदेश पलायन भइरहेका छन् । उद्योगी व्यवसायीहरु पनि स्वदेशमा उद्योग व्यवसायको वातावरण राम्रो भएन भनेर विदेशमा लगानी गरिरहेका छन् । अनि म स्वदेशमा किन बस्ने ? म कुन देश जाउँ ? कुन कन्सल्टेन्सीमा छिटो भिसा लाग्छ होला ? पहिले साथी-सँगीहरु बिहे कहिले गर्छस् भनेर प्रश्न गर्थे । अहिले कहिले विदेश जान्छस् भनेर प्रश्न सोेध्छन् । अब म ती साथीहरुलाई के जवाफ दिउँ ?