बस्ती विकासको लागि ६० लाख खर्च गर्दै हिमचुली बस्ती सुधार समिति, सम्पन्न गर्यो वार्षिक साधारण सभा
काठमाडौं । हिमचुली बस्ती सुधार समितिले तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । समितिले गत चैत १८ गते धादिङ्गको सिद्धखलेस्थित रिभर पार्क बिच मख्खुमा उक्त सभा सम्पन्न गरेको हो । समितिका अर्जुन बस्नेतको अध्यक्षतामा बसेको उक्त सभाले बस्ती सुधारको लागि सबै मिलेर काम गर्ने एजेण्डाहरु पारित गरेको छ । सभामा प्रमुख अतिथिको रुपमा रहेकी प्रदेश सभा सभासद् रमा आले मगरले पनि टोल सुधारको लागि विभिन्न सल्लाह सुझावहरु दिएकी थिइन् । समितिका अध्यक्ष बस्नेतले टोल सुधारको लागि समितिले कूल ५२ लाख रुपैयाँ खर्च गरिएको बताएका छन् । जसमध्ये २० लाख प्रदेश सभा, वडाबाट साढे ५ लाख रुपैयाँ, नगरपालिका र उपभोक्ता समितिबाट बस्ती सुधारको लागि करिब साढे २६ लाख रुपैयाँ बराबरको सहयोग भएको उनले बताए । जसमा सडक बनाउने, बत्ती जडान तथा ढल निकास लगायतका पूर्वाधार विकासको कामहरु भएका अध्यक्ष बस्नेतले जानकारी गराए । ‘चालु आवमा हामीले बस्तीको पूर्वाधार विकासको लागि ५२ लाखको काम गर्यौं, अब आगामी वर्षमा प्रदेश सभा, नगरपालिका, वडा र उपभोक्ता समितिको सहयोगमा ६० लाख बराबरको काम गर्ने लक्ष्य छ,’ अध्यक्ष बस्नेतले बताए । ‘समाज हाम्रो हो, यो समाज हामीले बनाउने हो, सकारात्मक सोचले नै समाज परिवर्तन हुन्छ’ भन्ने उद्देश्यका साथ उक्त समिति अघि बढेको छ । समितिको सभामा मिलन समाजका अध्यक्षले शुभकामना मन्तब्य दिएका थिए । त्यस्तै, सल्लाहाकार मोहन डागी र दौप्रदी शाहले पनि बस्ती सुधारको लागि विभिन्न सुझावसहितको आफ्ना भनाईहरु राखेका थिए । त्यस्तै, समितिका उपाध्यक्ष पवित्र पराजुलीले स्वागत मन्तव्य दिएका थिए भने कोषाध्यक्ष कबिता बर्तौलाले गत आर्थिक वर्षको आयव्यय रहेको वित्तीय प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदन सभाले पारित गरेको छ । कार्यक्रमको सञ्चालन समितिका सचिव सुब्बा थपलियाले गरेका हुन् । साथै, उक्त सभामा नयाँ वर्ष अर्थात वि.सं. २०८० सालको क्यालेन्डर समेत विमोचन गरिएको छ ।
माओवादी लडाकू ‘लेडी ड्रयागन’ जसले पुरुषसँग रेस्लिङ खेल्छिन्
काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ र भन्ने पनि लाग्दो हो । आफूलाई ‘लेडी ड्र्यागन’ नामले चिनाउने मुना श्रेष्ठ यस्तो रेस्लर हो– जो पुरुषसँगै खेल्छिन् । उनी महिला रेस्लरभन्दा पनि पुरुष रेस्लरसँग बढी प्रतियोगिता खेल्दै आएकी छिन् । खोटाङको दिक्तेलमा जन्मेकी यी नेपाली रेस्लरको प्रतिस्पर्धा नेपालमा मात्र सीमित छैन, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारेकी छिन् । ‘रेस्लिङ हेर्दा थोरै वास्तविकता धेरै नाटक भन्ने आम मानिसलाई लाग्न सक्छ तर मैले खेल्ने रेस्लिङ मनोरञ्जन नभई पूरै वास्तविकता हुन्छ’, नेपाली रेस्लर मुना भन्छिन् । महिलाले महिलासँग खेल्ने खेलाडी त धेरै छन् तर हाम्रो समाजमा महिलाले पनि पुरुषसरह खेल्न सक्छन् भन्ने उदाहरण दिनका लागि पनि आफूले पुरुष रेस्लरसँग खेल्ने गरेको उनी बताउँछिन् । त्यसो त उनीसँग महिला खेल्न पनि मान्दैनन् । सन् २०१७ देखि खेल्न सुरु गरेकी मुनाले विशेषगरी तीन विधामा रेस्लिङ खेल्दै आएकी छिन् । यसमा हार्डकोर साइन गरेर खेल्ने, फायर म्याच आगोमा खेल्ने र ब्लड म्याच छन् । यी तीनै खेल निकै कठिन हुने र ज्यानको बाजी राखेरै खेल्नुपर्ने उनको अनुभव छ । हाम्रो नेपाली समाजमा पुरुषभन्दा महिला केहीमा कम छैनन् भन्ने उदाहरणीय कामका लागि पनि पुरुष रेस्लरसँग बढी खेल्ने गरेको उनको भनाइ छ । उनले खेल्ने हरेक खेल नाटकीय नभई यथार्थपरक हुने गरेको छ । उनले हार्डकोर, फायर म्याच र ब्लड म्याच विधाको खेलमा पुरुष रेस्लरसँगै खेल्दै आएकी छिन् । उनको अनुभव छ कतिपय देशका महिला खेलाडी पनि उनीसँग खेल्न डराउँछन् । त्यसकारण पनि उनी पुरुषसँग खेल्नुपर्ने हुन्छ । विशेषगरी रेस्लिङ मनोरञ्जनमुखी खेल भएका कारण हार्डकोर खेल्ने खेलाडीसँग खेल्न अन्य महिला रेस्लर रुचाउँदैनन् र सक्दैनन् पनि । हार्डकोर मनोरञ्जनभन्दा पनि वास्तविक हुन्छ र यो कठिन हुन्छ । यस खेल खेल्नुअघि पहिला नै खेलाडीलाई खेल दौरान रिङमा केही भइहाले वा ठूलै चोटपटक लागेमा खेलाडीको परिवारले खोज्न या विरोध गर्न पाउँदैन भनेर सुरुमै हस्ताक्षर गराएको हुन्छ । त्यसकारण पनि स्वदेशी तथा विदेशी महिला रेस्लरले उनीसँग खेल्न नमान्ने उनको भनाइ छ । ‘रिङमा कुटाकुट गरेको दृश्य देख्दा दर्शक जति उत्साहित हुँदै ताली पिट्छन् त्यति नै रिङमा आफूले जोखिम उठाउनुपर्ने हुन्छ, कहिलेकाहीँ त ज्यानै जाने सम्भावना पनि हुन्छ । यसकारण पनि महिला खेलाडी यस खेलमा त्यति उत्साहित छैनन्’, उनको अनुभव छ । कतिपय खेलमा त रगतको धारा बगेको र त्यो निको हुन महिनौँ लागेको अनुभव पनि उनीसँग छ । यसका बाबजुद पनि उनी देशको नाम राख्न हरदिन मेहनत गर्छिन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भेट्टाएसम्म छोड्नुहुन्न । सन् २०१७ मा आफूले रेस्लिङ सुरु गरे पनि विभिन्न प्राविधिक समस्याले अगाडि बढ्न नसकेको उनी बताउँछिन् । कतिपय आफ्नै मान्छेले आफ्नो भावना र गतिअनुरुप खेललाई अघि बढ्न नदिएको उनले सुनाइन् । धेरै बाधा अड्चनका बाबजुद रेस्लिङलाई नै अगाडि बढाउँछु भन्ने दृढ विश्वासका साथ उहाँले सन् २०१९ मा आफ्नै नाममा युडब्लुइ अल्टिमेट रेस्लिङ इन्टरटेन्मेन्ट कम्पनी खोलेर रेस्लिङलाई निरन्तरता दिइन् । हाल उनको कम्पनीमा १९ जना महिला रेस्लर रहेका छन् । यसै कम्पनीबाट पछिल्लोपटक उनले भारतमा यसै महिना सम्पन्न अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पछि पार्दै उपाधि जितिन् । त्यसअघि उनले सन् २०१९ मा नेपालमा भएको एसियन अन्तर्राष्ट्रिय महिला रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पराजित गर्दै उपाधि हासिल गरेकी थिइन् । त्यस्तै उनले सन् २०२१ मा पाकिस्तानले आयाजना गरेको वल्र्ड हेब्बीवेट रेस्लिङ च्याम्पियनसीपमा उपाधि जितिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसीपमा उनले हालसम्म २७ वटा प्रतियोगितामा भाग लिएकी छिन् । त्यसमध्ये नौवटा अन्तर्राष्ट्रिय च्याम्पियनसीपमा सहभागिता जनाइन् । सत्ताइस खेलमध्ये दुई–तीनवटा च्याम्पियनसीपबाहेक सबै खेलमा पुरुष रेस्लरसँग खेलेको उनको भनाइ छ । ‘आफूभन्दा धेरै उचाइ र तौल भएको पुरुष खेलाडीसँग खेल्न गाह्रो नै हुन्छ । शरीरका जुनसुकै भागमा पनि प्रहार गर्न सक्छन् । कतिपय खेलमा त दुई मिनेटसम्म बेहोस भएको स्थिति पनि छ तर दर्शकको हुटिङले गर्दा उठेर त्यस खेलाडीलाई पराजित पनि गरेको छु’, उनी स्मरण गर्छिन् । ‘खेल खेल्दा महिला पुरुष भन्ने हुँदैन छातीमा बुटले पनि हानिराखेका हुन्छन् र आफूले पनि प्रहार गरिराखेको भएर खेल खेल्दा यो महिला त्यो पुरुष भन्ने फिल हुँदैन’, उनी भन्छिन् । यही चैतमा भारतमा भएको च्याम्पियसीपमा चार दिनसम्म अस्पतालमा बस्नुपरेको थियो । खेल दौरान भारतीय खेलाडीले टयुबलाइटले प्रहार गर्दा भोलिपल्ट ७ बजेसम्म रगत रोकिएको थिएन । खेलका क्रममा शरीरमा धेरै चोटपटक लागे पनि आफू यसैमा रमाउने भन्दै अबको छ–सात वर्षसम्म रेस्लिङलाई नै निरन्तरता दिने उनी बताउँछिन् । बाबा–आमाकी कान्छी सन्तान उनले नेपाली रेस्लर बन्ने प्रेरणा भने आफ्ना बुवाबाट प्राप्त भएको बताउँछिन् । बच्चैदेखि खेल क्षेत्रमा अग्रसर रहने उनी विद्यालयमा दौड, हाइजम्पलगायत खेल्ने गर्थिन् । देशमा माओवादी द्वन्द्व सुरु भएपश्चात उनी पनि भूमिगत भएकी थिइन् । त्यतिबेला समय र परिस्थितिका कारण घर छाड्न बाध्य भएको उनको भनाइ छ । भूमिगत भएपछि उनका सङ्घर्षका दिनहरू सुरु हुन थाले र माओवादी लडाकु बन्दै जनयुद्धको बेलामा कैयौँ भिडन्तमा ज्यान जोगाउन मुस्किल परेको उनी सम्झन्छिन् । दुईवटा बच्चाकी आमा उनका सङ्घर्षका दिनहरू निकै कठिन छन् । कतिपय अवस्थामा घरमै शारीरिक र मानसिकलगायतका यातना भोग्न बाध्य भएकी उनले बुवाआमाको इज्जतका लागि पनि अनेक खालका हिंसा सहेर बसेको सुनाइन् । जीविकोपार्जनका लागि श्रम गर्न खोज्दाका अप्ठेरा पनि अनेक छन् उनीसँग । यी अनेक चुनौतीका बाबजुद पनि सङ्घर्ष गरेर आज आफ्नो देशको नाममा, देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जित्न सक्ने एक खेलाडीका रूपमा आफूलाई स्थापित गर्न सकेकामा उनी खुसी छिन् । आफूलाई बलियो बनाएर समाज र देशका लागि केही गर्छु भनेर रेस्लिङ क्षेत्रमा लागेकाले आज आफ्नो र देशको नाम राख्न सकेको उनको भनाइ छ । आज खेल क्षेत्रको माध्यमबाट विदेशमा देशको नाम चिनाउन पाउँदा आफूलाई गर्व महसुस हुने र आफूले विगतमा सहेखपेका अनेक हिंसा र अप्ठेराहरू बिर्सने गरेको उनी बताउँछिन् । युडब्लुइ अल्टिमेट रेस्लिङ इटरटेनमेन्टको आयोजनामा यही चैत २४ गते रेस्लिङअन्तर्गतको फायर म्याच पनि हुँदैछ । उक्त प्रतियोगितामा नेपाल र भारतको सहभागिता रहने जानकारी उनले दिइन् । उक्त म्याचको अन्तिम तयारीमा जुटेकी मुनाले खेलका लागि विदेशी खेलाडीहरू आउने क्रम सुरु भएको जानकारी दिइन् । रासस
नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद, २०७९’ लाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए । प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु । खेलाडीलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषय सहभागी हुने जुन महत्व मैले यस क्षेत्रलाई दिएको छु । खेल क्षेत्रमा नेपाललाई विश्वकै हब बनाउन सकिन्छ भन्ने ठानेर नै महत्व दिएको हुँ ।’ प्रधानमन्त्री दाहालले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल एकाइ र खेल मैदान बनाउनुपर्नेमा जोड दिँदै खेल पूर्वाधारको निर्माणबाट मात्रै तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिने बताए । ‘पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा जसरी सफलता हासिल गरेको छ, खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीको वृत्तिविकासमा ध्यान दिनसकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्नेछ । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुनेछ’, उनले भने। कार्यक्रममा राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ, बागमती प्रदेशका खेलकुदमन्त्री कुमारी मोक्तान, कोशी प्रदेशका खेलकुदमन्त्री बुद्धिकुमार राजभण्डारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्यमा जोड दिए । फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेअनुसार छिटोभन्दा छिटो सङ्घीय ऐनलाई पूर्णता दिन सरकार प्रतिबद्ध रहेको बताए। सङ्घीय निजामतीलगायत ऐन छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जाने उनको भनाइ थियो ।