गुल्मीमा २३ करोडको सुन्तला उत्पादन

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन् । सुन्तलाखेतीबाटै उनले वार्षिक लाखौँको आम्दानी गर्दै आएका छन् । ‘एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल ८ लाख रुपैयाँको बिक्री भयो,’ हमालले भने, ‘यस वर्ष उत्पादन अलि घटेकाले ६ लाख रुपैयाँको सुन्तला बिक्री भयो ।’ सुन्तला लिन घरमै व्यापारी आउने गरेका छन् । अहिले उनले प्रतिकिलो ६५ देखि ७० रुपैयाँमा सुन्तला बिक्री गरेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको प्रतिस्पर्धा भए पनि हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन् । ‘यो पुख्र्यौली पेसा हो, मैले व्यवसायीकरण गरेको मात्र हुँ,’ उनले भने । उनले कुल १२ रोपनी जग्गामा सुन्तलाखेती गर्दै आएका छन् । अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भइरहेको उनले बताए । थप ४० हजार बिरुवा नर्सरीमा छन् । केही वर्षपछि ती बिरुवाले पनि उत्पादन दिँदा आम्दानी झनै बढ्ने हमाल बताउँछन् । सुन्तला बिक्रीको रकम घरखर्च चलाएर पनि बचत हुने गरेको हमाल बताउँछन् । नयाँगाउँकै कमला पोखरेलले पनि यस वर्ष सबै सुन्तला घरबाटै प्रतिकिलो ६५ रुपैयाँमा बिक्री गरिन् । गत वर्ष ८० हजारको सुन्तला बिक्री गरेकी उनले यस वर्ष पनि सोही रकमकै हाराहारीमा बिक्री गरेको बताइन् । सुन्तला लिन व्यापारी घरमै आउने भएकाले बजारको कुनै समस्या छैन । ‘बारीमा तीन सय बोट छन्, केही साना बिरुवा पनि छन्,’ उनले भनिन्, ‘सुन्तला बिक्रीको रकमबाट घरमा चाहिने दैनिक उपभोग्य सामग्री किन्न सहयोग भएको छ ।’ पोखरेल र हमाल त सुन्तला बिक्री गर्ने केही प्रतिनिधि पात्रमात्रै हुन् । उनीहरूजस्तै जिल्लामा धेरैले सुन्तला बिक्री गरेका छन् । यस वर्ष जिल्लामा २३ करोड रुपैयाँको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । त्यसमा १२ करोड ८४ लाख रुपैयाँको सुन्तला जिल्लाभन्दा बाहिर निर्यात भएको केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए। सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ भनी घोषणा गरेको छ । गुल्मीमा कुल १ हजार २७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य जग्गा छ । त्यसमध्ये यस वर्ष ६ सय २३ हेक्टर क्षेत्रफलमा ६ हजार पाँच सय ७२ दशमलव चार मेट्रिकटन सुन्तला उत्पादन भएको छ । अहिले कुल सुन्तला बगैँचाको ६० प्रतिशत बोट फलेका छन् । आव २०७९/८० मा कृषक, कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पालिकाको लगानीमा १ सय ३० हेक्टर क्षेत्रफलमा थप सुन्तलाखेती विस्तार गरिएको केन्द्रका प्रमुख भण्डारीले बताए । जिल्लाका पालिकाले पनि सुन्तलाखेती प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको धुर्कोट, रेसुङ्गा, मदानेलगायत क्षेत्रमा सुन्तलाखेतीका लागि चक्लाबन्दी कार्यक्रम नै सुरु गरिएको छ । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले धुर्कोटमा सुन्तलाको बजारीकरणमा कुनै समस्या नभएको बताए । उनले सुन्तलाको उत्पादन वृद्धिका लागि सिँचाइ, प्रविधिलगायत विषयमा पालिकाले सहयोग गर्ने प्रतिक्रिया दिए ।

चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द

सोलुखुम्बु । सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको २ सय ६७ सामुदायिक विद्यालयमध्ये १ सय १ विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् । केहीले बिदा दिने तयारी गरिरहेका छन् । सोलु दूधकुण्ड नगरपालिकामा ६२ सामुदायिक विद्यालयमध्ये ५८, खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ विद्यालयमध्ये १४ र थुलुङ दूधकोशी गाउँपालिकामा ५१ विद्यालयमध्ये सात विद्यालय बन्द भइसकेका छन् । यस्तै महाकुलुङ गाउँपालिकामा १९ मध्ये आठ, लिखुपिके गाउँपालिकामा २२ विद्यालयमध्ये छ, नेचासल्यान गाउँपालिकामा ३६ विद्यालयमध्ये चार तथा माप्यदूधकोशी गाउँपालिकामा ३९ विद्यालयमध्ये चार विद्यालय बन्द भएको कार्यालयले जनाएको छ । हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस÷माघमा जाडो बिदा दिने गरेका छन् । यहाँ चिसोका कारण शिक्षक बस्न नसक्ने तथा विद्यार्थीलाई समेत कठिन हुने भएकाले पुस दोस्रो साताबाटै विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्याक चेतबहादुर मगरले बताए । उनले भने, ‘बालबालिका चिसोका कारण विद्यालयमा कम आउन थालेपछि बाध्य भएर जाडो बिदा दिनुपरेको हो ।’ यस्तै जिल्लाको माथिल्लो खुम्बु क्षेत्रको विद्यालय पुस लाग्दै बन्द गरिएका छन् । उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताए। ‘यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीय समेत जाडो छल्न अन्यत्र जान थालेपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौं, यतिखेर बस्न सक्ने अवस्था नै छैन,’ उनले भने । सोताङ गाउँपालिका क्षेत्रका कुनै पनि विद्यालयले जाडो बिदा दिएका छैनन् । सोताङ न्यानो ठाउँ भएकाले त्यहाँको कुनै पनि विद्यालय बन्द नगरिएको गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले बताए ।

बागलुङमा १५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा

ढोरपाटन । बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दुरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन नसकेको गुनासो बढेको छ । यस वर्ष पनि बागलुङमा गण्डकी प्रदेश र सङ्घीय सरकारका २२ करोड २४ लाख रुपैयाँको योजना परेका छन् । प्रदेशका एक सय चार र सङ्घीय सरकारका २० गरी एक २४ योजना चालु आर्थिक वर्षमा कार्यान्वयनका चरणमा छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमिनको १५ दशमलव १५ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा पुगेको छ । जिल्लामा एक लाख ७८ हजार चार सय हेक्टर जमिन रहे पनि हाल ४६ हजार एक सय ४८ हेक्टरमा खेती गरिँदै आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार ३० हजार ५ सय २३ मध्ये हालसम्म ६ हजार ७ सय ९० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको छ भने बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल भने दुई हजार आठ सय १५ हेक्टर रहेको छ । प्रमुख पौडेलले बागलुङमा भौगोलिक कठिनाइका कारण सबै ठाउँमा एकै पटक सिँचाइ सुविधा पुर्याउन ठूलो बजेट चाहिने बताउँछन्। अहिले न्यून बजेटमा पनि धेरै खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने गरी काम गरिरहेको उनको भनाइ छ । कार्यालयबाट सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आएको प्रमुख पौडेलले बताए । सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पु¥याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेती हुने खेतबारीमा सिँचाइका योजना पर्ने गरेको उनले बताए । सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । जिल्लाको १० वटै पालिकामा योजना परेको प्रमुख पौडेलले बताए । प्रदेश सरकारले कृषि उत्पादकत्व, लाभान्वित जनसङ्ख्या र जमिन हेरेर योजना बनाउँदै आएको उनी बताउँछन् प्रमुख पौडेल भन्छन्, ‘प्रदेश सरकारले पठाएको योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी काम गरेका छौँ, बागलुङ भौगोलिक कारणदेखि विभिन्न हिसाबले सिँचाइको व्यवस्थापन गर्न सजिलो छैन, यद्यपि सिँचाइ अभाव भएका ठाउँलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको छ, चालु आर्थिक वर्षमा विनियोजित बजेट पनि कार्यान्वयन गर्ने चरणमा छौँ, अहिले पनि धेरै ठाउँका किसाना आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।’ बागलुङ अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । यहाँका रहेक किसान आयातित खाद्यान्नमै निर्भर बन्नुपरेको छ । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यी क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको निसीखोला बडिगाड गाउँपालिका–८ का तिलबहादुर घर्ती मगरले बताए । ग्रामीण क्षेत्र भिराले भए पनि गहुँ खेती राम्रो हुने गरेको भन्दै हिउँदमा लामो समय खडेरी परे उत्पादनमा ह्रास आउने उनको भनाइ छ । सिँचाइको सुविधा भए वर्षभरि खान पुग्ने बाली बारीमै उत्पादन गर्न सकिने भए पनि सामान्य कुलोसमेत नहुँदा आयातित खाद्यान्नमा भर पर्नुपरेको गुनासो पोखे । ‘हामी सधैँ बाहिरबाट चामल, मिठो लिएर जीविका चलाउनुपरेको छ, बारी प्रसस्तै छन्, के गर्नु पानी छैन, पानी नभए पनि उत्पादन पनि थोरै हुन्छ, पचासौँ रोपनीमा लगाएको मकै, गहुँले वर्षभरि खान पुग्दैन, बारीमा उब्जेकोले नपुगेपछि किन्ने उही विदेशी चामलनै हो,’ उनले भने, ‘गाउँका बारी भारोलो छन्, भिरालोमा धान त फल्दैन तर राम्रो कुलो हुन्थ्यो बने मुहानबाट पानी लिएर लगाउन त सकिन्थ्यो, अहिलेसम्म यो ठाउँमा सिँचाइका लागि कुलोको योजना पर्न सकेको छैन ।’ निसीखोला गाउँपालिका–५ का बलिभद्र घर्तीले बालीनालीमा सिँचाइको अभाव हुँदा उत्पादनमा कमी आएको बताए । कारीखोलाबाट करिब एक किलोमिटरको दुरीमा कच्ची कुलोमार्फत पानी लिएर खेतबारीमा लगाउने गरे पनि बर्खामा भत्किँदा लाखौँको क्षति हुने गरेको गुनासो पोखे । सरकारले बजेट विनियोजन गरेर पक्की कुलो निर्माण गरि दिए गाउँले आत्मनिर्भर भन्न सक्ने उनको भनाइ छ । सयौँ रोपनी खेत भएको ठाउँमा एउटा मात्रै साँघुरो कुलो रहेको भन्दै पानीका लागि छिमेकीसँग बेला–बेला झगडासमेत पर्ने गरेको घर्तीले सुनाए । घर्तीले भने, ‘समयमै वर्षा हुँदाको वर्ष २० मुरी धान र १५ मुरी गहुँ उत्पादन गर्नु हुन्छ, हिउँदमा लामो समय खडेरी पर्यो भने उत्पादन निकै कम हुन्छ, हिउँदमा आकाशे पानीको भर पर्नुपर्छ, बर्खामा बेसीको सबै सकियो भने बल्ल गाउँका खेतमा रोपाइँ गर्नुपर्ने अवस्था छ, यो सिजनमा पानी परेन भने गहुँ जौँ सबै सुकेर मर्छन् ।’ बागलुङमा सबैभन्दा बढी मकै बाली उत्पादन हुने गरेको छ । जिल्लाभरि मकै २० हजार हेक्टर क्षेत्रफल बढीमा उत्पादन हुन्छ । कोदो १८ हजार हेक्टर र गहुँ सात बढी हजार हेक्टर बढी क्षेत्रफलमा उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार ६ सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । यस वर्ष पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ । रासस