विश्वकप लिग २ का खेल एक्सन स्पोर्टस एचडीआई वानले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु फेब्रुअरी १५ बाट सुरु भएको छ । पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डीस होम एक्सन स्पोर्टस एचडीआई वानले बिहीबारदेखि सुरु हुन लागेको आइसीसी लिग टू अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । तीनै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडी १ ले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ । कीर्तिपुरस्थित टियु मैदानमा हुने लिगको पहिलो खेल फेुब्रअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ । फुब्रअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फुब्रअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फुब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फुब्रअरी २५ मा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन् । लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् । उक्त सिरिज डिस होमको एक्सन स्पोर्टस एचडी र डिस होम गो एप्समा हेर्न पाइने छ । लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग बिहीबार १५ फेब्रुअरीमा खेल्ने छ । सबै खेल बिहान सवा ९ बजेदेखि सुरुहुने छ । तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्ने पाउनेछ । पुछारका ४ टोलीले भने प्ले अफ खेल्नु पर्ने हुन्छ ।

दानबहादुर श्रीषको पौरख : पाखो जग्गा बन्यो कागती बगैँचा

गलकोट । भिरालो पाखो जमिन । चारैतिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन् । पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट ६ लाख रुपैयाँ कमाइ गर्यो । बाँझो जग्गामा कागतीको सम्भावना देखेका बागलुङको गलकोट–११ रिघाका ३५ वर्षीय दानबहादुर श्रीषले चार वर्षअघि लगाएका एक हजार दुई सय बिरुवाबाट पहिलो पटक उत्पादित  कागती काठमाडौं र पोखरा निर्यात भइसकेको छ । श्रीसले कागतीखेती गर्ने उदेश्यले उक्त जग्गा खरिद गरेका थिए । झाडीले घेरिएको त्यही बाँझो जग्गामा अहिले लटरम्म कागती फलेका छन् । गाउँको बाँझो रहेको जमिन खरिद गरेर २०७६ साउनमा कागतीका बिरुवा लगाएका श्रीषले पहिलो पटक लाख रुपैयाँको कागती बिक्री गरेको बताए । बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी ३६ रोपनी जग्गामा व्यावसायिक कागतीखेती गरेका हुन् । ‘कागतीको सम्भावना देखेपछि ३६ रोपनी जग्गामा कागतीखेती थालेको २०७६ सालमा हो, पाँच वर्ष पूरा हुँदा कागती फल्यो, पहिलो वर्ष नै छ हजार किलो कागती उत्पादन भएको थियो, थोक मूल्य एक सय रुपैयाँ प्रतिकिलोका दरले कागती बिक्री गरे’, उनले भने, ‘खाली र झाडी बन्दै गएको जमिनमा कागतीखेतीसहित बाख्रापालनको उदेश्य थियो, बाख्रापालन छाडे, अब कागतीबाट राम्रो सम्भावना देखेको छु ।’ जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिदसँगै हालसम्म ३० लाख रुपैयाँ लगानी गरिसकेको श्रीष बताउँछन् । तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषिउद्यम गर्ने सोचमा पुगेपछि श्रीष कृषि तथा पशु फर्म दर्ता गरेर कागतीखेतीमा आकर्षित भएका हुन् । गलकोटसहित छिमेकी बजारको कागती आयात प्रतिस्थापन गर्नका लागि कागतीखेतीमा लागेको उनको भनाइ छ । बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागतीखेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेको श्रीषको कागती बगैचा अहिले हराभरा भएको छ । हजुरबाबा भीमबहादुर श्रीषको प्रेरणाले स्वदेशमै केही गर्ने सोच पलाएको यूवा कृषक श्रीष बताउँछन् । ‘युवाहरु उत्पादनसँग नजोडिने हो भने विदेश पलायनको विकल्प नहुने अवस्था अहिले विद्यमान छ, कागती खेतीलाई सय रोपनीभन्दा बढी जग्गामा विस्तार गर्ने योजनामा छु’, उनले भने, ‘सरकारी तहले युवा किसानलाई प्रेरित गर्न आवश्यक छ, सामान्य अनुदानका कार्यक्रमले मात्रै ठूलो फार्मलाई राहत हुँदैन ।’ नगरपालिकामा व्यावसायिकरूपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरपालिकाले कागतीका बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको गलकोट–११ का वडाध्यक्ष श्रीषको भनाइ छ । समुद्री सतहबाट एक हजार तीन सय मिटरसम्म कागतीखेतीको राम्रो सम्भावना भएका कारण नगरपालिकाले कागतीखेतीमा अनुदान दिँदै आएको पाइएको छ । गलकोटमा पछिल्लो समय कागतीखेती फस्टाउन थालेको छ । गलकोटका एक दर्जनभन्दा बढी किसान अहिले कागतीखेतीमा आकर्षित भएका हुन् । रासस

प्रणय दिवसलाई लक्षित गर्दै सौराहामा सुरु भयो खाना महोत्सव, फागुन ३ गतेसम्म हुने

चितवन । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर आजदेखि १८औं सौराहा फुड फेस्टिबल सुरु भएको छ । विविध परिकार, मनोरञ्जनलगायत कार्यक्रम महोत्सव सुरु भएको हो । महोत्सवको चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले उद्घाटन गरे । त्यस अवसरमा उनले पर्यटन क्षेत्रको विकासमा राज्यले अझ लगानी बढाउनुपर्ने बताए । उनले भने, ‘निकुञ्ज ऐन संशोधनका लागि मैले संसद्मा आवाज उठाएको छु, यसलाई संशोधन गर्नुपर्छ ।’ राज्यको स्रोत बाँडफाँटमा पूर्वी चितवन पछाडि पारिएको उनको गुनासो थियो । बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, रेवानका केन्द्रीय उपाध्यक्ष सङ्घर्ष विष्ट, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवानका संस्थापक अध्यक्ष बलराम दाहाल, रेवान महिला समूहकी अध्यक्ष लक्ष्मी विडारीलगायत बोलेका थिए । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा फागुन ३ गतेसम्म महोत्सव हुनेछ । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी महोत्सव आयोजना गरिएको संयोजक सूर्यबहादुर रिमालले बताए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कला, संस्कृति, वेषभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यकारुपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने महोत्सवको लक्ष्य रहेको छ । राष्ट्रिय तथा स्थानीय कलाकार तथा दी एक्सिस ब्यान्डको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेट्रेसबीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगितालगायत गतिविधि महोत्सवमा आयोजना गरिनेछ । महोत्सव उद्घाटनअघि विभिन्न जातजातिका कला, संस्कृति झल्कने झाँकीले सौराहा परिक्रमा गरेको थियो । रासस