दूध उत्पादनमार्फत किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना
सिन्धुली। कमलामाई नगरपालिका–५ कि किसान गुणकुमारी घिमिरे आफ्नो गोठमा केही दिनअघि मात्रै जन्मिएको होलिस्टाइन (कोरली) गाईको बाच्छी उमा सुवेदीलाई उपहार दिँदै गर्दा निकै खुसी देखिन्थिइन् । उपहार दिने घिमिरे र लिने सुवेदी मात्रै होइन यो क्षणको साक्षी बन्न उपस्थित अन्य किसान पनि यो एतिहासिक पललाई रुचिपूर्वक नियालिरहेका थिए । गत वर्षको पुसमा हेफर इन्टरनेसनको अग्रसरता र कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक यहाँका ५१ किसानलाई ८० होलिस्टाइन (उच्च आनुवंशिक गुण भएका) बाच्छी वितरण गरिएको थियो । त्यसैमध्ये घिमिरेले पालेको ‘तोसेली’ नामक गाईले नेपालमै पहिलो पटक गत माघ २३ गते बाच्छी ‘गाम्सा’लाई जन्म दिएको थियो। कोरिया सरकारको सहयोगमा प्राप्त भएकाले पहिलोपटक जन्मिएको बाच्छीको नाम पनि कोरियन भाषामै राखिएको हो। ‘गाम्सा’ अर्थात् ‘धन्यवाद’ । बाच्छी उपहार प्रदानका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल, कमलामाई नगरपालिलकाका प्रमुख उपेन्द्रकुमार पोखरेल, कोइका नेपालका उपनिर्देशक युन्ही चुङ, हेफर इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष निना जोशी, हेफर नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मी, कोरियाका सिओल डेरी सहकारीको पिएजेयु डेरी क्लिनिकका अध्यक्ष तथा प्रमुख पशु चिकित्सक डा. यङ्ग–चान किन, हेफर कोरियाका कार्यकारी निर्देशक हेवोन लीलगायतको उपस्थिति थियो । ‘मेरो गोठमा जन्मिएको गाम्सा उमालाई उपहार दिन पाउनु मेरा लागि सौभाग्य हो,’ कलिलो गाम्साको शरीर मुसार्दै घिमिरेले भनिन्, ‘गत वर्ष पुसमा गाम्साजस्तै सानो बाच्छी जन्मिएकी थिइन्। आज त्यही गाईबाट जन्मिएको बाच्छी उपहार दिन पाउँदा निकै खुसी लागेको छ ।’ उपहार स्वीकार्दै सुवेदीले पनि आफू निकै खुसी भएको बताइन्। ‘नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन बाच्छी पाउनु मेरा लागि खुसीको कुरा हो,’ उनले भनिन्, ‘भविष्यमै गाईपालनमा लाग्ने सोच बनाएकी मलाई उच्च आनुवंशिक गुणको बाच्छी सहयोगी बन्ने छ ।’ सुवेदीले बाच्छी पाउन करिब छ महिना भने कुर्नुपर्ने हुन्छ । गाईले जन्माएको बाच्छी उपहार दिने चलन पनि कोरियाबाटै चलेको हो। कोरियामा यसलाई ‘पासिङ द गिफ्ट’ भनिन्छ । अर्थात् आफूले प्राप्त गरेको गाईको पहिलो बेतबाट जन्मिने बच्चालाई आफूजस्तै किसानलाई अनिवार्यरूपमा उपहारका रुपमा दिनु हो । यसबाट गाईपालन गर्ने किसानको सङ्ख्या बढाउँदै लैजाने र धेरैभन्दा धेरै किसानको आयआर्जन बढाउनु हो । गुणकुमारीका पति भोला अधिकारीले गाईले ब्याएको आठ दिनसम्म दैनिक २८ देखि ३० लिटरसम्म दूध दिएको बताए । ‘हामीले गत वर्ष ११ महिनाको उमेरको तोसिली (नेपाली नाम माली) गाई प्राप्त गर्दा तीन सय किलोको थियो । अहिले उसको तौल ६ सय ७८ किलो पुगेको छ । बाच्छी जन्मने बेलामा ४५ किलो तौल थियो । गाईले अहिले दैनिक ३० लिटरसम्म दूध दिइरहेको छ,’ उनले भने। अधिकारीले गाई ब्याएको सातौँ दिनदेखि डेरीमा दूध बिक्री सुरु गरेको बताए। ‘डेरीमा दूध प्रतिलिटर ७६ देखि रु ७७ सम्म बिक्री भएको छ,’ उनले भने, ‘गाई ब्याएको २२ दिनदेखि दूध बढ्ने छ ।’ तेह्र महिनासम्म गाई पाल्दा करिब रु एक लाख ७५ हजार खर्च भएको उल्लेख गर्दै उनले दूध बिक्रीबाट लागेको खर्च तीनदेखि चार महिनामा उठिसक्ने बताए । सो गाईको दूध बिक्रीबाट मासिक ६० हजारसम्म आम्दानी गर्ने अधिकारीको लक्ष्य छ । गत वर्ष यसरी होलिस्टाइन बाच्छी पाउनेमा तल्लोराजपानी महिला उद्यमी समूहकी सदस्य रुकमणि अधिकारी पनि छिन् । उनले तत्कालीन समयमा दुई गाई पाएकी थिइन् । अहिले दुवै गाई गर्भवती छन् । ‘गत वर्षको पुसमा हामीले गाईका बाच्छी पाउँदै गर्दा कहिले ठूलो होलान र ब्याउलान, अनि आम्दानी गर्न पाइएला भन्ने लागेको थियो, तर तीमध्ये एउटा गाई ब्याएको छ,’ उनले भनिन्, ‘मसँग भएका दुई गाई वैशाखमा ब्याउनेवाला छन्। होलिस्टाइन गाईले पर्याप्त दूध दिने भएकाले यसको बिक्रीबाट आम्दानी बढाउन सकिन्छ भन्ने विश्वास जागेको छ।’ अधिकारी लामो समयदेखि गाईपालनमै छन्। पहिले स्थानीय जातका मात्रै गाईपालन गर्ने उनले एक वर्षयता स्थानीय जातका गाई घटाउँदै लगेकी छन् । ’हाम्रो मुख्य पेसा नै गाईपालन हो, पहिले ३० वटासम्म स्थानीय जातका गाई थिए ।’ ‘त्यो बेलामा दैनिक ८० लिटरसम्म दूध बेचिन्थ्यो, अहिले कम भएको छ,’ उनले भने, ‘अहिले स्थानीय जातका ११ र होलिस्टाइन दुई गाई मात्रै छन्। वैशाखमा दुई होलिस्टाइन गाई ब्याएपछि दूध बिक्री बढ्ला भन्ने आश छ।’ स्थानीय जातका गाईले अधिकतम दिनमा १० लिटर मात्रै दूध दिने गरेको अधिकारी बताउँछन्। ‘असाध्यै राम्रो स्याहार पायो भने दिनमा बढीमा १० लिटर दूध दिने हो, तर होलिस्टाइन जातको गाईले दिनमा ३० देखि ४० लिटरसम्म दूध दिने रहेछ । यसबाट हाम्रो आम्दानी स्वभाविक रुपमै बढ्नेछ ।’ अधिकारी अहिले एउटा होलिस्टाइन गाईलाई दैनिक चार किलो दाना र १० किलो घाँस खुवाउँछन् । एउटा बोरा दाना खरिद गर्दा दुई हजार आठ सय खर्च हुने गरेको उनले बताए । त्यसबाहेक हरियो घाँस र कटिङ परालमा पनि खर्च हुन्छ । कमलामाई नगरपालिकामा होलिस्टाइन गाईपालनका लागि विभिन्न नाममा महिलाका समूह पनि गठन भएका छन् । यहाँ दमार महिला समूह, गैँयादेवी महिला समूह, तल्लोराजपानी महिला उद्यमी समूह, माथिल्लो राजपानी महिला उद्यमी समूहलगायत छन् । यी समूहमा हाल एक सय नौ महिला आबद्ध छन् । विभिन्न समूहमा विभाजन भए पनि गाईपालनमा भने एक अर्काबीच सहकार्य भइरहने अधिकारीले बताए । गाईलाई खुवाइने दाना पनि हेफरले ३० प्रतिशत छुटमा उपलब्ध गराउँदै आएको छ । गत वर्ष कमलामाई–४ र ५ मा हेफर इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सिन्धुली एकीकृत विकास सेवा नेपाल र लाभान्वित समुदायको सहकार्यमा दुग्ध क्षेत्र रुपान्तरण परियोजना सञ्चालन गरिएको थियो । उक्त परियोजना नेपाल सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रूपान्तरण गर्ने उद्देश्यले सुरु भएको हो । तत्कालीन समयमा प्राप्त भएका ८० मध्ये पाँच गाई भने मरिसकेका छन् । हाल ७३ गाई गर्भवती छन् । ‘मिल्की वे’ परियोजना नेपाल सरकार, दक्षिण कोरिया सरकार र कमलामाई नगरपालिकाको संयुक्त पहल तथा हेफर इन्टरनेसनलको सहजीकरणमा यहाँ ‘मिल्की वे’ परियोजना सुरु भएको छ । सोही परियोजनाअन्तर्गत होलिस्टाइन गाई यहाँका किसानलाई वितरण गरिएको हो । गत वर्ष ५१ किसानलाई ती गाई वितरण गरिएका थिए । आगामी पाँच वर्षमा पाँच सय किसानलाई होलिस्टाइन गाई वितरण गर्ने लक्ष्य रहेको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले बताए । ‘यसै परियोजनाअन्तर्गत अहिले यहाँ नेपाल–कोरिया मोडेल डेरी भिलेज उद्घाटन गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘नगरपालिकालाई दूध र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी परियोजना सुरु भएको हो ।’ यस परियोजनामार्फत अन्तर्राष्ट्रिय गुणस्तरको दूध उत्पादन गर्दै किसानको जीवनस्तर उकास्ने लक्ष्य रहेको उनले सुनाए । हाल नगरपालिकामा मासिक ३० हजार लिटर दूध उत्पादन भइरहेकामा मिल्की वे परियोजनाअन्तर्गत प्राप्त भएका होलिस्टाइन गाईमार्फत आगामी दुई वर्षमा मासिक दुई लाख लिटर दूध उत्पादन हुने अपेक्षा गरिएको प्रमुख पोखरेलले जानकारी दिए । ‘यहाँको माग मासिक ३० देखि ३५ हजार लिटर दूध हो, आगामी दिनमा दूधको उत्पादन बढेसँगै बजारीकरणका लागि नेपाल–कोरिया मोडेल डेरी भिलेज स्थापना गरेका छौँ,’ उनले भने । परियोजनामार्फत दूधको बिक्री बढाउन दुग्धजन्य पदार्थको उत्पादन गर्ने योजना रहेको प्रमुख पोखरेलले बताए । ‘उत्पादन हुने दूधबाट ‘डट्स’ बनाएर विदेशमा निर्यात गर्ने योजना बनाएका छौँ,’ उनले भने । मिल्की वे परियोजनाले दूधमा मात्रै आत्मनिर्भर नबनाएर किसानको आम्दानी पनि बढाउने छ । ‘दूध उत्पादन भएपछि आत्मनिर्भर त हुने नै भइयो, यसबाट आम्दानी बढाएर आगामी दिनमा काम खोज्दै विदेश जानुपर्ने अवस्था अन्त्य गर्ने हाम्रो योजना छ,’ प्रमुख पोखरेलले भने, ‘एउटा मात्र होलिस्टाइन गाईपालेर पनि दूध बिक्रीबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न सकिने अवस्था बनाउनु हाम्रो उद्देश्य हो ।’ दूध उत्पादन बढेसँगै सहकारीमार्फत डेरी सञ्चालन गर्ने योजना बनाएको प्रमुख पोखरेलले बताए । ‘यो वर्ष ७५ होलिस्टाइन गाई थप हुने छन्, दूध बिक्री नभएर किसानले बाटोमा फाल्नुपर्ने अवस्था आउन नदिनका लागि नगरपालिका सचेत छ,’ उनले भने । गत मङ्गलबार मोडेल डेरी भिलेजको उद्घाटन गर्दै नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले यो कोरियाद्वारा अन्य मुलुकमा स्थापना गरिएको पहिलो डेरी भिलेज भएको बताए । ‘यस वर्ष दक्षिण कोरिया र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवस्थामा होलिस्टाइन गाईको पहिलो बाच्छीको आगमन दुई देशबीचको चिरस्थायी मित्रताको प्रतीक बनेको छ,’ उनले भने, ‘सिन्धुलीको नमूना डेरी भिलेजको सफलताका लागि कोरियाले ज्ञान र स्रोतको हस्तान्तरणलाई निरन्तरता दिनेछ ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले कृषि क्षेत्रको मेरुदण्डका रूपमा रहेका साना किसानका लागि दिगो विकास र समृद्धिलाई प्रवद्र्धन गर्ने गरी डेरी क्षेत्रलाई आधुनिकीकरण गर्ने दिशामा यो सराहनीय काम भएको बताए । सरकारी तथ्यांकअनुसार नेपालमा वर्षमा २५ लाख ७० हजार मेट्रिक टन दूध उत्पादन हुन्छ । साथै, दैनिकरूपमा ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने र त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा, ३३ प्रतिशत अनौपचारिक क्षेत्र तथा बाँकी ५० प्रतिशत घरेलू प्रयोजनमा खपत हुने गरेको पाइएको छ । रासस
सडक दुर्घटना : तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु
भैरहवा । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हँुदा पनि १० जनाले ज्यान गुमाउनु पर्यो । सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ । बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ । गत माघमा दाङको भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो । यी घटना त प्रतिनिधिमूलक घटनामात्र हुन् । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको ६ महिनामा २ सय ८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ । फागुन महिनामा मात्रै २२ जनाले ज्यान गुमाएको र घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो संख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ । विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ । ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरुको चेपुवामा यात्रुहरुले ज्यान गुमाइरहँदा यी सरोकारवाला एकअर्कालाई दोषारोपणम दिइरहेका छन् । ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनीहरुलाई दुर्घटनाको कारक बताइरहेको छ । बस व्यवसायीहरूले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईं प्रारम्भिक अनुसन्धानमा चालककै लापारबाहीका कारण दुर्घटना भएको बताएका छन् । तीव्र गति, अत्यधिक भारवहनका कारण पाल्पा र कपिलवस्तुको दुर्घटना भएको उनको भनाइ छ । हालको घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटनामा अन्य कारणले पनि प्रभाव पार्ने गरेको उनी बताउँछन् । मुख्यतयाः चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालकहरु पेसाप्रति जवाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चापलगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रूपमा रहेका छन् । प्रहरी उपरीक्षक प्रसाईंले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीसँग सीमित स्रोत साधन रहेको बताए । ‘ट्राफिक व्यवस्थापन प्रविधिमैत्री र डिजिटाइलेजेसन गर्न आवश्यक छ, अहिले ट्राफिक प्रहरीमा यी दवैको खाँचो छ,’ उनले भने, ‘हामीले पर्याप्त कारबाही गरेका छौँ, प्रहरीले सचेतनासँगै सजाय गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।’ उनले ट्राफिक प्रहरी प्रविधि र उपकरणमा कमजोर रहेको बताए । यसका लागि स्थानीय निकायहरूसँग पटकपटक अनुरोध गरे पनि त्यो सफल हुन भने नसकेको उनको भनाइ छ । सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी मात्र नभई सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने उनको तर्क छ । दुर्घटना कुनै एक विशिष्ट एक कारणले हुने नभई यसमा धेरै तत्वले प्रभाव पारिरहेको बस व्यवसायीहरुको भनाइ छ । सबै घटनामा चालकलाई मात्र दोषारोपण गरे उम्किन नमिल्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताउँछन् । उनले चालकलाई सबैभन्दा बढी कामको भार थपिएको बताए । ‘चालकले बस चलाउनमा ध्यान दिनुपर्नेमा ऊ यात्रुदेखि अन्य कुराहरुमा व्यस्त हुने गरेको छ,’ उनले भने, ‘यस्तोमा उसलाई दुर्घटना न्यूनीकरणभन्दा पनि यात्रु कसरी बढाउने र कसरी रकम कमाउनेमै ध्यान जाने गरेको छ ।’ अहिले यात्रुको चापभन्दा सवारी साधनको चाप बढी भएको कारण चालकलाई यात्रु कसरी बढाउन सकिन्छ भन्ने मानसिक तनाव रहेको उनको भनाइ छ । यसबाहेक ट्राफिक प्रहरीले एउटै प्रदेशमा १० स्थानमा जाँच गरेर चालकलाई आक्रान्त बनाएको उहाँको आरोप छ । जरिवाना उठाउने सरकारको नीति पनि दुर्घटनाको कारक रहेको हुँदा प्रदेशले कति जरिवाना उठाउने भन्ने निक्र्यौल हुनुपर्ने धारणा राखे । खरेलले ट्राफिक व्यवस्थापन व्यवस्थित गर्नका लागि कार्ययोजना बनाई स–साना कुरामा ध्यान दिनुपर्ने सुझाव दिए । लुम्बिनी प्रदेशमा आव २०७७र०७८ मा १ हजार २ सय १२ दुर्घटनामा परी ५१ हजार ८३ जना गम्भीर घाइते र सात सय ४० जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ । आव २०७८र०७९ मा १ हजार १ सय ६४ सवारी दुर्घटनामा परी ५ सय ५१ जनाले ज्यान गुमाउनाका साथै १ हजार १ सय २३ जना गम्भीर घाइते तथा ५ सय १७ जना सामान्य घाइते भएका थिए । आव २०७९र०८० मा भने ८ सय ९२ सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार सय ६२ रहेको थियो । सो आर्थिक वर्षमा ७ सय ९९ जना गम्भीर घाइते तथा ४ सय ७७ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ । रासस
३५ किलो चरेससहित दुई भारतीय पक्राउ
बारा । लागुऔषध चरेससहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाँउ बस्ने वर्ष ४४ को मोहमद अबजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए । अभिव्युक्तहरुको साथबाट लागुऔषध ३४ किलो नौ सय ६८ ग्राम चरेस बरामद गरिएको थियो । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरिएको हो । अभियुक्तहरूलाई लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।