टर्की पठाउने भन्दै १२४ जनाबाट ४ करोड बढी ठगी गर्ने एक पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै १२४जनाबाट ४ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाइ १२४ जनाबाट ४ करोड ३४ लाख उठाएर फरार रहेका कास्की पोखरा महानगरपालिका-५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईका अनुसार श्रेष्ठलाई काठमाडौं-७ चाबहिलबाट पक्राउ गरिएको हो । त्यस्तै, अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिका-२ का वर्ष ४६ का विष्णुबहादुर बराली र तनहुँ ऋषिङ गाउँपालिका-२ का जंगबहादुर विक (बराल) छन् । उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी तथा डल खोसी ९ महिनासम्म अलपत्र पारी राखेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार केन्या र युगाण्डामा समेत एजेण्ट राख्ने गरेको, अमेरिका पुर्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना भरतको दिल्ली पहाडजंगस्थित होटलमा बसी संगठित रूपमा मानव तस्करीमा संलग्न रहेको थिए ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईमा सांगीतिक कार्यक्रम गर्दै
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही आउदो मे १९ तारिख युएईस्थित बरदुबईको एसके ७ क्लबमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती परियार र कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुती दिने भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएई बाट थुप्रै नेपालीहरुले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुखको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरनञ्जन दिलाउने हेतुले कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी दिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
५६ वटा बैंकमा खाता खोली क्रिप्टोमा २ अर्ब बढीको कारोबार, अनिल परे जेलमा
काठमाडौं । विभिन्न अनलाइन ब्याटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे मण्डनदेउपुर ८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षका अनिल ढुंगानालाई प्रहरीले प्रक्राउ गरेको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा इसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको छ । त्यसैगरी बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टो करेन्सीमा हालसम्म १ अर्ब ३४ करोड रुपैयाँ कारोबार गरेको भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ढुंगानालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कारबाही गरिनेछ ।