सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी गराएका हुन् । उनले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा अप्लाई गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान) ले आवश्यक सबै प्रक्रिया पूरा गरे पनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो । उनले केही दिन अघिमात्र बलात्कार मुद्दामा अदालतबाट सफाइ पाएका थिए ।

सिटी एक्सप्रेसले दुबईमा गर्यो सांगीतिक कार्यक्रम

दुबई। सिटी मनी ट्रान्सफरले दुबईमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । सिटी एक्सप्रेसले युएईस्थित बरदुबईको एस् के-७ क्लबमा ‘उत्सव र उमंग, सिटी एक्सप्रेस सँग’ शीर्षकमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए । टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुर्याएको बताए । कार्यक्रममा टण्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीहरुको कमाईलाई सुरक्षित रुपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए। साथै, कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै नेपालीहरूको मनोरञ्जनका लागि यस्ता कार्यक्रम आयोजना गर्दा थप सन्तुष्टि मिलेको पनि उनले व्यक्त गरे । सांगीतिक कार्यक्रमले क्लबलाई उल्लासमय बनाएको थियो । नेपालका प्रसिद्ध कलाकारहरुले आफ्ना प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारे । चर्चित हाँस्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको प्रस्तुति दर्शकले निकै रुचाएका थिए । यस्तै, चर्चित आधुनिक गायिका मिलन नेवारको स्वरले कार्यक्रमलाई थप भव्य बनाएको थियो । लोकप्रिय लोक दोहोरी गायक खेम सन्चुरी र गायिका शान्ती श्री परियारले गीतमार्फत् उत्कृष्ट प्रस्तुति दिएका थिए भने कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिएकी थिइन् । सिटी एक्सप्रेस मनि ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरुले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरूपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । तनहुँ जलविद्युत आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए । आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो । विद्युत चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।