आज लुम्बिनी र सुदूरपश्चिम रोयल्स, कर्णाली र विराटनगर किङ्ग्स भिड्दै

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । एनपिएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ । जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो । सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ । जारी एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ । जारी एनपिएलमा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।

आज देशभर राम र सीताको पूजा आराधनासहित विवाह पञ्चमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यता अनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् । रङ्गभूमि मैदानमा वर र वधु पक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकअघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ । उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल पाँच दिनसम्म मनाइन्छ । यसैगरी देशभरका राम–सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यता छ । भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको जनाइएको छ । अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने भएको छ । रामचन्द्र मन्दिर बत्तीसपुतलीमा विवाहपञ्चमी उत्सव काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि आज विवाह महोत्सवको कार्यक्रम आयोजना गरिएको छ । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं सवर्द्र्धन समितिको आयोजनामा यहाँ विवाह महोत्सव मनाउन लागिएको हो । विवाह महोत्सव बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिका-९ आरुबारी र वडा नम्बर २ को भूमिस्थलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि विभिन्न कार्यक्रम आयोजना गरी श्रीरामचन्द्र विवाह महोत्सव पर्व मनाइने जनाइएको छ । काठमाडौँ उपत्यका र बाहिरका श्रीरामचन्द्र मन्दिरमा पनि आज विधिपूर्वक श्रीराम सीताको पूजा, आराधनासहित विवाह गरिएिर महोत्सव मनाइने भएको छ ।

३० वर्ष कटेपछि महिलाले खानुपर्छ यस्ता ३ चीज, जसले ल्याउँछ छाला र कपालमा चमक

काठमाडौं । महिलाहरूले ३० वर्ष कटेपछि छाला र कपालमा चमक ल्याउनका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । किनभने यस समयमा हर्मोनहरू तीव्र रूपमा परिवर्तन हुन थाल्छन्  । यसकारण धेरै समस्याहरू देखा पर्न सक्छन् । विभिन्न हर्मोनहरूको उपस्थिति महिलाहरूको शारीरिक संरचना पुरुषहरूभन्दा भिन्न बनाउँछ । ३० वर्षको उमेरपछि हर्मोनको स्तरमा अचानक परिवर्तन आउँछ, जसका कारण धेरै स्वास्थ्य समस्याहरू देखापर्न सक्छन् । आयुर्वेदिक विशेषज्ञहरू ३० वर्षको उमेरपछि प्रत्येक महिलाले अश्वगन्धा, अलस र शिलाजित खानुपर्ने सुझाव दिन्छन् । विशेषज्ञहरूका अनुसार ३० वर्षको उमेरपछि हर्मोनहरूको स्तरमा उतारचढाव, ऊर्जा कम, छाला र कपालको स्वास्थ्यमा खराबी आउनुजस्ता समस्याहरू देखिन्छन् । यससँगै प्रजनन क्षमता पनि कम हुन थाल्छ, जसले ३० पछि परिवार योजना बनाउने महिलाहरूका लागि चुनौतीपूर्ण हुन सक्छ । यसबाहेक छिटो उमेर ढल्किनबाट जोगिन पनि यस्ता चीजहरूको सेवन गर्न थाल्नुपर्छ । अश्वगन्धा डाक्टरले महिलाहरूलाई ३० वर्षपछाडि नियमित रूपमा अश्वगन्धा पाउडर सेवन गर्न सुझाव दिएका छन् । अश्वगन्धाले तनाव बढाउने हर्मोनलाई घटाउँछ । साथै यसले तनाव हर्मोनका कारण हुने प्रिम्याच्योर एजिङ (समयअघि बुढ्यौली) र हर्मोन असन्तुलनबाट बचाउन सक्छ । आलस आलसमा फाइटोएस्ट्रोजन पाइन्छ, जसले हर्मोनको सन्तुलन कायम राख्छ । विशेष गरी एस्ट्रोजन हर्मोन बढाउन यसले फाइदा पुर्‍याउँछ । आलसले छालाको इलास्टिसिटी (लचिलोपना) लाई पनि कायम राख्छ । शिलाजित आयुर्वेद विशेषज्ञहरूले बताएअनुसार महिलाहरूको लागि शिलाजित एक वरदान जस्तै हो । ३० वर्षको उमेर पछाडि यो प्राकृतिक सप्लिमेन्टले ऊर्जा र स्टामिनाको कमीलाई रोक्छ । यसमा भिटामिन र मिनरलहरू हुन्छन् जसले तौललाई स्वस्थ राख्छ । तौल घटाउनका लागि यसलाई मनतातो पानीसँग पिउनुहोस् र तौल बढाउनका लागि दूधसँग प्रयोग गर्नुहोस् ।