एनपीएलमा खाजा व्यापार, साना व्यवसायीलाई बहार

काठमाडौं । काठमाडौंका सानुराजा मर्हजनको दैनिकी सधै एकनासले बित्दैन । कहिले पठाओ चलाउने, कहिले आफ्नो घरकै काम गने त कहिल्यै ज्याला मजदुरी । यसैगरी बित्छ उनको दैनिकी । १० दिन भयो, आजभोलि उनको दैनिकी एकैनासले बितिरहेको छ । अहिले उनी बिहानै उठेर कीर्तिपुरको क्रिकेट मैदान पुग्छन् । जहाँ अहिले नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको छ । उनी बिहानदेखि साँझसम्म विभिन्न थरिका खानेकुरा पकाएर बेच्ने गर्छन् । जसबाट उनी धेरथोर आम्दानी पनि गरिरहेका छन् । पैसा कमाउन जे भेटियो त्यो काम गर्न तयार उनले एक समय होटलमा पनि काम गरेका थिए । उनलाई चाउमिन मःम मिठो पकाउन आउँछ । अहिले त्यही सीप उनी प्रयोग गरिरहेका छन् । यही सीपले उनी अहिले दिनमै ३० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । यो काममा उनी एक्ला भने हैनन् । उनीसँग अन्य तीनजना साथी पनि छन् । चार जना मिलेरै मम पकाएर बिक्री गरिरहेका छन् । मंगलबार टियू क्रिकेट मैदान पुगेका विकासन्युज प्रतिनिधिसँग कुरा गर्दै उनले भने,‘ साथीहरू मिलेर खानेकुरा बनाइ बेचिरहेका छौँ, सोचे भन्दा राम्रो कमाइ भइरहेको छ ।’ सानुराजाका अन्य साथीहरू पनि उनी जस्तै पठाओ चलाउने काम गर्छन् । काठमाडौंमा नेपाल प्रिमियर लिग हुने थाहा पाएपछि उनले साथीहरूसँग केही व्यवसाय गर्नुपर्छ भन्ने सल्लाह गरेका थिए । साथीहरू पनि उनको सल्लाहमा सहमत भए । उनीहरू अहिले बिहानको लागि चिया, चना अण्डा, चप पकाउँछन् भने दिउँसोको लागि मःम पकाएर बेच्ने गर्छन् । आफ्नो योजना र साथीहरूको सहयोगले सोचेभन्दा राम्रो कमाइरहेका उनी दैनिक डेढ देखि २ सय प्लेट मम, दुईदेखि तीन केजी चना, पाँच केजी चप, दुई क्रेट अण्डा कम्तिमा बिक्री भइरहेको बताउँछन् । ‘बिहान ५ बजेदेखि फ्रेस बनाएर बेचिरहेका छौँ, खटाइ पनि राम्रै छ कमाइ पनि राम्रै भइरहेको छ,’ उनी भन्छन्, मैदान बाहिर खानेकुरा बेच्नेहरूको लागि व्यवस्थित तरिकाले राखिदिएको भए यो भन्दा पनि राम्रो हुने थियो ।’ बाहिर पसल राखेको ठाउँमा पुरै धुलैधुलो छ । धेरै मान्छे हिँड्ने बित्तिकै धुलो उड्छ । क्यानले हाम्रा लागि भएपनि केही व्यवस्था गरेको भए राम्रो हुने थियो, हामीले यो कुरा राखेपनि उनीहरूले सुनेनन् ।’ उनीहरूले मेला भनेर चर्को मूल्य पनि तोकेका छैनन् । ‘सामान्य बाहिर जतिमा खानेकुरा पाइन्छ, त्यहाँ पनि त्यही मुल्यमा बेचेका छौँ, त्यही भएर पनि होला धेरैजना आउनुहुन्छ खानुहुन्छ । पाइन्थ्यो त्यही मुल्यमा बेचिरहेका छन् । पहिलो दिन आएका ग्राहक अहिलेसम्म आइरहनुभएको छ,’ उनी भन्छन्, ‘सस्तो र मिठो भएरै होला, हामी कहाँ मम खानेहरुको भिड लाग्छ ।’ यो मेलामा भएको व्यपारबाट हौसिएका सानुराजा र उनका साथीहरू अब पनि यस्ता मेला पर्वमा व्यापार गर्ने सोच बनाएको बताउँछन् । काभ्रेका प्रविन जोशी अहिले स्टिकर बेचेरै दैनिक १ हजारदेखि १५ सय कमाइरहेका छन् । हरेक दिन जुन टोलीको प्रतिस्पर्धा हुन्छ तिनै टोलीको स्टिकर छापेर ल्याउने र बेच्ने गर्दा खर्च कटाएर दिनमा १५ सयदेखि २ हजार रुपैयाँ कमाइ हुने गरेको उनी बताउँछन् । चावहिलमा स्टिकर बनाएन लगाएर खेलमैदानमा आएर बेच्ने गरेको बताउँदै उनले स्टिकर बेचरै राम्रो कमाइरहेको बताए । मंगलबार कर्णालीको र पोखराको स्टिकर बढी बिक्री भएको उनले बताए । ‘समर्थकहरू आउँछन्, आफ्नो मन परेको टोलीको स्टिकर किन्छन् कोही निधार गाला जता सहज लाग्यो उतै छाप्छन्,’ उनी भन्छन्, ‘५० रुपैयाँ तीनवटा स्टिकरका दरले बेच्दा पनि राम्रो कमाइ हुँदो रहेछ ।’ बैतडीका हरिस सिंह महराले क्रिकेट मैदान बाहिर खुद्रा पसल राखेका छन् । सँगै उनले बैतडीबाट ल्याएको ओखर, बदाम सुन्तला पनि राखेका छन् । काठमाडौंमा कोरियन भाषाको तयारी गरिरहेका उनले केही समयको लागि खर्च जुटाउन पसल राखेको बताए । किक्रेट सुरु हुन लागेको थाहा पाएपछि खाली समय त्यत्तिकै बस्नुभन्दा अलिकति भएपनि कोठाभाडा आउला भन्ने आशामा सामान बेच्न सुरु गरेको उनको भनाइ छ । अहिले उनी बिहान १ घण्टा भाषा सिक्ने र बाँकी समय सामान ल्याएर क्रकेट मैदानमा पुग्छन् । खुद्रा सामान, सुन्तला बदाम बेचेर अहिले उनी दैनिक २ हजारदेखि तीन हजार रुपैयाँसम्म कमाइ रहेका छन् । उनी शनिबार राम्रो कमाइ हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘यहाँ खेल हेर्न आउने भनेको धेरै जसो विद्यार्थी हुन्, अन्य दिनमा उनीहरूको बिदा हुँदैन शनिबार राम्रो कमाइ हुन्छ, दिनमा ६ हजारसम्म पनि कमाइ गरेँ ।’ हरिष यसअघि शसस्त्र प्रहरीमा आवद्ध थिए । उनी केही वर्ष मलेसिया र दुवईमा काम गरेर पनि फर्किए । ‘नेपालमा पनि राम्रो रोजगारी छैन, खाडीमा पनि राम्रो कमाइ हुँदैन,’ उनी भन्छन्, अब अलि कमाइ हुने देशतिर जाऔं कि भनेर कोरियान भाषा सिकिरहेको छुँ ।’ त्रिवि किक्रेट मैदान बाहिरको दृश्य आजभोलि हेर्न लायक छ । कोही खेल खेलिरहेका, कोही हेरिरहेका, कोही हुटिङ गरिरहेका सबै आ–आफ्नै तालमा देखिन्छन् । अझ बढी हेर्न लयाक त बाहिर व्यापार गरिरहेकाहरूको दृश्य छ । हिँडिरहेकाहरूलाई बोलाउँदै सामान बेच्नेहरू उत्तिकै कराइरहेको पाइन्छ । कोही पानी बेच्दै, कोही बदाम बेच्दै, कोही पानीपुरी चटपटे त कोही मःम, चाउमिन बेच्नेहरूको भीड पनि उत्तिकै छ । क्रिकेट सुरु भएदेखि अन्य समयमा दिनभर ५ सयको व्यापार गर्नेहरू अहिले २ हजार रुपैयाँदेखि तीन हजारसम्मको सामान बेच्छन् । अझ धेरैजसोले त खेलको समयसम्मका लागि मात्र व्यापार राखेका छन् । अधिकांशले यो बेला व्यापार हुन सक्ने मौका छौप्दै व्यापार सुरु गरेको बताएका छन् । कञ्चनपुरका सूर्यबहादुर बुढाले यही मौका छोपेर स्टल राखेर व्यापार गरिरहेका छन् । उनी अहिले चिकेन रोल चिया बेचिरहेका छन् । उनले खर्च कटाएर दैनिक २ हजार रुपैयाँको चिया बिक्री गर्ने गरेका छन् । बच्चा बिरामी भएर उपचार गराउन काठमाडौँ आएका उनी १ वर्षदेखि कीर्तिपुर पाँगामा बस्दै आएका छन् । १० महिनाजति त्रिवि शिक्षण अस्पतालमा राखेर बच्चालाई उपचार गराएका उनीसँग आर्थिक समस्या सुरु भयो । उनी यहाँ बस्दा धेरै ठाउँमा काम खोजे तर भेटेनन् । परिवारसहित बस्नुपर्ने बाध्यता हुँदा उनलाई असहज हुन थाल्यो । उनले यही क्रममा विदेशको भिसा लगाएपनि थर लागेन । उनले त्रिवि क्रिकेट मैदानमा एनपीएल सुरु हुन लागेको थाहा पाए । त्यसपछि उनले निर्णय गरे अब यहाँ केही गर्नुपर्छ । सूर्यले केही समय भारतमा पनि रोल बनाउने काम गरेकाले यहाँ पनि यही बनाएर बेच्ने योजना बनाए । ‘हातमा सिप पनि थियो आवश्यकता पनि प¥यो अहिले यही काम गरिरहेको छु’ विकासन्यूजसँग कुरा गर्दै उनले भने, ‘केही दिनको लागि पनि राम्रै भइरहेको छ, दैनिक दुई हजारको चिया बचे पनि खर्च टर्छ ।’ थर्मसमा बोकेको चियाबाटै कमाइ उदयपुरका जोन मगर थर्मसमा चिया बोक्दै हिँडछन् । १ वर्षदेखि बिहान÷साँझ उनको दैनिकी यसै गरी चल्छ । परिवारसँगै बल्खुमा बस्दै आएका उनी बल्खुको तरकारी बजारमा चिया बोकेर घुम्छन् । केही दिनदेखि भने उनी बल्खु भन्दा कीर्तिपुरमा चिया बोकेर हिँड्न सुरु गरेका छन् । उनी अहिले दैनिक १ हजारभन्दा बढी पैसा चिया बिक्री गरेरै कमाउँछन् । ‘दुःख पनि उति नै हुन्छ, मान्छेलाई चिया खानुहुन्छ भन्दै सोध्दै हिँड्नुपर्छ, कोही खानुहुन्छ, कोही खाँदैन भन्नुहुन्छ,’ उनी भन्छन्, ‘आफैं चिया पकाउँछु, थर्मसमा हाल्छु, यसरी नै डुल्छु, कहिले व्यापार हुन्छ, कहिले हुँदैन यस्तै त हो ।’ एउटा थर्मसमा १५ कप चिया जान्छ, उनी एकै पटक दुईवटा थर्मस बोकेर हिँड्छन् । जोनको दाई विदेश गएका छन् । ‘दाइ विदेश जाँदा लागेको ऋण छ । साहुहरू माग्न घरमै आउँछन्, धेरथोर भएपनि ऋण तिरेको छुँ,’ उनी भन्छन्, यही हो दुःख सुख गरिरहेको छु, अहिलेको जस्तै व्यापार दिनहुँ भइदिए सहजै हुन्थ्यो ।’

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै, योग्यता पुगेको व्यक्ति नभेटिएपछि पुरस्कार नबाँड्ने

काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ  मनाइँदैछ । हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ । ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आइएको हो । यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ । मानव अधिकारका क्षेत्रमा कटिबद्ध भएर लाग्नुभएका व्यक्ति वा संस्थाहरूको अनुरोधमा वार्षिक रूपमा प्रदान गरिँदै आएको पुरस्कारको राशिमा वृद्धि गर्न आवश्यक अध्ययन सुरु गरिएको मन्त्रालयले जनाएको छ । आवश्यक अध्ययन र तयारी गरेर पुरस्कारको व्यवस्थालाई नियमित गर्ने विश्वास मन्त्रालयले दिलाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कोमलबहादुर खत्रीले जानकारी दिए ।

आज चितवन राइनोज र लुम्बिनी लायन्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ हुने छ । चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो । यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो । कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो । आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो । एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । यसले चार खेलबाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो । काठमाडौं गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो । दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौँ तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो । विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको थियो । पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुुई विकेटले पराजित गरेको थियो । चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो ।