इलाममा किवी उत्पादन बढ्यो

इलाम । सन्दकपुर गाउँपालिका–३ का तारामणि सापकोटाले ४० रोपनी क्षेत्रमा किवीखेती गर्दै आएका छन् । किसान खतिवडाले सुरुमा लगानी धेरै भए पनि दिगो फाइदा लिन सकिने र बजार अभाव नहुने भएकाले किवीखेतीमा लागेको बताए । ‘किवीमा लगानी गर्दा फाइदा हुने बुझेपछि घरमै विरुवा उत्पादन गरी किवीखेती सुरु गरेको हुँ,’ उनले भने । सोही वडाका अर्का किसान देवेन्द्र सुवेदीले अलैँची उत्पादन हुने पाँच रोपनी क्षेत्रमा किवीखेती गरेका छन् । ‘अलैँचीको विकल्पका रुपमा किवीखेती विस्तार गरेको छु,’ उनले भने, ‘अलैँचीमा विभिन्न रोग लाग्ने र मूल्यमा उतारचढाव हुन थालेपछि विकल्पमा किवीखेती गरेको हुँ ।’ किवी प्रतिकिलो १ सयदेखि २ सय ५० रुपैयाँसम्म बिक्री हुने गरेको सन्दकपुर गाउँपालिका–५ जमुनाका किसान युवराज भट्टराईले बताए । ‘यहाँ उत्पादन गरिएको किवी बेच्नका लागि बजारको समस्या छैन । व्यापारीहरूले बगानबाटै ग्रेडिङ गरी प्रतिकिलो ७० देखि १ सय रुपैयाँसम्ममा खरिद गर्दछन्,’ उनले भने ‘बजार पुर्‍याउन सकियो भने प्रतिकिलो २ सय ५० रुपैयाँसम्ममा सजिलै बिक्री हुन्छ ।’ जिल्लामा किवी खेती गरिरहेका सापकोटा र सुवेदी प्रतिनिधि पात्र मात्र हुन् । किवी खेतीमा उनीहरू जस्तै किसानहरुको आकर्षण बढेपछि किवी उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ३२ दशमलव पाँच प्रतिशतले किवी उत्पादन बढेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार सात सय ७८ दशमलव आठ मेट्रिक टन किवी उत्पादन भएको छ । यस वर्ष आठ सय ९० हेक्टर क्षेत्रमा किवी खेती गरिएको छ । अघिल्लो आव ०७९÷८० मा सात सय असी हेक्टर क्षेत्रमा किवी खेती गरिएकोमा दुई हजार आठ सय ५२ मेट्रिक टन किवी उत्पादन भएको थियो । किसानले करेसाबारीमा समेत किवी खेती गर्न थालेपछि उत्पादन वृद्धि भएको हो । गत आवमा उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ६५ थियो । चालु आवमा बढेर प्रतिहेक्टर चार दशमलव २५ पुगेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा छ । एक बोटमा दुई सय किलोसम्म उत्पादन हुने किवी मकैबारी, चियाबारी र अलैँचीसमेत मासेर रोप्न थालिएको छ । रोपेको ३ वर्षदेखि उत्पादन दिने किवीले लगातार ५० वर्षसम्म उत्पादन दिने किसानको भनाइ छ । जिल्लाको इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाको माथिल्लो क्षेत्रमा व्यावसायिक किवी खेती हुँदै आएको छ ।

लघुवित्त पीडितसँगको वार्ता सहमति नजिक, आज फेरि बस्ने

काठमाडौं । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरूसँग बिहीबार साँझ छलफल गरेको र शुक्रबार बिहान पुनः बस्नेगरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ । ‘आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिले उठाएका मागहरूका सम्बन्धमा छलफल भएको छ । पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफल पछि दुवैपक्ष सहमति नजिक पुगेका छन्,’ अर्थमन्त्रीको निजी सचिवालयले भनेको छ । मन्त्रालयद्वारा गठित वार्ता समितिले आज नै सहमतिका लागि प्रयास गरेको भए पनि लघुवित्त पीडितहरूले भोलिसम्मको समय मागेपछि बिहीबारको छलफल सकिएको हो । द्विपक्षीय छलफलमा लघुवित्त पीडितका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकबाट भएको प्रयास बारे जानकारी गराइएको थियो । त्यस्तै, राष्ट्र बैंकको नियमनभित्र रहेका लघुवित्त संस्थाहरुले तोकिएको भन्दा बढी ब्याज र सेवाशूल्क नपाउने व्यवस्था कडाईका साथ लागु भइरहेको जानकारी पनि राष्ट्र बैंकले गराएको छ । कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरणलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । नियामक नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तिय संस्थाहरूमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पीडितहरूले उठाउँदै आएका छन् । सरकारबाट गठित वार्ता समितिमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं र नेपाल राष्ट्र बैंकका प्रतिनिधि थिए । अर्थमन्त्री वर्षमान पुनले बुधबार संघर्ष समितिसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । त्यसैगरी, मन्त्रालयले यसअघि नै समस्याको टुङ्गो नलाग्दासम्म लघुवित्तका ऋणिलाई घरघरमा गएर गैरकानूनी रूपमा बलजफ्ती नगर्न लघुवित्त सञ्चालकलाई निर्देशन पनि दिएको थियो । (((

चलचित्र समाजलाई रूपान्तरण गर्ने सशक्त र प्रभावशाली माध्यम हो : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको बताएकी छिन् । बिहीबारदेखि सुन्धारास्थित सिभिल मलमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सातौं संस्करणको उद्घाटन समारोहमा मन्त्री शर्माले यस्ता महोत्सवले संस्कृतिसँगै चलचित्रकर्मीको विचारलाई आदानप्रदान गर्ने बताइन् । ‘चलचित्र मनोरञ्जन मात्र नभई समाजलाई रूपान्तरण गर्ने सशक्त र प्रभावशाली आमसञ्चारको माध्यम हो । यसले पार्ने प्रभाव र दिने सन्देशका विषयमा हामी ज्ञात हुनुपर्छ,’ उनले भनिन्, ‘सिङ्गो नेपाली चलचित्रकर्मी हाम्रा लागि खुला स्टुडियो हुन् । हिमाल, पहाड र तराईका सुन्दरतासँगै कला र संस्कृतिको विविधताले चलचित्रलाई झन् सुन्दर बनाउँछ ।’ मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बजेटका सन्दर्भमा छलफलको प्रक्रियामा रहेकाले आवश्यक कार्यक्रमका लागि चलचित्र विकास बोर्डलाई आफ्नो योजनामा राखेर ल्याउन आग्रह गरिन् । उनले चलचित्रसम्बन्धी ऐन बन्ने प्रक्रियामा रहेको भन्दै सुझाव प्राप्त भइरहेकाले विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । ‘अहिले २०२६ सालको ऐनमा नै चलचित्र क्षेत्र सञ्चालित रहेकामा ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन’ प्रस्ताव गरिएको छ,’ मन्त्री शर्माले भनिन्, ‘यसका लागि आवश्यक सुझाव, विद्यमान समस्यालगायत सुझावसहित योजना ल्याउन सरकारकातर्फबाट आग्रह गर्दछु ।’ यही चैत ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएर प्रदर्शन गरिने चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं महोत्सव आयोजकका अध्यक्ष केपी पाठकले जानकारी दिइन् । ‘कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित चलचित्र महोत्सवमा समावेश हुनु सुखद पक्ष हो । हामी यसलाई अझै भव्य बनाउन अग्रसर छौँ । यसले विश्वभरका चलचित्रकर्मीलाई एकैस्थानमा छलफल र सहकार्य गर्ने वातावरण बनाएको छ ।’ महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी आवश्यक नीति नहुँदा चाहेर पनि यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्न बोर्ड अगाडि बढ्न नसकेको बताए । कार्यक्रममा निर्देशक प्रकाशबहादुर बस्नेत, अभिनेता मदनकृष्ण श्रेष्ठ, नीर शाह, अभिनेत्री चैत्य देवी, दीया मास्केलगायत उपस्थित थिए । महोत्सवमा चलचित्र प्रदर्शनसँगै निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।