पतञ्जलिलाई जग्गा दिएर पछुताएका छन् बनेपाका स्थानीय

काभ्रे । १५ वर्षअघि बनेपा नगरपालिका- १४ साविकको काभ्रेपलाञ्चोक जिल्लाको नासिकबासथान (साँगा) र महेन्द्रज्योति गाविस तथा चलाल गणेश स्थान (अहिलेको बनेपा नगरपालिका)मा पर्ने गाउँका अधिकांश घरधुरीले आफूले भोगचल गर्दै आएको जग्गा खुसीसाथ पतञ्जलिलाई बेचे ।  कोहीले उधारोमा बेचे त कोही बिचौलियाको फन्दामा परे । केही घरधुरीले अहिलेसम्म पनि आफ्नो जग्गाको रकम पाएका छैनन् । पाए पनि जग्गाको २५ प्रतिशत रकम मात्रै। यी मध्येका एक हुन् शुक्रराम तामाङ ।  शुक्ररामका बुवा रामकृष्णले जग्गा बेचेका हुन् । दोस्रो चरणको जग्गा बिक्री गर्दा रामकृष्णले पहिलो किस्तामा आफूले ७० हजार रोपनीका दरले बेचेको जग्गाको रकम माग्दा उल्टै कुटाइ खाए । शुक्ररामका अनुसार पूर्ववडाध्यक्ष रामहरि श्रेष्ठलगायतका व्यक्तिले रामकृष्णलाई जुत्ता फुकालेर कुटेका थिए ।  अहिले उक्त जग्गाको मूल्य करोडौं पर्छ । तर जसको जमिन थियो, उसले न पैसा पायो, न उनीहरूका सपना पूरा भए ।  शुक्रराम भन्छन्, ‘हामीले १४ रोपनीमा ३ लाख पायौं, त्यो पनि अपमानसँगै । आफ्नो जग्गाको पैसा माग्दा मेरा बुवाले जुत्ताले कुटाइ खानु पर्यो । अब न फिर्ता पाउने आश छ, न न्याय ।’ स्थानीय कमला खत्री भने जुन सपना देखाएर जग्गा खरिद गरिएको थियो त्यस्तो नभएकोमा दुःखी छिन् । भन्छिन्, ‘मेडिकल कलेज बनाउँछु, फुटबल खेल्ने ग्राउन्ड बनाउँछु भनेको थियो सुरुमा तर गर्न सकेनन् । हामीसँग जग्गा किनेर कता हाउजिङलाई बेचेको रे भनेको सुनेको हो । हामीलाई सपनामात्रै देखाइयो ।’ अर्का स्थानीय हरिप्रसाद तिल्मिसनाको पनि उस्तै गुनासो छ । पतञ्जलिले आफूहरूसँग जग्गा किनेर फटाइँ गरी फरार भएको उनको आरोप छ ।  ‘मैले पतञ्जलिका लागि ४ रोपनी ४ आना बेचेको हो । मैले मालपोतमा जग्गा पास गर्ने बेला पनि पतञ्जलिलाई नै भनेर पास गरेको हो । पछि पो पतञ्जलि योगपीठ नै आउने भनेर यहाँ गाईपालन, आयुर्वेदिक औषधालय, विद्यालय हुन्छ भन्या थियो । हरिद्वार जस्तै बनाइन्छ भने तर केही पनि हुन सकेन ।’ पतञ्जलिलाई रोपनीको ८० हजारका दरले २५ रोपनी बेचेकी अर्की स्थानीय अम्बिका राउत पनि अहिले पछुताइरहेकी छन् । विभिन्न सपना बाँडेर जग्गा खरिद गरेको पतञ्जलिले आफूहरूलाई धोका दिएको स्थानीयको आरोप छ ।  यस्तो छ घटनाको नालीबेली  २०६४ पुसमा कम्पनी रजिष्टार कार्यालयमा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी दर्ता भयो । जुन नाफाभन्दा पनि सेवाका रूपमा दर्ता गरिएको कम्पनी थियो । त्यसपछि दर्ता भएको २ वर्षपछि २०६६ माघमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलिलाई स्वीकृति दियो । जबकि त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनिसकेको थियो । भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर जुन प्रयोजनका लागि त्यो सुविधामा खरिद गरेको जग्गा भने बिक्री गर्न पाइँदैन । २०६६ फागुनमा पतञ्जलिका नेपाल प्रमुख शालीग्राम सिंहले हदबन्दी छुटको जग्गा बेच्न पाऊँ भनी स्वीकृति माग्दै तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई निवेदन दिए ।  त्यसपछि सोही वर्षको चैतमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार भन्दै मन्त्री श्रेष्ठले पतञ्जलिले हदबन्दी छुटको जग्गा बेच्न पाउने प्रस्तावसहित मन्त्रिपरिषद्मा फाइल  पुग्यो । फाइल पुगेको ३ दिनपछि अर्थात चैत ६ गते पतञ्जलिले हदबन्दी छुटको  जग्गा बेच्न पाउने मन्त्रिपरिषदबाट निर्णय भयो ।  चैत १७ गते मन्त्रिपरिषद्को सोही निर्णय गैरकानुनी भन्दै भूमिसुधार विभागका महानिर्देशक केशरबहादुर बानियाँले कार्यान्वयन गर्न नसकिने जवाफ दिई भूमिसुधार मन्त्रालयलाई पत्र पठाए । त्यसको भोलिपल्ट चैत १८ गते तत्कालीन प्रधानमन्त्री नेपालले पतञ्जलिले धुलिखेलमा ८८ रोपनी जग्गा किनेर त्यसमा बनाउन लागेको संरचनाको शिलान्यास गरे ।  चैत २६ गते हदबन्दी छुट जग्गा बिक्री गर्ने स्वीकृतिलाई चुनौती दिएको भन्दै मन्त्रिपरिषदले महानिर्देशक बानियाँलाई स्पष्टीकरण सोध्ने निर्णय गर्यो । र त्यसको भोलिपल्टै बानियाँलाई हटाएर मन्त्रालयका सहसचिव जितबहादुर थापालाई विभागको महानिर्देशकको जिम्मेवारी दिइयो ।  जिम्मेवारी सम्हालेकै दिन थापाले हदबन्दी छुट जग्गा बिक्रीका लागि स्वीकृति दिन मालपोत कार्यालय, काभ्रेलाई पत्र पठाए । २०६७ असार ११ गते पतञ्जलिले काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई ३५३ रोपनी १५ आना जग्गा बिक्री गर्यो । त्यसको १४ वर्षपछि अर्थात २०८१ साउनदेखि चैतमा हदबन्दी छुट जग्गा किनबेच निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री नेपाललगायतसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लियो ।  उक्त बयान लिएको एक वर्षपछि गत जेठ २२ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा  दायर भएको छ।  अख्तियारको आरोपपत्र अनुसार पतञ्जलिले नेपालले माघ, २०६६ अघि नै काभ्रेका तीन गाविसमा ५ सय ५७ रोपनी जग्गा खरिद गरिसकेको थियो । कतिपय विवरणमा भने ५ सय ५५ रोपनी भन्ने उल्लेख छ । पतञ्जलिले निवेदनमा काभ्रेलगायत देशभरका एक दर्जनजति जिल्लामा २ हजारदेखि २५ सय रोपनी जग्गा आवश्यक पर्ने र त्यसका लागि एक वर्ष लाग्ने भनेको थियो । २०२१ सालमा भूमिसम्बन्धी ऐन जग्गाको हदबन्दीको अवधारणा कार्यान्वयनमा आएको हो । त्यो व्यवस्था अनुसार भित्री मधेश र तराईमा ११ विगाहा, काठमाडौं उपत्यकामा ३० रोपनी र उपत्यका बाहेकका पहाडी क्षेत्रमा ७५ रोपनी जग्गा मात्रै राख्न पाइन्छ । सीमित परिवारले असीमित जग्गा कब्जा गरेर नागरिकहरू भूमिहिन हुन नपरोस् भन्ने अवधारणा कार्यान्वयन गर्न यस्तो व्यवस्था गरिएको हो । जडीबुटी कारखाना र आयुर्वेद अनुसन्धान केन्द्र खोल्ने भनेको पतञ्जलिलाई ७५ रोपनी जग्गाले मात्रै पुग्ने थिएन । त्यसैले उसले ‘हदबन्दी छुट’को जग्गा राख्न पाउन आवेदन दिएको हो । तर, पतञ्जलिका सञ्चालकले त्यसक्रममा बदमासी गरेको र सरकारबाट अनुमति पाउनुअघि नै हदबन्दीभन्दा बढीको जग्गा किनेर राखेको अख्तियारको आरोप हो। २०६२ सालमा नै सरकारले ‘हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने कार्यनीति २०६२’ जारी गरेको थियो ।  त्यतिबेलाको कार्यविधिअनुसार ठूलो प्रकृतिको उद्योगलाई पनि ४ सय रोपनी जग्गा मात्रै छुट दिन पाइने व्यवस्था थियो । तर पतञ्जलिले मागेको ७०० रोपनीको छुट दिन नसकिने भनी मालपोत कार्यालय, काभ्रेले भूमिसुधार विभागमा पत्र पठायो । फाइल तहगत हुँदै मन्त्रिपरिषदमा पुग्यो । जग्गा राख्ने सुविधा पाउनासाथ जग्गा बेच्ने प्रयास थालेका शालीग्राम सिंहले बैशाख, २०६७ मा कम्पनीको प्रबन्धपत्र परिमार्जन गरी जग्गा खरिद र बिक्री गर्न पाउने व्यवस्था थपेका थिए । सरकारले पतञ्जलिलाई जग्गा बेच्दा प्राप्त हुने सबै रकम अर्को ठाउँमा जग्गा किन्न प्रयोग हुनुपर्ने शर्त तोकेको थियो । विवरणअनुसार जग्गा बेचेर ४ करोड २२ लाख रुपैयाँ पाएको पतञ्जलिले एक करोड ७ लाख रुपैयाँ मात्रै अन्यत्र जग्गा खरिद गर्न खर्चेको थियो । पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएसँगै उनको सांसद पदसमेत निलम्बन भइसकेको छ । यो प्रकरणले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । ओली सरकारले नेपालमाथि प्रतिशोध साँधेको सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ ।  पतञ्जलिलाई जग्गा बेच्दा बिचौलियाको फन्दामा परे रामकृष्ण, पैसा माग्दा उल्टै कुटिए

पतञ्जलिलाई जग्गा बेच्दा बिचौलियाको फन्दामा परे रामकृष्ण, पैसा माग्दा उल्टै कुटिए

काभ्रे । २०६४ सालतिर शुक्रराम तामाङका बुवा रामकृष्ण तामाङले आफ्नो १४ रोपनी पुर्ख्यौली जग्गा बेचे । गाउँमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फर्म सञ्चालन हुने र त्यहाँ जागिर पाइने आशामा उनले जग्गा बिक्री गरेका हुन् ।  रामकृष्णको मात्रै नभई सिंगो गाउँको जग्गा नै खरिद गर्दै थियो- भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले ।  जग्गा हेरेर कुनै ६० हजार रोपनी त केही ७० हजार रोपनीका दरले सयौंको रोपनीमा कम्पनीले जग्गा किन्यो । रामकृष्णले पनि गाउँमै रोजगारी पाइने स्वास्थ्य उपचार हुने जस्ता सपनासँगै २ चरणमा जग्गा बेचे । पहिलो पटक नै उनको जग्गा पतञ्जलि कम्पनीले बिचौलियामार्फत उधारोमा किन्यो ।  जग्गा दलाल र बिचौलिया रामकृष्णले चिनेका गाउँकै थिए । दोस्रो चरणको जग्गा बिक्री गर्दा रामकृष्णले पहिलो किस्तामा आफूले ७० हजार रोपनीका दरले बेचेको जग्गाको रकम माग्दा उल्टै कुटाइ खाए । छोरा शुक्ररामका अनुसार पूर्ववडाध्यक्ष रामहरि श्रेष्ठलगायतका व्यक्तिले रामकृष्णलाई जुत्ता फुकालेर कुटेका थिए ।  रामकृष्ण सोझा स्वभावका थिए, अलि-अलि रक्सी पनि खान्थे । जसले जे भन्यो त्यही मान्ने हुँदा फाइदा अरूले उठाए । शुक्रराज भन्छन् , ‘बुवा त अब हामीमाझ हुनुहुन्न तर सोझोको फाइदा उठाएर यत्रो गाउँमा हामीलाई मात्र पैसा दिइएन । अरू त सबैले उतिबेला जतिमा बेच्नु भयो त्यति नै पाउनु भयो । हामीले मात्र पाएनौं ।’  रोपनीको ७० हजारमा किनबेच भएको जग्गा १४ रोपनीको ८ लाख ४० हजार रकम हुन आउँछ । तर तीन लाख मात्रै पाएका शुक्रराम बताउँछन् । भन्छन्, ‘म त काठमाडौंमै थिएँ, ६-७ महिनापछि थाहा पाएँ कि बुबाले जग्गा बेच्नुभयो । पछि यस्तो भयो भनेर मुद्दा हाल्न सीडीओ अफिस धुलिखेल पनि गयौं, तर प्रमाण छैन भन्दै फर्काइदियो । यसरी खाएको त के पो प्रमाण हुँदो रहेछ र ?’ अहिले शुक्ररामलाई मात्रै होइन, सिंगो गाउँलाई नै त्यतिबेला पतञ्जलि कम्पनीलाई जग्गा बिक्री गरेकोमा पछुतो छ । पतञ्जलि कम्पनीले आफूहरूलाई सपना देखाएर धोका दिएको उनीहरूको भनाइ छ ।  स्थानीयले जग्गा बेचेको केही महिनामै काष्ठमण्डप हाउजिङ कम्पनीले डोजर लगाएर जमिन खन्न थालेपछि तलको बस्ती जोखिममा पर्‍यो । खेती गर्ने जमिन भासिन थाल्यो । गाउँलेको देउता थानसमेत भत्काइयो ।  ‘पतञ्जलिले हामीसँग न कुरा गर्‍यो, न क्षतिपूर्ति दियो । बिचौलियामार्फत जग्गा किन्यो अनि बेचिदियो । डोजर लगाएर गाउँ नै अहिले जोखिममा छ । यतापट्टिको पाखातिर त पानी पर्दा त्यहाँ  नगए पनि हुन्छ,’ उनले बस्तीमाथि तिर देखाउँदै भने, ‘पहिरो पो आउँछ त । पहिले केही हुँदैनथ्यो ।’ आज त्यो जग्गा करोडौंको मूल्यमा पुगेको छ । तर जसको जमिन थियो, उसले न पैसा पायो, न उनीहरूका सपना पूरा भए । शुक्रराम भन्छन्, ‘हामीले १४ रोपनीमा ३ लाख पायौं, त्यो पनि अपमानसँगै । आफ्नो जग्गाको पैसा माग्दा मेरा बुवाले जुत्ताले कुटाइ खानुपर्‍यो । अब न फिर्ता पाउने आश छ, न त न्याय नै ।’ पतञ्जलिले किन्यो, काष्ठमण्डपलाई बेच्यो २०६४ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फार्म सञ्चालनका लागि भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमा पतञ्जलि योगपीठ नेपाल दर्ता भएको थियो ।  त्यसपछि २०६६ सालमा यहाँका स्थानीयसँग पतञ्जली नेपालले यहाँको नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेशस्थान क्षेत्रमा गरी ५ सय ९३ रोपनी ५ आना ३ पैसा किन्यो र त्यसको केही महिनामै ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई ११ असार ०६७ मा पतञ्जलिका तत्कालीन प्रमुख शालिग्राम सिंहले बेचेका थिए । गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।  उद्योग र शैक्षिक प्रतिष्ठान सञ्चालनका लागि हदबन्दी छुटमा लिएको जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई ठूलो रकम हानिनोक्सानी पुर्‍याएको पाएपछि अख्तियार मुद्दा चलाउने निष्कर्षमा पुगेको हो । भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग  वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर जुन प्रयोजनका लागि त्यसरी सुविधामा खरिद गरेको जग्गा भने बिक्री गर्न पाइँदैन। बहुदलीय व्यवस्थापछि प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो । यो विषयले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । कतिपयले पूर्वप्रधानमन्त्री नेपालमाथि मुद्दा लाग्नु ओली सरकारले प्रतिशोध साँधेको पनि भनिरहेका छन् । मुद्दा दर्ता भएसँगै नेपालको सांसद पदसमेत निलम्बन भएको छ ।

कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

काठमाडौं । मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । महाशाखाका मौसमविद् गोविन्द झाले भने, 'मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।' मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । धरान­धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि वर्षा भएको छैन ।  त्यसो त पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । मौसमविद् झा पश्चिमी वायु अझै बलियो रहेकाले मनसुन आउन नपाएको बताउँछन् । नेपालमा बङ्गालको खाडीको जलवाष्प बोकेर मनसुनी वायु आउने गर्छ । तर त्यो कमजोर भएको उनले बताए । जसका कारण हाल देशभर तापक्रम वृद्धि भइरहेको छ । मौसमविद्का अनुसार यसरी मनसुन ‘ब्रेक’ हुनु राम्रो सङ्केत होइन । यसले कतै धेरै वर्षा गराउने र कतै खडेरी पार्ने हुनसक्छ ।  भोलिदेखि बदली हुने  मौसमविद् झाले भोलिदेखि नेपालका कतिपय क्षेत्रमा फेरि बदली सुरु हुने बताए । उनका अनुसार अहिले बङ्गालको खाडीमा फेरि अर्को न्यून चापीय प्रणाली बनेको छ।  भारतको मध्यभूभागमा पनि न्यून चापीय क्षेत्र बन्दै गएको उनले बताए । जसको असर नेपालमा आइपुग्ने छ र वर्षा गराउने छ । यस वर्ष जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने र गर्मी पनि बढी हुने आँकलन सार्वजनिक गरिसकेको छ । जसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना लागू गरिसकेको छ ।  प्राधिकरणका प्रवक्ता रामबहादु केसीले करिब २० लाख मानिस प्रभावित हुने र त्यसको १० प्रतिशतलाई राहत तथा उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमानसहित तयारी गरिरहेको बताए ।