नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली निर्वाचित

काठमाडौं । नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा फर्सु ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवाली यही असोज २९ देखि मङ्सिर एक गतेसम्म चलेको नवौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले ज्ञवालीलाई आगामी तीन वर्षको लागि निर्वाचित गरेको हो । त्यस्तै, स्थायी समिति सदस्य वरिष्ठ उपाध्यक्ष मा होमनाथ पोखरेल, उपाध्यक्षमा शिशिर ज्ञवाली र गुरुशरण शाह निर्वाचित भएका छन् भने महिलातर्फको उपाध्यक्षमा सिर्जना खड्का निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै, महासचिवमा कुमारमान डंगोल, उपमहासचिवमा अमृत ओखेडा, सचिवमा विनय पौडेल र कुशल रूपाखेती निर्वाचित भएका छन् भने महिलातर्फको सचिवमा सरस्वती फुयाँल निर्वाचित भएकी छन् त्यस्तै, कोषाध्यक्षमा कुलचन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन् भने सह कोषाध्यक्षमा मञ्जु गौतम विजयी भएकी छन् । त्यस्तै, सदस्यहरूमा सृष्टि दुलाल, रत्ना केसी, अर्जुन गौतम र प्रकाश अधिकारी विजयी भएका छन् । त्यस्तै, सदस्यहरूमा कृष्ण प्रसाद भुर्तेल, सागर न्यौपाने, सन्तोष खतिवडा, पूर्णबहादुर कार्की, महिला सदस्य कुसुम राना (निर्विरोध), आदिवासी जनजातिमा गोपालकृष्ण लिगल, दिनेश कुमार शाह मधेसबाट र दलितबाट भवानी नेपाली तथा पिछडिएको क्षेत्र अपांगमा रोहित ओली निर्वाचित भएका छन्। तीन चलेको अधिवेशनले लामो समयदेखि अड्किएको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै मङ्सिर १ गतेको चुनावले नयाँ कार्यसमिति चयन गरेको हो । युनियनमा करिब पाँच सय कर्मचारी आबद्ध छन् ।

आनी, राजेश र रोहितले अनावरण गरे लुम्बिनीको जर्सी

काठमाडौं । लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । गायिका आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर अभिनेता राजेश हमाल र राष्ट्रिय सिनियर क्रिकेट टोलीका कप्तान रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन् । लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरी जर्सी डिजाइन गरिएको क्लबको दाबी छ । गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा रहेको छ भने बायाँ भागमा आक्रामक अवतारको सिंहको टाउको प्रतीक छ । भगवान बुद्धको जन्मस्थान लुम्बिनी नेपालको एक पवित्र बौद्ध तीर्थस्थल हुनुको साथै विश्व सम्पदा स्थल पनि हो । विश्वका प्रमुख पवित्र धार्मिक स्थलहरूमध्ये लुम्बिनी एक हो, जसको भ्रमण गर्न बुद्धले आफ्ना अनुयायीहरूलाई सल्लाह दिएका थिए । जर्सी अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी आनी छोइङ डोल्माले भनिन्‌, ‘आज लुम्बिनी लायन्सको जर्सी औपचारिक रूपमा लोकार्पण भएको छ, मलाई एकदमै खुशी लागेको छ । जसरी संसारभरका सबै मानिसहरूको मन मस्तिष्कमा शान्ती फैलाउन भगवान बुद्धको भूमिका रहेको छ, त्यसैगरी लुम्बिनी लायन्सले पनि सबै जनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने कामना गर्दछु ।’ जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्स क्लबका ब्राण्ड एम्बास्डर राजेश हमालले भने, ‘क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रूपमा काम गरेको छ । हरेक वर्ग, उमेर र आस्थाका मानिसहरूलाई क्रिकेटले एकै ठाउँमा ल्याएको छ । लगाव, समूहमा मिलेर काम गर्ने क्षमता र दृढ अठोट – यी कुराहरूले हरेक क्रिकेट खेलाडी र क्रिकेट प्रेमीहरूलाई एकताबद्ध गर्दछन् र मलाई व्यक्तिगत रुपमा पनि यी गुणहरू अति आवश्यक लाग्छन् ।’ उनले लुम्बिनी लायन्सको जर्सी क्लबको पहिचान मात्र नभएर क्रिकेटरहरूको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरूको अटुट साथको प्रतिविम्ब पनि रहेको तर्क गरे । लुम्बिनी लायन्स क्लबमार्फत नेपाल प्रिमियर लिग एवम् समस्त नेपाली क्रिकेटसँग जोडिएर युवा क्रिकेटरहरूको प्रतिभालाई नजिकबाट नियाल्न पाउँदा आफू निकै उत्साहित भएको हमालले बताए । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, ‘आज हामीले लुम्बिनी लायन्सको जर्सी लुम्बिनीबाटै सगौरव सार्वजनिक गरेको छौँ । सम्पूर्ण लुम्बिनीबासीको भावना र लुम्बिनीको ऐतिहासिक तथा साँस्कृतिक महत्त्वलाई समेट्ने गरी हामीले यो जर्सी डिजाइन गरेका छौँ ।’ निलो रङ्गले सम्पूर्ण नेपालको शान्ति र समृद्घिको भावना बोकेको र सुनौलो रङ्गले लुम्बिनीभित्र रहेको अखण्ड दीपको प्रतिनिधित्व गरेको उनले बताए । साथै, सिंहको रङ्ग पनि सुनौलो नै हुने भएकोले सुनमा सुगन्ध छाएको जिसीको दाबी छ ।

शाहको क्रिकेट प्रेम : अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म

काठमाडौं । ‘नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरुको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ,’ गत बिहीबार साँझ अबेरसम्म कार्यालयमा काममा तल्लिन स्वतन्त्र प्रताप शाहले भने । ‘सुदूरपश्चिम रोयल्स’का मालिक समेत रहेका उनको व्यस्तता पनि उसैगरी बढेको छ, जसरी प्रतियोगिताको ‘चार्म’ बढिरहेको छ । ‘प्रतियोगिता सुरु हुन धेरै दिन बाँकी छैन, विदेशी खेलाडी अनुबन्धनदेखि प्रायोजकसँगको छलफलले समय निकाल्न पनि मुस्किल भइरहेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय ब्रोडकास्टरदेखि खेलाडीको प्रवेशले प्रतियोगितालाई अझ स्तरीय बनाउँदै लगेको छ ।’ एनपिएलका ८ टिममध्ये सुदूरपश्चिम रोयल्सलाई शाहको कम्पनी एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा खरिद गरेको हो । जसरी प्रतियोगिताका आम दर्शक र व्यावसायिक कम्पनीहरुको चासो बढिरहेको छ, यसले एनपिएललाई प्रतिष्ठित र महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको उनको बुझाइ छ । दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा रहँदै आएका शाहले त्यहाँ पनि क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् । ‘विगत पाँच वर्षदेखि क्विन्सल्याण्ड राज्यको ब्रिसबेनमा एम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेको छु, त्यहाँ पनि बर्सेनि क्रिकेट लिग आयोजना हुन्छ, यहाँ जस्तै बोलकबोलमा खेलाडी छनोट गरी प्रतियोगिता आयोजना भइरहेको छ, अष्ट्रेलियामा जागेको क्रिकेटको क्रेजले नै मलाई एनपिएलसम्म डोर्‍याएको हो,’ उनले भने । स्कुले जीवनमा क्रिकेटमा सामान्य रुचि राख्ने उनी कुनै समय तेक्वान्दो खेलाडी थिए । त्यसबेला तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्टलगायतसँग सहकार्य गरेको उनको अनुभव छ । विष्ट अहिले सुदूरपश्चिम रोयल्सको ‘ब्राण्ड एम्बासडर’ समेत हुन् । अध्ययनका सिलसिलामा सिङ्गापुर हुँदै सन् २००३ मा अष्ट्रेलिया पुगेका कैलालीको टीकापुरका शाहले अष्ट्रेलियामा पनि क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् । सन् १९९८ मा टीकापुरबाट एसएलसीको पढाइ सकाएपछि प्लस टु पढ्न काठमाडौं आएका शाह सन् २००१ मा डिप्लोमा इन बिजनेस एडमिनिष्ट्रेसन पढ्न सिङ्गापुर गएकोमा सन् २००३ मा एड्भान्स डिप्लोमा पढ्न उतैबाट अष्ट्रेलिया गएका हुन् । अष्ट्रेलियामा ‘माइग्रेस ल’को पढाइ सकाएपछि सन् २०१० मा शैक्षिक परामर्श क्षेत्रबाट व्यवसायमा हात हालेका उनले कुनै समय पाँच वटा रेष्टुरेन्ट समेत सञ्चालन गगरेका थिए । उनलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले २०७९ सालमा अष्ट्रेलियाका लागि पर्यटन दूतको महत्वपूर्ण जिम्मेवारी दिएको थियो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिव समेत रहनुभएका शाह सन् २०२१ मा स्थापना भएको अन्तर्राष्ट्रिय युवा उद्यमी महासङ्घको संस्थापक अध्यक्ष समेत हुन् । महासङ्घको सञ्जाल यतिबेला विश्वका १२ वटा देशमा फैलिएको छ । भविष्यमा ४० देखि ५० देशमा सञ्जाल विस्तार गर्ने र नेपालका लागि केही गरौँ भन्ने युवा उद्यमीहरुलाई अवसर प्रदान गर्ने योजना रहेको उनले सुनाए । यसै मञ्चमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी ल्याउने योजनाअन्तर्गत उनको नेतृत्वमा धनगढीमा पाँच तारे होटल निर्माणको प्रक्रिया अगाडि बढेको छ । विश्वभर फैलिएका नेपाली युवा उद्यमीलाई एकैठाउँमा ल्याइ नेपालमा सामूहिक लगानीको अवसर सृजना गर्ने र ‘आइडिया’ आदानप्रदान गर्ने उद्देश्यले महासङ्घ गठन गरिएको उनको भनाइ छ । महासङ्घले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन यही नोभेम्बर २९ र ३० मा हङहङमा आयोजना गर्दैछ । जसमा विश्वभर छरिएर रहेका दुई सयभन्दा बढी नेपाली युवा उद्यमीको सहभागिता रहने उनले जानकारी दिए । शाहको परिचय व्यवसायीका रुपमा मात्रै सीमित छैन, उनले केही चलचित्रमा नायकको भूमिमा अभियन समेत गरेका छन् । नेपाली चलचित्र ‘फेसबुक’मार्फत कलाकारितामा प्रवेश गरेका उनले त्यसपछि ‘मेरो भ्यालेन्टाइन’ चलचित्रमा अभिनय गरे । सन् २००६ देखि एनआरएनमा आबद्ध शाह सन् २००९ मा एनआरएनको अष्ट्रेलियाको उपाध्यक्ष भइ ६ वर्ष काम गरे । सन् २०१७ मा एनआरएन अष्ट्रेलियाको अध्यक्षमा झिनो मतान्तरले पराजित भए भने सन् २०२३ मा काठमाडौंमा सम्पन्न एनआरएनएन अधिवेशनबाट वर्तमान कार्यसमितिको सचिवमा निर्वाचित भएका छन् । नेपाली क्रिकेटप्रतिको माया अष्ट्रेलिया केन्द्रित व्यापार व्यवसाय भए पनि शाहले नेपाली क्रिकेटलाई लामो समयदेखि नजिकबाट नियालिरहेका छन् । विश्व क्रिकेटमा नेपाली खेलाडीले देखाउँदै आएको खेल कौशल र दर्शकको अपार मायाले उनलाई नेपाली क्रिकेटप्रति आकर्षित गरिरहेको छ । उनी आफै पनि नेपाली क्रिकेटका ठूला प्रसंशक हुन् । ‘गत वर्ष श्रीलङ्कामा सम्पन्न एसिया कपमा त्यही पुगेर नेपाली क्रिकेट टोलीलाई हौसला दिनेमा म पनि थिएँ, सम्भव भएसम्म नेपालको खेल प्रत्यक्ष हेरिरहेको हुन्छ, नेपाली खेलाडीको प्रदर्शन पछिल्लो समय निकै प्रसंशायोग्य छ,’ उनले भने । क्रिकेटप्रतिको यही प्रेमले आफूलाई एनपिएलसम्म डोर्‍याएको उनको भनाइ छ । ‘नेपालको खेल क्षेत्रमा केही गरौँ भन्ने थियो, यसै क्रममा केही समय अघि नेपाल क्रिकेट सङ्घ (क्यानं)ले एनपिएलको टिमको बोलकबोल आह्वान गर्‍यो, नेपाली क्रिकेटसँग आबद्ध हुने यो मेरा लागि अवसर बन्यो,’ उनले भने । शाह एनपिएलकै कारण पनि नेपालमा क्रिकेटको पूर्वाधार निर्माण छिटो गर्नुपर्ने आवश्यकता भएको बताउँछन् । यसप्रकारका प्रतियोगितामा ‘होम’ र ‘अवे’ आधारमा खेल सञ्चालन गर्ने चलन हुन्छ । तर हाम्रोमा पूर्वाधार कमीका कारण अहिले काठमाडौंमा मात्रै सञ्चालन हुँदैछ । अबका केही वर्षमा प्रत्येक प्रदेशमा खेल हुनेमा शाह आशावादी छन् । ‘एनपिएल नेपाली क्रिकेट विकासको आधार बन्न सक्छ, चितवन, रुपन्देही, धनगढीलगायतका स्थानमा निर्माणाधीन क्रिकेट मैदान पूरा भएपछि खेलाडीहरुलाई सहज हुनेछ, एनपिएलकै कारण खेलाडी उत्पादन र विकासमा ठूलो सहयोग पुग्नेछ, राम्रा क्रिकेट खेलाडीलाई आर्थिक अभावकै कारण क्रिकेट छाड्ने वा विदेशिने बाध्यता हट्नेछ,’ उनले भने । उनी अष्ट्रेलियाको क्विन्सल्याण्डमा पनि सन् २०१९ देखि ‘क्विन्सल्याण्ड नेपाली क्रिकेट लिग’मा पनि आबद्ध छन् । भविष्यमा सुदूरपश्चिम रोयल्सका खेलाडीलाई पनि अष्ट्रेलियामा लैजाने र त्यहाँ पनि अवसर दिने योजना बनाएको उनको भनाइ छ । उनले अष्ट्रेलियाका लागि टी–२० विश्वकप जिताउने टोलीका ब्राड हजलाई सुदूरपश्चिम रोयल्सको ‘मेन्टर’का रुपमा भित्र्याएका छन् । यसले दुई देशबीचको सम्बन्ध थप विस्तार हुनुका साथै नेपाली खेलाडीलाई पनि अष्ट्रेलियामा खेल्ने अवसर प्रदान हुनसक्ने शाहको भनाइ छ । जगत टमाटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको कप्तान दीपेन्द्र सिंह ऐरीले गर्नेछन् । उक्त टोलीलाई स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन, न्युजिल्याण्डका बलिङ अलराउण्डर स्कट कुगेलेइन, इङ्ग्ल्याण्डका सेफ अली जेब, यूएईका रोहन मुस्ताफाले साथ दिनेछन् । साथै टोली आरिफ शेख, अभिनाश बोहोरा, बिनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् ।