गरिमा विकास बैंकको आयोजनामा सर्वाधिक धनराशीको रोड रेस कम्पिटिसन २०८१ सम्पन्न

काठमाडौं । ‘स्वस्थ जीवनशैली’ का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंकले रोड रेस कम्पिटिसज २०८१ ऋायोजना गरेको छ । बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका प्रमुख अतिथि किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरले उद्घाटन गरेको उक्त प्रतिस्पर्धाको खुल्लातर्फको १० कि.मी. दूरीको प्रतियोगिता गरिमा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगी पूनः लाजिम्पाट, आएर समापन हुने गरी रुट तय गरिएको थियो । यस्तै, कर्पोरेटतर्फको ५ कि.मी. दूरीको प्रतियोगिता बैंकको केन्द्रीय कार्यालयबाट शुरु भई नारायणगोपालचोक पुगी पूनः लाजिम्पाटमा आई समापन हुने गरी रुट तय गरिएको थियो । कूल ६५० जना भन्दा बढी धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा हरेक विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार रुपैयाँ, ६० हजार रुपैयाँ, ४५ हजार रुपैयाँ, ३० हजार रुपैयाँ र १५ हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । बैंक सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव प्रसाद उपाध्ययले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए । बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले यस्ता कार्यक्रमले स्वास्थ जीवनशैली निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रत्येक वार्षिकोत्सवमा यस्ता कार्यक्रम गर्नुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बैंकले आयोजना गरेको ५ कि.मी.र १० कि.मी.दूरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक राशीको प्रतियोगिता भएको बताए । साथै, बैंकले नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई बंगलादेशको टिम विरुद्ध गर्ने प्रतिगोल १ लाख रुपैयाँको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरेको थियो । नेपाली टिमले उक्त खेलमा १ गोल गरेकाले घोषणा गरेबमोजिमको १ लाख रुपैयाँ नगद पुरस्कार अखिल नेपाल फुटवल संघ, राष्ट्रिय महिला फुटवल टिमको प्रतिनिधीलाई हस्तान्तरण गरिएको छ । बैंकले १८औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रमसहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम समेत सम्पन्न गरेको छ । बैंकले यस किसिमको रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

एक पालिका, एक खेल मैदान योजनामैै सीमित

काठमाडौं । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन् । बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको एक दशक बित्न लागेको छ । तर यहाँ तारबार मात्र हालेको छ । नगरपालिका र सङ्घीय संरकारले बिनियोजन गरेको ८ करोड रुपैयाँ बजेट फिर्ता गएको छ । यस्तै बागलुङ नगरपालिका–९ स्थित तित्याङको आलेखर्क खेल मैदान पनि डिपिआरमै सिमिति भएको छ । बागलुङका अन्य स्थानीय तहले अघि सारेका खेल पूर्वाधार पनि बन्न सकेका छैनन् । तमान रङ्गशाला र काठेखोला गाउँपालिकाको रेशको खेल मैदान निर्माणले पनि गति लिन सकेको छैन । रङ्गशालाको डिपिआर स्थानीय तहको सहयोगमा तयार भए पनि खेल मैदान बन्न नसकेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले बताए । बागलुङमा वषौँदेखि बजेट अभावमा खेल मैदान बन्न नसकेका खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । बाङ्गेचौर खेल मैदानमा रहेका सल्लाका बोट हटाउन नसक्दा बजेट फ्रिज भएको छ । ‘खेल क्षेत्रमा राज्यले लगानी बढाउन सकेको छैन, खेलकूद गतिविधि ठप्प जस्तै छन्,’ उनले भने, ‘बाङ्गेचौर खेलमैदान बनाउन ३० करोड रुपैयाँ लाग्ने गरी डिपिआर बनाइएको थियो, अहिले लागत बढेर ५० करोड रुपैयाँ पुगेको छ ।’ बागलुङ–९ तित्याङमा बजेट अभावले मैदान बनाउन नसकेको वडाध्यक्ष राजु थापाले बताए । बागलुङ बजारबाट नजिकै रहेको तित्याङस्थित आलेखर्क खेल मैदानलाई विस्तार गरी बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा अगाडी बढाइएको हो । झण्डै २० रोपनी जग्गामा फैलिएको आलेखर्क खेल मैदानलाई बहुउदेश्यीय रङ्गशाला निर्माण गर्न सकिने भएपनि बजेट अभावले रोकिएको छ । यसमा झण्डै ६ करोड रुपैयाँ खर्च लाग्ने देखिन्छ । तमानखोला गाउँपालिकाले तमानगाउँमा निर्माण गर्ने रङ्गाशाला समेत अधुरै छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । त्यो पर्याप्त नहुँदा सङ्घीय र प्रदेश सरकारको मुख ताक्नुपरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । ‘पालिकाको बजेटले रङ्गशाला बनाउन असम्भव छ, यसका लागि कम्तिमा १० करोड रुपैयाँ बजेट चाहिन्छ,’ उनले भने ।

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे बिहीबार नेपाल आउँदै

काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउने भएको छ । किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका नेपाली युवा किक बक्सर घिमिरे जापानको नागोया सहरमा बस्दै आएका छन् । ‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का)  प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बनेका थिए । यो प्रतियोगितामा उनले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल भएका थिए । यसका लागि बक्सर घिमिरेले आफ्नै खर्चमा थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण लिएका थिए । यो प्रशिक्षण लिने उनी पहिलो नेपाली बक्सरसमेत भएका थिए । इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिएका थिए । ‘हिमालय चितुवा’ का रूपमा विश्वप्रसिद्ध भएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर भएका थिए  । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर  ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुमेका थिए । हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको ‘टाइटल म्याच’को उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका थिए । उनले विश्वप्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई ‘नक आउट’ गर्न सफल भएका थिए । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् । जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् । कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको  परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ । नेपाल बसाइका क्रममा अविरलले आफ्नो अनुभव युवा पुस्ताका बक्सरलाई जानकारी गराउँनेछन् ।