बलेफी हाइड्रोको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बलेफी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । संस्थाको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर जेठ १० गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर बुधबार (जेठ५ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘बीएचल’ दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९३.६४ रुपैयाँ र अधिकतम २८०.९२ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर रजिष्ट्रारमा काठमाडौंको नक्सालस्थित ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । यससँगै कम्पनीको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण काम सो क्यापिटल मार्फत हुने छ ।

एक वर्षयताकै न्यून बिन्दुमा झर्यो नेप्से परिसूचक, नबिलको सबैभन्दा बढी कारोबार

काठमाडौं । सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक एक वर्षयताकै न्यून बिन्दुमा झरेको छ । परिसूचक ३४.२१ बिन्दुले घटेर २२००.८८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५३ प्रतिशतले घटी हो । बजारमा कारोबार रकम भने बढेको छ । दिनभरको कारोबारमा १ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत शुक्रबारको तुलनामा ४३ करोड ७३ लाख रुपैयाँले बढी हो । गत शुक्रबारको बजारमा ९३ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य भने ७ रुपैयाँले घटेर प्रतिकित्ता ८९९ रुपैयाँमा झरेको छ । सोमबारको बजारमा टप गेनर र टप लुजरको अग्रस्थानमा लघुवित्त वित्तीय संस्था नै रहेका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.२० प्रतिशतले बढेर प्रतिकित्ता ११३७.५० रुपैयाँ पुगेको छ । त्यस्तै, सबैभन्दा बढी सेयर मूल्य घट्नेमा मिथिला लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य ५.८९ प्रतिशतले घटेर प्रतिकित्ता १३४० रुपैयाँमा झरेको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी घट्नेमा जीवन बीमा समूह रहेका छन् । उक्त समूह २८५.८८ बिन्दुले घटेको छ ।

जनरल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । जेठ ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई इन्स्योरेन्सको बीमा समितिले स्वीकृत गरेपछि मात्रै कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ । ३० प्रतिशत हकप्रदपछि इन्स्योरेन्सको पुँजी एक अर्ब ३० करोड रुपैयाँ नाघ्ने छ ।