लगातार चारदिन बढेको नेप्से १९ अंकले घट्यो

काठमाडौं । आइतबारदेखि लगातार उकालो लागेको नेप्से परिसूचक आज १८.६४ अंकले घटेको छ । आइतबार १७.९५ अंक, सोमबार नेप्से परिसूचक १२.२७ अंक, मंगलबार ४४.१६ अंक र बुधबार नेप्से परिसूचक ५६.०६ अंकले वृद्धि भएको थियो । सेयर मूल्य घटे पनि कारोबार मूल्य भने बढेको छ। बुधबारको तुलनामा आज करिब १६ लाख बढीको कारोबार भएको छ । बिहीबार कारोबारमा आएका २२८ कम्पनीको ४० लाख कित्ता सेयर दुई अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार दुई अर्ब १६ करोड रुपैयाँ बराबर भएको थियो । नेप्सेका १३ वटा उपसूचकमध्ये ११ वटा राताम्मे भएका छन् । बिहीबार कारोबार रकमका आधारमा ११ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो । आज जाल्पा लघुवित्तको सेयर मूल्यमा सर्किट लाग्दा तेह्रथुम हाइड्रोको ६.२० प्रतिशतले बढ्यो । त्यस्तै धेरै गुमाउनेमा सूर्योदय वोमी लघुवित्तको नकारात्मक सर्किट लागेको छ ।

बुधबार १३ कम्पनीको सकारात्मक सर्किट लाग्दा दुई अर्बभन्दा बढीको कारोबार

काठमाडौं । आइतबारदेखि लागतार बढेको नेप्सेले आज पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक ५६.०६ अंकले वृद्धि भएको हो । सेयर मूल्यसँगै कारोबार मूल्य पनि बढेको छ। मंगलबारको तुलनामा आज करिब ८१ लाख बढीको कारोबार भएको छ । आइतबारदेखि बढेको नेप्से परिसूचक आज मंगलबार ४४.१६ अंकले बढेको थियो भने आज ५६ अंकले बढेसँगै २३६९.०६ को विन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख कित्ता सेयर दुई अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ३९ करोड रुपैयाँ बराबर भएको थियो । नेप्सेका १३ वटा उपसूचक सबैमा हरियाली छाएको छ । बुधबार १३ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । बुधबार कारोबार रकमका आधारमा १० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री गरेर अरुणभ्याल्ली हाइड्रो पावर शीर्षस्थानमा रह्यो ।

रिभर फल्सको आइपीओ खुला

काठमाडौं । बुधबारदेखि रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरमा २७ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि दरखास्त आह्वान गरेकोे हो । कम्पनीले कूल २७ लाख ३० हजार कित्ता सेयरमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी २५ लाख ३८ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गर्ने शेयरमा सर्वसाधारणले छिटोमा आगामी जेठ ४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा माग बमोजिम आवेदन नआए आगामी जेठ ११ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । आयोजनाको अनुमानित प्रति मे।वा लागत १८ करोड ६ लाख १५ हजार रहने जनाइएको छ । कम्पनीलाई केयर रेटिङ्ग संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ ।