लगानीकर्ता पौडेलको प्रश्न : पुँजी बजार विरोधी नीतिले क-कसलाई फाईदा पुर्यायो ?
काठमाडौं । सेयर बजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सरकारलाई पुँजी बजार विरोधी नीतिले क-कसलाई फाईदा पुर्यायो भनि प्रश्न गरेका छन् । लगानीकर्ताले गत भदौमा सरकारलाई तिरेको करभन्दा हालको कारोबार रकम कम भएको उदृत गर्दै उनले सो प्रश्न गरेका हुन् । ‘सरकार, गत भदौ महिनाको एक दिनमा लगानीकर्ताले राज्यलाई तिरेको कर रकम, ब्रोकर कमिसन जति आजको कुल कारोबार होला जस्तो छ, अब भन्नुहोस् पुँजी बजार विरोधी नीतिले क कसलाई फाईदा पुर्यायो ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । २०७८ भदौ र २०७९ बैशाखको करको रकमलाई तुलना गर्दै पौडेलले सरकारको सबै नीतिले जनतालाई मात्र होइन सरकारलाई पनि नोक्सानी हुने प्रष्ट भएको बताएका छन् । ‘सबै नीतिले जनतालाई मात्र नोक्सानी हुँदैन सरकारललाई पनि हुँदो रहेछ भन्ने कुरा गत वर्ष भाद्र महिनामा उठेको कर रकम र यही बैशाख महिनामा पुँजी बजारबाट संकलन भएको राजस्व हेरे हुन्छ,’ उनले भने । साथै, पुँजी बजारले दिने राजस्वले न विदेशी मुद्रा खर्च हुन्छ न कुनै जनताको स्वास्थ्यलाई नै बिगार्छ भन्दै उनले आगामी बजेटमा महासंघले दिएका सुझावलाई सम्बोधन गर्न समेत माग गरेका छन् । त्यस्तै, लगानीकर्ताहरुको मनोबल वृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउनु पर्ने उनले बताएका छन् । साथै, ‘५२ लाखको मनोबल राष्ट्रकै मनोबल’ भन्दै उनले सरकारलाई ५२ लाख डिम्याट होल्डरको बारेमा सोच्न समेत आग्रह गरेका छन् ।
९ महिनामा ५ खर्ब ८४ अर्बले घट्यो बजार पुँजीकरण, पौने दुई खर्बको धितोपत्र सूचीकृत
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बजार पुँजीकरण ५ खर्ब ८४ अर्ब ८५ करोड रुपैयाँले घटेको छ । २०७८ असार मसान्तमा ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २०७८ चैत मसान्तमा घटेर ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँमा झरेको हो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अनुसार समीक्षा अवधिमा पुँजीकरण घटेको देखिन्छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक घटेसँगै बजार पुँजीकरण पनि घट्न पुगेको हो । गत असार मसान्तमा २८८३.४ रहेको नेप्से परिसूचक चैतसम्ममा २४१५.३ मा झरेको छ । त्यस्तै, नेप्सेमा २०७८ चैतसम्ममा सूचीकृत ६ अर्ब ६८ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८/७९ को नौ महिनासम्ममा कुल १ खर्ब ८२ अर्ब ७६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब ७९ करोड बराबरको साधारण सेयर (आईपीओ), ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल १५ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
उपकार लघुवित्तको सेयर भोलिदेखि किनबेच गर्न पाइने, ओपनिङ् रेञ्ज कति ?
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलि (जेठ १३ गते) देखि दोश्रो बजारमा कारोबार हुने भएको छ । कम्पनीको सेयर जेठ १२ गते नेप्सेमा सूचीकृत भएसँगै लगानीकर्ताले भोलि शुक्रबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाउने भएका हुन् । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको ६ लाख ५६ हजार २५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ४०३.९१ रुपैयाँदेखि अधिकतम १२११.७३ रुपैयाँ तोकेको छ । जसको सिम्बोल ‘यूएलबीएसएल’ दिइएको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।