सेयर बजारको ओरालो यात्रामा लागेन ‘ब्रेक’, दुई दिनमै ८६ अंकले घट्यो परिसूचक

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजेट अघि निरन्तर ओरालो लागेको बजार बजेटपछि पनि दैनिक रुपमा घटीरहेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सावर्जनिक भएपछि दुई दिन (सोमबार र मंगलबार) सेयर कारोबार भएको छ । यो अवधिमा परिसूचक ८६ अंकले ओरालो लागिसकेको छ । सोमबार ५०.३३ अंकले घटेको बजार मंगलबार पनि ३५.५३ अंकले घटेको छ । र, मंगलबारको परिसूचक २१३७.९२ बिन्दुमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले घटी हो । सोमबारको तुलनामा मंगलबारको सेयर कारोबार पनि घटेको छ । सोमबार १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबार एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन ५ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य भने ७.३० रुपैयाँले घटेर प्रतिकित्ता ७५२.७० रुपैयाँमा झरेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको सेयर कारोबार भने प्रतिकित्ता ८७५ रुपैयाँसम्ममा भएको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १५ रुपैयाँले घटी हो । घटेको बजारमा पनि उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२३ प्रतिशतले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा ११२.२० रुपैयाँले बढेर प्रतिकित्ता १४७५.८० रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य : दुई दिनमै प्रतिकित्ता ७७ रुपैयाँले घट्यो सोमबार जस्तै मंगलबारको बजारमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । मंगलबारको बजारमा मात्रै बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३३१ रुपैयाँमा झरेको छ । त्यस्तै, सो दिन कारोबारमा आएका समूहहरुमध्ये म्युचुअल फण्ड बाहेक सबै राताम्मे देखिएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य : दुई दिनमै प्रतिकित्ता ७७ रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । लामो समय कारोबार रोक्का भएर खुलेको बैंकको सेयरर मूल्य दोश्रो कारोबारको दिन पनि १० प्रतिशतले घटेको हो । सोमबारजस्तै मंगलबार कारोबार शुरु भएको केही समयमै बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३३१ रुपैयाँमाँ झरेको छ । जुन सोमबारको तुलनामा प्रतिकित्ता ३६.७० रुपैयाँले घटी हो । दोश्रो बजारमा बैंकको सेयर कारोबार करिब १३ महिनापछि जेठ १६ गते खुल्यो । सो दिन पनि कारोबार खुल्नासाथ बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३६७.७० रुपैयाँमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४०.७९ रुपैयाँले घटी हो । यससँगै यो दुई दिनमै बैंकको सेयर मूल्य प्रतिकित्ता ७७.४९ रुपैयाँले घटिसकेको छ । कारोबार रोक्का हुनभन्दा अघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४०८.४९ रुपैयाँमा कारोबार भएको थियो । बैंकको सेयर कारोबार २०७८ बैशाख ३१ गतेदेखि रोक्का भएको थियो । हिमालयन बैंकसँग मर्जर प्रकृयामा जानको लागि नेप्सेले सो दिनदेखि दुबै बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।

बजेटपछिको सेयर बजार : ५० अंकले घट्यो परिसूचक, एनटीसीको सर्वाधिक कारोबार

काठमाडौं । बजेट सार्वजनिक भएपछिको पहिलो दिनको सेयर बजार हाफ सेञ्चुरीले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ५०.३३ अंकले घटेर २१७३.४४ बिन्दुमा झरेको छ । जुन गत शुक्रबारको तुलनामा २.२६ प्रतिशतले घटी हो । बजारमा कूल १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । सर्वाधिक कारोबार भएको कम्पनीको सेयर मूल्य भने २४ रुपैयाँले घटेर प्रतिकित्ता ९३५ रुपैयाँमा अन्तिम किनबेच भएको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ३०६ अंकले घटेको छ । त्यस्तै, सोमबार ५ वटा कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य घटेको छ । सेयर मूल्य बढ्नेमा बरुण हाइड्रोपावर, उपकार लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था रहेका छन् । जसमध्ये बरुणको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२४.४० रुपैयाँ पुगेको छ । त्यस्तै, उपकार लघुवित्तको सेयर मूल्य ८.२३ प्रतिशतले घटेर प्रतिकित्ता १०३.७० रुपैयाँमा झरेको छ । त्यस्तै, सबैभन्दा बढी सेयर मूल्य घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । लामो समयपछि बजारमा कारोबारमा आएको बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३६७.७० रुपैयाँमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४०.७९ रुपैयाँले घटी हो । बजेटपछिको पहिलो दिनको सेयर बजार घट्नुले लगानीकर्ताहरु बजेटप्रति सकारात्मक छैनन् भन्ने बुझिन्छ । बजेटले रियल सेक्टरलाई पुँजीबजारमा आउन बाध्यकारी कार्यक्रम ल्याएको छ । र, त्योभन्दा बाहेक बाँकी पुरानै विषय दोहोरिएकोले पनि त्यसको असर भोलिपल्टको बजारमा परेको पुँजीबजारका जानकार एक लगानीकर्ताले बताए ।